सागरका हराएका छोराहरू

✍️ सुशीला घिमिरे   POSTED ON : श्रावण ९, २०७८ (७:०७ AM)

सागरका हराएका छोराहरू

राजबाबु श्रेष्ठ सागर नेपाली साहित्यमा चिनिएको नाम हो । उहाँको केही समय पहिले प्रकाशित कविता कृति ‘हराएका छोराहरू’ को हाल निकै चर्चा छ । पुस्तक स्ट्याण्डर साइज भनिने सानो आकारमा रहेको छ र यो भूमिका खण्डसमेत १०४ पृष्ठ छ । पहेंलो हलुका कागज प्रयोग भएको यस पुस्तकको प्रकाशक बिएन पुस्तक संसार प्रालि अद्धेतमार्ग काठमाडौं रहेको छ भने सर्वाधिकार कविमै रहेको छ । पहिलो संस्करणका रूपमा २०७७ साल साउनमा प्रकाशित यस पुस्तकको मूल्य १५० रुपैयाँ रहेको छ । पुस्तकमा अशुद्धिहरू कम छन् र भूमिका खण्डमा कतै कति वाक्यसंगति नमिलेको पाइन्छ । 

पुस्तकको आवराण आकर्षक छ र यो रुद्र अधिकारीले तयार पार्नुभएको बताइएको छ । आवरणमा अमूर्तकला प्रयोग भएको छ । कुनै वृद्ध आफ्ना हराएको छोरा खोजन हिँडेको जस्तो मधुरो आकृति आवरणमा देखिन्छ । आवरणमा कालो र हल्का रातो रंग प्रयोग भएको छ । पछाडिको पृष्ठमा कवि सागरको फोटोसहितको चिनारी दिइएको छ । जसअनुसार कवि राजबाबु श्रेष्ठ ‘सागर’ २०२८ साल भदौ १४ गते इटाटार महोत्तरीमा जन्मिनु भएको हो भन्ने थाहा हुन्छ । 

गीत, गजल, मुक्तक, कवितालगायत साहित्यका सबै विधामा कलम चलाउनु हुने सागर अभिनय क्षेत्रमा पनि सक्रिय प्रतिभा भएको जानकारी पाइन्छ । उहाँले केही नाटक र चलचित्रहरूको कथा लेखन तथा निर्देशनका साथै अभिनयसमेत गर्नु भएको जानकारी यहाँबाट प्राप्त हुन्छ । यसका साथै यसपूर्व उहाँको ‘बन्द फ्रेमभित्रको चिठी’ शीर्षकको उपन्यास प्रकाशित हुनुका साथै केही पुस्तकहरू प्रकाशनको क्रममा रहेको जानकारी पाइन्छ । 

कवि सागरले यो पुस्तक आफ्ना स्वर्गीय पिता पूर्णबहादुर श्रेष्ठ, स्वर्गीय माता तेजमाया श्रेष्ठ र स्वर्गीय पत्नी मुना श्रेष्ठमा समर्पण गर्नु भएको छ । भूमिका खण्डमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको ‘शुभकामना’, गजलगृह बर्दघाट नवलपरासीका डा.घनश्याम न्यौपाने परिश्रमीको ‘शुभकामना’ पुष्पपराग साहित्यिक प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वरा निरौलाको ‘हार्दिक शुभकामना’ र कवि श्रेष्ठको ‘थोरै आफ्नो बारेमा भन्नुपर्दा’ रहेका छन् । 



यसपछि कविता क्रम विषय सूची रहेका छन् । उहाँको यस संग्रहमा जम्मा ५५ वटा भनिए तापनि ५४ वटा कविताहरू रहेका छन् । विषय सूचीको ४२औं क्रम छुटेको पाइयो । सागरकार यस ‘हराएका छोराहरू’ शीर्षको पुस्तकका कविताहरू छोटोमा धेरै भन्ने खालका छन् । यसबाट कवि श्रेष्ठको कविता लेखन शैली बुझ्न सकिन्छ । यसलाई नमुनाका रूपमा लिन सकिन्छ । यस संग्रहमा समावेश ५४ वटा कविताहरूमध्ये २९ वटा कविता १ पृष्ठमै समेटिएका छन् । अझै उहाँका धेरै कविताहरू त छोटा सूत्र कविताका रूपमा देखा परेका छन् । पाँच हरफदेखि ६, ७, ८, ९, १० हरफमा लेखिएका छोटा कविताहरू यस संग्रहभित्र निकै छन् । 

२९ वटा कविता एक पृष्ठमा र २१ वटा कविताहरू २ पृष्ठको फैलावटमा छन् । यीमध्ये पनि केही त एक पृष्ठमा नअटेर अर्को पृष्टमा एकदुई हरफमात्र गएका छन् । ३ पृष्ठको आयतनसम्म लम्बिएका कविता जम्मा चारवटामात्र छन् । यसकारण कवि सागर छोटा कविता लेखेर धेरै कुरा भन्न रुचाउने कविका रूपमा देखिनु हुन्छ । 

‘किन हरेक मृत्युले उही जीवन जन्माउँदैन ?’, ‘पुजिन्छ ऊ मन्दिरमा’, ‘लासहरू’, ‘जाग ए अक्षरहरू हो’, भरोसाको बैसाखी’, ‘प्रशंसा’, ‘मलाई टिप्न त झुक्नुपर्छ मानछेहरू’, ‘आँसुभित्र हराएका हाँसोहरू’, ‘इजलास’, ‘एउटा सर्प’, ‘टिपेर जुनकिरी अँजुलीमा थाप्नु’, ‘मृत्यु जीवनको पूर्णविराम हो’ उहाँका छोटा कविताहरू हुन् । कवि सागरले आफ्नो यस संग्रहमा संगृहित कविता लामा, मझौला र छोटा छन् भन्नुभए पनि यहाँ समेटिएका कविताहरूलाई मझौला र छोटामात्र भन्न सकिने अवस्था देखिन्छ, यहाँ वास्तवमा लामा कविता छैनन् । 

यस संग्रहमा रहेका सागरका कविताहरू वर्तमानका कविहरूका भन्दा फरक छन् । उहाँले आफ्नै निजी शैली कवितामा अपनाउनु भएको छ । वर्तनान मानव समाजमा जे जस्ता नकारात्कमकता व्यप्त छन् कविले तिनैलाई खोतल्न चाहनु भएको देखिन्छ । कवि सागरका यी गद्य कविताहरू छोटा भए पनि यिनका शीर्षक भने छोटादेखि लामासम्मका छन् । छोटा र मझौला शीर्षकहरू जत्तिकै संख्यामा लामा शीर्षकहरू पनि रहेका पाइन्छन् । ‘हराएका छोराहरू’ मा एक शब्दका शीर्षक ४ वटा, दुई शब्दका १० वटा, तीन शब्दका १५ वटा, चार शब्दका १० वटा, पाँच शब्दका ९ वटा, ६ शब्दका चारवटा र सात शब्दका दुई वटा छन् । 

कवि राजबाबु श्रेष्ठ ‘सागर’ को विगत त्यति सुखद् देखिँदैन । त्यसको विस्तृति नै हो उहाँको भूमिकाका रहेको विवेचना । शायद यही दुःखान्त विगतले नै उहाँलाई कवि बनाएको, साहित्यकार बनाएको । साहित्य कि हाँसोबाटै सिर्जना हुन्छ कि आँसुले नै साहित्यको मसीको काम गर्छ । उहाँलाई भने आँसु नै ऊर्जा दिएको देखिन्छ । उहाँका कविताहरूमा भाषा, राष्ट्रियता, राष्ट्र, कला, संस्कृति, सम्पदा, अध्यात्म, जन्मभूमि, प्रेमप्रणय, शृंगारिक भावना, मानवता, प्रकृति चित्रण जस्ता विविध भाव पाइन्छ । कवितामा प्रतीक र बिम्बहरू पनि यथोचित प्रयोग भएका छन् । 

उहाँको ‘लासहरू’ शीर्षकको कवितामा उहाँ 

किन कुट्छन् हँ 

लासलाई मान्छेहरू ? 

लासहरू कहिल्यै थाक्दैनन् तिम्रा कुटाइले 

र कहिल्यै ब्युँझदैनन् भोकले 

अर्तीका दाल र भात खानलाई’ 

भन्नुहुन्छ । मानवीयपन हराउँदै गएको वर्तमान समयका मान्छेहरूलाई उहाँको गतिलो चट्कन हो उहाँको यो कविता । 

यसै गरी उहाँ ‘एउटा सर्प’ शीर्षकको कवितामा 

‘एउटा गोमन सर्प 

उसैका आफ्नै विषले छट्पटाइरहेछ 

आज छाद्नुसम्म छादे 

ओकलनुसम्म ओकले भएभरका 

अहिले आरामका साथ 

सास फेरिरहेछ’ 

भन्नुहुन्छ । भाव गाम्भीर्य बोध गराउने यस कवितामा राजनीतिप्रतिको व्यंग्यको अभिव्यक्ति छ जुन कुनै एक कालखण्डमा एउटा अमुक राजनीतिक दल वा राजनेतालाई लक्षित गरिएको हुनसक्छ तर यसको व्यंग्योक्ति समकालीन राजनीतिमा पनि उत्तिकै सान्दर्भिक देखिन आउँछ । 

यसरी हेर्दा कवि राजबाबु श्रेष्ठ ‘सागर’ मा पर्याप्तमात्रामा कवित्व छ, कवि भावना पाइन्छ । जानकारी भएसम्म हालैमात्र उहाँको अर्को गीति कृति ‘यादका बस्तीहरू’ सार्वजनिक भइसकेको छ । कविबाट अन्य कृतिहरूको अपेक्षा गर्नु अन्यथा होइन । उहाँलाई कृतिका लागि बधाई छ र आगामी कृतिहरूका लागि शुभकामना । 


Top