सपनाको देशमा महाप्रस्थानका कथाहरू !

✍️ डा. नारायण चालिसे   POSTED ON : भदौ २६, २०७८ (८:१२ AM)

सपनाको देशमा महाप्रस्थानका कथाहरू !

हाम्रा सपनाहरूको कुनै सीमा छैन । जीवनको मोह त्यत्तिकै आकर्षक र कोमल छ भने मृत्युको समवेदना त्यत्तिकै कठोर छ । सायद सपनाको संसारमा असीमित यात्रा गर्नु मानव नियति र कर्तव्य पनि हो । सुखको जीवन खोज्दै बाध्यताले अनि रहरले पनि वैदेशिक रोजगार र आप्रवास रोज्नु नेपालीको पछिल्लो पहिचान बनेको छ । जति कठोर छन् हाम्रा बाध्यताहरू अनि जति आकर्षक छन् हाम्रा स्वैच्छिक रहरहरू त्यति नै सन्तोषजनक छैनन् हाम्रा परिणामहरू । दैनिकजसो हजार पन्ध्र सयको वरपर नेपाली युवायुवतीले विदेशको यात्रा तय गर्छन् भन्ने आँकडा हाम्रो जस्तो मुलुकको निम्ति सानो कुरा होइन । 

ती जतिले यो यात्रा तय गर्छन् आँखामा सजाएका तिनका सपनाहरू साकार हुनु त परको कुरा हो आधारभूत रूपको उपलब्धि पाउन नसकेर विदेशी भूमिमा निल्ल ओठ पारेर बसेका धेरैका पीडाहरू पटकपटक सुन्न पाइन्छ । विदेशको भूमिलाई चाहिने आवश्यक सीपविनै गरिबीको भुङ्ग्रोबाट अन्धाधुन्ध उछिट्टिएर खाडीको तातो बालुवामा पछारिन पुग्ने नेपाली भाइबहिनीहरूका दुःखका कथा कलमको मसीलेमात्र लेखेर लेखिँदैन । 

ती जीवन्त पीडाको लेखन मनमा करुणा र हृदयमा दयाको सागर उरालेरमात्रै लेखिँदैन । केही कठोर भएर बुद्धिको उपयोग गरी तिनका पीडा र समस्याको समाधान स्वदेशमै खोज्ने वातावरण देशले निर्माण गर्न नसकेसम्म हाम्रा करुणाको पनि खास अर्थ छैन । एकातिर गोहीका आँसु झार्दै रहने अर्कोतिर युवालाई खाडीको बालुवामा धकेलिरहने सरकारी अकर्मण्यता नरोकिएसम्म यस विषयमा कारुणिक भइरहनु पनि ती युवायुवतीप्रति ठट्टा गर्नु नै हो ।

अर्को त्यस्तै रहर वा बाध्यताको नाम हो सम्पन्न भनिएका मुलुकहरू अमेरिका, क्यानाडा, अष्ट्रेलिया, बेलायतलगायत मुलुकको आप्रवास । टाढाबाट हेर्दा अझ हाम्रो जस्तो विपन्न मुलुकको आँखीझ्यालबाट चियाउँदा ज्यादै लोभलाग्दो देखिएको त्यो जीवनका कठोरताहरूका कथा अर्कै छन् । आफ्नो भूमिमा एक छाक भोकै बस्दा मातृभूमिको स्वाभिमानी अहङ्कारको सन्तुष्टि त बाँकी रहेको हुन्छ आफूसँग तर ती भूमिमा भरपेट स्वादिला खाना खाँदा त्यो सन्तुष्टि कहाँ पाउनु ?

कोभिड १९को प्रभावपछि मृत्युले मानवमात्रले गरेको भौतिक उन्नतिलाई विश्वभरिबाट लल्कार्‍यो । मानव कल्पनाले भ्याउन नसकेको भौतिक उन्नति गरेको मानिसलाई मृत्युको चुनौती गहिरो खाडल बनेर सबैका सामु उभियो । मृत्यु समवेदनाबाट पर पुगेर आँकडामा परिणत भएपछि मृत्युको सङ्ख्यामात्र गनियो । समवेदना पनि मर्‍यो । यस्तो परिस्थितिमा कहीँ कतैबाट आउने आफन्तका मृत्युका खबर पनि समाचारमात्र बनेर रहे । हजारौं नेपालीहरूले आफ्नो मातृभूमिबाहिर रहेको अवस्थामा प्राण विसर्जन गरे । कतिका पार्थिव शरीर बाकस बनेर एयरपोर्टमा झरे धेरैका त्यसरी झर्ने अवसर पाएनन् ।

खासमा रहरले वा बाध्यताले आप्रवास रोजेका हामी नेपालीहरूका मुटु हल्लाउने समस्या जो आप्रवासको रहरले निम्त्याएका मीठामीठा बाध्यता बनेर आउने गरेका छन् तीभित्र लुकेका दुःखका कथा साँच्चै भयावह छन् । विवाहित वा अविवाहित हाम्रा सन्ततिहरू उच्चशिक्षाको रहरले वा मनग्गे पैसा कमाउने मोहले अमेरिका, क्यानाडा, बेलायत, अष्टे«लिया जान्छन् । हामी पनि सम्पन्न भनिएका त्यस्ता मुलुकमा आफ्ना सन्तानलाई पठाउन पाउँदा प्रसन्न नै रहन्छौं । 

क्रमशः हाम्रा सन्तानहरू उतैका हुन्छन् । उतै विहादान गर्छन् अथवा यतै आएर बिहा गरे पनि आफ्ना श्रीमान् वा श्रीमतीलाई उतै लैजान्छन् । केही समयपछि जब उनीहरूका पनि सन्तान हुने समय आउँछ अनि नेपालमा रहेका बाबुआमा उनीहरूलाई खाँचो पर्छ । ठट्टाको भाषामा भन्दा हामीजस्ता पितामाताको तेल भिसा लाग्छ । 

विदेश जाने, जेट चढ्ने, विदेशी भूमिमा आफ्ना सन्तानले गरेको प्रगति हेर्ने र सुख भोग्ने रहरमा मख्ख हामी सबै प्रकारका दुःख बिर्सेर वा यताका सुखलाई लत्याएर विमान चढ्छौं । दुईचार दिन त नयाँ नौलो रमाइलो हुन्छ । क्रमशः त्यताको बसाइ आफ्नो अनुकूल लाग्न छोड्छ पाँच/छ महिनामा रहर भरिएर आउँछ । अनि ती बाआमालाई यतैको सम्झनाले सताउन थाल्छ । 

केही आँट गर्नेहरू र स्वदेश फर्किने विकल्प रहेकाहरू त आउँछन् । तर कतिपयका विकल्प हुँदैनन् भने कतिपयलाई सन्तान दरसन्तानको मायाममता र उनीहरूप्रतिको आफ्नो कर्तव्यले बाध्य पार्छ र फर्किन कति नै मन हुँदा पनि फर्किन नसकेर उतैको जीवन रोज्न बाध्य हुन्छन् । तन उता भए पनि मन र मुटु यतै पठाएर मृतमन बस्न बाध्य हुन्छन् । सबै प्रकारको सुख र सुबिधा भएर पनि मन रमाउँदैन तर आउन सकिँदैन । 

सन्ततिलाई लाग्छ यसभन्दा सुख र सुविधा नेपालमा कहाँ पाउनु ? पितामाताको निम्ति हामीले सक्दो सुहाउँदो गरेकै छौं तर त्यो समय धेरै रहँदैन जब नातिनातिना स्कुल जाने हुन्छन् । बाबुआमाप्रतिको सन्तानको कर्तव्य र माया क्रमशः पातलो हुन थाल्छ । नातिनातिना पनि उमेर बढ्दै गएपछि हजुरबाहजुरआमाबाट टाढा हुन थाल्छन् । अब त बाआमा नेपालै गए पनि हुने । 

ती बाबुआमा जतिखेर पाखुरीमा बल थियो, मनमा उत्साह र जाँगर थियो, नेपालमा आएर हिजो छोडेर गएको भूमिमा खनी खोस्री गरेर खानसक्छु भन्ने आँट थियो त्यो समय गुज्रिसकेको हुन्छ । आफूलाई सन्तानको सहायता आवश्यक पर्ने समय आएको हुन्छ । त्यस्तो बेला सन्तानको आफूप्रतिको दृष्टिकोण फेरिएको हुन्छ । बाबुआमा अनावश्यक हुन्छन् जब त्यसपछिको आप्रवासी पितामाताको जीवन कहालीलाग्दो र पीडाजनक भएर बित्न थाल्छ । त्यस बेला ती पितामाताको आँखाबाट बग्ने आँसु र तिनले मनमा व्यहोर्ने व्यथाका बारेमा सायद अब लेखिँदै पनि जानुपर्छ । 

यसै महिना मेरी सासुआमाले अमेरिकामा पाञ्चभौतिक देह बिसाउनुभयो । आफन्तलाई भेट्न नपाई बिछोड हुनुपर्दा परिवारजनमा परेको दुःख र पीडाको कुरा छँदैछ । त्यसको क्षतिपूर्ति कहिले कसरी होला र ? साथमा हाम्रो सनातन धर्म, संस्कार र संस्कृतिअनुसार पार्थिव शरीरको अत्येष्टि गर्ने, काजक्रिया गर्ने र दानदक्षिणा गर्ने कुराहरू अमेरिका जस्तो ठाउँमा निकै पेचिला विषय बनेर आए । जसोतसो ती सम्पन्न गरिए । यहाँसम्म पनि कुरा निजी नै मानौँ । कुराको थालनी केही व्यक्तिगत सन्दर्भबाट हुनगएको छ । घटना व्यक्तिगत भए पनि हामी धेरैका अवस्था सनातन रहेकाले यो साझा विषय भएको छ ।

हामीले भन्यौँ आमा यो भूमि हाम्रो हुँदै होइन । केही समय आइयो, देश देखियो, नातिनातिना हुर्काइयो कर्तव्य पूरा गरियो । यहाँको हावा, पानी र घामले पनि हामीलाई हाम्रोअनुसार चिन्दैन । शरीरमैत्री हावापानी नहुँदा स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखिन थाल्छन् । असीनब्बे वर्षको औसत आयुमा पनि हट्टाकट्टा देखिने त्यताका मानिसका तुलनामा हाम्रा बाआमा साठी सत्तरी वर्षमै रुग्ण बन्न थाल्छन् । पेटभरि खान पाएपछिको, राम्ररी लगाउन पाएपछिको र सुविधासम्पन्न आवासमा बस्न पाएपछिको जुन अभाव हो त्यो हाम्रो आफ्नो हो । र त्यही अभावको पूर्ति हामीलाई आफ्नो भूमिले गरिदिन्छ त्यसैले जाऊँ आमाभन्दा उहाँले केही पारिवारिक दायित्वका कुरा गर्नुभयो । 

कान्छो नातिलाई स्कुल पठाएपछि मेरो कर्तव्य पूरा हुन्छ अनि आउँछु । आफू गए छोरो उतै नविदेशिएला फर्काएर स्वदेशमा ल्याउँला । म यसै गएँ र उसले भनेको मानिन भनेँ छोरो विदेशिन्छ । मर्न त उतै आउनुपर्छ, हाडखोर कालीगण्डकीकै पानीमा सेलाउने हो ज्वाइँ ! भनेर हाँसीखुशी हामीलाई दुई वर्षपहिले बिदा गर्नुभएकी उहाँले कर्तव्य त पूरा गर्नुभयो तर यताआउने कति रहर हुँदाहुँदै यहाँ उहाँको बाटो हेरेर बसेका बाँकी आधादर्जन छोराछोरीभन्दा विदेशमा रहेको सन्तानको माया गहिरो भएर मनमा गढ्यो । हामी धेरैलाई यहाँ निरास पारेर उहाँले उतैबाट महाप्रस्थान लिनुभयो । 

यो क्रम धेरैको घरआँगनमा दोहोरिएकै होला । कति कठोर छ समय । उहाँजस्तै धेरै घरका बाआमाहरू यसरी नै कर्तव्य पूरा गर्ने सपनामा उतै अस्ताएका छन् । जसलाई उहाँ बस्न मन र तन दुवैले साथ दिएको छैन तर कर्तव्य नामको घाँडो घाँटीमा भिरेर मृतमन बस्न विवश छन् । र, ती कर्तव्यहरू जो उनीहरूले पूरा गर्ने ऋण जन्मदै बोकेर आएका छन् । एक प्रकारले निर्वैतनिक कामदार जस्तो ती आमा र बुबाहरूले सम्पन्न भूमिमा आफ्ना सपना बिसाएका छन् र उतैबाट प्रस्थान लिएका छन् । 

यो क्रम बढ्दो छ । अब त नेपाल या खाडीमा तातो पसिना चुहाउने सन्ततिका वृद्ध बाबुआमाले कुरेका छन् । या त तिनै अभागीबाबु आमा जसलाई सम्पन्न मुलुकमा रहेका सन्ततिले प्रस्ताव गरेको आप्रवासी भिसा अस्वीकार गरेका छन् या भिसा पर्खिरहेका छन् । या त विविध कारणले भिसा लाग्न नसकेर बसेका बाबुआमाले कुर्दै छन् । हामीले गौरव गरेर पाएको भिसामा अन्तर्निहित पीडाको अनुभूति नभएरै प्रतिभा सम्पन्न सन्तति विदेश पठाएर हामीजस्ता केही बाबुआमा भिसाको प्रतीक्षामा बसेको यो पछिल्लो समयका कथा धेरै भिन्न छन् र तीभित्र बुनिएका सपनाहरूको अन्तर्य र त्यसपछि प्राप्त हुने अनुभवको व्यथा नितान्त फरक छ, पीडाजनक छ र कहालीलाग्दो छ । 

सबै कुरालाई नकारात्मक लिन मिल्दैन केही सन्तोषका कुराहरू पनि होलान् । हाम्रा सन्ततिले भने जस्तो शिक्षा र रोजगार पाएका होलान् । पहिलेको भन्दा फरक र सम्पन्न जीवन बाँच्न पाएर कोही खुशी होलान् । ती अपवादका कुराबाहेक खासगरी उमेर, अवस्था, स्वास्थ्य, भाषा र संस्कृति आदिले साथ नदिएर पनि सन्ततिको उन्नतिको निम्ति भनेर आप्रवास रोजेका र बाध्यताले बसेका पितामाताहरूले जेजस्तो जीवन र मृत्यु पाएका छन् तिनका विस्मात्का कथा साधारण मन र समवेदनाले अनुभव गरेर नपुग्ने खालका छन् । कोरोना कहरमा नियतिद्वारा कोरिएका अनगिन्ती यस्ता कथा यसरी पुनरावृत्ति नहोऊन् भन्ने कामना गरौँ !

Top