कर्मको आँगनमा उभिएर !

डा. नारायण चालिसे   POSTED ON : असार १२, २०७८ (९:२७ AM)

कर्मको आँगनमा उभिएर !

धनानि भूमौ पशवश्च गोष्ठे, भार्या गृहद्वारी जनस्मसाने, देहश्चितायां परलोकमार्गेकर्मानुगो गच्छति जीव एक (हितोपदेश) । यस श्लोकको भावार्थ र तात्पर्य हुन्छ ः नित्य र अविनाशी हुन् कि जस्ता लाग्ने हरेक कुराले हामीलाई छोटो समयमात्र साथ दिन्छन् । हामीले ज्यादै प्रिय ठानेको धन सम्पत्ति पृथ्वीमै छोडेर जाने हो । वस्तुभाउ छन् भने गोठमै छुट्छन्, पत्नीले घरको ढोकासम्म मात्र साथ दिन्छिन्, आफन्त भनिएकाहरूले श्मसानघाटसम्म मात्र साथ दिन्छन् र शरीरले चितासम्म मात्र साथ दिन्छ । यहाँ भार्या भनेर पत्नीको मात्र कुरा गरिएको छ । पत्नीमात्र होइन पति पनि यहाँ त्यसरी नै व्यवहृत हुन्छ । त्यस्तै धन र वैभवका आधुनिक अनुहारहरू छन् ।

तिनका बारेमा सयौं वर्ष पुराना नीतिशास्त्रहरूले कल्पना नै गर्न नसकेकाले सम्बोधन हुन नसकेको हो । मानिस त आफ्ना कर्मले निर्देश गरेको बाटोमा हिँड्ने प्राणी हो, त्यसैले यस्ता कुराहरूमा समयमै सचेत हुन आवश्यक छ भन्ने हाम्रा हितोपदेश वचनहरू छन् जसले हामीलाई सबै प्रकारका अतिवादी मार्गबाट बँच्न सन्देश प्रवाह गरिरहन्छन् । यस्ता हजारौं सन्देश र उपदेश छन् जसले हाम्रो जीवनपद्धतिको मार्गलाई संकेत गरिरहेका छन् ।

यद्यपि जीवनका हरेक कर्महरू सधैं नीति र धर्मको आदर्शलाई पूर्ण पालन गरेरमात्र सम्पन्न गर्न सजिलो नहुन सक्छ । मानिसको चेतनाको स्तर र समाजमा वर्गीय विसमता कायमै छ । जीवनलाई परिचालन गर्ने मूल आधार अर्थतन्त्र हो । आय र व्ययको व्यवस्थापन, सन्तुलन हुन नसक्दा कतिपय मूल्य र आदर्शहरूको पनि पालना हुन नसक्ने अवस्थामा नीति र धर्मका आदेश र आचरणमा तलमाथि हुन सक्छ तर हाम्रो संस्कारको रूपमा रहेका धेरै मूल्यहरूको पालना भने सधैं भइ नै रहन्छ । पापपुण्यको मान्यतामा विश्वास गर्ने हाम्रो संस्कारमा पापबोधमा क्षमा माग्ने र पुण्यको प्राप्तिको निम्ति प्रार्थना गर्ने परम्परा छ । 

कर्मफलमा विश्वास गरिने हुनाले हाम्रो सनातन जीवनपद्धतिमा अध्यात्मको भाव बढी प्रतिबिम्बित हुन्छ । लाखौं देवदेवीको अस्तित्वमा विश्वास गरिने हुनाले आस्था गर्नको निम्ति धेरै देवी देवताका सगुण रूपहरू रहेका मठ–मन्दिरहरू, शक्तिपीठहरू र आराध्य क्षेत्रहरू रहेका छन् । यस लोकका कर्मले अर्कोअर्को जन्ममा पनि फलभोगको सम्भावना रहेकाले पूर्वजन्म र पुनर्जन्मको प्रावधानमाथि र सोही अनुरूप कर्म र व्यवहार गर्नका निम्ति पनि शास्त्रले निर्देश गरेका छन् । सत्कर्म, सत्धर्म, सद्विचार, सत्व्यवहारको निम्ति सनातन धर्म र दर्शनका शास्त्रहरूले मार्गदर्शन गरेका छन् । 

सनातन धर्मको आधार वैदिक, औपनिषदिक, पौराणिक धर्म र दर्शनका मान्यताहरू हुन् । एक अर्थमा हाम्रो जीवनपद्धति भनेको पनि सनातन, वैदिक, औपनिषदिक, पौराणिक र लौकिक जीवन दर्शनबाट निर्देशित र निर्मित छ । त्यसैले हाम्रो जीवनपद्धतिको आधार आध्यात्मिक नै हो भन्दा पनि त्यति फरक पर्दैन । उपासना र आराधनामा विश्वास रहने भएकाले हाम्रा विश्वासहरू सधैं उध्र्वगामी नैतिक चेतनामा आधारित रहेका हुन्छन् । धर्म र दर्शनका अनेकौं मान्यता र सम्प्रदायहरूमा अडिएर सनातनी जीवन चलेको पाइन्छ ।

जीवनपद्धतिको स्वभाव जीवन परिचालनका प्रक्रिया एवं उपक्रमहरूमा व्यञ्जित हुन्छ । जीवनको परिचालन ज्यादै धर्ममुखी र ज्यादै शास्त्रीय भएरमात्र चलेको हुँदैन । धेरै मूल्यहरूमा सम्झौता गरेर जीवनलाई परिचालन गर्नुपरेको हुन्छ । त्यस्तो अवस्थामा धर्मको मार्गभन्दा बाध्यताको जीवन बढी प्रिय लाग्न सक्छ । त्यसैले हाम्रो जीवनका हरेक उपक्रमहरू धर्ममार्गीमात्र भएनन् भने पनि क्षमाभावले गर्दा कतिपय दोष र त्रुटिबाट छुट्कारा पाउन सकिन्छ । मूल आदर्शकै परिधिमा रहेर क्षमा, भुल, दया र करुणाका भावहरूका आधारमा जीवनयात्रा चलाउँदै गर्दा पनि हामी धर्मविमुख भएको ठहरिँदैन । हामी धेरै सैद्धान्तिक, वस्तुवादी भएरमात्र हुँदैन । 

हाम्रो जीवन परिचालनको मार्ग व्यवहार मार्ग हो । हामीले त्यसैले कस्तो व्यवहार गर्छौं भन्ने कुराले हाम्रो मर्यादाको मापन गरिएको हुन्छ । त्यसो त कुनै धर्म, कुनै समाज, कुनै पद्धति पनि सिद्धान्ततः नराम्रो हुँदैन । सबै उच्च आदर्शले महिमामण्डित हुन्छन् तर तिनको व्यवहारमा भेटिने विभिन्नताले नै तिनका कार्यरूपहरूको पृथक् मूल्यांकन हुने गर्दछ ।

हामीले यहाँ नीति र धर्मका कुरा गर्दा नेपाल र नेपाली जाति सबैलाई समेटेर रहेको नेपाली राष्ट्रिय संस्कृति र त्यसमा आबद्ध हामी सबै नेपालीका हृदयमा विद्यमान् रहेको नेपाली हुने धर्मलाई पर राखेर केवल धार्मिक परिपाटीको मात्र व्याख्या गरेर पुग्दैन । हामी त्यस्तो धर्म, दर्शन, साहित्य र जीवन दर्शनका पक्षमा छौं जसले समग्र नेपालीको धर्माचरण, कर्ममीमांसा, जीवनपद्धतिलाई समग्रमा समेट्न सकोस् । अनि नेपाली हुनुको बोध प्रतिबिम्बित हुने आचरण, विधि र व्यवहारका विषयमा जानकारी गराउन सकोस् ।

व्यक्तिको जीवनजस्तै समाजको पनि जीवन र विचार हुन्छ । समाजले संस्कृति, धर्म, दर्शन, कला, साहित्य आदि सबै कुरा बोकेर बसेको हुन्छ । समाजका सदस्यले रुचिअनुसार समाजबाट ती तत्वहरूलाई लिएर समाएर हिँड्छ । समाजविनाको दर्शन, संस्कृति वा साहित्य केही पनि पूर्ण हुँदैन । हामीलाई लाग्छ हामीले नयाँनयाँ काम गरिरहेका छौं तर हामीलाई यो थाहा हुँदैन कि हामी समाजकै कुनै एउटा पक्षका दूत हौं । हामीसँगै हाम्रो समाज हिँडिरहेको हुन्छ । समाजको जीवन भनेको समाजका गतिविधिहरू हुन् । गतिविधिका बाहक मानिस हुन्छन् । तर, तिनले समाजलाई आफ्नो विचारमा, दर्शनमा, कलामा ढालेका हुन् कुनै नयाँ काम गरेका होइनन् । यस अर्थमा समाजभन्दा पृथक् वस्तुको कल्पना हाम्रो अज्ञानता हो । 

एउटा व्यक्ति आफ्नो जीवनमा कुनै मान्यता र विचारबाट परिचालित र निर्देशित हुन्छ भने त्यो समाजकै निर्देशनमा हुन्छ । मानिसको विचार निर्माणको आधार यसको आफ्नो भनेको दर्शन हो । त्यो दर्शन उसका समाजिक मूल्य र मान्यताबाट निर्माण भएको हुन्छ । हामीले जानेर, नजानेर, पढेर नपढेर, बुझेर नबुझेर कुनै न कुनै दर्शनलाई बोकेका हुन्छौं । हाम्रो दर्शन के रहेछ भन्ने कुरा हामीले धेरै पछि आफ्नो ज्ञान र अनुभवले प्रमाणित गछौं । विचारविनाको मानिसको जीवन नै हुँदैन । आफूमा निहित त्यो पन जुन आफ्ना कर्म, व्यवहार र अवस्थाले निर्माण गरेको छ, सिकाएको छ त्यो उसको दर्शन हो । कृषि गर्ने व्यक्तिको कर्म कृषिको दर्शनमा आधारित हुन्छ ।

पशुपालनको निम्ति पशुपालन दर्शन हुन्छ । यस प्रकार हामी कुनै न कुनै व्यावहारिक दर्शनबाट निर्देशित नै हुन्छौं र अध्ययन अनुसन्धानले त्यही दर्शनलाई सैद्धान्तिक रूप दिनेमात्र हो । त्यो दर्शनलाई खुट्याउने, पर्गेल्ने परिमार्जन गर्ने काम दर्शनको अध्ययनले गरिन्छ । नपढ्नेहरूसँग पनि दर्शन त हुन्छ तर उसको दर्शनलाई ज्ञानले प्रमाणित नगरिदिएको हुनाले ऊ अनपढ मानिन्छ । जीवन नश्वर छ भन्ने जान्न पढ्नै पर्दैन व्यवहारले नै सिकाएको हुन्छ । 

खाली पेटमा कुनै सौन्दर्यको दर्शन सुन्दर रहँदैन । सबै कुराको मौलिक रूप समाजमै देखिन्छ । समाज एउटा जीवनको नाम हो । हामी तिनै विचार बोकेर बाँच्ने हिँड्नेहरू हौँ । अनि हाम्रो जमात हाम्रो समाज हो । हाम्रो सामूहिक विचार र भावनाबाट समाज निर्माण भएको हुनाले हामी समाजका सदस्यहरूको समष्टि चेतना समाजको दर्शन हो । हाम्रो सामूहिक विचारबाट समाजको विचार बन्ने भएकाले स्वभावैले समाजको दर्शन धेरै प्रकृतिका विचारहरूको योगबाट निर्माण भएको हुन्छ । यति भएर पनि समाज दर्शनको एउटा साझा विचार हुन्छ । त्यही नै सामाजिक दर्शन हो । हामी व्यक्तिगत रूपमा व्यक्तिदर्शनका विषयमा रसमाजदर्शनका विषयमा समाजमा अभ्यास गरिरहेका हुन्छौं ।

यसरी हेर्दा एउटा व्यक्ति जसरी राजनीतिक दर्शन, आर्थिक दर्शन, समाजशास्त्रीय दर्शन, मनोवैज्ञानिक दर्शन, धार्मिक दर्शन, सामाजिक दर्शन, सांस्कृतिक दर्शन, आदि धेरै प्रकृतिका दर्शनको अभ्यास गरिहेको हुन्छ त्यसरी नै समाजमाथिकै दर्शनको अभ्यासमा हुन्छ । हामीले दर्शनका ठेलीमा मात्र दर्शन पाइन्छ भन्ने परम्परित धारणालाई सर्वप्रथम त्याग्न आवश्यक छ । विचारको बहस र व्याख्या दर्शनमा हुन्छ । अनि विचारको पिरामिड तयार हुन्छ । दर्शनको जग भनेकै विचार हो । ज्ञान र व्यवहारका अन्य घटकहरूले दर्शनको आयतन बढाइदिन्छन् ।

दर्शनको पृष्ठभूमि विचार नै भए पनि सबै विचार दर्शन होइनन् । दर्शनका विकासका प्रक्रियाहरू पूर्व र पश्चिममा आफ्नै किसिमले भएका छन् । ग्रीक दार्शनिक सुकरातले औपचारिक रूपमा पढेका थिएनन् तर उनी महान् दार्शनिक मानिन्छन् । सुकरातले ज्ञानको थालनी आत्मज्ञानबाट हुन्छ आत्मज्ञान नै जीवनको पहिलो दर्शन हो भनेर विचारको थालनी आफैंबाट हुने कुरा गरेका छन् । 

विष पिलाउने बेलामा सुकरातले म अर्को लोकमा जाँदै छु ईश्वरको नजिक जाँदै छु । जीवयात्रामा एक ठाउँबाट अर्को ठाउँमा डेरा सर्ने परम्पराजस्तै पूर्वजन्म र पुनर्जन्मको सम्भावना छ भन्ने आध्यात्मिक मान्यतालाई संकेत गरेका थिए भनिएको छ । त्यसै गरी धारणाहरू ज्ञान हुन् र ज्ञान नै सत्यको पहिलो रूप हो भनेर दर्शनलाई ईश्वरसँग लगेर जोडेको हुन्छ भनिएको छ ।

जीवनलाई परिचालन गर्ने शैली, जीवनगत आचरण, विचार र व्यवहारहरू नै हाम्रो जीवनपद्धतिका आधार हुन् । हाम्रा आचार, हाम्रा विचार र हाम्रा व्यवहारहरूको समष्टि रूप हाम्रो जीवनपद्धति वा शैली हो । धर्मानुकूलको आचरण दर्शन अनुकूलको विचारले सुसंस्कृत बनेको सद्व्यवहार मिलेर निर्माण भएको जीवनशैली नै हाम्रो जीवनपद्धति हो । हामी राम्रोको कुरा गर्दा नराम्रोतर्पm आँखा चिम्लिँदै गयौं भने त्यो पनि हाम्रो धर्मविपरीत कुरा हो, त्यो पनि अधर्म हो । 

धर्मका नाममा, अनि आफ्नो धर्मका नाममा भएकै भए पनि मानव धर्मभन्दा बाहिरका कुराहरूलाई धर्म मानेर स्वीकार्नु हुँदैन । मानवलाई हित नहुने धर्म चाहे कुनै धर्म किन नहोस् त्यो हाम्रो धर्म पनि होइन अनि राम्रो धर्म पनि होइन भन्नेमा सबैले हेक्का राख्नै पर्छ ।

धर्मको आडमा हुने अनगिन्ती अधर्मलाई मानवधर्मले स्वीकार गर्दैन तर धार्मिक कट्टरताको चरम उत्तेजनाबाट यदाकदा हुने असहिष्णु व्यवहारबाट मानव धर्म अछुतो रहन सकेको छैन । हाम्रो आशय, धर्मको सदाचारको, सत्कर्मको, सद्वृत्तिको, सत्चिन्तनको, सद्धर्मको मार्गको अनुशरण भएकाले हाम्रै विचार, व्यवहार, कर्म र चिन्तनबाट निस्पन्न हुने त्रुटि र भूलहरू हाम्रै निम्ति प्रत्युत्पादक नबनून् भन्नेतर्पm हामी अभियन्ता, विचारक, प्रचारक, अनुयायीहरू सधैं सजग रहिरहनुपर्दछ भन्ने हदसम्म मानवधर्म उदार छ । कुनै पनि धर्मको विश्वासलाई नडग्मगाइकन राख्न, जनमानसबाट विश्वास गुम्न नदिन धर्मगुरुहरू, धार्मिक विचारकहरू, धर्मप्रचारकबाट, धर्मग्रन्थहरू, आचारशास्त्र, नीतिशास्त्रको अनुशीलन रसकारात्मक व्याख्यान भइरहनुपर्दछ । 

आफ्नै घरको आँगनमा उभिएर बिहानीको कोमल अनुहार हेर्न पाउनु राम्रो हो । मानिसका रोजाइका प्रकार धेरै हुन्छन् । यहाँ कर्मको सौन्दर्यमा रमाउन मनपराउनेका मात्र कुरा छन् । अर्थात् भगवद्गीताले भनेझैं मानिसलाई गुनासो गर्नेसम्मको अधिकार पनि हुँदैन । भगवान् श्रीकृष्णले त आफूलाई कर्मको बन्धनबाट मुक्त गर्न सकेनन् भने हामी त मानिस हौं । भनिन्छ दिनको अनुहार बिहानी हो । बिहानीको अनुहार हेरेपछि दिनको अनुहारको मोटामोटी अनुमान हुन्छ । तर बिहानी र दिनका बीचमा ठूलै अन्तर उभिएको हुँदोरहेछ । अनुमानका बीचमा उभिने हो भने बिहानको सूर्योदयको गति मात्र हेरेर दिनको सूर्यको तापको अनुमान गर्न सकिँदो रहेनछ । 

यस्ता अनगिन्ती दृष्टान्तहरू हुँदारहेछन् । उज्यालो उदाएको दिन मध्यान्तरमा अँध्यारो भएको पाएका छौं । मैले यसलाई जीवन बुझ्ने दृष्टान्तका रूपमा लिन चाहेको छु । जीवनले कुनै निकास नै नपाएर अलमलिएकाहरू थाहै नपाई उज्यालो संसारमा आएका छन् भने । सफलताको शिखर चढ्दै छु भनेकाहरू अँध्यारो अनुहार लिएर बाहिरिएका छन् । अर्थात् मानिसले सोचेजस्तै किसिमले कर्म र व्यवहारको गति चल्दो रहेनछ । धेरै मानिसहरू यसैकारण असफल हुन्छन् । मानिसलाई आफ्नै कर्मको गतिले डो¥याउँछ पनि । आफूलाई मात्र उचित लागेका व्यवहार र कर्म सबैका निम्ति उचितै हुन् वा हुनुपर्छ भन्ने मान्यताले मानिसको अहंकार वा अज्ञानतालाई मात्र चिनाउँदो रहेछ । हामी बाँचेको समाज, राष्ट्र वा भूगोल नै भनौं न अहिलेलाई सबैले आफ्नै दृष्टिलेमात्र संसारलाई हेर्दा अनगिन्ती विसंगति र विकृतिको सामना विश्वमानवले अहिले गरिरहेको छ । यहाँसम्म कि मानिस आफ्नै विगत र वर्तमानमाथि इमानदार बन्न नसक्दा धेरै असंगतिहरू बढिरहेका छन् । सबैभन्दा बुद्धिमान् मानिएको मानिस नै अबुझजस्तो भइदिँदा हुने क्षतिको हिसाबकिताब खोइ कसले गर्ने हो ? सायद समयले गर्ला !


Top