कविता : श्रद्धाका उद्गार आदिकवि !

✍️ बद्रीप्रसाद दाहाल   POSTED ON : असार २९, २०७८ (७:०९ AM)

कविता : श्रद्धाका उद्गार आदिकवि !

भाषाको महनीय सुन्दर थलो, रम्घा महाधाम हो ।

छन्दै छन्द सुगन्धका कुसुममा, झुल्का पर्‍यो घामको ।।

नेपाली कविता बनेर सरिता, काली र मेची पुगे ।

बर्मा भारतका कयौं शहरमा, उल्लास बेग्लै चुमे ।।

 ।। १।।

बग्दै भोटमधेस शैल सरिता, साझा बनिन् भारती ।

भाषामाथि विभाष हैकम ढल्यो, गर्छौं सदा आरति ।।

सीताराम कथा सलल्ल कविता, लालित्यमा चम्किँदै ।

माटोमा ममता सिँचेर कविजी, भाषा फुलिन् गम्किँदै ।।

 ।।२।।

हाम्रो राष्ट्रिय एकता सबल भो, घन्केर रामायण ।

हाम्रा आद्य सुकाव्य साधक तिमी, हे छन्द-नारायण ! !

जे जे विकृति औ विसंगति थिए, कोर्रा बनी सिर्जना-

पिट्थ्यो, व्यष्टि-समष्टि कर्तुतहरू, मेटाउँदै तिर्सना ।।

 ।।३।।

चोखा मौलिक काव्यभक्ति रसमा, शृंगार औ वीरमा ।

घन्के काव्य-निनाद हास्य रसका नाना अलङ्कारमा ।।

भाषा भाष्कर काव्य भार्गव अहा, नेपालका शान हौ ।

हाम्रा प्राक्-कवि स्रोत ओत सबका, सम्मान्य-सम्मान्य छौ ।।

 ।।४।।


Top