11th April | 2021 | Sunday | 6:21:22 PM

कर्नाली चिसै बग्दोरहेछ !

डा. नारायण चालिसे   POSTED ON : चैत्र २१, २०७७ (९:२१ AM)

कर्नाली चिसै बग्दोरहेछ !

सुदूरपश्चिम यात्राको दोस्रो कडीको रूपमा आज अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिएको कर्नाली पुलको भव्यता र त्यहाँबाट अवलोकित हुने चिसापानीको रमणीय दृश्यलाई आँखामा सजाएर उभिएको छु । पुल निर्माण भएको यतिका वर्षपछि पुलको प्रविधि र विज्ञानको पछिल्लो पाइलाले समेत हाम्रो भूमि टेकेर उभिएको गौरवका बारेमा बोल्नु त्यति नौलो कुरा हो जस्तो नलागे पनि हरेकपटक कर्नालीमा उभिँदा प्रकट हुने मानवीय मनका भावरूपलाई भने सायद कसैले सामान्य पार्न सक्दो हो । यसको भौतिक वैभवका बारेमा यति नै कुरा भए आज तर भित्र कता मनको मझेरीमा उर्लिएर आउने भावनाका रूपलाई भने थाम्न सकिन ।

कर्नाली, नदीमात्रै नभएर हाम्रो पूर्वीय सभ्यता र जीवनपद्धतिको पनि संकेतक हो भन्ने लाग्यो । हाम्रा विचारणा, भावना र कर्मको पनि साक्षी हो कर्नाली जहाँ असंख्य जीवनले यही बाटो भएर आफ्नो यात्रा तय गरेका थिए, बिसाएका थिए र आज पनि यात्रारत छन् जीवनहरू । एकातिर हाम्रो गौरव भएर बगेको कर्नाली अर्कोतिर हाम्रो विवशताको पनि कारण भएको प्राकृतिक यथार्थलाई हामीले बिर्सन चाहेर पनि बिर्सिन सक्ने कुरा होइन । मेरो मानसबिम्बमा जस्तो छ कर्नाली शब्दको क्यानभासमा आज त्यसरी नै प्रकट भएको छ । 

कर्नाली चिसै बग्दो रहेछ र चिसापानीमा । मन भनँे रोमाञ्चित पार्दोरहेछ तैपनि । मनलाई कर्नाली बनाएर पानीसँगै बग्नुको एउटा गतिको नाम पनि हो रहेछ कर्नाली । विचार बनेर कर्नाली बगेको तलतल मनमा नाप्न सकिन । कति लामो भएर ओरालो कति टाढा बग्यो कुन्नि ? थाम्न नसकेर उत्तेजना विचारको ज्वारभाटा बनेर मलाई हुँडल्दै रहृयो किनकिन । कर्नाली तिमीलाई देखेर धेरै कुराको सम्झना भयो । कर्नाली नुहाएर चिसै घर फर्किएकी आमाको काखमा लुटपुटिएर लाम्टो चुसेको मेरो निधारमा तपक्क दुई थोपा पानी आमाको शिरबाट झरेको सम्झना भयो । 

आमाले भन्थिन् नानी कर्नालीको पानीले नुहाएर आएको दिन नखाएरै त्यसै अघाइन्छ । यसरी कति भोक मेटायो कर्नालीले मेरी आमाको कति तीर्खा मेटायो कर्नालीले मेरा बाबुको । अनि पसिना पनि हो मेरा बाबुले बगाएको कर्नाली । भोक, तीर्खा, थकान, निद्रा सबै बिर्सिएर सपना सजाउन बगाएको अनमोल अमृत हो कर्नाली । कति सजाए मेरा बाबाले सपना यहीँको पानीमा । 

अमृतै हो भनेर पिएको कर्नालीको पानीले भोक नमेटाएपछि मेरा बाबुले रोएको आँसु पनि हो कर्नाली । आँसु र पसिना बनेर बग्दा तातोपनि छ मेरो कर्नाली । कहिले आँसुमा कहिले खुशीमा मैले बिहानै उठेर हेर्ने पहिलो दृष्टि पनि कर्नाली नै हो । जति लामो कर्नाली बगेर गति नापेको छ त्यति नै लामो यात्राको साइत हो मेरो कर्नाली । जति गहिरो टेकेर उभिएको छ कर्नाली त्यति नै गहिरो समवेदना हो मेरो कर्नाली । कति लामो बगेर पनि थाकेको छैन । जसले हामीलाई हिँड्नुको अर्थ र हिँडिरहनुको कर्तव्य सिकाउँछ । हामी किन थाक्दैनौं कहिल्यै भन्ने सामथ्र्यको प्रतीक यो कर्नाली हामी हुनुको तथ्य हो र तात्पर्य पनि हो ।

घरिघरि सुसाउँछ नि ! कर्नाली त्यो मेरा बाबुको दुःखका बेलाको सुस्केरा पनि हो । मलाई कर्नाली उभ्याउन मेरा बाबुले धेरै रात सुस्केरा कर्नालीमा गाएका पनि छन् । म कर्नालीमा मेरो इतिहास बगिरहेझैं पनि मान्छु घरिघरि । गौरव बगिरहेझैं पनि मान्छु । अनि चसक्क हुन्छ मन यसरी नै मेरो इतिहासको गौरव बगेकैले अहिले हामी चिसाचिसा लागेका त होइनौं ? बग्नु गतिको नाम हुँदाहुँदै पनि उँधो बग्नु उँधै लाग्नु त होइन नि ? अनि आफ्नो बित्था तर्कमा हाँसो उठ्छ । बग्नु भनेकै तलतिरको नाम हो । तल बग्दैमा होइन धमिलो बग्दा, नसुहाउँदो बग्दा डराउनुपर्छ ।

हामी यसरी नसुहाउँदो बगेकै छैनौं । घरिघरि लाग्छ कर्नाली मेरो सभ्यताको उज्यालो छर्न अनवरत बगिरहेछ । कर्नालीजत्तिकै लामा मेरा सपना, कर्नालीजत्तिकै गहिरा मेरा आँखा, कर्नालीजत्तिकै पवित्र मेरा आकांक्षा, कर्नालीजत्तिकै गतिशील मेरा पाइला अनि शीतल चेतना मेरो कर्नालीको नीलो पानीझैँ म पनि नीलो आकाशमा नीलो कर्नाली मिसाएर पखाल्न चाहन्छु मेरा मनका विकारहरूलाई । मनको मैलो पखाल्न कर्नालीभन्दा स्वच्छ पानी कहाँ पाइएला र ? त्यसैले आमा मन पखाल कर्नालीमा । पसिना पखाल मेरा बाले पनि कर्नालीमा र अबको समय हिजोजस्तो नआओस् भन्ने कामना गर । 

सौन्दर्य त्यसैको नाम हो जसले कर्नालीलाई आफ्नो ठानेको छ तर किन हामी चिसो बगेका कर्नाली भएका छौँ अचेल । चिसो कर्नाली हाम्रो तातो इतिहासको साक्षी हो । तर, पछिल्लो चेतनाले सबै कुरा चिसिएको भएका हामीले त्यही बाटो हुँदै उकालो चढ्न आँट उमार्ने प्रतिज्ञाथलो हो कर्नाली । बाटोको सामल जोडेर कर्नाली किनारमा उकालो यात्राको साइत लेखाउने कहिले हो थाहा छैन । पहाड गहिरो बनाउँदो रहेछ कर्नालीले चिसापानीमा । अग्ला पहाड फोडेर गहिरिएको कर्नाली चट्टानी शक्तिको नाम पनि हो । पहाडहरू फोडेर गहिरिएजस्तै कर्नालीले गहिरा आँखामा उभिएका दुःखका पहाड फोड्न परेको छ अब । 

त्यति सकारात्मक लागेन मलाई कर्नालीमा सपना बगाउने हाम्रो बाध्यता । आज म चिसै मन कर्नालीमा उभिएर तातो कथा सम्झिरहेको छु मेरो गौरवको । कर्नालीको चिसो पानीमा उभिएर लेख्नुपर्ने विषयका बारेमा सोच्नु भनेको कर्नालीजत्तिकै लामो, गहिरो, विशाल सोच्नु हो । मेरो विशालता मभित्र नअटाएर बाहिरिन हतार गर्दै छ तर म उत्ताउलो बनेर हतारमा विशालता उभिन खोज्दिन । 

प्रिय चेतना मलाई धैर्य गर्ने शक्ति पनि देऊ । नयाँ प्रविधिले उभ्याइएको चिसापानीको पुलमा मजस्तै धेरैका आँखा लोभिए होलान् पहिल्यै । धेरैका मनमा जिज्ञासा र आश्चर्यको भाव मडारिए पनि होलान् पहिल्यै । र, म अहिले मात्र कर्नाली लेख्न कलम लिएर उभिनु त्यति महŒवपूर्ण लोगेको छैन मलाई । बगेको पानीमा कलम चलाउनुको के अर्थ रहला र ? बगेको कर्नाली मैले रोकेर राख्न नसकेझैँ छन् धेरै कुरा जसलाई मैले समालेर राख्न सकेको छैन । पानी और जबानी अर्थात् बगेको पानी र चढ्दो जवानीलाई रोकेर राख्न मिल्दैन । यिनको उपयोग समयै गर्न सक्नुपर्छ नभए अरू कसैले उपयोग गरिदिन सक्छ । 

त्यसमाथि दाबी गर्नुको अर्थ छैन भनेको पनि सत्य नै होला । हाम्रा दाबीहरू यसरी नै बग्दो पानीमा बगेर जाँदा छन् । र, त्यसपछि पनि करोडौं करोड क्युविक पानी कर्नालीको बाटो हुँदै बगेर समुद्रमा मिसियो । अहिलेसम्म त आधा समुद्र मेरो कर्नालीले पनि बनायो होला र यस्ता अनगिन्ती कर्नाली बगाएर हामीले अरूका समुद्र भरिरहेका छौं निरन्तर तर हामी समुद्रमा आफ्नो स्वामित्व दाबी गर्न कसैको आँगनमा उभिएका छैनौं । 

हामी समुद्र भएर जमिरहेका पनि छौं गहिरो अनि शान्त । हामी समुद्र बनाइरहेकाछौं । समुद्र बगाइरहेकाछौं । कर्नालीमा मैले समुद्र देखेँ । गहिरो, लामो, चिसो र शान्त कर्नाली हाम्रो चेतनाको पनि कर्नाली हो । हामीलाई हेर्नेहरूले कर्नालीजस्तै गहिरो हेरून्, लामो हेरून्, चिसो हेरून् तर चिसो भनेर अन्यथा नहेरून् भन्नको निम्ति पनि कर्नाली हो । यस अर्थमा हामीभित्रको समुद्र हो कर्नाली । मानिसले प्रकृति रोक्न मिल्छ कि मिल्दैन ? मिल्छ भने हामी कर्नालीको बाँध बनेर प्रकृति रोकेका छौं । 

तर, प्रकृति रोकेको नभएर प्रकृतिको रूपान्तरण भएर हामीले जीवन बाँचेका छौं । मानिसले समुद्र रोक्ने आँट गर्नसक्छन् भन्ने पनि सुनेका हौं, हामीले समुद्र रोकेका पनि छौं । गतिहीन बन्छ समुद्रमा पुगेर कर्नाली । हामीसँगको गहिराइ पनि हो कर्नाली तर हामी नदी बगाएर छातीमा उभिएकाहरू हौं । हाम्रो गतिशीलता नदीजत्तिकै स्वच्छ र निरन्तर बनेको दिन हामीले समुद्रलाई गतिशील पार्न सक्छौं । 

तर, प्रिय चेतना किन मलाई दुख्छ बेसरी तिम्रो नौजाले माया । माया गरी गरी मेरो अस्तित्व खुइल्याउने तिम्रो मायाको दर्शन बुझेर पनि अकिञ्चन किन छु कुन्नि ? मलाई मेरै लाचारीसँग लाज लाग्न थालेको छ अचेल । पाएर पनि पाउन नसक्नुको सामथ्र्य बिहीन उभिएका हामी कहाँ कहाँ च्यातिएको टालो हाल्न पुगौं ? टालो हाल्ने कपडासमेत सापटी मागेर इज्जत ढाकिरहनुको विवशतामा छौं हामी । 

पानीको धर्म बग्नु हो यसलाई मैले प्रतिष्ठासँग जोडेर हेरेको पनि छैन । र, मैले किमार्थ दाबी पनि गरेको छैन मेरो महानताको प्रमाणपत्र पाऊँ भनेर । किनकि मैले बुझेको छु म उभिएका मेरा खुट्टा लर्तरो हावाले हल्लिँदैनन् । यो क्रम निरन्तर छ र युग नबितुन्जेल यो क्रम रहने पनि छ तर म किन यति भावुक बन्दै छु ? पानीसँग जोडिएको मेरो अस्तित्व खोज्न किन यति सारो हतारो छ मलाई ? म बुझ्न सकिरहेको छैन । किन संवेदना मलाई पछ्याउन छोड्दिनौ तिमी ।

यति भावुक भएर पनि हुन्छ ? जीवन लेख्न ढुंगा बन, पानी नबन तिमी । ढुंगा पानी जति सजिलोसँग बग्दैन । इतिहास पानीमा लेख्न खोज्नु तिम्रो अज्ञानता हो । पानीमा त गति लेख्ने हो । इतिहास हिँड्दैन अडिएरै उभिन्छ मात्र । तिमीले तय गरेको अनन्तको यात्रामा तिमीलाई पानीले साथ दिन सक्छ । त्यसैले पानीमा जीवनको ओजन नाप । 

कर्नाली साँच्ची चिसो बगेको मनमा चिसै छाप पारेर बगेको सुनेँ । चिसो छालमा म हाम्रा आस्थाको बिम्ब खोजिरहेको छु । मेरो गर्विलो स्वाभिमान तिम्रो गहिराइसँग जोडिएकोलाई मैले आफ्नो चिसो कर्नालीमा धेरै कुरा खोजेको छु । कर्नालीजीवनदर्शन हो हाम्रो । कर्नाली जीवनको साहित्य हो । कर्नाली सभ्यता र संस्कृति हो । जीवित इतिहास हो कर्नाली । अर्थतन्त्रको बलियो आधार हो कर्नाली । कर्नाली अरू धेरै हो हाम्रो । भजाएर हामीले बेलाबखत कर्नालीको अपमान पनि गरेका छौं । चित्त दुख्छ बेसरी यसरी आफ्नै आमालाई भजाएर पिठो माग्नु पर्दा । तर, आमाले कहिल्यै नजाती मानिन् र मान्दिनन् पनि । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ..।’ 

यसै भनिएको कहाँ हो र ? कर्नाली जीवन बनेर बगेको मेरो समय अहिले मसँग हिँडिरहेको छ । कर्नालीका किनारमा गिटी कुट्ने मेरी आमाका काखमा खेलिरहेका हाम्रा नानीबाबुको उमेरसँग बगिरहेको कर्नालीको पानीमा मैले जीवन खोज्न हुन्छ कि हुँदैन ? कसैलाई सोधेको छैन मैले । चिसो मन मुटु उभिएका ती हाम्रा सन्ततिका मुखमा माड, पेटमा भोटो र आकाशमा छानो जुरेको दिन मेरो कर्नाली मेरो गतिको नाम हो । आँखामा उज्यालो जुरेको दिन मेरो कर्नाली मेरो समयको आँखा हो । किनारै किनार हिँडेका पाइलाहरूमा गति उभिएको क्षण कर्नाली मेरो समय हो । 

चिसो ! किन चिसो भएर बिझाउँछ मनमा । चिसो त मेरो हिमालको धर्म हो । र चिसो मेरो कैलाशको नाम हो । चिसो मेरा शिवको नाम पनि हो । पार्वतीको माइती हिमालय पनि हो । चिसो सीमाना उत्तरमा उभिएका पनि हामी नै हौं । माप्चोचोङ्गो (तिब्बतमा बग्ने हिमनदीबाट निस्केर रकोस, (तिब्बत मानसरोवर नजिकै पर्ने ठाउँ जहाँ कर्णालीको उद्गम मानिन्छ) हुँदै करन खोला मुगु कर्णालीमा मिसिने ठाउँ भएर ओराली झरेकी कर्णालीका कर्नाली, सरयू आदि नाम पनि प्रख्यात छन् यी उपाधिहरू हुन् । नाम जे जति रहून् मानसरोवरको चिसो समातेर मेरो कर्नाली मेरो मस्तिष्कमा विचारको वीजाधान गराउँछ ।

चिसो दिमागले भूगोलको सीमानालाई पनि मान्न खोज्दैन । विचार र चेतनालाई प्रवेशाज्ञा लाग्दैन भनेर मैले उहिल्यै भनेको छु र आस्थालाई पनि लाग्दैन कसैको नियम । त्यसैले त आस्थाको बगैँचामा मितेरीको फूलफुलाउन चाहन्छु म । कर्नालीमा गर्व गरेरै अनि गौरव गरेरै हामीले आजसम्म कर्नाली उभिन सकेका छौँ । त्यसैले प्रिय सञ्चेतना मलाई अझै छाती चौडा गराउन देऊ । मेरो मीठो कर्नालीमा अझै गहिरो आस्था उमार्न देऊ, अझै भरिलो विश्वास चुल्याउन देऊ । कवि विष्णुविभुको शब्दमा भन्दा साँच्चै सञ्चेतना ‘विश्वासभन्दा अग्लो सगरमाथा हुँदैन रहेछ’ !! 


Views: 204