16th May | 2021 | Sunday | 7:07:51 PM

कविता : तिम्रो सम्झना

अच्युत दाहाल   POSTED ON : चैत्र २८, २०७७ (९:१२ AM)

कविता : तिम्रो सम्झना

तिम्रो सम्झना आउनु,

हिमालमाथिको अकाशमा

बेलाबखत हेलिकप्टर 

आउनुजस्तो होइन

सम्झना आउनु,

तेलिभिजनमा हरबखत विज्ञापन 

आउनुजस्तो होइन

सम्झना आउनु, 

हरेक बैशाख महिनामा

नयाँवर्ष आउनुजस्तो होइन

सम्झना आउनु,

विदेशिएको प्रेमीको 

बारबार फोन आउनुजस्तो होइन ।

सम्झना आउनु त एउटा शक्तिशाली कविताको

अन्तिम हरफजस्तो तिखो कुरा हो

जसले घोचेपछि मानिस 

बेहोसीबाट होसमा आउँछन्

चोरबाट साधु बन्छन् 

मानिसबाट देवता

जस्तो कि बन्छन्

अण्डाबाट बचेरा

बचेराबाट चरा ।

तिम्रो सम्झना आउनु त 

आत्याधिक गर्मीको दिन

सुकेको धारामा सानो धारा

पानी आउनुजस्तो हो

हत्केलामा थापेको दुई चार थोपालाई

भारी बोक्ने भरिया दाइकोे 

आँत भिज्नु जस्तो हो

असीम तृप्ति हो

सम्झना ।

हो तिम्रो सम्झना,

भनेको जस्तो कि

जब अन्तिम पात

पनि चुँडिएर जान्छ 

फलेका हाँगाबाट उड्दै उड्दै उड्दै 

बतासको हात समातेर कतै ।

जब कुनै एउटा ध्वान्द्रो भेटेपछि 

बोलाउँछ आफ्नो परिवारलाई 

धेरैदिनदेखि बराल्लिरहेको त्यो एक्लो मौरी

र, खुब भुनभुनाउँछ भुन–भुन

जीवनको गीत ।

जब गुँडबाट निस्किएर

पहिलोपल्ट कुनै हाँगामा फुत्रुक्क उफ्रन्छ 

जुरेलीको बचेरो र खुब नाच्छ 

सफलताको त्यो गीतमा

चिरचिर फुत्रुक्क चिरचिर फुत्रुक्क

मलाई पनि तिम्रो सम्झना आउँछ ।

जब पहिलोपल्ट लेख्छ प्रेमपत्रमा

सबैबाट लुकाएको त्यो प्रेमिकाको प्रियनाम

कुनै दुरदराजको गाउँले नायकले

र लजाउँछ आफ्नै सपनासित ।

आफ्नो मनको कुरा शब्दले बोक्न नसकेपछि 

जब च्यात्छ त्यो चिरी

र एक्लै छाम्छ आफ्नो ढुकढुकिएको मुटु

मलाई पनि तिम्रो सम्झना आउँछ ।

तराईतिर कतै लामो 

सरलरेखा जस्तो हाइवे देखेँ भने

मलाई तिम्रो सिउँदोको सम्झना आउँछ ।

अस्ताउन लागेको साँझको 

रक्तीम र ठूलो घाम देखेँ भने

मलाई तिम्रो निधारको सम्झना आउँछ

निधारमा ठिक सिउँदोमुनि

टलटल टल्किरहेको हो कि

मेरो बाटो छेक्न

चौकिदार बसिरहेको हो कि

त्यो बिन्दुलको सम्झना आउँछ ।

लालुपातेको फूलमा एकै थोपा पनि शीत देखेँ भने

मलाई तिम्रो परेलीको सम्झना आउँछ

परेलीको टुप्पाटुप्पामा लहलह फुलेका 

ती आँसुका फूलहरूको सम्झना आउँछ ।

कुनै अपरिचित कविको 

कुनै पनि सुन्दर प्रेम कविता

मात्र पनि पढेछु भने

मलाई तिम्रा औंलाका

स्पर्शहरूको सम्झना आउँछ

कतै हिमाल टल्किरहेको देखेँ भने

तिम्रो बलियो स्वाभिमानको 

सम्झना आउँछ

अनि कतै झरझर झरना देखेँ भने

तिम्रो मनको सम्झना आउँछ

ती अनकन्टार पहाडको

पैह्रो देखेँ भने पनि

तिम्रै मनको सम्झना आउँछ ।

मलाई पनि तिम्रो सम्झना आउँछ ।

तर, सम्झना आयो भनेर म

हातमा रक्सीको गिलास बोकेर 

गाउँदिन कुनै मन पोल्ने गजल

फेसबुक खोलेर पठाउँदिन कुनै पनि प्रेम डायलग

एकान्त खोजेर गर्दिन डायल 

ती अजम्बरी नम्बरहरूमा

मलाई तिम्रो सम्झनामाथि

दुव्र्यवहार गर्न मन पर्दैन

मलाई तिम्रो सम्झनाको 

बेइज्जत गर्न मन पर्दैन

सम्झना आउनु,

तिम्रो खस्रो अनुहारको निम्ति

कुनै नयाँ कम्पनीको

मगमगाउँदो क्रिम आउनुजस्तो होइन

सम्झना आउनु, 

सस्तोमा कुनै उपहार आउनुजस्तो होइन

सम्झना आउनु, 

बगैंचामा असिनापानी आउनुजस्तो होइन....

सम्झना आउनु,

मौरीले मह राख्न बनाइरहेको चाकाको 

त्यो पहिलो कोठाजस्तो हो

प्रेमकविताको 

त्यो पहिलो हरफजस्तो हो

जुरेलीको बचेराको प्वाँखमा चढ्दै गइरहेको 

त्यो बैंसजस्तो हो

र त

तिम्रो सम्झना आउँछ । 


- चन्द्रनिगाहपुर, रौतहट । 


Views: 252