कविता–हाम्रो प्राण दिवस : धान दिवस

मुना दाहाल   POSTED ON : असार १५, २०७८ (२:४१ PM)

कविता–हाम्रो प्राण दिवस : धान दिवस

ओ प्रिय आऊ ! आज हामी “प्राण दिवस मनाउँं“।

 प्रणय दिवसका प्रणयार्थीहरु,

 कान खोलेर सुन ।

साँचो अर्थमा “धान दिवस“नै

हाम्रो “प्राण दिवस“ हो !


 तिमीलाई मैले आयातित त्यो प्रणय दिवसमा 

निर्दाेष गुलाब चुडेर नदिँदा 

 रुष्ट भएकी थियौं ।

मलाई थाहा छ । 

त्यो हाम्रो दिवस थिएन र दिईन ।

आऊ ! प्रिय, हाम्रो प्रणय दिवस मनाउँ !

 ओ प्रिय ! आँखा खोलेर हेर त ?

धर्तीभरिका बाँझा खेत र गराहरुले,  तिमी र मलाई 

बारम्बार नियाली रहेछन् ।


 “भ्यालेन्टाइन डे“ का गुलाबी ओठले

भोकाएका पेट नभर्ने देखेरै,

हरिया धानमा रोपोहरुले बोलाइ रहेछन् ।


असारे पन्ध्रमा दहि च्यूरा खाँदै ।

तिमी हलो जुवा नार,

बाउसे दाइले छेउकुना मिलाउँदै बाउसे लाउ ।

म छुपुछुपु रोपोहरु रोप्दै,

असारे भाका हालेर धान दिवस मनाउला नि है ?


असारे रोपोहरु,

जब शारदीय हावा लहलहाउँदै

माल्सिरीका सुमधुर धुनहरुसँग मस्त भै झुलेको देख्दा

तब, हाम्रो प्रयण दिवस !

फक्रिएको गुलाब झैँ ढकमक्क हुँदै

हृदयमा फूल्दछ ।

 

आऊ! प्रिय आज हामी, 

हाम्रै राष्ट्रिय दिवस मनाउ !

 एकगेडो अन्न नपाएर मन्दिर मञ्जिद चैते र गुम्बाका वरिपरि उपवास बस्न बाध्य ।

अनगिन्ति प्रेमका भोका पुजारीहरुका प्राणमा,

“एक घुट्को चौलानी र

एक छाक माडको जोहो गर्दै,

तिनको उपवास तोडौँ आजै गरौँ न है ?


तिमी बञ्जर भूमि फोरुवाले उधिन,

म डल्ला फोर्दै जाउला ।

“धान दिवस“यसरी मनाउला !

असारे भाका हालेर 

मीठा मीठा गीत गाउला !!

माल्सिरीका धुनमा लठ्ठीएर झुलेका बालाहरु

मंसिरमास थन्क्याउँला ।

ढिकीमा कुटेका नयाँ धानको चिउरा खाँदै

 मिठो सुस्केरा फालि लामो भारी बिसाउँदै ।

अनि प्रणय दिवस मनाउला नि है?

 बुझौँ प्रिय !

आज हाम्रो “प्राण दिवस“ हो !

 हाम्रो “राष्ट्रिय दिवस“हो !

 हाम्रो “धान दिवस“ हो !!


Top