8th March | 2021 | Monday | 9:11:05 AM

कविता : तपोभूमि

मुना दाहाल   POSTED ON : माघ १३, २०७७ (१:२५ PM)

कविता : तपोभूमि

भुलेर भुल्न सक्दिन यो मेरो देशको माटोलाई

नबिर्सि हिड्न सक्दछु खोले पिठो र आँटोलाई ।

जुरुङ्ग उम्रि बस्याछ म भित्र देशको स्वाभिमान 

कदापि त्याग्न सक्दिन अमूल्य भाषा भेष झन् ।।

                   १

मुसुक्क हाँस्छ हिमाल,तराई फूल फुलाउँन

पहाड मग्मगाउँदै नौरङ्गी डाँफे नचाउँन।

असाध्यै राम्रा कन्दरा झरना सललल झर्दछन्

अदृश्य हुँदै बगेर हरिया फाँट पार्दछन् ।।

                   २

मन्दिर मस्जिद गुम्बा छन् असंख्य धर्म पोखिने

सेलो र देउडा गाउदै मिथिला सित जोखिने ।

अनमोल हिरा मोतीका जुहार रत्न यहि छन्

अशान्त मन रमाउने तपोभूमि नि यहि छन्।।

                 ३

 सेवा र भाव जगाउँदै प्रकृति प्रेमका आँकुरा

सुनौला ज्योति फैलाउँन तरुण टेक्छ टाकुरा।

सहर्ष हाँस्छ राष्ट्रता नवीन संगीत भरेर

सुपात्र सन्तान भैदिँए मुसुक्क ओठ पारेर ।।

               ४   

कुपुत्र जन्मे सन्तान धिकार्दै छाती पिट्दछिन्

रोएर आँसु बगाउँदै झरना सरी झार्दछिन् ।

जवान उठ जुरुक्क उचाल्दै राष्ट्र विश्वमा ।

धर्तीको ऋण चुकाइ कसुर ठेगान लगाउँन।। 

          

 सर्लाही 

हाल–ललितपुर भैसेपाटी ।


Views: 382