8th March | 2021 | Monday | 9:37:57 AM

जय आन्दोलन !

बद्रीप्रसाद दाहाल   POSTED ON : माघ १०, २०७७ (८:४२ AM)

जय आन्दोलन !

नेपालका दलाधीश भइटोपलेकाहरूले आन्दोलनलाई बायाँ हातको खेलजस्तो रो पो ठानेका छन् गाँठे ! हामी त औतार पुरुष, शीर्ष तीर्थ, त्यसैले उर्दी लाउँनेबित्तिकै जनता सडकमा गएर हाँसीहाँसी छातीमा गोली थाप्दिहाल्छन् नि । अनि अवैधानिक सत्ता घुँडो टेकिहाल्छ, त्यसपछि त प्रधानमन्त्री, मन्त्री, संवैधानिक अङ्गलगायत राजदूत र वित्तीय संस्थाका मठाधीश हुने चान्सले राज्यकोषमा डान्स गर्न पाइहालिन्छ भन्ने छोटो तथा खोटो चिन्तन सिस्नुघारीझैँ मौलाएको छ । 

कुनै दूरदृष्टि सुष्टि गर्ने हिम्मत र ल्यागत अहिलेका अगुवासित छैन । हिजोकै त्यही धङधङी हलो इफेक्टमा त निक्लिएका होइनन् यी दर्दुर आबाज ः ‘अबको हाम्रो आन्दोलन आबेग र बाघजस्तै तरिकाले हुनुपर्छ, सङ्घर्षकै क्रममा आपूmलाई लाठी खान मन लागेको छ’ । आवेग भन्नाले झोक, मानसिक उत्तेजना, मनको असामान्य अवस्था, चेतन मनमाथि परेको अचेतन मनको प्रभुत्व, उत्पात आदिबाट हुने हडबडी, व्यभिचारी भावको एक भेदलाई बुझाउँछ । 

बाघजस्तै तरिका भन्नाले आक्रामक र हिंस्रक भन्ने बुझिन्छ जसले रक्तपातको सङ्केत गर्दछ । सात्विक खालको आन्दोलनले असंवैधानिक हर्कत तह लाग्दैन भन्नु कतै तामसी आन्दोलनको आमन्त्रण त होइन ? यिनै प्रश्नहरू यतिखेर जोडदार बनेर उठेका छन् मिडियाका पत्रपत्र र ध्वनिमा । 

गणतन्त्र ल्याउन तेतिविधि नेपाल आमाका सन्तति बाघझम्टा गर्दा र पर्दा रगतको खोलो विगतमा भयावह रूपमा बगेको होइन ? फेरि त्यसैको पुनरावृत्ति गरेर कुन सपनागोल गर्ने ? सीमित ठालुहरूलाई पुनः सत्तामा पदासीन गराउने ? जनताको नाममा सत्ताधीश भएका अभिजनहरूले नै बनाएका संविधान, कानुन, ऐन, नियम, दलीय विधान सबै केही व्यक्तिको जुँघा लडाइँको सनकमा स्वाहा पारिएको होइन ? झगडा र रगडा चरम रूपमा मच्चाएर ? 

दोतिहाइ नजिकको सङ्घीय सदनलाई बालुवाको घर बनाउने जिम्मा ओलीको मात्र हो कि अन्य खोली र खहरेको पनि हो ? के हामीले आआफ्ना क्षेत्रबाट सचेत गराएका थिएनौँ ? बाँदरे चरित्रलाई केको आधारमा विश्वास गर्ने र आन्दोलनमा साथ दिने ? जस्ता पेचिला प्रश्न, प्रतिक्रिया र जिज्ञासा जनमानसमा उत्तिकै मडारिएका छन् व्यापकसित । 

‘आन्दोलन’ हरेक परिवर्तनकामी, क्रान्तिकारी, गतिशील, सङ्घर्षशील, उथलपुथलकारी र हलचलधारीको उत्तेजना, आवेग, वहकाउमात्र नभएर संयम र शान्तिपूर्वक, सात्विक दबाब, घेराबन्दी, अनसन, गिरफ्तारी, जेलभराउ, बहिष्कार, सडक—शयनमार्फत गरिने सत्याग्रहको अपूर्व नैतिक कदम पनि हो । राज्यसत्ता वा गैरराज्य सत्ताबाट जब जब जनअभिमत, विधि, संविधि र ऐनकानुन मिचिन्छन् तब आन्दोलन जरुरी हुन्छ । असंंवैधानिक हर्कत, अन्याय, दमन, उत्पीडन र हिंसाका दुष्कृत्यलाई विविध शैली, प्रविधि, उपकरण आदिमार्फत गरिने निःशस्त्र, सशस्त्र शान्तिपूर्ण सङ्गठित प्रदर्शन र तागतहरूको सडक मार्चपास नै आन्दोनका लक्षण हुन् । 

भैँमा न भाँडामा भएर गरिने अराजक वितण्डा, आगजनी, हिंसा, लुटपाट, अश्लील गाली र तुच्छनिन्दा आदिलाई आन्दोलन, क्रान्ति वा संघर्षका तल्ला उपकरण भन्न सकिएला । सच्चा आन्दोलकसित चारैतिर दोलन अर्थात् कम्पायमान गराउँने नैतिक हुती, तागत अर्थात् बुता भएको हुनुपर्छ । नीतिबाट च्युत भइसकेका, जनताका नजरले इन्कार गरिसकेका, कमजोर, ढलपले र ताक परुन्जेल तिवारी नत्र गोतामे बन्ने भद्रगोले चरित्रकै नेतृत्व जायजै मुद्दामा हिँडे पनि नागरिक समाज र जनता जनार्दनका मन पूर्णरूपमा रमाउन सकिराखेका छैनन् । 

किनकि भोलि यतिखेरको नाटकको पटाक्षेप भइसकेपछि हुने नीच बण्डावादी झगडा मानस दृष्यपटलमा नाचिरहेको छ, यिनैका नानीदेखिको बानीले । भन्निन्छ, ‘स्वभावोनोपदेशेन शक्यते कर्तुमन्यथा । सुतप्तमपिपानीयं पुनर्गच्छति शीतताम्’ ।। स्वभाव बदल्न कठिन हुन्छ, पानी जतिसुकै तताए पनि आखिर चिसो हुने उसको नैसर्गिकी हो, त्यस्तै हुन् अहङ्कारकायी जुरेथुमहरू पनि । 

नेपाल आन्दोल नै आन्दोलनको देश भएर पो चिनिने भो त गाँठे ? भन्दै केही ज्येष्ठ नागरिकहरू खुइ काढिरहेको पनि भेटियो । वास्तवमा आन्दोलन सफल बनाउन सच्चा मुद्दा, लोकहितकारी नायक, सत्तामा परीक्षित हुँदा जनताको मानसपटलमा गाढा गरी बसेका कालजयी पुरुष हुनुपर्छ । सादा जीवन र उम्दा विचारमा आदर्श संवरण गर्ने स्वप्नदर्शी राजनेता, इमानजमानमा टसकोमस नहुने अगुवा नै आन्दोलनका मुखव्यक्तित्व र भरोसापूर्ण विश्वासस्तम्भ हुन् ।

यतिखेर परीक्षित भइसकेका भुरे—टाकुरे अनुहार न दनुवारका ढुकुरे छाती बिरिक—बिरिक भएका छन् । ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तो असजिलो परिस्थितिले मन उद्वेलित बनाएको देख्दा कतै आन्दोलन शब्दकै अपव्यय त हुने होइन ? यक्षप्रश्न खडा छन् । भागबण्डा मिलुन्जेल कम्बल ओढेर घिउ बैठ्याउने, तलबितल पर्ने बित्तिकै आन्दोलनको मैदानमा जनतालाई सिरान हालेर बर्बराउने नेपालमा धेरैपटक दोहोरिएको विकृत राजनीतिको खेला हो । 

यतिखेर आमदलहरू (ओली झुण्डको नेकपाबाहेक) ‘जय—आन्दोलन’ भनिरहेका छन् । प्रचण्ड+नेपाल झुण्ड सर्वोच्च अदालत र निर्वाचन आयोगलाई प्रभाव र दबाबका स्वरमा संसद पुनःस्थापना गर्न अनि सूर्य चिहृन आफ्नो पक्षमा पार्न आन्दोलनका कार्यक्रम लिएर सडकमा उत्रिएका छन् । उता नेपाली कांग्रेसलगायतका अधिकांश लोकतन्त्रवादी भनिने दलहरू भने अदालतको निर्णयलाई सम्मान गर्ने तर ओलीको सर्वसत्तावादी पश्चगमनविरुद्ध संविधानलाई लिगमा ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएका छन् । ओली नेकपा भने वैशाखमा चुनाव भएरै छाड्छ, यही नै हाम्रो आन्दोलन हो भन्दै सभा र भेलाहरूका मञ्चन जनघनत्वमै निष्पन्न गरिरहेका छन् । 

यसैले यतिखेर नेपालका मूलधारमा रहेका सबै दलहरू आआफ्नो दलीय स्वार्थअनुरूप जय आन्दोलन ! भन्ने नारा तय गरेका छन् । आन्दोलको परिणाम विजयमै टुङ्गिने रोइलोमा सबै आपूmअनुकूल नारा तय गरेर जय आन्दोलन ! भनिरहेका छन् । सुसङ्गठित संयुक्त दलीय आन्दोलनमार्फत ‘जय आन्दोलन’ भन्ने आबाज नआई आन्दोलन सफल हुन भने कठिन छ । यो घरीमा मुण्डमुण्ड बुद्धि, कुण्डकुण्ड पानी भनेझैँ थरि थरि स्वरमा जय आन्दोलनको तुमुल ध्वनि घनीभूत भइरहेको छ । म त भन्छु— पहिलो आन्दोलन आफ्नै अहङ्कार, दर्प, स्वार्थ, ढोंग, ढासा र ढर्राविरुद्ध हुनुपर्छ, अनिमात्र संयुक्त आन्दोलन सफल हुन्छ । जय आन्दोलन ! अस्तु 


Views: 269