21st June | 2021 | Monday | 1:11:54 PM

कविता : अमर प्रेम

अच्युतराज दाहाल   POSTED ON : जेठ २२, २०७८ (१०:०५ AM)

कविता :  अमर प्रेम

हो !

त्यसपछि

हाम्रा चाहाना बदलिए

हाम्रो दृष्टिकोण भुटियो

हाम्रो बाटो छुट्टियो

संसार छुट्टियो

जीवन छुट्टियो

तिमीले कसैको जीवनलाई

सिन्दुरको सुरक्षा लिएर 

आफ्नो सिउँदोमा राख्यौ

म कसैको सिन्दुर भएँ

रक्तरंगको हाम्रो प्रेम

मुटुभित्र प्रवाहित रहने भयो 

यो जुनीलाई

त्यसपछि 

तिम्रो त्यो झरना जस्तो कपाल

धनुषजस्तो आँखीभौंमा

तीर चडाएको जस्तो नजर

पेन्सिलरेखित ओठ

मसिना घण्टीहरूको माला,

खसेजस्तो हाँसो

एसिडथोपा आँसु

त्यो अध्यायमा

पूर्णविराम ठोके

पल्टाए जीवनको पन्ना

किताब बन्द गरेँ

राखेँ मैले ।

म पनि प्रेमी थिएँ

म पनि प्रेमी हुँ

भन्नलाई तिमी देख्छु 

प्रमाण उभिएकी

मोटी मोटी सलक्क परेकी

ऐनामै सजाएर राखिराख्नु जस्ती

फूलदार कुर्ता सुरुवालमा सजिएकी ।

त्यही प्रेम बिस्तार भयो 

र पल्लवित भएर

म आफ्नी अर्धांिगनी

र परिवारमा

सिञ्चित हुँदै आउनसकेँ 

हाम्रो प्रेममा सम्झौता थियो

स्वतन्त्रता थियो

उदारता र 

शुभकामना थियो

छुट्टिएर बाँच्न नसक्ने पनि

कुनै चरणमा भएका थियौं होला हामी

एक नजर पाउन पनि

कहिले कहिले तड्पिएका थियौं होला हामी

तर हामी छुट्टिन सक्यौं

रिस उठिहाल्नुपर्ने थियो होला

तर हामी दुवैलाई उठेन

दुःख लागिहाल्नुपर्ने थियो होला

तर हामी दुवैलाई लागेन

हामीले समयको बहाव बुझ्यौं

जाने बेलामा तिमीले मुस्कान दियौ जो

मनको सन्दुकमा रत्न भयो

मैले हात हल्लाएँ ।

जब तिमीलाई देख्छु

त्यही आकाशेनीलो–

सेतो फूलदार कुर्ता–सुरुवालमा

हुन्छ्यौ तिमी–मनभित्र ।

जुन दिन प्रथमचोटि 

सम्पूर्ण रूपमा मैले तिमीलाई

मन दिएको थिएँ ।

त्यही श्रद्धा आज पनि तिमीप्रति छ

आशक्तिरहित

जीवनको प्रेम तिमीलाई सधैंलाई छ ।

प्रेममा मर्ने र मार्ने 

जोडीहरूदेखि हामी टाडा 

एकअर्कादेखि पनि सधैंलाई टाडा

जीवनलाई तर यसरी अँगाल्न सक्यौं

प्रेमले हामीलाई मर्न होइन,

दुःख होइन

शोक होइन

घृणा होइन

पलायन होइन

जीवन सिकायो ।

हाम्रो प्रेम विजयी होला ?

त्यो शंका अब निवारण भयो

देख्यौ ? अन्ततः

हाम्रो प्रेमले जीत दर्ता गरायो । 


Views: 625

सम्बन्धित सामग्री: