27th February | 2021 | Saturday | 2:39:50 PM

कथा : उधारो जिन्दगी

बिजु सुवेदी विजय   POSTED ON : फाल्गुन ८, २०७७ (१०:०२ AM)

कथा : उधारो जिन्दगी

देशमा लकडाउन भयो । निश्छलले आम श्रमिकहरूले जस्तै सकससँग जेनतेन रफ्तारमा जिन्दगीको गाडी चलाइरहेको थियोे । काम छोडिसकेपछि उसको हालत खराब भएको थाहा पाएर कसैले पनि उसलाई एक कल पनि गरेको थिएन तर अनायास लकडाउनको आठौं महिनामा उसले काम छोडेको ठीक अढाइ वर्षपछि उसलाई उक्त अफिसबाट फोन आयो ।

‘निश्छलजी ! तपाईंलाई कस्तो छ ? हाम्रो अफिसमा अहिले तपाईंजस्तै इमानदार व्यक्तिका लागि वरिष्ठ पोष्ट एउटा खाली छ । त्यसैले तपाईंलाई फोन गरेको हुँ ।’

उसले सोध्यो, ‘सर ! सरको अहिलेको अफिस पहिलेको सानेपामै हो कि ?’

‘अहिले त्यहाँ तपाईंले काम गरेको ठाउँमा होइन । अन्तै सरेको छ ।’

‘सर ! तपाईंहरूको पार्टनर छुटेको हो कि ? अनि त्यसैले सर्नुभएको हो ?’

‘त्यस्तो होइन । पहिलेकै पार्टनरहरू सबै छौँ । छुटेका छैनौँ ।’

‘त्यसो भए अफिस सरको घर नैकापमा होला होइन ?’

‘होइन । यहाँ नजिकै हो । अनि के छ विचार तपाईंको ?’

‘हुन्छ नि सर ! हामी एकचोटि बसेरै कुरा गरौँ न है ?’ ‘निश्छलजी ! आउँदाखेरि फोन गरेर आउनुहोस् । अनि हामी भेटौँला । यो मैले अहिले गरेकै नम्बरमा कल गर्नुस् ।’

फोन राखिसकेपछि उसले आफैंलाई बुद्धु ठान्यो । ‘यति संघर्ष गरेर जिन्दगी धानिरहँदा पनि आफूलाई पिर परेको गुनासो किन पोखिनस् हँ तैँले ?’ यसरी उसले आफूले आफैंसित प्रश्न ग¥यो ।

हुन त निश्छलले त्यो अफिसमा बिरामी हुनेगरी काम गरेको थियो । कामको अवधिमा खान केही दिँदैन्थ्यो । दिनको १८ घण्टा काम गर्दा पनि बीचबीचमा कालो चियामात्रै खुवाउँथ्यो । उसले त्यो अफिसमा २ वर्ष ६ महिना जति काम गरेको थियो । त्यसपछि त उसलाई पेटमात्रै फुलिरहने भएर ग्याष्टिकले नमज्जासँग सताएको थियो । त्यो भेटेरिनरीको औषधिको आयातनिर्यात गर्ने अफिस थियो । 

त्यहाँको औषधिको गन्धको रागले त्यो एरियामा कोही पनि आउँदैनथ्यो । काम गर्नेहरू अधिकांश मार्केटिङको काम गर्थे । उसले भने अफिसको प्रशासनिक काम र हिसाब गर्ने जिम्मा लिएको थियो । त्यहाँको औषधिको गन्धको नराम्रो किसिमको राग  उसले बाध्यताले सहजै पचाइदिएको थियो । यसैका कारण  स्टाफहरू त्यहाँ टिक्न सक्दैनथे । 

त्यस्तो ठाउँमा उसले एक सेकेण्ड आराम नगरी घोटिई घोटिई काम गरेको थियो । कारण के भने उसले ओभर टाइम गरेको समयको पारिश्रमिक नपाएको झोकमा ऊ अफिस नगएको थियो, कारण उसले अरू स्टाफहरूलाई तलब बढाउन उक्सायो भनेर । अनेकौं बहाना बनाई सबै चाप्लुसी गर्ने स्टाफहरूले ओभरटाइमको पैसा पाए, त्यो पनि उसैले हिसाब गरेर पैसा गनी गनी दिनुपरेको थियो तर जब उसले धेरै अनुनयविनय गर्दा पनि उसको ओभर टाइमकोे पैसा नपाउने भन्ने थाहा भयो ऊ निराश भएर अफिस जान छोडेको थियो ।

काममा गर्नसम्मन सास्ती गरेकाले कामै गर्न नसकेर निश्छलले जागिरबाट हात धुनुपरेको थियो । अलि समय अफिसबाट बोलाउलान् कि भनी बस्यो तर एक महिना दुई महिना हँुदै धेरै समय बितिसक्दा पनि अफिसले उसलाई टेरपुछर लाएको थिएन । अन्त धेरै काम खोज्यो तर कहीँ उसलाई काम गर्न मन लागेको थिएन । एउटा कामलाई सम्मान गर्ने अफिसको खोजीमा थियो ऊ तर उसको धोको पूरा भएको थिएन । अन्त काम नपाए पनि त्यो अफिससँग उसले सदाका लागि नाता टुटाइदिएको थियोे । 

फेरि निश्छलले त्यो अफिसबाट अनायास आएको फोन सम्झ्यो र ‘मैले मेरो ओभरटाइमको पैसा मेरो एकाउन्टमा हालिदिनुस् अनि कुरा अघि बढ्छ भन्नुपर्ने’ भन्दै बर्बराउँदै थियो । विचरा ! निश्छल अरूजस्तो जालीझेली गर्न नजान्ने भएका कारण एक्लो एकांगी जिन्दगीले गर्दा बेलैमा भन्न नसक्ने सिआरपी रोगजस्तो बेलैमा भन्न सक्दैन्थ्यो । उसले कसैको सोर्सफोर्सविना आफ्नै योग्यताको बलले त्यो काम पाएको थियो । ऊ नेपालीमा टाइप गर्ने अनि शुद्धाशुद्धिमा पनि पारंगत भएका कारण उसले अफिसलाई त्यस्ता थुप्रै कामले यथेष्ट सहयोग गरेको थियो । 

त्यो अफिसमा काम गर्नुअगाडि एक जमानामा निश्छल नेपाली टाइप गर्न खप्पिस थियो । अहिलेजस्तो जो कोहीलाई नेपाली टाइप गर्न आउँदैनथ्यो । त्यसैले उसको यो आफ्नो नितान्त प्राइभेट व्यवसाय फष्टाएको थियो । एकचोटि श्रीमतीसँग उसको रडाको नै मच्चेको थियो । त्यो के भने उसलाई २ हजार पन्ना नेपालीमा टाइप गर्नुपर्ने थियो । त्यो पनि १ महिनामा सक्नुपर्ने रे, प्रतिपृष्ठ २० रुपैयाँ दिने भनी प्रकाशक उसकहाँ धाएको धायै थियो । एक्कासि उसकी श्रीमती भएका बेला फेरि सोही कुरा दोहो¥याउन ऊ आएको थियो । 

त्यो प्रकाशक पुनः आउँदा पनि उसले त्यो अफर प्रतिपेज ४० मा गर्न दिने भएमा मात्रै गर्ने भनी सर्त अघि सारेको थियो । प्रकाशकले तैपनि पुनः पुनः त्यही अफर गर्दा पनि उसले नमानी छोडेको थियो तर श्रीमतीले गर्नैपर्ने भनी बारम्बार ऊसँग झगडा गरेकी थिइन् । फेरि जब उसले एकजना अर्का प्रकाशकलाई पचास हजार रुपैयाँमा २ महिनामा एउटा पुस्तक नेपालीमा टाइप अनि शुद्धाशुद्धि गरी इमेल गरी पठाउनुपर्ने सर्तमा सम्झौता गरेको थियो । 

श्रीमतीलाई ‘सम्झौता गरिसकेको छु’ भन्दा पनि ‘घुम्न जाने भनेर पहिलोपटक भनेका छन् । अब यस्ता अफरसफर छोडिदिनुस्’ भनिन् र उनीहरूका जिद्दीले उसले ‘प्रकाशकलाई पछि फेस गर्ने’ तनावमा उसको आफ्नै खर्चमा उनीहरूलाई घुमाउन लग्यो । पछि फर्केपछि...हर्जना तिर् कि तिर्...भनी उसको त्यो बेला प्रकाशकसँग ठूलो लफडा भयो । त्यसले गर्दा उसले अरू प्रकाशकहरूका काम पनि छोड्नुपर्ने भयो । 

साढुभाइ विष्णुको जिद्दीमा उसले त्यो अफरबाट हात धुनु परेको थियो । उसको पेनड्राइभको नेपाली टाइपको डकुमेन्ट पनि खुलेन भनी भाइरस लाग्यो भन्दै उडाइदिन्थ्यो । अब त पेनड्राइभमा सेफ भएन भनी मोवाइलको मेमोरी कार्डमा वर्डको डकुमेन्ट सेभ गर्दा पनि त्यही मोवाइल निश्छलकी श्रीमतीले साढुभाइ कहाँ जाँदा ‘भाइरस लागेका बेला सबै डाटा गयो ।’ भनी उक्त मोबाइल लिएर आएकी थिइन् । त्यो सबै हरकत साढुभाइकै थियो । यीबाहेक यस्ता अरू दुई अफरहरू पनि साढुभाइका हरकतले गर्दा उसले छोड्नु प¥यो । 

उसको कमाउने समय जब हुन्थ्यो त्यही बेला उसलाई साढुभाइसँग घुम्न जानुपर्ने हुन्थ्यो । ‘इज्जतका लागि घुम्न जानुपर्ने’ भन्थिन् उसकी श्रीमती । फेरि घुम्न जाँदा पनि बीचैमा ‘३ बजे नै अब घुम्ने क्यानसिल !’ भन्दा पनि जबर्जस्ती श्रीमतीको आग्रहमा फर्कनुपर्ने ! यस्ता कुराले उसकी श्रीमतीसँग उसको मनमुटाव भइरहन्थ्यो ।

आफूले मनले खाएकाहरूलाई आफ्ना यी नेपाली टाइपसम्बन्धी सबै काम छोड्नुपरेका भोगाइहरू सुनाउने गथ्र्यो र भन्थ्यो फेरि कसैले मेरोजस्तो व्यथा खप्नु नपरोस्, हन्डर खानु नपरोस् र यस्ता कुरा नदोहोरियोस् । मलाई नेपाली टाइप गर्न औधी मन परेर के गर्ने ! हरे ! यही रणभुल्ल विचारका बाछिटाहरू निश्छलको दिमागमा आइरहेका थिए । 

निश्छललाई उसको हाकिमको फोन आएको १ महिनापछि ‘तपाईंजस्ता कडा परिश्रम गर्ने जेहेन्दार इमानदार कर्मचारीको हामीलाई खाँचो छ । हामीकहाँ अहिले तपाईंलाई मिल्ने पहिलेजस्तै वरिष्ठ पोष्ट खाली भएको छ ।’ भनी उसको बखान गरी इमेल आयो । तर उसले इमेल देख्ने बित्तिकै स्पाममा पठाइदियो । त्यो इमेल गरी पठाउने हाकिम मुख छादेर रिसाउने अनि गेस्चर गर्ने टाइपको भएकाले उसले रिसले आँखा नदेखेकाले थियो । 

पहिले उसले त्यो हाकिमलाई त्यही इमेलमा अढाई वर्षको अवधिमा गरेको ओभरटाइमको एक एक हिसाब खुलस्तसँग पठाएको थियो । अनि त्यो इमेल उसका सबै हाकिम, चेयर मेन, साहु सबैलाई क्यर अफ गरी सबैको इमेलमा पनि एकैसाथ पठाएको थियो र लेखेको थियो कि ‘मलाई मेरो रगतको परिश्रमको पैसा मेरो बैंकको खातामा जहाँ तपाईंहरूले मलाई तलब दिनुहँुदा जम्मा गरिदिनुहुन्छ त्यहीँ क्रिपया जम्मा गरिदिनुहुन अनुरोध गर्दछु । तपाईंहरूका लागि त्यो सानो पैसा हो तर मेरो यसले जिन्दगी बदलिन्छ । जम्मा ७५ हजार रुपैयाँ त हो नि ।’

अफिस पनि कस्तो अफिस सम्झिँदा पनि निश्छल विरक्तिन्छ कारण त्यहाँका स्टाफहरू देखेर । त्यो के भने आदर्श व्यक्तित्व भएका व्यक्तिका नामधारी स्टाफहरू उसलाई हरतरहले असहयोग गरी बेस्कन दुःख दिन आइरहन्थे भने दुर्नामी, व्यभिचारी, अनैतिक मानिसका नामधारी स्टाफहरूले भने उसलाई नरम, मिजासिला अनि सहयोगी व्यवहार गरिहरन्थे । उसले भोगेका समाजका चरित्रहरू पनि त्यस्तै थिए र तिनीहरू भन्ने गर्थे ‘अहिलेको जमानामा राम्रो काम गरेर काम छैन । राम्रो मानिस बनेर पनि काम छैन ।’ यस्तो भएकाले उसको पारो तातेर नचढेको समय नै हुँदैनथ्यो । 

निश्छललाई लाग्थ्यो कि ‘म जस्तो सोझो पाएर उनीहरूले मप्रति सहानुभूति दर्साएको जस्तोमात्र देखाएको हो तर भित्रभित्र यिनीहरू त्यस्ता छैनन् । मेरो अढाई वर्षको संगतले यही भन्छ ।’ नभए उनीहरूले किन ओभर टाइमको पैसा पनि पाउनुहुन्छ भनी न इमेल गरे न नै फोन गर्दा भने । दालमे कुछ काला हैँ !’ भन्दै उसले आफ्नो भडास पोख्यो । 

‘मैले काममा नजान अगाडि तिनीहरूलाई मात्र एकचोटि चेतावनी दिएको थिएँ, त्यो के भनेर आएको थिएँ भने ‘म यदि यहाँ काम गर्न आइन भने, म दाबा गर्छु, अरू चारजनाले पनि मेरो काम गर्न सक्दैनन् ।’ उसले त्यो दिन अरू स्टाफहरूलाई पनि यही कुरा च्यालेञ्ज गरी भनी आएको थियो । त्यसपछि ऊ त्यो अफिसमा श्रीमतीले जतिसुकै धम्क्याए पनि, घुक्र्याए पनि जान छोडेको थियो बरु ऊ त्यतिकै उधारो जिन्दगी काट्दै बसिरहेको थियो त्यसैमा उसलाई अलि भए पनि सञ्चो भएको थियो । निश्छलले आफू निश्छल भएको चरितार्थ बनाएको थियो । 

निश्छलले त्यो अफिसका लागि के मात्र गरेन सुरुमै उसले अफिसको हिसाबको केस हिस्ट्री हेरेर साहुका पैसा उठाउन बाँकी डेब्टर्सहरूका एक एक प्रमाण जुटाएर, पाई पाई हिसाब गरेर १०–१२ लाख पैसा उठाइदिएको थियो । उसले अहिले पनि देख्छ राजधानीमा त्यो दृश्य ! त्यो साहु त्यही पैसाले त्यो बेला खुशी भएर किनेको गाडी प्रफुल्लित भई गुडाएर सललल हुइँकिएर सानसँग जाने गर्छ । त्यो गाडी किन्दा उसलाई उपहार, भोज त के लड्डुसम्म पनि खुवाएको थिएन त्यो साहुले । आजकाल साहुको त्यो गाडी देख्दा रिसले तातेर उसको पारो चढ्छ । त्यो साहुको गाडीको रंग मिल्ने गाडी देख्दा पनि अथवा त्यो गाडीसँग अलिकति नम्बर मिल्ने गाडी देख्दा पनि भुइँको ढुंगा उठाएर सिसा फुट्ने गरी हानुँ हानुँ लाग्छ उसलाई । निश्छलले यस्तो घटना देख्दा प्रायः भन्ने गर्छ ‘ऊ भने मस्ताराम भइरहृयो म भने ठन्डाराम भएँ ।’ 

तसर्थ साहुले इमेल गरी जति फुक्र्याए पनि देश र समाजलाई राम्रो दिशातर्फ लाने उमंग भएका ठाउँमा मात्र काम गर्न जाने निश्छलले निधो गरी कष्टकर जिन्दगी डो¥याइरहृयो । उसलाई अझै आशा छ कि किराना साहुकोमा उधारो बढी भएकाले सामान नदिने अवस्था आए तापनि एक दिन राम्रो काम अवश्य पाइने छ र जिन्दगी फिर्ने छ । यही अटुट र अटल विश्वासका साथ उसले आफ्नो उधारो जिन्दगी समालिरहृयो । 

साँच्चै अहिले पनि नामजस्तै निश्छल छ ऊ । छलकपट, ढाँट, तिकडम, जालसाजी नगरी आफ्नै बलबुताले परिश्रमी र इमानदारी भई कर्तव्यनिष्टताका साथ जिन्दगीका यात्रामा आइपरेका हजारौं जोल्टिनहरू छिचोल्दै यात्रामा बढ्ने दृढ संकल्पका साथ लम्किरहेको छ । लम्किरहेको छ ।


Views: 93

सम्बन्धित सामग्री:

भारत वर्ष

अनुवाद : मणि शर्मा : फाल्गुन १५, २०७७ (१०:०४ AM)

कविता : देशको वासना

हरि दाहाल : फाल्गुन १५, २०७७ (९:३७ AM)