प्रा.डा. भट्टको अविस्मरणीय पलहरूसँग बस्दा

कृष्ण भुसाल   POSTED ON : असार १२, २०७८ (९:१८ AM)

प्रा.डा. भट्टको अविस्मरणीय पलहरूसँग बस्दा

चिकित्सा क्षेत्रका स्थापित र प्रसिद्ध व्यक्तित्व प्रा.डा.अर्जुनदेव भट्टको योगदान साहित्यिक फाँटमा पनि अविस्मरणीय छ । चिकित्सकीय कार्यमा बढी केन्द्रित भई प्रसिद्ध युरोलोजिस्टका रूपमा परिचित डा.भट्ट लेखकका रूपमा पनि आफूलाई चिनाउनुभएको छ । बहुआयामिक प्रतिभाका धनी डा.भट्टका साहित्य र साहित्यतिरका आधा दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेका छन् भने कतिपय प्रकाशनोन्मुख छन् । साहित्यको कविता विधातर्फ आकर्षित भएर उहाँले आफ्ना भावना, संवेदना र विचारलाई सशक्त ढंगले अभिव्यक्त गर्नुभएको छ । पछिल्लो समय उहाँको कविता संग्रह ‘अविस्मरणीय पलहरू’ पाठकमाझ आइसकेको छ । जसमा सामाजिक, सांस्कृतिक, राजनीतिक तथा समसामयिकलगायत विविध विषयवस्तु प्रयोग भएका छन् । 

प्रा.डा.भट्टका यसअघि ‘बैतडीका केही स्थानीय शब्द’ (भाग-१) सहसम्पादन २०१७, ‘प्राकृतिक परिवार नियोजन’ (अगुवा पुस्तक) २०४७, ‘एड्स प्रतिरक्षा प्रणाली विनाशक रोग’ २०४७, ‘यौन प्रसारित रोगहरू’ २०४८, ‘मुटुको धड्कन’ खण्डकाव्य २०७७, ‘समय यात्रा’ (जलेश्वर-जनकपुर अस्पतालको सम्झना) २०७७, ‘मेरो आमाः दृढ प्रतिज्ञा नारी’ (स्मरण) २०७७ जस्ता कृति पाठकमाझ आइसकेका छन् भने आधा दर्जन जति कृति प्रकाशनको पर्खाइमा छन् । यसैगरी उहाँका मूत्ररोगसम्बन्धी दुई सयभन्दा बढी लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

सिर्जनशील यात्राको अजस्र यात्रामा डा.भट्टको ६८ वटा फुटकर कविता समेटिएको ‘अविस्मरणीय पलहरू’ कविता संग्रह पाठकमाझ पुगिसकेको छ । ३४२ पृष्ठमा संरचित उक्त कृतिमा विभिन्न विषयवस्तुमा आधारित सुन्दर कविता समेटिएका छन् । जसमा ‘म र कविता’, ‘शल्यचिकित्सा’, ‘बाल्यावस्था’, ‘वृद्धावस्था’, ‘लेनिन’, ‘कहाँ छ नेपाल ?’, ‘वास्तविक बैतड्याल’, ‘नझुक्कियौ’, ‘आशा र विश्वास’, ‘कानेखुशी चल्दैछ’, ‘लाश जाँच’, ‘मेरी आमा’, ‘मर्मको मुस्कान’ ‘चिठ्ठी’, ‘डाकेझैं लाग्छ’, ‘प्रश्नोत्तरः साथीलाई’, ‘हजार जीवन बाचूँ लाग्छ’, ‘अँधेरो हुन्न-सगरमाथाको कोख’, ‘मनको वेदना’, ‘टुसाउन नसकेका बिउहरू’, ‘आवाजको खाँचो छ’, ‘भिखारी’, ‘प्रेम-कबुल’, ‘फागुने क्रान्तिको आहृवान’, जस्ता शीर्षकका कविता पस्किनुभएको छ ।

यसैगरी ‘डढेको सौन्दर्य’, ‘नारी’, ‘हराएको अनुहार’, ‘नाता’, ‘हुरी’, ‘च्याउँदा च्याउँदै पनि’, ‘अलिएण्डोप्रति’, ‘छोरोको ज्यान पाडोको भाकल’, ‘अक्टोबर क्रान्ति’, ‘तिर्खा मेट्न सकेको छैन’, ‘पुत्र सन्देश’, ‘जोगाउन– मानवता’, ‘चिनारी निकट भविष्यको नेपाल’, ‘युवा आवाज’, ‘घैँटोमा ज्योति’, ‘धोको’, ‘मरेर पनि जन्मन सक्नेहरू’, ‘धरहरा’, ‘फूलको धोको’, ‘मानव विशेषता’, ‘पति मौजुद विधवाको स्वर’, ‘समानता’, ‘दोषी र फैसला’ शीर्षकमा कविता समाविष्ट गरिएको छ ।

त्यस्तै ‘भन्छ मगन्तेको लाश’, ‘अझैं मानिस जन्मन बाँकी रहेछ’, ‘बङ्गाराको भाका’, ‘के शहीद अपुता हुन्छन र ?’, ‘तल्लो जात र भोको पेट’, ‘उछिट्टिएको मानसिक सन्तुलन’, ‘फेकन’, ‘मातृभूमि आगमन’, ‘जीवन चुनौतीपूर्ण कामको यात्रा’, ‘अवसरको खानी’, ‘लाभांश जीवनपछिको मृत्यु’, ‘तीन पुस्ता’, ‘रमाउनेछन् सपूत आफ्नै देशमा’, ‘झिंजाका डाका र रेडियो’, ‘मनका उकुस मुकुस’, ‘शल्यकक्ष’, ‘सपनाको सीमा’, ‘कागको लडाइँ’, ‘फागुने क्रान्तिको आहृवान’, ‘कोरोना विश्वयुद्ध’ र ‘कोरोना साम्राज्य’ शीर्षकका अत्यन्तै उत्कृष्ट काव्यपुञ्ज संग्रहित छन् ।

हरबखत बिरामीहरूको सेवामा समर्पित डा.भट्टले मान्छेका आर्तनाद, दुःख, पीडा र संवेदनालाई धेरै नजिकबाट नियाल्नुभएको छ । मृत्युको भयानक र कहालीलाग्दो अवस्थाबाट गुज्रिएकाको चिच्याहट, छटपटी, विरह तथा शोकसँग पटक–पटक साक्षात्कार बन्नुभएको छ । यस्तै कारुणिक संवेदनायुक्त युक्त बाहृय परिवेश र आफूभित्रको सिर्जनात्मक प्रतिभाले उहाँलाई अभिव्यक्त गराउन हौसला दिन्छ । आफ्ना मनका विचार तथा अनुभूतिलाई काव्यात्मक शैलीमा उतारेपछिमात्र उहाँको मनको उतारचढाव मत्थर हुन्छ ।

समाजमा देखिएका विभिन्न स्वरूपलाई काव्यात्मक संवेदना मिसाएर सकेसम्म यथार्थपरक शैलीमा लेख्न खोज्ने भट्ट ‘कविता जीवनका लागि हो’, भन्नुहुन्छ । उहाँका कविताहरू पढ्दै जादा कविताको छाल, तरंग र लहर सबैलाई छुन्छ । ‘भ्रष्टतामुक्त बन, परिश्रमी बन, जनउत्थानक बन नेपाल आफैं बन्छ’ उहाँको मान्यता छ । वरिष्ठ चिकित्सकका साथै कलममा कला र कलामा जीवनलाई ढाल्न सक्ने भट्टले यस कृतिमा सरल भाषाशैलीको माध्यमबाट गहन विषय प्रस्तुत गर्नुभएको छ । विचार, दर्शन र कलाविनाको कविता लेखन केवल रहर, स्वाङ्मात्र हो । तर, उहाँको यस कृतिमा जीवन्तता, मौलिकता र हार्दिकताको सशक्त उपस्थिति भेटिन्छ ।

गणितको एउटै सूत्रले धेरै समस्याहरू समाधान भएजस्तै धेरै कुरा कवितामार्फत सूत्रात्मक अभिव्यक्ति दिनसक्ने वास्तविक साहित्यको मर्मलाई डा.भट्टले आत्मसात गर्नुभएको छ । बिम्ब, प्रतीक र वक्रोक्तिमार्फत जीवनका बासना, दर्शन, अनुभव र बौद्धिकता, कोमलता र कल्पनाको व्यापकता पाइन्छ यस कृतिमा । कविता पढ्दा लेखकले आफ्नै आँखाले टुलुटुलु देखेका दृश्यझैं शब्दचित्र खिचेर प्रस्तुत गर्नुभएझैँ प्रतीत हुन्छ । उहाँले विगतका घटनाक्रमलाई आफ्नो स्मृतिपटलमा घुमाएर कविता कोर्नु भएको छ । जसले हृदयमा झङ्कार ल्याइदिन्छ ।

कृत्रिमताभन्दा उहाँ सहज र स्वाभाविक ढंगले विषयवस्तुलाई प्रस्तुत गर्न खप्पिस हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जीवन बाँच्नका लागि समाजमा देखेका विभेद मेरा कविताका प्राथमिकता हुन् । लोग्नेमानिस र स्वानीमान्छे माझको पक्षपात, विधवालाई हाम्रो समाजमा अपवादबाहेक गरिने अमानवीय व्यवहार कल्पना बाहिरको छ । समाज र अझ मानिस यति निर्लज्ज छ कि ऊ शहीदहरूलाई ठुटे सालिकमा ठड्याएर जुन महान् कार्यको निम्ति शहीद भएका थिए, ठीक त्यसको उल्टो गर्दा गर्दै पनि माल्यार्पण गर्न हिच्किचाउँदैन । तराईका मात्र होइन नेपालकै सम्पूर्ण फेकन बच्चाहरूले मेरो मुटुमा भक्कानो फुटाउँछन् । म यसैलाई कवितामा उतार्ने कोसिस गर्छु ।’

‘यो डाँकू हो

या फलामको मान्छे

किन वीरता

र साहसलाई

गलत बाटोमा

फसाएर बाँचिरहेछ

झिँजाको उपहार

खुङ्खार भनिने

वीर पुरुषको सौजन्य ।’

– – – –

‘आशमा मनका झ्यालहरू

निस्कन्छन् कविता

कविता

चिताको बाटो रोकेर

बिमारी फर्कनु नै

शल्यकक्षको सन्तुष्टि’

माथि उल्लेखित काव्य पंक्तिका झिल्काहरूले प्रष्ट्याउछ कि प्रा.डा.भट्टको काव्यसाधना कति चोटिलो छ र चेतना कत्ति प्रगतिशील छ भनेर । प्रस्तुत कृति अविस्मरणीय पलहरूलाई इन्डिगो इन्क प्रालिले पाठकमाझ ल्याएको छ । कृतिको आवरण र लेआउट पनि इन्डिगोको नै हो । यस कृतिलाई डा.भट्टले ‘सम्पूर्ण बिरामी साहित्यप्रेमीप्रति जसले मलाई यो ठाउँमा पु-याए’ भनेर समर्पण गर्नुभएको छ । कृतिमा लेखकका दाजु तथा वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, प्रा.डा.खेम कोइराला बन्धु, साहित्यकार कलानिधि दाहाल, हरिभक्त सिग्देल, कल्पना दाहाललगायत पारिवारिक सदस्यको तस्वीर समावेश गरिएको छ ।

विसं २००२ सालमा पाल्पामा जन्मिनुभएका भट्टले एमडी, पीएडी (सर्जरी), डी.एससी (युरोलोजी), एफ.आइ.सी.एस, मृगौला प्रत्यारोपण फेलोसिप अध्ययन गर्नुभएको छ । उहाँ हाल मेडिकेयर चावहिलमा कार्यरत हुनुहुन्छ । आगामी दिनमा पनि उहाँका यस्तै उत्कृष्ट कृतिहरूको रसपान गर्ने अपेक्षासहित उहाँलाई हार्दिक शुभकामना । 


Top