कथा: परिवर्तन

✍️ राजेश अधिकारी   POSTED ON : श्रावण २, २०७८ (७:१७ AM)

कथा: परिवर्तन

 दाँजेर हेर खुनपसिना दुवैको तातो छ 

गमेर हेर रगत मेरो तिम्रै झैँ रातो छ

जातपात र छुवाछूतको हटाऔँ कुरीति 

मानिसबीच मानवता हो अक्षुण्ण सुनीति 

अछुत परिवारमा जन्मेका अविवाहित मोतीलाल दमाइँ आफ्नै जन्मगाउँको सिरिसे प्राथमिक विद्यालयमा नेपाली विषय पढाउँछन् । शौचालय र खानेपानी जस्ता अत्यावश्यक पूर्वाधार नभएको त्यो गरिब विद्यालयमा सिरिसेलगायत वल्लोपल्लो गाउँका केटाकेटीहरू पढ्न आउँछन् । कक्षाकोठाको कालोपाटीमा लेखिएको माथिको कवितालाई मोतीलाल सरले बढोे राम्ररी व्याख्या गरिरहेका हुन्छन् । विद्यार्थीहरू कवितालाई चाख दिएर सुनिरहेका हुन्छन् । 

अन्तमा सरले विद्यार्थीहरूलाई सोध्छन् ‘नानीहरू हो ! यो कविता पढेर के बुझ्यौ त ?’ विद्यार्थीहरूबाट पटापट उत्तर आउँछ । ‘सर ! जातले कोही ठूलोसानो हुँदैन ।’ ‘सर ! यो समाजबाट छुवाछूत सदाका लागि हटाइनुपर्छ ।’ आदि । टिङ टिङ टिङ गरेर टिफिन ब्रेकको घण्टी बज्छ । बालबालिकाहरू कक्षाकोठाबाट हुरुरु बाहिर निस्किन्छन् । तिर्खाएका बालबालिकाहरू स्कुलभन्दा केही टाढाको कुवामा गएर पानी पिउँछन् । छात्रछात्रामध्ये कोही गट्टा खेल्छन् भने कोही भालेजुधाई र झुम्राको गोल खेलेर आधा घण्टे ब्रेकको उपयोग गर्छन् ।

टिफिन ब्रेकमा सरहरू स्कुलनजिकै रहेको काफ्ले खाजाघरमा गएर चियाखाजा खान्छन् । ब्रेकपछि पालेले कक्षा लागेको जनाउ घण्टी दिएसँगै खाली खुट्टा दौडिएर धुलेमुले र असिनपसिन भएका विद्यार्थीहरू बतासिँदै कक्षाकोठामा पस्छन् र आआफ्ना बेञ्चमा बस्छन् । यसपछि दुई पिरियड पढाइ हुन्छ र चार बजे छुट्टीको घण्टी बज्छ । छुट्टी भएसँगै भोका रुप्पीका बथान झैँ हल्ला गर्दै केटाकेटी आआफ्ना घरतिर लाग्छन् ।

पुस्तौंदेखि गाउँभरिको लुगा सिलाउँदै आएको मोतीलालको परिवार आफूलाई उच्च जात भनाउँदा बाहुनक्षेत्रीको बाहुल्य रहेको सिरिसे गाउँकै रैथाने बासिन्दा हुन्छ । दुःखजिलो गरेर बाबुआमाले शहरमा पढ्न पढाएको अछुत भनाउँदो दर्जीको छोरोले आफ्नो अध्ययन सकेर शहरी रमझम र अवसरलाई त्याग्दै आफ्नै जन्मथलोमा फिर्छ र पहिला आफैँले पढेको प्राथमिक विद्यालयमा पढाउन थाल्छ । सरल र मिजासिलो स्वभावको मृदुभाषी मोतीलाल आफ्नो दक्षतालाई आफ्नै गाउँको माटोमा खन्याएर मलजल गर्न चाहन्छ । गाउँका कुरीति र गरिबीलाई जरैदेखि उखेल्न चाहन्छ । समाजका कुमान्यतालाई परिवर्तन गर्न चाहन्छ । 

लिच्छविकालतिर भित्रिएको जातिप्रथापछि केही जाति अछुत मानिए त केही उच्च । नेपालमा जातीय भेदभावको अन्त्य मुलुकी ऐनले २०२० सालमै गरेको भए पनि व्यवहारमा यसको पूर्ण पालना भएको देखिँदैन । अरूलाई छोडिदिऊँ, आफ्नै स्कुले सहकर्मीहरूद्वारा धरि मोतीलाललाई अछुतको व्यवहार गरिन्छ । मुखले जातपात र छुवाछूतको विरोध गरे तापनि व्यवहारमा ठूलो जातहरूबाट अवहेलित हुनुपरेको पीडाले मोतीलाल भित्रभित्रै दुःखी त भएका छन् तथापि समाज परिवर्तनको सपना बोकेका मोतीलाल सानातिना तिरस्कारहरू पचाउँदै अघि बढ्दै जान्छन् । 

आज त्यो स्कुलमा भर्खर शहरबाट आफ्नो पढाइ सिध्याएर आएकी एउटी शिक्षिका नियुक्त हुन्छिन् । ती अविवाहित रूपशी गाउँकै धनाढ्य तथा विद्वान पण्डित काली भक्तकी छोरी गौरी हुन्छिन् जो आफ्नो गाउँ–समाजको कुरीति र गरिबीलाई हटाएर समृद्धि समाजको निर्माण गर्ने अभिप्राय बोकेर शहरबाट आफ्नै जन्मगाउँ फर्केकी सामाजिक अभियन्ता हुन्छिन् । जातले असमान भए पनि समान लक्ष र सोच भएका मोतीलाल र गौरी एक अर्कासँग छिट्टै घुलमिल हुन्छन् । मोतीलाल–गौरीको सामिप्य बढेको देखेर शिक्षकगणका साथै जातभातका पक्षपाती गरिब तथा अशिक्षित गाउँलेहरू यिनीहरूको कुरा काट्न थाल्छन् । 

एक दिन स्कुलका शिक्षकगणलाई गाउँकै मुखियाको घरबाट विवाहभोजको निम्तो आउँछ । त्यो विवाहका हर्ताकर्ता पुरोहित कालीभक्त हुन्छन् भने सनाईवादक मोतीलालका बाबु हीरालाल हुन्छन् । विवाहभोजमा उच्च जात भनाउँदा शिक्षक साथीहरूले मोतीलाललाई अछुतको व्यवहार गर्छन् जुन कुरा गौरीलाई पच्दैन । छुवाछूतको विरोधस्वरूप गौरीले मोतीलालसँगै बसेर भोज खान्छिन् र हीरालालसँगै बसेर चिया पिउँछिन् । 

पण्डितकी छोरीले अछुतसँग बसेर सहभोज गरेको अद्भूत दृश्यले सबैजना चकित हुन्छन् । बनारसबाट शास्त्री सकेर गाउँमै समाजसेवा गर्दै आएका आधुनिक सोचाइका कालीभक्त आफ्नी छोरीको यस्तो क्रियाकलाप देख्दा पनि बिचलित देखिँदैनन् । पुर्खादेखि चलिआएको रीतिथितिमाथि धावा बोलेको आरोपमा गाउँलेहरूले पण्डित परिवारका साथै मोतीलाललाई सामाजिक बहिष्कार गर्छन् । 

एकताका गर्मी यामको खडेरीसँगै झाडापखालाको प्रकोपले गाउँलाई नै सोत्तर बनाउँछ । खडेरीले ल्याएको अनिकालसँगै रोगव्याधीको कहरले गाउँलेहरूमा हाहाकार मच्चिन्छ । मानिसलगायत गाईवस्तुहरू भोकभोकै पर्न थाल्छन् । गाउँको यो दशा देखेर पण्डित, गौरी र मोतीलाल दलित गाउँलेका साथै भोका चौपायाहरूको उद्धारका लागि अहोरात्र खटिन्छन् । पीडित गाउँलेहरूलाई खानापानी र घरेलु ओखती पिलाउँदै स्याहार–सुसार गर्छन् । उनीहरूले छिमेकी गाउँका साथै नजिकैको स्वास्थ्य केन्द्रबाट सहयोगको गुहार माग्छन् । उनीहरूको पहलमा सरकारी राहत टोली र स्वास्थ्यकर्मी खाद्यान्न र ओखतिमुलो लिएर गाउँमा आउँछन् । 

औषधिको प्रभावले चाँडै नै झाडापखाला नियन्त्रित हुन्छ । फलस्वरूप मृत्युको मुखमा पुगेका गाउँलेहरूले जीवनदान पाउँछन् । भोकप्यासले तड्पिरहेका गाउँलेहरूले भोजन पाउँछन् । गाउँलेहरूद्वारा सामाजिक बहिष्कार गरिएका अभियोगी त्रय गाउँलेहरूको जीवन बचाउन आफूहरू सफल भएकोमा आनन्दबिभोर हुन्छन् । 

विपत्तिमा दिलोज्यान दिएर गाउँलेहरूको निःस्वार्थ सेवा गर्ने पण्डित, गौरी र मोतीलालमाथि आफूहरूले गरेको बदख्वाइँको पश्चातापले जलिरहेका गाउँलेहरूले उनीहरूसँग माफी माग्ने निर्णय गर्छन् । यसै उद्देश्यका लागि गाउँभेलाको आयोजना गरिन्छ । भेलामा प्रमुख अतिथिस्वरूप प्रसन्न मुद्रामा बसिरहेका तीनैजनालाई गाउँलेहरूले सयपत्रीको माला लगाइदिएर अभिवादन गर्दै उनीहरूसँग आफूहरूले गरेको गल्तीका लागि सामूहिक माफी माग्छन् । प्रफुल्ल सम्मानित त्रय समाजमा भएको कुरीति, बेथिति र गरिबीलाई निमूल पार्ने आफ्नो अभियानमा गाउँलेहरूबाट सहयोगको अपेक्षा राख्दै त्यहाँबाट बिदा हुन्छन् । गाउँलेहरूले उनीहरूको पवित्र अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्छन् । 

मोतीलाल र गौरीले गाउँमा प्रौढ शिक्षाका साथै अन्य सचेतना कार्यक्रमहरू सञ्चालन गर्छन् । उता कालीभक्तले पुराण वाचन र धार्मिक प्रवचन जस्ता कार्यक्रमका माध्यमबाट गाउँलेहरूलाई जातिपाती र छुवाछूतजस्ता कुप्रथाको विरुद्धमा लाग्न उत्साहित गरिरहन्छन् । यस्ता चेतनामूलक कार्यक्रमहरूका प्रभावले गाउँलेहरूको सोचाइ फराकिलो हुँदै जान्छ र उनीहरू गाउँको विकासका लागि स्वःस्फुर्त उत्साहित हुँदै जान्छन् । गाउँलेको श्रमदानले गाउँमा बाटो बन्छ । स्कुलमा शौचालय बन्नुका साथै खानेपानीको धारा जोडिन्छ । सन्तुलित आहार र सरसफाइजन्य जनचेतनाले गाउँलेहरू निरोगी र स्वस्थ्य हुन्छन् । 

गौरी–मोतीलालद्वारा सञ्चालित सचेतना कार्यक्रमका प्रभावले गर्दा गाउँलेका रुढिवादी सोचाइहरूमा आमूल परिवर्तन आउँछ । कालीभक्तको कदमपहलीमा गाउँमा सरकारी अनुदानहरू भित्रिन्छन् । फलस्वरूप गाउँमा स्वास्थ्य केन्द्र, बाटोघाटो र पुल–पुलेसाहरू बन्छन् । गौरी र मोतीलालको अगुवाइमा गाउँमै एउटा हाटबजार लगाउने व्यवस्था गरिन्छ जसमा स्थानीय उत्पादनहरू बेचबिखन गरिन्छन् फलस्वरूप स्वरोजगार सिर्जना भएर गाउँलेहरूको जीवनस्तर उक्सिदै जान्छ । गाउँमा क्रान्तिकारी परिवर्तन हुन्छ । गाउँलेहरूका बीच अब छुत–अछुत जस्तो कुमान्यता हराउँदै जान्छ । उनीहरूबीच सामाजिक सद्भाव बढ्दै जान्छ । गाउँलेहरूले गाउँ विकासका अगुवाहरू पण्डित, मोतीलाल र गौरीलाई आत्मादेखि नै सम्मान गर्छन् ।

समयको दौरानसँगै समकक्षी मोतिलाल र गौरी परस्परमा आकर्षित हुन पुग्छन् । दुवैले एक अर्कालाई प्रेम गर्न थाल्छन् । उनीहरूका छातीभित्र लुकेका लुप्त प्रेममा कुण्ठाहरूबाहिर छताछुल्ल पोखिन थाल्छन् । एकदिन यो जवान जोडी गाउँबाट एक्कासि हराउँछ । मौरीको रानोरूपी यी सचेतकद्वय गायव भएसँगै पण्डितलगायत चिन्तित गाउँलेहरूबीच अन्योल उत्पन्न हुन्छ । गाउँलेको पहलमा यी समाजसेवी नायक–नायिकाको चौतर्फी खोजी गरिन्छ तर यिनीहरूको अत्तोपत्तो लाग्दैन । गाउँभरि निराशा छाउँछ । 

गाउँबाट हराएको महिना दिनपछि भागी विवाह गरेको गौरी–मोतीलालको जोडी गाउँमा टुप्लुक्क आइपुग्छ । उनीहरूको आगमनले गाउँलेहरू प्रफुल्ल हुन्छन् । हराएकी आफ्नी छोरीलाई अचानक आफ्नैअगाडि देख्दा पण्डितजी औधी खुशी हुन्छन् तर छोरीकोे सिउँदोमा सिन्दुर देखेर उनी छाँगाबाट खस्छन् । नवजोडीलाई केरकार गरिन्छ । उनीहरूले गाउँले सामु आफूहरूले शहरमा गएर अदालती विवाह गरेको कुरोको पुन्तुरो खोल्छन् । गाउँलेहरूको सुझाबमा पण्डितजीले गौरी–मोतीलालको विवाह धार्मिक विधिअनुसार गरिदिने ऐलान गर्छन् । 

बिहेको दिन बेहुलीघरलाई गाउँलेहरूले रिमिक्कै पारेर सिँगार्छन् । कामी माहिलो, सुनार साहिलो र भुजेल्नी जेठी जन्तीका लागि भतेर बनाउन व्यस्त हुन्छन् । अन्य गाउँलेहरूलाई बिहेघरको अन्य कामले भ्याइनभ्याइ हुन्छ । सबैलाई अराइखटाइ गरिरहेका पण्डित सबैतिर अनुगमन गर्दै यताउति गरिरहन्छन् । सम्धी फेटा गुथेको हीरालालको अगुवाइमा जन्तीले बेहुलीघरको आँगन टेक्छ । जातपात र भेदभावरहित आँगनमा सबैजना मिलेर सहभोज गर्छन् । धार्मिक विधिअनुसार बेहुली हुँदा धपक्कै बलेकी गौरी र हँसमुख बेहुलो मोतीलालको विवाह सम्पन्न हुन्छ । 

सामाजिक सचेतनाले परिवर्तित भएको समाजमा जातपात र छुवाछूतको कुरा गौण बन्दै जान्छ । पाखण्ड्याइँ गनाएका पुराना मान्यताहरू समयसापेक्ष बदलिँदै जान्छन् । अनुकरणीय परिवर्तनले सुखी र समृद्ध भएको सिरिसे गाउँ नमुना गाउँको रूपमा प्रसिद्ध हुन्छ । इति ।


Views: 140

सम्बन्धित सामग्री:

कथा : गुनी र बैगुनी

✍️ सुरेश भट्ट : श्रावण २, २०७८ (७:२३ AM)
Top