16th May | 2021 | Sunday | 1:24:17 AM

कविता : मेरो शहर

परीक्षा कोइराला   POSTED ON : बैशाख १८, २०७८ (१०:०३ AM)

कविता : मेरो शहर

भोकले ग्रस्त, कोलाहलमय
भ्रमपूर्ण उज्यालाको खोजीमा
अन्धकारमय काकाकुल शहर
कंक्रिटमय
मानवीय संवेदनाविहीन
एकआपसमा मेल नभएको शहर
तथापि हिँडिरन्छ हिँडिरहन्छ मैदानमा
होमिन्छ द्वन्द्वमा
असमानता र अन्यायका विरुद्ध लडिरहन्छु भन्छ
लड्छ त केवल बोली र नारामा
मष्तिष्कले लड्दैन शहर
कामले लड्दैन
पुरानो घाउको खाटा नबस्दै
नयाँ घाउ बनाइरहन्छ
परम्पराको जञ्जिरमा फसेको अनिद्रित शहर
मुटु दुखाउँछ, फोक्सो फुलाउँछ
प्रदूषणले व्यप्त शहर
आसैआसमा बाँचिरहन्छ ।
थकित शहर, पैसामा बिक्ने शहर
म पनि यही शहरमा रुमल्लिइरहेकी छु
बाध्य छु हाँस्न
मेरा पीर बेथाहरूसँगै
यो शहरले भोगेका हर भोगाइहरूसँग
लड्दैछु म, अघि बढ्दैछु ।
उज्यालाको खोजीमा, बन्धुत्वको खोजीमा
यो शहरलाई शहर बनाउन
झलमल्ल आकाश खुलाउन
अपूर्णतालाई पूर्णता दिन
संघर्षरत छु दिनरात दिनरात ।
रातोपुल, काठमाडौं ।


Views: 103