27th February | 2021 | Saturday | 3:49:55 PM

पुस्तक : हरिभक्तको खण्डकाव्य ‘गौराङ्ग’

सुशीला घिमिरे   POSTED ON : फाल्गुन ८, २०७७ (९:५४ AM)

पुस्तक : हरिभक्तको खण्डकाव्य ‘गौराङ्ग’

प्रसिद्ध साहित्यकार हरिभक्त सिग्देल महेशको हालै प्रकाशित खण्डकाव्य हो ‘गौराङ्ग’ । गौराङ्ग एकजना चामत्कारिक बाबा हुन् । हरिभक्त सिग्देलले उनको जीवनवृत्तलाई निकै नजिकबाट नियाल्नुभएको हुँदा उनैलाई विषय बनाएर यो खण्डकाव्य लेख्नुभएको छ । सिग्देल अध्यात्ममा विश्वास गर्नुहुन्छ । त्यसैले उहाँका अधिकांश पुस्तकहरू अध्यात्म विषय केन्द्रित छन् । हरिभक्त सिग्देल पूर्वप्रहरी हुनुहुन्छ । प्रहरी सेवामा कार्यरत रहँदा उहाँ पटकपटक गौराङ्ग बाबालाई भेट्न जाने गर्नुहुन्थ्यो । उनको चामत्कारिक कार्य उहाँले त्यसैबेला नजिकबाट देख्न पाउनुभएको थियो । 

यतिसम्म कि उहाँले गर्नुपर्ने केही अनुसन्धानका कार्यहरूमा धेरै प्रयास गर्दा अपराधी पत्ता लगाउन नसकेका बेला बाबाको आशीर्वाद लिएर सहयोगको याचना गर्दा बाबाले सपना गराइदिउँला भनेका र सोही रात देखेको सपनाका आधारमा त्यो घर घेराउ गर्दा एकै ठाउँबाट सात जना खुंखार अपरधीहरू पक्राउ गर्न सफल भएको अनुभव छ हरिभक्त सिग्देल महेशसँग । त्यसैले उहाँले गौराङ्ग बाबाप्रति आस्था र विश्वासका साथ भेटघाटमा रहिरहनुभयो । कहिले पशुपतिनाथ क्षेत्र, कहिले धनकुटाको मूलघाट, कहिले चोभार, कहिले कालमोचन घाट, कहिले गोकर्ण क्षेत्रमा बस्ने बाबा प्रचारदेखि टाढा रहन चाहन्थे । बेलाबेलामा राजालगायत राजपरिवारका व्यक्तिले पनि भेटघाट गर्ने गरेका एकजना सिद्ध बाबा प्रचारमा आउनै चाहेनन् । 

भक्तहरूले दिएका फलपूmलहरू झोलामा राखेर बाँड्दा कहिल्यै नसकिएको र धनकुटाको मूलघाटमा रहेका बेला त्यहाँको प्रमुख जिल्ला अधिकार र प्रहरी प्रमुख कुनै जाजुस हो कि भन्ने शंकामा राति उनको आश्रममा जाँदा सिंहले उनलाई पहरा दिइरहेको देखेर उनीहरू डराएर भागेछन् । भोलिपल्ट पुनः बाबालाई भेट्न जाँदा बाबाले उनीहरू अघिल्लो राति आएर त्यसरी फर्किएको थाहा पाएर किन फर्किएका तिनले केही गर्दैनथे नि भनेको कुरा पनि बाबाको चामत्कारिक व्यवहारका रूपमा पुस्तकमा उल्लेख भएको छ । 

सानो र छरितो आकारमा रहेको यस खण्डकाव्यमा भूमिका खण्ड १८ समेत जम्माजम्मी ८० पृष्ठ छन् । राष्ट्रकवि माधव घिमिरेको ‘गौरी’ बाट अत्यन्त प्रभावित भएका कवि सिग्देलले उहाँबाटै खण्डकाव्य लेख्ने प्रेरणा पाउनुभएको देखिन्छ । आफ्नो बाल्यकालबाट सुरु गरेर उहाँले गौराङ्ग बाबाको ब्रहृमलीनसम्मको विवेचना गरेर यो खण्डकाव्यको समापन गर्नु भएको छ । 

हालैमात्र प्रकाशित यस पुस्तकको प्रकाशक मीना सिग्देल रहनुभएको छ । सर्वाधिकार लेखकमै रहेको यस पुस्तकको यो प्रथम संस्करण हो । शब्दार्थ प्रकाशन चावहिल काठमाडौं वितरक रहेको पुस्तकको लेआउट दीपेन्द्र बस्नेतले गर्नुभएको छ । सूर्योदय छापाखाना, हाँडीगाउँ काठमाडौंमा मुद्रण भएको खण्डकाव्यको मूल्य १ सय रुपैयाँ छ । आवरणमा गौराङ्ग बाबाको तस्वीर राखिएको छ भने आवरणको पछाडि खण्डकाव्यकार वा कवि हरिभक्त सिग्देलको चिनारी दिइएको छ । यसका साथै यही स्थानमा उहाँबाट सिर्जना भएका पुस्तकहरूको विवरण दिइएको छ । यसभन्दा अघि उहाँका ४१ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।

‘गौराङ्ग’ उहाँको ४२औं पुस्तक हो । यहाँ दिइएको जानकारीअनुसार उहाँका एकमात्र (अनुसन्धानात्मक धार्मिक कृति), हरिभक्त सिग्देलका कविताहरू ( गद्य कविता संग्रह) र म अमर छु (पद्य कविता संग्रह) बारे पनि जानकारी दिइएको छ । पुस्तक आकर्षक छ, छपाइ राम्रो छ । पहेंलो हलुका कागजको प्रयोग भएको यस पुस्तकमा अशुद्धिहरू कम छन् । समर्पणमा ‘यो खण्डकाव्य धर्म, भक्ति, ज्ञान र मुक्तिका लागि पण्डित, गुरु, योगी, साधु, सन्त, पुजारी, मठाधीश, अघोरी, तपस्वी र बाबाहरूको खोजीमा गुफा, मन्दिर, मठ आदि केन्द्रहरू धाउँदाधाउँदै मनले खाएको गुरु नपाई तड्पिएका, छट्पटिएका जिज्ञाशुहरूमा’ भनिएको छ ।

भूमिका खण्डमा युवराज मैनाली, रामचन्द्र घिमिरे, कलानिधि दाहाल र कवि सिग्देलका विचार छन् । युवराज मैनालीको ‘शुभकामना’ शीर्षकको छोटो विचार गद्यमा छ । यसबाहेक अरू सबैका विचारसमेत पद्यमा रहेका छन् । पं.रामचन्द्र घिमिरेको दुई श्लोकको ‘शब्दपुष्पाञ्जलि’ कवि कलानिधि दाहालको ‘गौराङ्गभित्र’ शीर्षकको खण्डकाव्यमाथि लेखिएको ३७ श्लोकको लामो विचार र कवि सिग्देलको ‘मेरो भन्नु’ रहेका छन् । 

खण्डकाव्य महाकाव्यकै शैलीमा मंगलाचरणबाट सुरु भएको छ । मंगलाचरणसमेत दश सर्गको छ यो खण्डकाव्य । पुस्तकको पृष्ठ आवरणको भित्र गुरु १००८ गौराङ्ग महामुनिदेवको ब्रहृमलिनपश्चात पार्थिव शरीर समाधिस्थ गर्नुअघिको तयारीका चरणहरू भनेर केही तस्वीरहरू राखिएको छ । 

भूमिका खण्डमा युवराज मैनालीको विचार २ पृष्ठमा, रामचन्द्र घिमिरेको विचार १ पृष्ठमा दुई श्लोकमा, कलानिधि दाहालको विचार ३७ श्लोकमा ८ पृष्ठमा र कविको विचार १ पृष्ठमा १४ पाउमा समेटिएका छन् । मंगलाचरण र म हुन्छु एक्लै अब गरी १३ पृष्ठ समेटेको पाइन्छ । यसैगरी पहिलो सर्ग ‘पशुपति दाहिना भएपछि’ ९ पृष्ठको फैलावटमा छ भने दोस्रो सर्ग ‘भक्तपुरमा प्रसाद वितरण’ शीर्षकमा ११ पृष्ठको फैलावटमा रहेको पाइन्छ । तेस्रो सर्ग ‘कालमोचन घाटमा’ शीर्षकमा ३ पृष्ठ र चौथो सर्ग ‘उत्तरवाहिनी गोकर्ण कान्ति भैरव’ शीर्षकमा ६ पृष्ठमा फैलिएका छन् । 

खण्डकाव्यकारले यो पुस्तक पाँच दिनमा तयार पार्नुभएको बुझिएको छ । एकजना सिद्ध बाबा जो प्रकाशमा आउन कहिल्यै चाहेनन् उनका बारेका लेखिएको हुँदा यस खण्डकाव्यको विशेष महत्व छ । कतिपय बाबाहरू ढोंगी स्वाँगी पनि देखिन्छन् । बलात्कारका आरोपीहरू पनि छन् । जोगी साधुसन्तका नाममा भोगी विलासी जीवन बिताइरहेको पनि छन् । यस्तो देखिरहनु भएका खण्डकाव्यकारले आपूmले हृदयदेखि नै मानेका र प्रकाशमा नआइरहेका एकजना बाबाका बारे यो खण्डकाव्य लेखेर उनीबारे अनुसन्धान गर्न चाहनेहरूका लागि बाटो खोलिदिनुभएको छ । यसका लागि उहाँलाई बधाई तथा धन्यवाद छ । उहाँबाट आगामी दिनहरूमा यस प्रकारका पुस्तकहरू आउन् हार्दिक शुभकामना । 


Views: 52

सम्बन्धित सामग्री:

भारत वर्ष

अनुवाद : मणि शर्मा : फाल्गुन १५, २०७७ (१०:०४ AM)

कविता : देशको वासना

हरि दाहाल : फाल्गुन १५, २०७७ (९:३७ AM)