21st June | 2021 | Monday | 1:48:48 PM

कविता : बा देश बोक्नु पहिले भोक बोक्न सिक

राजबाबु श्रेष्ठ ‘सागर’   POSTED ON : जेठ २२, २०७८ (११:२९ AM)

कविता : बा देश बोक्नु पहिले भोक बोक्न सिक

 

रुँदै सेता हातहरूले ओखती होइन

जब फोक्सोका कथा लेख्छन्

जब कविहरू रगतमा चोपेर अक्षरहरू

कविता होइन मुखबाट राँको ओकल्छन्

महजोडी कलाकार हाँस्न छाडेर

भरोसाको अस्पतालमा बिस्कुनझैँ सुकाइएका 

ती सेता लासहरू देखेर जब रंगमञ्चमै ढल्छन् । 

तब बुझ्नुपर्छ बा तिमीले,

‘कठै मेरो देश आइसियुमा छट्पटाइरहेछन् 

मेरो बेहोसीमा भित्रिएका मृत्यसँगै’

एक अजुली रगत आँखाबाट उबाउँदै

जब सहिदहरू रुँदै भन्छन्–

‘साँच्चै भनूँ,

कोमामा गए हाम्रा भरोसा र विश्वासहरू

विभूति भएछन् हाम्रा सबै ती त्याग र बलिदानरहरू ।’

ए बा ! सुन्दैछौ तिमी ....

उदास छन् मेरा देशका लालीगुराँसहरू 

गाउन बिर्सिएका छन् ती कोइलीहरूले

आफ्नै देशका ती मौलिक संस्कृतिहरू

बिर्सिएका छन् माउहरूले आफ्नो लाम्टो चुसाउन

आफ्नै काखका बचेराहरूलाई । 

ए बा ! सुन्दैछौ तिमी ....

टेक्न बिर्सिएका छन् 

ती कंगारुहरूले 

आफ्नै घरको प्रांगण पनि 

बिर्सिएका छन् बिहान ब्युँझाउन देशलाई

अचेल ती राता भालेहरूले पनि । 

ए बा ¤ सुन्दैछौ तिमी ....

उदास छन् ठिंग उभिएका ती सालिकहरू

अलमलामा छन् अहिले सबै

सहरका ती भोकका फुटपाथहरू । 

ए बा ¤ भनन तिमी

कसलाई जोडुँ म ती अक्सिजनका नली ?

तड्पिरहेका देशलाई कि

देशसँग बाघचाल खेलिरहेका खेलाडीलाई ?

ए बा भनन तिमी

म कसलाई जोडुँ ती अक्सिजनका नली ?

भो ¤ बा ¤

अब छाडिदेऊ देश बोक्न तिमी

अब बिर्सिदेऊ उखान खोक्न तिमी

सबै बिर्सी उठ जुरुक्क जीवनको बिउ रोप्न तिमी

साँच्चै भनूँ बा,

खाएर देशले अघाउन्जेल तिम्रो भाषण

छादिरहेछन् अहिले लासहरू ।

ए बा ! साँच्चै भनूँ,

देश बोक्नुभन्दा पहिले

तिमी भोक बोक्ने भरिया हुन सिक

जब पिठ्युँमा भोकको भारी

तिमी बोक्न सक्छौ नि बा 

म बुझ्छु कि

तिमी त्यस दिन देश बोक्न सक्छौ । 


Views: 1339

सम्बन्धित सामग्री: