कविता : श्रमजीवीका आवाज !

✍️ बद्रीप्रसाद दाहाल   POSTED ON : श्रावण २, २०७८ (७:२० AM)

कविता : श्रमजीवीका आवाज !

हाम्रै नारा लगायौ, सुटबुट पहिरी, लर्किएको छ टाई ।

भत्ता सत्ता भकुर्दै, असक-अबुझका, स्वेद प्यूँछौ रमाई ।।

डाँका नै मित्र मिल्दा श्रमिक सब ठगी, धर्ममारा बनेछौ ।

हाम्रा स्वप्ना विकाई, महलभरि बसी, सर्वहारा भनेछौ ।।

 ।।१।।

खोलानाला नदी औ, वन बगर पुरातत्व बेची कमायौ ।

हाम्रा ती रक्तधारा, पिइकन सजिलै, राज्यसत्ता जमायौ ।।

थारा नारा लगायौ, पर मुलुक डुल्यौ, बैंकमा रास राख्यौ ।

रक्सी औ सुन्दरीमा, लत गजब बढी, घूसभित्रै रमायौ ।।

 ।।२।।

प्यारी छोरी बुहारी, भतिज मित परिवार राजा बनायौ ।

मुठ्ठी बाटेर उफ्री, ‘दल’ दलदलमा छ्या ! नराम्रो फसायौ ।।

उर्लन्छौं सर्वहारा, नव धनपतिका, त्रूmर धोका विरुद्ध ।

थारा नारा लछारी, श्रमकरू जनता, क्रान्तिमा हुन्छ बुद्ध ।।

 ।।३।। 

(छन्द-स्रग्धरा)

Views: 100

सम्बन्धित सामग्री:

कथा : गुनी र बैगुनी

✍️ सुरेश भट्ट : श्रावण २, २०७८ (७:२३ AM)
Top