11th April | 2021 | Sunday | 6:14:43 PM

कविता : देशको माटोढुङ्गा प्यारो

हरि दाहाल   POSTED ON : चैत्र १४, २०७७ (९:५६ AM)

कविता : देशको माटोढुङ्गा प्यारो

मातृभूमिका ढुङ्गाको

दर्बिलो सिरानी र

यही माटाको

मगमग वासनामा डुबेरै

देश छोड्न सकिन

जानेर नजानेर

माटाको माया मार्न सकिन

अडेस दिने ढुङ्गाको गुन

बिर्सिन सकिन ।।

समयले गल्फ कन्ट्रीमा

गएर दिराम, रिङ्गेट

रियाल पठाउन भनेथ्यो

सेन्जेन कन्ट्रीमा

गएर युरो

ल्याउन अह्राएथ्यो

अमेरिकामा गएर

डलर देखाउन भनेथ्यो

माफ गर्नुहोला

त्यसो गर्न सकिन

तर, बेठीक गरेको छैन ।

चालीस कटेसी रमाउने

आशामा

मेसिनसँगै चलेका

हरहर भएका

तमाम मनलाई

पनि सलाम छ ।

ट्यागवाला मात्रै भए नि

नानाभातीका ब्राण्ड

सिलवाला मात्रै भए नि

तिरिमिरी पार्ने

अङ्ग्र्रेजी पानी

अचेल छ्यापछ्याप्ती

पाइन्छ

पिउँदा लाग्ने

भोलिपल्ट टाउको

नदुख्ने अङ्ग्रेजी पानी

डलर, युरो

दिराम र रियालको

अघिपछि लागेर

आएका त हुन् ।

अहिले आएर

तिनैले ढुङ्गोमा भर र

माटोमा वासना भरेका छन् ।

झोला भिरेर

सुट्केस गुडाएर

कफिनभित्र गुडुल्किएर

फर्किनेहरूलाई उही

माटाको वासना

र ढुङ्गाको सिरानीले

तानेर ल्याएको छ ।

Views: 36