11th April | 2021 | Sunday | 6:07:39 PM

कविता : शासक तिमी

नन्दलाल खरेल   POSTED ON : चैत्र २१, २०७७ (९:२७ AM)

कविता : शासक तिमी

शासक तिमी जनताको सेवक भएर शासन गर

जनताको लोकतन्त्रमाथि खेलबाड नगर


शासक तिमी राष्ट्रवाद र विकासको भ्रम नबेच

बालकोटको बाल्कोनीमा बसेर काजु मुक्याउँदै नकुर्ल


शासक तिमी ढाँटछल र पाल्सी कुराले नढाक

समाजवादको सपना देखाएर दलाल पुँजीवाद नबक


शासक तिमी भोका नांगालाई खुलामञ्चमा लाम नलगाऊ

भ्रष्ट मतियारहरूलाई भ्रष्टाचारबाट क्लिन चिट नदेऊ


शासक तिमी विचार र सिद्धान्तलाई भर्सेलामा नतताऊ

अमूर्त कुरा गरेर गरिखाने वर्गलाई सडकमा नल्याऊ


शासक तिमी संसदीय संकटलाई सौन्दर्यकरण नगर

घटना माथिको छानबिन र कारबाहीलाई अनेकन बहाना नगर


शासक तिमी आत्मरतिमा मात्र सधै नरमाऊ

राजनीतिक आशिंक उपलब्धिहरूको भए पनि रक्षा गराऊ


शासक तिमी भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा नगर

नीति क्षमता योग्यता हेरेर मात्र नियुक्त गर


शासक तिमी नवउदारवादकै हिसाबले मात्र नबढ

पानी जहाज, रेलभन्दा जलविद्युत् र कृषिमा बढ


शासक तिमी सम्मानित संस्थाहरूको छवि क्षयीकरण नगर

राजनीतिबाट माथि उठाउन कोसिस गर


शासक तिमी समृद्ध नेपाल केवल कागजी नारा नबनाऊ

दम्भ र अहंकार पाल्दै समकक्षीलाई धारेहात नलगाऊ

 

शासक तिमी चाँडै कहिले सुध्रने कोसिस होला

नत्र शाहवंशीय राजाकोझैँ बेहाल होला ।


Views: 45