एक अर्थशास्त्रीको साहित्यिक कृति ‘फूलको सुगन्ध’

✍️ सुशीला घिमिरे   POSTED ON : भदौ २६, २०७८ (९:५५ AM)

एक अर्थशास्त्रीको साहित्यिक कृति ‘फूलको सुगन्ध’

विष्णुप्रसाद पन्त एकजना अर्थशास्त्री हुनुहुन्छ । उहाँ अर्थशास्त्रको एमए हुनुहुन्छ र उहाँको अध्ययनको अर्को पाटो कानुन हो तर उहाँ साहित्यमा रमाइरहनु भएको छ । साहित्य भनेको मानव मनको भावनात्मक अभिव्यक्ति हो । त्यो कविता, गीत, गजल, मुक्तक, कथा, नाटक आदिलाई माध्यम बनाएर बाहिर आउने हो । त्यसलाई भाषा साहित्यको औपचारिक अध्ययनले केही सहज बनाउला तर अन्य विषयको अध्ययनले चाहिँ बाधा हाल्छ भन्ने होइन । यस्ता धेरै उदारहण दिन सकिन्छ । यही उदाहरणमा पर्नु हुन्छ विष्णुप्रसाद पन्त पनि । उहाँको नवौं कृतिका रूपमा उहाँको ‘पूmको सुगन्ध’ शीर्षकको यो हाइकु संग्रह पाठकसामु आएको छ ।   

जम्मा ९१ पृष्ठको छ यो पुस्तक र यसको मूल्य १२० रुपैयाँ छ । पुस्तकमा अशुद्धिहरू कम भेटिन्छन् । पुस्तकको आवरणमा हलुका पानी रङ्गमा फक्रिएको पूmलको चित्र छ । जसले गर्दा पुस्तकको शीर्षकसँग यसले सामन्जस्य राखेको छ । यो मूर्त कलामा सिर्जना भएको पाइन्छ । आवरण आकर्षक देखिन्छ । पछाडिको आवरणमा फोटोसहित हाइकुकार पन्तको परिचय दिइएको छ । जसअनुसार उहाँ २००७ साल फागुन १ गते काभ्रे जिल्लाको पञ्चकुमारी बिर्ता देउराली, पाटीगैरामा जन्मिनु भएको हो भन्ने देखिन आउँछ । 

हाल चाबहिल काठमाडौंमा बस्तै आउनुभएका पन्त गुणनिधि पन्त स्मृति प्रतिष्ठान तथा पशुपति बहुमुखी क्याम्पस (अनुगमन समिति)को अध्यक्ष रहनु भएको छ भने रिलाइन्स सहकारी संस्थाको संरक्षक पनि रहनुभएको छ । उहाँको साहित्यिक तथा गैरसाहित्यिकसमेत गरी १० वटा पुस्तकहरू प्रकाशित भएका छन् । साहित्यमा उहाँका काव्य तथा काव्येत्तर स्मृति, संस्मरण र नियात्राहरूका पुस्तक प्रकाशित भएका देखिन्छन् । गुणनिधि पन्त स्मृति प्रतिष्ठान प्रकाशक रहेको यस पुस्तकको सम्पादन डा.विष्णुकुमार खत्रीले गर्नु भएको छ । 


पहिलो संस्करणका रूपमा २०७८ सालमा वा यही वर्ष प्रकाशित भएको यो पुस्तक डिएमआई साइजको छ । पुस्तकको भूमिका खण्डमा डा. शैलेन्दुप्रकाश नेपालको ‘सुन्दर हाइकु’ र हाइकुकार पन्तको ‘मेरो भनाइ’ रहेका छन् । त्यसपछि हाइकुहरू सुरु हुन्छन् । पुस्तकको प्रत्येक पृष्ठमा चारवटाका दरले जम्मा ३३६ वटा हाइकुहरू छन् । 

हाइकु वर्तमानमा नेपाली साहित्यमा निकै चलेको विधा हो । लेख्न, वाचन गर्न र सामाजिक सञ्जालहरूमा पोष्ट गर्न सजिलो छोटो विधा भएका कारणले पनि यसको लोकप्रियता बढ्दैगएको छ । तीन हरफमा ५–७-५ अक्षरमा लेखिने हाइकु जापानको मौलिक विधा हो भन्ने गरिएको छ । यसमा अनुप्रासको अनिवार्यता छैन । तर यस्तै ५–७–५ अक्षरको नेपाली लोकसाहित्यको एउटा विधा अनुप्राससहित नेपालको पूर्वपहाडी जिल्लाहरूमा लोकगीतअन्तर्गत घाँसेगीत, गोठाले गीत वा हाक्पारे गीतका रूपमा प्रचलित छ । जस्तै :

मादलको खरी 

जाऊँ धरानपरि 

नआने गरी । 

अहिले एकथरी साहित्यकारहरूले यही लोकगीतलाई सुसेली नाम दिएर चर्चामा ल्याएका छन् । उनीहरूको दाबीअनुसार हाइकु जापानी विधा नभएर नेपाली मौलिक लोकविधा हो भन्ने छ । यसबारे अनुसन्धान हुनु आवश्यक छ । यो हाम्रो आफ्नै मौलिक विधा प्रमाणित भए यसबाट हामीलाई अझै फाइदा हुने नै छ । सुसेली वा घाँसे गीतहरू लोकभाकामा गाउन मिल्ने खालका हुन्छन् । विभिन्न लोकलयमा यिनलाई गाउने गरिन्छ । हाल सुसेली नाम दिएर यिनलाई साहित्यिक मञ्चहरूमा गाउने गरिएको छ तर हाइकुहरू सामान्यतया गाउन मिल्ने खालका हुँदैनन्, वाचन गर्न मिल्ने खालका मात्र हुन्छन् । 

‘फूको सुगन्ध’ मा समावेश हाइकुहरूमा विविधता पाइन्छ । हाम्रो समाज, हाम्रा दैनिक व्यवहार, नेपाली गाउँले तथा शहरी जनजीवन, सभ्यता, राजनीति, नेता र तेतृत्वप्रतिको कटाक्ष, प्रकृति चित्रण, गरिबी, जीवनदर्शन, मातृत्व, मायाप्रेम वा प्रणय, कर्तव्याकर्तव्य, वात्सल्य, निराशावादी दृष्टि, आशावादी सोच, राजनीति, मानवीय व्यवहार र स्वभावलाई व्यंग्य वा कटाक्ष आदि भाव बोध गराउने खालका हाइकुहरू यस सङ्ग्रहमा समावेश छन् । यसका साथै शृंगारिक र राष्ट्रप्रेमले भरिएका हाइकुहरूसमेत यस संग्रहमा छन् । 

हाइकुको विशेषता भनेकै यही हो । छोटोमा तीक्ष्ण व्यंग्य गर्नु अर्थात् धनुको बाँण जसरी लक्ष भेदन गर्नु हाइकुको उद्देश्य रहेको हुन्छ । पन्तका यस पुस्तकमा समेटिएका हाइकुहरू यस अर्थमा लक्ष प्राप्तिमा सफल छन् । उहाँका केही हाइकुहरूलाई नमुनाका रूपमा यहाँ प्रस्तुत गर्नु सान्दर्भिक होला :

श्रीमती नेतृ 

घरमा छैन वास

शनिको दशा । 


नेताको बोली 

तस्वीरको जिलेबी 

काम हुँदैन । 


आमाको पीडा 

आमा बने बुझिन्छ 

नत्र बुझिन्न । 

यस छोटो आलेखको समापनका क्रममा हाइकुकार विष्णुप्रसाद पन्तलाई कृतिका लागि बधाई दिँदै अन्य कृति सिर्जनाका लागि अग्रीम शुभकामना । 


Top