16th May | 2021 | Sunday | 6:10:07 PM

यात्राको सिकर्नीसँग यात्रा गर्दा

गीता अधिकारी   POSTED ON : चैत्र २८, २०७७ (८:४८ AM)

यात्राको सिकर्नीसँग यात्रा गर्दा

साहित्यकार खेमनाथ दाहालको नवीनतम् कृति ‘यात्राको सिकर्नी’ पाठकमाझ आएको छ । ‘श्रद्धाञ्जलि’ (कवितासंग्रह), ‘रश्मि’ (खण्डकाव्य), ‘योद्धा’ (काव्य), ‘हाबर्डको चौतारी’ (कवितासंग्रह), ‘श्वेतपत्र’ (महाकाव्य), ‘म त बन्दी भएछु’ (काव्य) जस्ता कृतिका कृतिकार दाहालको नियात्रासंग्रह ‘यात्राको सिकर्नी’ पाठकमाझ आएको हो । 

‘सिकर्नी’ सबैलाई असाध्यै मनपर्ने परिकारमा पर्छ । पानी निथारेको दहीमा अलैँची आदि मसला र चिनी मिलाई फिटेर बनाइएको खाद्य वस्तु ‘सिकर्नी’ को नाम लिदा मुखमा पानी आउँछ । यसलाई बनाउने तरिका अन्य पनि छन् । यो एक प्रकारको नेपाली अचारका रूपमा लिइन्छ । काँक्रालाई कोरेसोले कोरेर भुजुरी बनाई त्यसमा मरमसला र दही मिलाएर बनाइएको अचारलाई पनि ‘सिकर्नी’ भनिन्छ । यस नियात्रासंग्रह ‘यात्राको सिकर्नी’ मा पनि स्रष्टा खेमनाथ दाहालले काठमाडौंदेखि मलेसिया र सिंगापुरका महŒवपूर्ण स्थानहरूको यात्राका क्रममा प्राप्त भएका ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक सामग्रीलाई ‘सिकर्नी’ का रूपमा प्रस्तुत गर्नुभएको छ । 

सिकर्नीमा दाहालले ‘काठमाडौंदेखि क्वालालम्पुरसम्म’, ‘राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म’, ‘गेन्टिङ्ग हाइट्सदेखि चेन सी टेम्पलसम्म’, ‘बटु गुफाको सेरोफेरो’, ‘पेट्रानस टावर्सलाई नियाल्दा’, ‘सिंगापुर यात्रा’, ‘मेलका यात्रा’, ‘पुत्राजयमा नेपालको झण्डा’, ‘मानार्थ राजदूत टेरी टिओको डार्कमा’, ‘राजकुमारको निम्तोमा’, ‘राजदूतावासको सेरोफेरो’, ‘भूगोल र इतिहास’, ‘मलेसियाको अर्थतन्त्र’, ‘दक्षिणपूर्व एसियामा कम्युनिष्ट विद्रोह र युद्ध’, ‘यात्राको सिकर्नी’ जस्ता शीर्षकमा यात्रा विवरणका साथै तत् तत् स्थानको विस्तृत जानकारीका साथै ऐतिहासिक तथ्यहरू प्रस्तुत गर्नु भएको छ । 

कृतिको अन्त्यमा यात्रामा खिचिएका केही तस्वीरहरू राखिएका छन् जसले आफैं यात्रा गरिरहेको अनुभूति गराउँदछ । तस्वीरले पाठकलाई यात्राको विवरणलाई अझै मूर्त रूपमा कल्पिन सहयोग गरेको छ । कृतिकार दाहालको विषयवस्तु र ठाउँ विशेषका साथै यात्रा विवरणलाई प्रस्तुति गर्ने बेजोड शैलीका कारण पाठकहरूले पुस्तकसँगै ती स्थानहरूमा आफैँ यात्रा गरिरहेको अनुभूति प्राप्त गर्छन् र आफ्ना कौतुलहता साम्य पार्न सक्छन् ।

सिकर्नीमा दाहालले भ्रमण गरेको ठाउँको भूगोल, राजनीति, इतिहास, त्यहाँको रहनसहन, चालचलन, जातिहरू, भ्रमण गर्नुको उद्देश्य र त्यस ठाउँमा पुग्दा आफूले गरेका अनुभूतिहरूलाई उतार्नुका साथै ती स्थानहरूले विकासमा मारेको फड्कोलाई हाम्रो देशको परिस्थितिसँग तुलना गर्नुभएको छ । कृतिमा ती देशले विकासमा फड्को मारेका तर आफ्नो देश अझै पनि उही दयनीय अवस्थामा रहेको तितो यथार्थता र हामीले फड्को मार्न नसक्नुका कारणलाई प्रष्ट्याउन खोजिएको छ । यात्रासँग सम्बन्धित ठाउँँको विशेष ज्ञानसँगै रमाइलो र मीठासपूर्ण पठन सामग्रीका साथै ऐतिहासिक विषय कृतिमा खदिलो रूपमा प्रस्तुत गरिएको छ ।

विदेशको रमाइलोमा रमिरहँदा पनि कृतिकारलाई देशको पिरलोले हरेक ठाउँमा पिरोलिरहन्छ र आफ्नो देशले त्यो वैभब चुम्न नसक्नुको हुट्हुटी व्यक्त भइरन्छ । ती स्थानमा काम गर्न पुगेका नेपाली युवाहरूलाई देखेर उहाँलाई अझ विहृवल बनाउँछ भने केहीले राम्रो प्रगति गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुहुन्छ । तर, अधिकांशको अवस्था दयनीय नै रहेको उहाँले चित्रण गर्नुभएको छ प्रस्तुत कृतिमा । कृतिले विदेशको रमाइलो रमझम, चमकदमकको उज्यालोसँगै अँध्यारो पाटोलाई पनि उजागार गरेको छ ।

कृतिकार भन्नुहुन्छ ‘यात्राका क्रममा जहाँ जहाँ पुगेँ त्यहाँ मैले विविध रूपमा नेपालका बिम्ब देखेँ, आमाका सन्देशहरू भेटेँ । सिङ्गापुरको मेलार्यनपार्क र गार्डेन वाइ द वेको सेरोफेरोमा एकातिर कोसी र गण्डकीका तीरले उपहास गरेको भेटेँ भने त्यही कृत्रिम बगैंचाको मायाजालमा रम्दै गर्दा रारा र खप्तडले गिज्याएको पाएँ । पेट्रोनासको प्राङ्गणमा पुग्दा धरहरा रोएको र रानीपोखरीले सुस्केरा हालिरहेको भेटेँ । विभिन्न स्थानमा भेटिएका नेपाली भाइहरूको मुहारमा हिनताबोध र अपमानको डरलाग्दो कथाव्यथा पाएँ ।’ 

नितान्त पारिवारिक घुमघाममा रमाइँरहदा रहँदै यति ज्ञानमूलक र यथार्थ विवरण भएको नियात्रा संग्रह पाठकमाझ प्रस्तुत गरेर स्रष्टा दाहालले हामी सबैलाई ठूलो गुन लगाउनु भएको छ । यो कृतिले नियात्राको स्वादमा ऐतिहासिकता प्रस्तुत गर्नुका साथ साथै राष्ट्रियताको सन्देश प्रवाह गरेको छ । शब्दको सुन्दर संयोजनले यसको ओझ अझ बढाएको छ । लेखन शैलीमा मिठासले पढन सुरु गरेपछि छोड्न मन लाग्दैन । सिंगापुर, मलेसियाका विभिन्न स्थानको भरपुर जानकारीका साथै एतिहासिकताका लागि कृति सङ्ग्रहणीय रहेको छ । यो उत्कृष्ट पठनीय कृति बनेको छ ।

यस कृतिमा प्रा.राजेन्द्र सुवेदीले ‘नियात्राकार दाहालको कृति सिकर्नीको स्वाद’ विषयमा र प्रा.डा.कृष्णप्रसाद दाहालले ‘नियात्राका गोताखोर ः खेमनाथ दाहाल’ शीर्षकमा भूमिका लेख्नु भएको छ । उषा दाहाल प्रकाश रहेको यस कृतिको आवरण र आकृति तयार पार्ने तथा वर्णविन्यासको जिम्मेवारी रमेश दाहालले लिनुभएको छ । ई.प्रेस प्रालि शान्तिनगर, बानेश्वरमा मुद्रण गरिएको २ सय ४८ पेजको सिकर्नीको मूल्य ४ सय ५० रुपैयाँ राखिएको छ । 


Views: 84