सफलताको बाटो पैल्याउन सहयोगी पुस्तक ‘सफलताको ब्लुप्रिन्ट’

✍️ गीता अधिकारी   POSTED ON : असार २६, २०७८ (९:५५ AM)

सफलताको बाटो पैल्याउन सहयोगी पुस्तक ‘सफलताको ब्लुप्रिन्ट’

उत्प्रेरक वक्ताको रूपमा चिनिँदै आउनुभएका सन्तोष लामाको ‘सफलताको ब्लुप्रिन्ट’ पुस्तक पाठकमाझ छ । ‘वैज्ञानिक तथा प्रमाणित सफल सिद्धान्त जसले तपाईंलाई सफलताको शिखरमा पु¥याउन मद्दत गर्नेछ ।’ भन्ने रहेको पुस्तकमा सन्तोषले सफलताका लागि आवश्यक अवयवहरू प्रस्तुत गर्नुभएको छ । पुस्तकमा जीवन भोगाइका कुरा असफलतासँगै संघर्षका कुरा समेटिएको छ । पुस्तकमा सफलता प्राप्त गर्न विभिन्न स्टेप-स्टेप प्रस्तुत गरिएको छ । जीवनमा भइरहेको असफलताका बीच सफलता कसरी पाउन सकिन्छ भन्ने बाटो यस पुस्तकले देखाएको छ । पुस्तकमा अध्ययनमात्र नभएर अभ्यास विषय पनि राखिएको छ ।

 गुडविल पब्लिकेसन प्रालि प्रकाशक रहेको पुस्तकमा विश्वासको शक्ति, दृष्टिकोण, विचारको शक्ति, लक्ष्य निर्धारण, असफलताको कारक तत्व, अवचेतन मन र कल्पना, आत्मसुझाव, आत्मछवि, नेतृत्व विकास, माइन्ड प्रोग्रामिङ, जीवनको प्राथमिकता, कुशल सम्बन्ध, आकर्षणको नियम, पब्लिक स्पिकिङ, केही त सिक्नैपर्छ र कहिल्यै हरेस नखानुहोस् जस्ता १६ वटा शीर्षकमा विषयवस्तु प्रस्तुत गरिएको छ । 

‘मैले दश हजारभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा ट्रेनिङ दिइसकेको छु । यत्तिका ट्रेनिङ कार्यक्रमहरूपश्चात् मलाई अनुभव भएको कुरा मानिसको सबैभन्दा ठूलो विशेषता भनेको आफ्नो अनुभव र अरूको अनुभवबाट सिक्ने क्षमता नै हो । सबै आफ्नै अनुभवबाट सिक्ने भन्ने कुरा त्यो ज्यादै लामो प्रक्रिया हो । सायद यो जीवनमा पूर्ण नहुन सक्छ । त्यसैले आफूले अध्ययन गरेका, देखेका, भोगेका र अनुभव गरेका कुराहरूलाई नियाल्दा तपाईं हाम्रै जीवन उन्नतिका लागि तपाईं हाम्रै सरल भाषामा परिस्थिति सुहाउँदो हुनेगरी एउटा पुस्तक लेख्ने प्रेरणा जागृत भयो । त्यसैको फलस्वरुप यो पुस्तक तपाईंहरूसमक्ष प्रस्तुत छ’ लेखक सन्तोष लामा भन्नुहुन्छ ।

पुस्तकका बारेमा विभिन्न व्यक्तिका भनाइ समावेश गरिएको छ । बाहदुर सिंह लामा प्रतिनिधिसभा सांसद नेपाली कांग्रेस भन्नुहुन्छ, ‘पछिल्लो पुस्तामा हराउँदै गएको अध्ययनशीलता, नैराश्य र असफलताको वितृष्णमाथि जोश, जाँगर र तदारुकता पैदा गर्न लेखक सन्तोष लामाको यो पुस्तकले थप ऊर्जा प्रदान गर्दछ ।’ यस्तै पुस्तकमा भारतका मोटिभेसनल स्पिकर परीक्षित, कर्पोरेट ट्रेनर तथा लाइफ कोचका सुदीप बस्नेत, गिनिज बुक वल्र्ड रेकर्ड होल्डर, उत्प्रेर वक्ता तथा लेखक अनन्तराम केसी, ज्योति लाइफ इन्सुरेन्सका बद्रीप्रसाद हुमागाईं, रोटरी क्लबका महेश बस्नेतलगायत व्यक्तित्वहरूका भनाइ समाबेस गरिएको छ । उहाँहरूले पुस्तकले व्यक्तिगत जीवन र व्यावसायिक जीवनमा उन्नति प्रगति गर्न सघाउने उल्लेख गर्नुभएको छ । 

पुस्तक लेख्नुको मुख्य उद्देश्य सफलताका लागि सहयोगी बन्ने हो भन्नुहुने सन्तोष लामा तपाईं सफल हुनैपर्ने चार कारण रहेको बताउँनुहुन्छ । उहाँ यस पुस्तकमा भन्नुहुन्छ सफल हुनैपर्ने चार कारण छन् । ती चार कारणमा १) व्यक्तिगत कारण २) पारिवारिक कारण ३) नकारात्मक आलोचना र ४) समाजका कारण रहेको औल्याउनु हुन्छ । लामा भन्नुहुन्छ, ‘यी चार कारणबाट तपाईं स्पष्ट हुनुभयो र किन सफल हुने भन्ने कुरा स्पष्ट रूपमा थाहा पाउनुभयो भने तपाईंको सफलताको यात्रा तय भयो ।’

सफलता प्राप्त गर्न के कस्ता उपाय अवलम्बन गर्नुपर्छ भन्ने कुरा विस्तृत रूपमा यस पुस्तकमा सोह्रवटा अध्यायमा बताइएको छ । पुस्तकमा हरेक अध्यायको सार पनि प्रस्तुत गरिएको छ । जतिसुकै मिहिनेत गर्दा पनि सफलता हात नलाग्नेलाई र सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्नेका लागि यो पुस्तक निक्कै उपयोगी छ । पुस्तकमा विभिन्न उदाहरण र विश्व प्रसिद्ध व्यक्तिका भनाइसहित विषय वस्तु प्रस्तुत गरिएको छ ।

आफ्नी आमालाई लेखकले पुस्तक समर्पण गर्नुभएको छ । ईश्वर लुइँटेलको सम्पादन रहेको पुस्कको मूल्य ३५० रुपैयाँ राखिएको छ । सचेत र सफल व्यक्तित्व निर्माणका लागि पुस्तक निक्कै उपयोगी छ । यस्तै जीवनका मोडहरूमा आइपर्ने समस्याको समाधन कसरी गर्ने भन्ने विषयमा पुस्तकमा विभिन्न उपाय बताइएको छ । यस किताबको मद्धतले धेरैमा सफलता प्राप्त गर्ने हौसला पक्कै मिल्ने छ । यस्तो जीवन उपयोगी पुस्तकका लागि लेखक धन्यवादको पात्र हुनुहुन्छ । उहाँको सिर्जनक्रम अझ फैलिँदै जाओस् गीता कामना । 


Top