21st June | 2021 | Monday | 1:25:43 PM

साहित्यले युगचेतनाको संवाहन गर्दछ : साहित्यकार खेमनाथ दाहाल

  POSTED ON : जेठ १, २०७८ (८:५० AM)

साहित्यले युगचेतनाको संवाहन गर्दछ : साहित्यकार खेमनाथ दाहाल

नेपली साहित्य फाँटमा खेमनाथ दाहालले अफ्नै पहिचान कायम गर्नुभएको छ । उहाँले राष्ट्रियता, समसामयिक तथा युद्ध साहित्यमा सशक्त कलम चलाउनु भएको छ । दाहालका श्रद्धाञ्जलि–कविता संग्र्रह), रश्मि (खण्डकाव्य), योद्धा (काव्य), हावर्डको चौतारीमा –कविता संग्र्रह), स्वेतपत्र (महाकाव्य), म त बन्दी भएको छ (कविता संग्रह) र यात्राको सिकर्नी जस्ता कृतिहरू पाठकमाझ आएका छन् भने केही कृतिका पाण्डुलिपि प्रकाशोन्मुख छन् । यस्तै उहाँका कृतिहरूका बारेमा विभिन्न ८० जना स्रष्टाले लेखेको ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’ पनि पाठकमाझ आएको छ । साहित्य अविनाशी र युगोचित हुनुपर्दछ भन्नुहुने दाहालसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीः–

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?

यसबेला प्रकाशोन्मुख नयाँ कृति अमेरिकाली प्रसंगलाई अन्तिमरूप दिने कर्ममा सम्लग्नछु । 

साहित्यतर्फ कसरी आकर्षित हुनुभयो, कसैको प्रेरणा थियो कि ?

मेरो विचारमा सिर्जना कसैको प्रेरणाले भन्दा स्वप्रेरणाबाट प्रस्फुरित संवेगको भावना र कल्पनाको समायोजनको उपज हो । बरू यसमा वातावरणको भने केही प्रभाव पर्न सक्छभन्दा अतिशयोक्ति नहोला । आफ्नै अतीतलाई स्मरण गर्दा मैले नौ÷दश वर्षको उमेरदेखि स्वतःस्फूर्त कविता लेख्न थालेको रहेछु । त्यसबेला मैले धेरै कविता लेखेर कापी भरे पनि पानी पर्दा बनेको पानीको फोका र धरानमा बिजुली बलेपछि त्यसको बारेमा लेखेका यी दुई कविताको केही भावमात्र मेरो संझनामा छ । २०२३ सालतिर धरान नगरपालिकाले साक्षरता अभियानमा आयोजना गरेको कविता गोष्ठीमा द्वितीय पुरस्कार प्राप्त भएपश्चात् ममा थप ऊर्जा थपिएको भने अवश्य हो ।

नेपालबाहिर पनि लामो समय रहनुभयो ? 

मैले धेरै काम गरेँ र अन्त्यमा साहित्यमा रम्न थालेपछि अहिले आएर यसैमा स्थिर भएको छु । सन् २००४ र २०१८ को बीचमा पटकपटक गरेर म आठपटक अमेरिका गएँ र लगभग आठै वर्ष जति अमेरिकामा बसेँ पनि । मेरो अमेरिकाको बसाईमा हावर्डको चौतारीमा कविता संग्रह र अमेरिकाली प्रसंग (प्रकाशाोन्मुख) जस्ता कृतिहरू नेपाली साहित्यमा थप्न सकेँ । अमेरिका बसाईमै श्वेतपत्र महाकाव्यको केही अंश लेख्न सकेँ ।  

यहाँँका कति कृति पाठकमाझ आए र अब कस्ता कृति आउँदैछन् ?

अहिलेसम्म मेरा श्रद्धाञ्जलि (कविता संग्रह), रश्मि (खण्डकाव्य), योद्धा (काव्य), हावर्डको चौतारीमा (कविता संग्रह), श्वेतपत्र (महाकाव्य), म त बन्दी भएको छु (कविता संग्रह) र यात्राको सिकर्नी (नियात्रा) जस्ता कृतिहरू प्रकाशित भएका छन् । यस्तै मेरा कृतिका बारेमा लेखिएका समालोचनाहरू कृतिहरू प्रा.राजेन्द्र सुवेदीज्यूद्वारा सम्पादित समालोचना वृत्तमा खेमनाथ दाहाल नामक कृति प्रकाशित भएको छ । यसमा ७९ जना समालोचकका समालोचना छन् । अमेरिकाबाट होमनाथ सुवेदीज्यूले नव छायांवादको छवि नामक कृति प्रकाशन गर्नु भएको छ यसमा मेरा चार कृतिहरूको समालोचना समेटिएको छ । त्यस्तै पोषराज दाहालद्वारा सम्पादित खेमनाथ दाहाल ः सिर्जना र मूल्यांकन नामक कृति प्रकाशित भएको छ जसमा तेह्र समालोचनाहरू रहेका छन् । 

युद्ध साहित्यतर्फ यहाँको लगाव रहृयो ?

म के कुरा भन्न वा लेख्न संकोच मान्दिन भने मेरो कृति योद्धा अगम सिंह गिरीद्वारा रचित युद्ध र योद्धा कृतिपछि लेखिएको भए पनि नेपाली भूमिमा लेखिएको युद्ध साहित्यको पहिलो काव्य कृति हो भने श्वेतपत्र महाकाव्य हिमवत् खण्ड र दक्षिण पूर्व एसियालाई समेटेर लेखिएको पहिलो महाकाव्य हो ।  

श्वेतपत्र जस्तो महाकाव्य लेखन कसरी सम्भव भयो ?

कविता वा साहित्यमा कलम चलाउने कुरा योजनाबद्ध तरिकाले हुने कुरा हो जस्तो मलाई लाग्दैन । यो त स्वतःस्फूर्त स्वप्रेरणाबाट सुरु हुने हो । जब म सचेत भए मैले मेरो मातृभूमिमा परायाको हस्तक्षेपको गन्ध पाउन थाले । जति–जति म बढ्दै गए मलाई टिष्टा र काँगडाका मोहले पोल्न थाल्यो, सुस्ता र कालापानीका अलापमा पानी मरुवा भएको महसुस हुन थाल्यो । हुदाँ–हुँदा ठाउँठाउँमा चिथोरिएको आभाष हुन थाल्यो । यसैबीच बंगलादेश स्वतन्त्र भयो । श्रीलंकालाई रक्त रञ्जित बनाइयो । सिक्किममा जारको अधिपत्य भयो । भुटान अघोषित बन्दी भयो । नेपालमा पनि गिद्दे दृष्टी पर्न थाल्यो । यी सबै घटना परिघटनाले रुमलिएको मेरो मथिङ्गलमा उत्पन्न भएको संवेगको परिणाम हो स्वेतपत्र ।

साहित्य कस्तो हुनुपर्छ भन्ने लाग्छ यहाँलाई ?

साधारण भनाइमा साहित्यलाई समाजको दर्पण भनिन्छ । तर, मलाई लाग्छ समाजको मात्र होइन सृष्टी र लेखक स्वयंको प्रतिबिम्ब हो । मेरो विचारमा साहित्यमात्र यस्तो विषय हो जसले युगचेतनाको संवाहन गर्दछ । त्यसैले मलाई साहित्य अविनाशी र युगोचित हुनुपर्दछ जस्तो लाग्दछ र यही परिधिभित्र बसेर रचना गर्ने कोसिस गर्दछु । 

अबको योजना ?

मेरो आगामी योजना त्यस्तो योजनाबद्ध त केही छैन । तर, मैले तयार गरेका यात्रा कृतिहरू, कविता संग्रह र थप महाकाव्य प्रकाशित गर्न भने म सक्रिय हुने हो । अमेरिका पलायनका सम्बन्धमा म आठपटक अमेरिका गएँ र आठै वर्ष बसेँ पनि तर हालसम्म ग्रीनकार्डको प्रलोभनमा परेको छैन तथापि भिसा पाउन्जेल यात्राले निरन्तरता भने पाउनेछ । 

सिर्जना या कृति के हो ?

सिर्जना मनमस्तिष्कमा उब्जने कल्पनाको तरंग हो जसलाई साक्षात रूपमा ढाल्न सकिन्छ र अन्ततः कृतिमार्फत मूर्तरूपमा प्रकट गरिन्छ । सिर्जना रचनाको साधना हो भने कृति त्यसको साध्य हो । सिर्जना बौद्धिकताको प्रवाह हो भने कृति मूल्यांकनको माध्यम हो ।

अन्त्यमा ?

विश्वमा हरेक सिर्जित वस्तुहरू नासवान छन् । अविनाशी त केवल आत्मा मात्र छ भनिन्छ । मृत्युलाई साधारणतः देहावसान अर्थात् शरीरको अवसान भनेर जानिन्छ । हरेक जन्म लिनेको मृत्यु अपरिहार्य छ भन्ने यथार्थलाई श्रीकृष्णले गीतामा अर्जुनलाई यसरी संझाउनुभएको छ, ‘जातस्य हि ध्रुवो मृत्युध्र्रुवं जन्म मृतस्य च’ । 


Views: 135

सम्बन्धित सामग्री: