21st June | 2021 | Monday | 11:54:49 AM

कविता : त्यो पर्दैन भन्ने सरकार र म

कौशिक नवराज   POSTED ON : जेठ २२, २०७८ (१०:१० AM)

कविता : त्यो पर्दैन भन्ने सरकार र म


मिडियातिर भाइरल बनेको छ

एक ‘त्यो पर्दैन’ भन्ने विषय

अर्को अक्सिजन माग्दा दाउरा खोजिदिनेहरू

देशमा लकडाउन छ

महामारीले पूरै देश रोइरहेको छ

जीवनको आशामा एक थान सास तड्पिरहेका छन् 

तर सामाजिक सञ्जालमा एकाएक 

भाइरल हुन पुगेको छ

त्यो पर्दैन र हिँ.. हिँ को विषय

घर घरमा चित्कार छ 

जीवनको भिख मागिरहेका जनहरू

तर सरकार

उपचार माग्दा आगो दिन्छ

अक्सिजन माग्दा दाउरा

हिजो बेसार पानी, 

उच्च इम्युन पावरका अलाप गर्नेहरू

भयावह क्षतिपछि 

रातारात युटर्न लिँदै

अम्बाको पात र तातोपानी 

भन्नु नै गल्ती भयो

कोरोना सोचेजस्तो रैनछ रे ।

आज यति क्षतिपछि

हिजोको गल्ति देख्नेहरू

आज नागरिकको रोदनमा हिँ..हिँ. गर्नेहरू

त्यो पर्दैन भनेर पन्छिनेहरू

फेरी कहिले युटर्न होलान्

हिँ..हिँ र त्यो पर्दैनको मूल्य 

कति परिवारले अनाहकमा जीवन गुमाउनुपर्ला ।

के सरकार बागमतीमा जल्नेहरू

अस्पतालको ड्युटीमा गल्नेहरू

अनि कात्रोमा कमिसन देख्नेहरू

सबै कसरी एकै हुन सक्छन् ।

हिँ..हिँ त्यो पर्दैन, पर्दै पर्दैन ।

यो विषयमा कुरै गर्न पर्दैन ।।

ए सरकार

दिनभरि ड्युटीमा खटिनेहरूको

बेड नपाएर सिँडीमा पल्टिनेहरूको

बल्ल तल्ल बेड पाएर पनि

अक्सिजन नपाएर छटपटिनेहरूको

मुहारमा कहिले हिँ..हिँ आउला 

सोच्छु त्यो पर्दैन पर्दै पर्दैन 

भन्ने सरकार र म

उफ ¤ म पनि त सरकार नै हो

तर मेरो ओठमा, किन धेरै दिनदेखि

कहिले हिँ...हिँ को आवाज नै आएन ।।

टिभीमा हेर्छु,

बेडमा पल्टिन पालो पर्खिनेहरू

चितामा जल्न पालो पर्खिनेहरू

सबैको अनुहारमा हिँ.. हिँ होइन

सरकारप्रति आक्रोश देख्छु तर

सरकार नागरिकको पीडामा हिँ..हिँ को

पासा खेल्न मस्त छ ।

कहीँ होलान् देशमा

हिँ.. हिँ हाँसोले जल्नेहरू

त्यो पर्दैनको कठोर बचनले पोल्नेहरू

कस्तो मन होला अक्सिजन माग्दा

दाउराको बिटो दिनेहरू कस्तो सोच्दा होलान्

आफन्त बितेको खबरसँगै

टिभिमा हिँ..हिँ को ध्वनि गुञ्जिदा ।।

सरकार के गरूँ

यस्तो बेला मलाई हिँ.. हिँ

मन परेन त्यो झन पर्दै परेन

विरोध होइन सरकार

साँच्ची कुबेलाको हिँ..हिँ 

मलाई सुन्नै मन पर्दैन

त्यो झनै पर्दैन, पर्दै पर्दैन ।

माफ पाऊँ सरकार

म विरोधी होइन

हिँ..हिँ को 

तर मलाई यो बेला 

हिँ..हिँ को ध्वनि 

मनै पर्दैन, पर्दै पर्दैन ।। 


Views: 155

सम्बन्धित सामग्री: