16th May | 2021 | Sunday | 6:58:32 PM

लेखनमा सदैव जीवन खोजी गरिरहेको हुन्छु : पेशल आचार्य, साहित्यकार

  POSTED ON : चैत्र २८, २०७७ (९:२९ AM)

लेखनमा सदैव जीवन खोजी गरिरहेको हुन्छु : पेशल आचार्य, साहित्यकार

साहित्य लेखन २०३६ साल र अखबारी लेखनमा २०४२ सालदेखि निरन्तर लागिरहनुभएको छ साहित्यकार पेशल आचार्य । उहाँका तीन÷चारवटा अनलाइनमा हप्ताको तीन÷चारवटा लेख र दैनिक पत्रिकामा लेखहरू आइरहेका हुन्छन् । यस्तै साहित्यिक लेखरचनाहरू पनि उहाँ निरन्तर लेखिरहनुभएको छ । ‘पावर, मनी र सेक्स’ शीर्षकको निबन्धात्मक कृति उहाँको पाठकमाझ आउने तयारीमा छ । यो उहाँको एघारौं कृति हो । यतिबेला प्रेसमा रहेको यो कृति उहाँले २०७८ वैशाखमा पाठकमाझ ल्याउँदै हुनुहुन्छ । आचार्यले ‘माध्यमिक निबन्ध’, ‘आधारभूत निबन्ध’, ‘किस्ताको कम्प्युटर’, ‘जून आमा जून’, ‘मनको दैलो खोल’ र ‘ब्याक बेन्चर’ जस्ता पठनीय कृतिहरू पाठकमाझ ल्याउनुभएको छ । उहाँका बाल साहित्यका सात र प्रौढ साहित्यका तीनवटा कृति प्रकाशित छन् । स्वान्त सुखायका निम्ति आफ्नै लागि र पर हितायका निम्ति जीवन बुझ्न चाहने पाठकहरूका लागि लेखिरहेको छु भन्नुहुने साहित्यकार पेशल आचार्यसँग हिमालय टाइम्सको हिँड्दा–हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–

पछिल्लो समय के लेखिरहनुभएको छ ?

‘मार्था’ नामको कथासंग्रहमा आफूलाई खेलाइरहेको छु । अन्तिम सम्पादन गर्दैछु । केही पुराना कथाहरू हटाएर नयाँ कथाहरू राख्दैछु । धेरै समयको अन्तरालमा कथामा काम गरिरहेकाले आनन्द मिलिरहेको छ । 

पेशल आचार्य को हो ?

स्व. नजरमा सामान्य लेखक र पाठक दुवै हो । पाठकीय नजरमा चाहिँ विज्ञ पाठकहरूलाई नै थाहा हुनसक्छ । मैले त्यस्तो ठूलो काम गरेकाले म सर्वनामकै कोटिमा पो छु कि ?

लेखनमा के कुरा जरुरी हुने रहेछ र के कुराको खोजी गर्नुपर्छ भन्ने लाग्छ ?

लेखनमा जीवनको खोजी हुनुपर्छ । म लेखनमा जीवनको सदैव खोजी गरिरहेको हुन्छु । यो खोजी पहिले कविता र कथाबाट हुन्थ्यो भने अहिले निबन्धका माध्यमबाट गरिरहेको छु । 

साहित्यमा तपाईंको बढी रुचिको विषय के हो ?

म पहिले कवितामा धेरै रुचि राख्थें । अहिले निबन्ध, अझ आत्मपरक निबन्धहरू ज्यादै मन पर्छन् । म निबन्ध बढी लेख्ने र पढ्ने काम गर्छु । समकालीन निबन्धकारहरूका निबन्धले मलाई सारै सन्तुष्टि दिन्छन् । कहिलेकाहीं म आफ्ना निबन्धहरूसमेत मन लगाएर दोहो-याइ-तेहे-याइकन पढिरहेको हुन्छु । 

तपाईं कसका लागि लेख्नुहुन्छ ?

स्वान्त सुखायका निम्ति, म आफ्नै लागि र पर हितायका निम्ति जीवन बुझ्न चाहने पाठकहरूका लागि लेख्छु । 

कहिलेदेखि लेख्न सुरु गर्नुभयो ?

साहित्य लेखन २०३६ साल र अखबारी लेखनचाहिँ २०४२ सालदेखि । हालसम्म निरन्तर लेखिरहेको छु । अहिले म तीन÷चारवटा अनलाइनमा हप्ताको तीन÷चारवटा लेखहरू लेखिरहेको छु । साहित्यिक लेखरचनाहरू पनि म निरन्तर लेखिरहेको छु । समय व्यवस्थापनमा समस्या छ अहिले । जागिरलाई धेरै समय दिनुपर्ने भएकाले सोचेजस्तो लेख्न सकिरहेको छैन । ‘पावर, मनी र सेक्स’ शीर्षकको निबन्धात्मक कृति जो मेरो एघारौं पुस्तक हो त्यो प्रेसमा छ । २०७८ वैशाखमा बाहिर आउँदैछ । 

तपाईं साहित्यमा कत्तिको कुतर्क गर्नुहुन्छ ?

कुतर्ककै लागि त राजनीति नै काफी छ नि । साहित्यमा विचार र दर्शन लेखेर नै नसकिने भएकाले कुतर्क गरिरहनै पर्दैन । 

लेखेर पाइने र नपाइने के हो ?

लेखेर पाइने भनेकै आत्मसन्तुष्टि हो । नपाइने भनेको चाहिँ पछिल्लो कृति लेखिसकेपछि अझ यस्तो लेख्न पाएको भए हुन्थ्यो भन्ने थकथकी लागिरहन्छ । 

यहाँका कस्ता र कति कृति पाठकमाझ आएका छन् ?

मेरा बाल साहित्यका सात र प्रौढ साहित्यका तीनवटा कृति प्रकाशित छन् । 

अझै कस्ता कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?

म अझै दशवटा कृतिको तयारी गर्दैछु । अबको तीन वर्षपछि पेन्सनमा बसेर म पूरै समय साहित्यलाई दिन्छु । 

तपाईंलाई आफ्ना रचना पाठकमाझ पुगेपछि कस्तो महसुस हुन्छ ?

आफ्नो सन्तान संसारलाई देखाउन पाएको झैं महसुस हुन्छ । खुशी लाग्छ । पाठकले पढेर गर्नुभएका टीकाटिप्पणीले म हर्षविभोर हुन्छु । मेरा सम्पत्ति भनेकै पाठकहरू हुन् ।


Views: 111