21st June | 2021 | Monday | 1:56:13 PM

कविता : सत्ता

नन्दलाल खरेल   POSTED ON : जेठ २२, २०७८ (११:४१ AM)

कविता : सत्ता


सत्ताभन्दा ठूलो सत्य छ 

तर सत्य सधैं सत्ताको छायाँमा छ 

सत्ताभन्दा महामारीबाट जनता बचाउनु ठूलो छ 

तर महामारी सत्ताको लागि ब्रहृमलुटको अवसर छ

सत्ताभन्दा ठूलो त्याग÷आर्दश छ 

तर त्यो सत्ताको हुंकारमा मौन छ

सत्ताभन्दा ठूलो संसद छ 

तर संसद बाहृय रिमोटको बसमा छ

सत्ताभन्दा ठूलो धर्म छ

तर सत्ताले पशुपतिमा सुनको गजुर लाए पुग्छ

सत्ताभन्दा ठूलो सर्वोच्च अदालत छ 

तर सर्वोच्च पनि बेलाबेलामा सेटिङमा चल्दछ 

सत्ताभन्दा ठूलो सुन्दरी छ 

तर सुन्दरी किन्न सत्तासँग सुन छ 

सत्ताभन्दा ठूलो चुच्चे नयाँनक्सा छ

तर त्यो नक्सा हाम्रो नभएर विदेशीको पाउमा छ

सत्ताभन्दा ठूलो जनताको भोट छ

तर त्यो भोट किन्न सत्तासँग नोट छ 

सत्ताभन्दा ठूलो संविधान छ 

तर संविधान सत्ताको नजरमा रद्दीको टोकरी झैँ छ 

सत्ताभन्दा ठूलो राष्ट्रिय अखण्डता छ 

तर त्यो सत्तानाइकेको भाषणमा रमाएको छ

सत्ताभन्दा ठूलो राष्ट्रपतीय संस्था छ 

तर राष्ट्रपति स्वयं सत्ताको इशारामा चल्छ

सत्ताभन्दा शक्तिशाली लैनचौर दरबार छ 

तर त्यै दरवारको अक्सिजनले कुर्सीको बचाउ गरेको छ 

सत्ताबचाउन गैरसांसदहरूलाई मन्त्री बनाइएको छ 

तर ती मन्त्रीहरू सर्वोच्चको आदेशले घरनघाटका भएका छन्

मुलुक अहिले आइसियु हँुदै भेन्टिलेटरमा छ 

तर सत्ता घाटमा चिता थप्ने योजनामा छ । 

 


Views: 161

सम्बन्धित सामग्री: