सञ्चेतना संवाद-२

✍️ डा. नारायण चालिसे   POSTED ON : असार २६, २०७८ (९:४८ AM)

सञ्चेतना संवाद-२

सभ्यता र सम्पन्नता नामका आकर्षक छोरीहरूलाई बाटैमा छोडेर हिँड्नु हुन्थ्यो वा हुन्नथ्यो भन्ने विषयमा हाम्रो विवाद भयो । नौजवान सभ्यता र सम्पन्नतालाई यसरी आफन्तहरूले छोड्दै जाने हो भने सहाराहीन हुन्छन् भन्ने हाम्रो निष्कर्ष विचार थियो तापनि हामीमा प्रक्रियागत भिन्नताले विवादमा थियौं । यसबारे अब एक्लैको कुरा भएन, दुवैले सँगै सोच्नुपर्छ । अबाटोमा छोड्ने गरी यिनीहरूलाई अँगाल्नु हुन्नथ्यो । आंशिक पछुतो दुवैले अनुभव गर्दैछौँ । उनीहरूलाई सम्झाउनुपर्छ । जस्तो आजको उत्ताउलो अवस्था छ त्यो उनीहरूले त्याग्नै पर्छ ।

सभ्यता र सम्पन्नता हाम्रा हुन् हामीले बेवास्ता गरे उनीहरूलाई रेखदेख गर्ने नै हराउँछ । सम्झाऔं र दुवैले अँगालौँ हुँदैन ? भन्ने वाक्यांश प्रभावकारी बनेर आयो । सभ्यता र सम्पन्नता समयले हामीलाई दिएका सुन्दर उपहार हुन् । सभ्यताको स्वरूप आफ्नो छ । सभ्यतामा सम्पन्नता मिसिएर आउन खोज्दा केही विकारका सङ्केत देखिनाले सबैजस्तै सञ्चेतनामा पनि त्यसको प्रभाव परेको छ । संवाद र विवाद दुवैमा जीवन छ । मन माझ्ने यो कला पनि संवादमा हामीलाई स्वीकार्य छ ।

तर आज ? के महसुस ग¥यौँ त्यस्तो ? यो सम्झौताको क्षणमा ? सायद समयलाई हाम्रो सम्झौता मान्य छैन । किनकि सम्झौतापछि बाँकी केही नबस्ने भएर होला ? म सहमत हुँदा तिमी तयार छैनौ, तिमीले सहमति खोज्दा मैले दिन सकिन । हामीमा के त्यस्तो समस्या बसेको छ ? एक भएको हेर्न नसक्ने । सम्भवतः अहिले त्यही अनुभूति तिमीलाई भइरहेछ जुन पहिले मलाई हुन्थ्यो । भित्र कता दुखेको महसुस भइरहेछ मलाई । हिजो त्यस्तै मलाई हुन्थ्यो । 

हुनसक्छ त्यही क्रमको अनुभूति आवृत्ति सरेर भइरहेछ । कहिले एउटा मन कहिले अर्को मन तर तिमी हिजो त्यस्तो अनुभूतिलाई मेरो अहङ्कार ठान्थ्यौ ? सायद आज म अहङ्कारी हुँदै गइरहेछु । ज्ञानमा अहङ्कार हँुँदैन भनेको होइन ? अहङ्कारले ज्ञानलाई जिस्क्यायो भने यस्तो हुन सक्छ ।

अर्थात् अज्ञानता होइन त ? तर विवेक नगुमेसम्म डर मान्नु पर्दैन । विवेक र अहङ्कारले मितेरी गरे भने एउटाको अवसान हुन्छ ? अहङ्कारले सबैलाई जस्तै हामीलाई पनि आक्रमण गर्दैछ तर यो क्षणिक चेष्टा हो दीर्घकालसम्म रहन्न भनेर बुझौँ । बरु अब दुख्नुको समाधान खोज्दैजान पर्छ ? तर समाधानभन्दा पहिले निदान आउँछ । निदान नै भनौँ न त अहिलेलाई हामीले खोज्दै छौँ तर किन हो किन अपूर्णताको प्रतिक्रिया छाती दुखेर हुँदैछ । कस्तो अपूर्णता भनिएला अज्ञानता चिर्न नसकेको अपूर्णता । अहिले हामीमा अपूर्णताले शासन गरिरहेछ ।

मलाई नहोच्याएसम्म तिमी अग्लिन सक्दैनौं होइन भनेर सञ्चेतनाले सोधिन् अनि मैले भनेँ यही त अहङ्कारको स्वरूप हो । आफैँलाई सर्वेसर्वाको ठान्ने भ्रम ? हिजोभन्दा कुरा र व्यवहार दुवै कठोर बन्दै गएको अनुभव गर्दै थियौँ हामी । र, यसको परिणति राम्रो देखिरहेका थिएनौँ । प्राप्तिको घोडा चढेर बेपत्ता हुइँकिने चेष्टा विश्चय नै सुखद् बाटोतर्फ जाने सङ्केत थिएन । म पनि त्यसै भन्न सक्छु तिमीलाई फेरि कड्किइन् सञ्चेतना । 

एकोहोरो भएको त मैले पनि मानेको थिइन, समस्या हामी दुवैको हो तर ठाउँ आआफ्नै सीमा निर्धारण भइबसेकोलाई बुझेको छु भन्ने मलाई लागेको थियो । फेरि अर्को कटाक्ष गरिन् उनले मार्गान्तरको आशङ्काले छट्पटिएका त होइनौ ? त्यतिमात्रै समस्या हो भन्ने मैले मान्दै मानेको थिइन जरोमा अरू कोही बसेको छ भन्ने नै मेरो बुझाइ थियो । यसैमा आक्रमण गर न ? तिमीलाई म रोक्दिन । व्यावहारिक भिन्नताका प्रतिक्रिया अनेक रूपमा आउँछन् कारण एउटा र कार्यरूप चेष्टा विभिन्न भएको देखिन्छ । त्यसैले निदान सजिलो गरी ठम्याउन गाह्रो प¥यो । 

मेरो हठ, जिद्दी र अस्तित्वको खोजी तिमीलाई पचेन, यो किन भन्दैनौ सञ्चेतनाको यो प्रहारलाई म सहन गर्न सक्ने अवस्थामा थिइन । पटक पटकका हाम्रा यी बहसहरूले सभ्यता र सम्पन्नता पनि दिक्क भइसकेका थिए । मैले भनेँ तिमीसँग झगडा गर्नु नै समाधान होइन भन्ने मलाई थाहा छ । फेरि तिम्रो एकाङ्गी सोच नै पूर्ण कारण होइन, तिम्रो भ्रम हो । ममा जति चेतनाबोधले जरा गाड्यो त्यति तिमीलाई दुःख हुने यो कस्तो भ्रम हो, कतै भ्रम भन्दै तिमी सत्यलाई आनाकानी गर्दै त छैनौ ? 

व्यावहारिकता नामको औपचारिकताले तिमीलाई सर्वथा भ्रममै छौ भन्न नसक्नु नै मेरो कमजोरी हो । त्यसो भए म ठीक भइन त ? सामथ्र्यहीनताको अभियोग नै तिम्रो समाधान भए त्यो पनि स्वीकार गर्थें । मेरो पराजयमा तिमी खुशी हुन सक्थ्यौ तर त्यो समयको प्रतीक्षा मेरो लक्ष होइन । तिम्रो भ्रान्ति दृढता बनेको देख्दा डर लाग्छ । तिम्रो ज्ञानले फराकिलो रूप लिन सकेन । मसम्म छुन नसक्ने ज्ञानको प्रकाशमा गर्व गर्दैछौ ।

‘माफ गर प्रिय सञ्चेतना मैले तिमीलाई सम्झाउनै सकिनँ !’

‘तर तिमी यति उदार छौ भन्ने लागेको थिएन ।’

‘के मलाई अनुदारताकै अवशेष ठान्थ्यौ ?’

‘तिम्रो हिजोको विचार र व्यवहारलाई आफैँले सोध्न सक्छौ ।’

‘तिमी पनि त हिजो आज जस्ती थिइनौ ।’

‘मेरो परिवर्तनले तिम्रो विधि व्यवहारमा परिवर्तन आउने कुरा बुझिएन ।’

‘तिमी मसँग जोडिएको सत्य मैले कहिल्यै पनि बिर्सेको छैन ।’

‘हिजो मसँगको तिम्रो व्यवहार त स्वीकारयोग्य लाग्दैनथ्यो ?’

‘म त्यो अवस्थामा नपुगेको भए, तिमी यो अवस्थामा हुन्नथ्यौ । नाटक गर्नु प¥यो एक किसिमको ।’

‘यो नाटक हो कि त्यो नाटक ? जो तिमीले देखायौ ?’

‘कुरा त दुवै नाटकबाटै उठ्छन्, आजभन्दा हिजो अभिनय बढी गर्नु प¥यो ।’

‘नाटक ! बुझिन, कतै तिमीले मलाई नायिका त मान्दै छैनौ ?’

‘निश्चय ! तिमीलाई मेरो नायकत्व स्वीकार्य छैन र ?’

‘हामी त पतिपत्नी हौं नि ! कलाकार कसरी भयौँ ?’

‘यो विराट् कलाका हामी पनि कलाकार नै हौँ ।’

‘कलामा त सबै कुरा स्वीकार्य हुन्छ । फेरि मेरो निजीपनमा किन हस्तक्षेप गर्न पुगेका त ?’

‘त्यो कलाभन्दा यो कला राम्रो होला भन्ने लागेर ।’

‘सभ्यता र सम्पन्नता हामाबीचमा बाधक बन्दैनन् त ?’

‘मिलाएर लैजानुपर्छ, स्वीकार्ने गरी, थाहा नलाग्ने गरी ।’

‘यहाँ पनि नाटकीयता ?’

‘सभ्यताहरू स्वयम् नाटकभन्दा कम छैनन् भने के भो र ?’

‘सबै नाटक हो भन्दा उनीहरूको चित्त दुख्दैन ?’

‘सभ्यताहरूमा चित्त बस्न छाडेको छ, केही फरक पर्दैन ।’

‘सभ्यताहरूलाई परिचय चाहिँदैन ? हाम्रो परिचयमा उनीहरू कहाँनेर अटाउँछन् वा बस्छन् ?’

‘हामीसँगै तर सन्देह नउठ्ने किसिमले राख्नुपर्छ नि उनीहरूलाई ।’

‘त्यस्ता स्वतन्त्र सभ्यता र सम्पन्नता हामीमा अटाउँछन् त ?’

‘हाम्रो अधीन नमान्ने हो भने उनीहरूको परिचय पनि मेटिन्छ । त्यसकारण सभ्यताहरूलाई हामी आवश्यक छौँ ।’

‘समयअनुसारको स्वतन्त्र अस्तित्व मागे भने ?’

‘उनीहरूको जीवन छोटो हुन्छ । लामो समय बाँच्न हामीलाई स्वीकारेकै उनीहरूलाई राम्रो छ ।’

‘यो कुरा उनीहरूले बुझ्न सक्नु प¥यो नि ! सक्छन् ?’

‘हामीभन्दा उनीहरू बढी सचेत छन् ।’

‘त्यसो भए पटक पटक किन झगडा गरेका त ?’

‘जिद्दीले पुगेसम्म, जिद्दी गर्नु सभ्यताको स्वभाव हो ।’

‘उनीहरूलाई छोडी आएर नराम्रो गरेँ कि जस्तो लागिरहेछ ।’

‘आफन्तको बिछोड कसैलाई पनि सहज बन्न सक्दैन ।’

‘उनीहरूलाई अब के भनेर बोलाउने ?’

‘बाबु आमासँग उनीहरू लामो समय रिसाएर हुन्छ ? सम्झाउनुपर्छ आफ्नै शैलीमा ।’

‘शैली त अझै पृथक् बसेकै छ त ?’

‘रूप, शैली यी बाहिरी कुरा हुन्, फरक नपर्ने ।’

‘तिम्रो खोजी के हो त ?’

‘गुण ।’

‘सर्वत्र गुणको अपेक्षा र दाबी तिम्रो अहम् होइन ?’

‘तिमी जसलाई अहम् भन्छ्यौ, त्यसैको परिष्कृत रूप गुण हो । यो मानिसमा हुनै पर्छ ।’

‘के संसार तिमीले भनेजस्तो गुणको गरिमा बुझेर चलेको छ त ?’

‘नचलेकोलाई चलाउनेतर्फको आग्रह मेरो हो । पर्छ मेरो अधीनमा छैन । हिजोसम्म तिमी पनि मेरी थिइनौ ।’

‘यो वर्षौंको सम्बन्धको अर्थै थिएन त ?’

‘यो सबै आजको निम्ति उपक्रम रहेछ भन्ने ठान ।’

‘के तिमी हाम्रो अतीतमा विश्वास गर्दैनौ ?’

‘अब अतीत होइन आगत सोच्नुपर्छ । तथापि अतीतप्रति मेरो अप्रिय गुनासो छैन ।’

‘हामीले बाँचेका ती दिनहरू ?’

‘स्मरणयोग्य छन् र त वर्तमान एउटा सुन्दर अतीत खोज्दैछ ।’

‘तिम्रो विचारमा त अतीत विशाल शून्य हो, होइन र ?’

‘म शून्यलाई नहुनुको अर्थमा लिन्न । प्राप्तिको पुञ्ज पनि एउटा शून्यस्वरूप हुन्छ ।’

‘शून्यमा स्वरूप कसरी ?’

‘स्वरूप’ जो शून्यले बनेको छ लाई मान्नुपर्छ ।’

‘शून्यले पनि कहीँ आकर्षण बोक्छ र ?’

‘हामी अनाकर्षित भएर अघि बढे पनि अन्य रूपाकारमा आकर्षित भए पनि अन्तिम प्राप्ति शून्य नै हो ।’

‘यसले प्रवृत्तिलाई विरोध गरेन र ?’

‘निवृत्तिको चाहना पनि प्रवृत्ति नै हो ।’

‘मोक्षमार्गीहरूका जस्ता कुरा भए ।’

‘व्याख्या जसरी गरिए पनि अन्तिम निष्कर्ष सबैको त्यही हो ।’

‘के ?’

‘विश्रान्ति ! लामो विश्रान्ति’ !!!

क्रमशः 


Top