परदेशीका पीडा बोल्ने कथाहरू

✍️ रत्न प्रजापति   POSTED ON : भदौ २६, २०७८ (१०:०१ AM)

परदेशीका पीडा बोल्ने कथाहरू

मान्छेको जन्मदेखि नै उसको कथा सुरु हुन्छ । समयक्रममा हुर्र्कंदै र बढ्दै जाँदा हजुरबा हजुरआमाबाट कथा सुन्छ । परीका कथा सुनेर रमाउँछ । अनि राक्षसका कथा सुनेर डराउँछ पनि । कथामै रमाउँदै र डराउँदै गर्दा मान्छेले आफ्नै जीवन एउटा कथा हो भनेर बुझ्दै जान्छ । हरेक मान्छेसँग कथा हुन्छ भन्ने पनि थाहा पाउँछ । कथा केही सुखका । कथा केही दुःखका । कथा केही आफ्नै नियतिका । कथा केही अरूले दिएको पीडा, व्यथा र गुनासोका । कथा केही भावभूतिका । कथा केही अनुभूतिका । कथा केही आफ्नै जीवनको । कथा केही अरूकै जीवनको । कथा आफ्नै देश र परिवेशको । अनि कथा परदेशको र परदेशीको । 

मान्छे सबैका आआफ्ना कथा छन् तर सबैले आफ्ना कथा भन्दैनन् । त्यसैले सबै कथावाचक बन्दैनन् । सबैले कथा लेख्दैनन् । त्यसैले सबै कथाकार हुँदैनन् र सबै कथाकार बन्दैनन् । आफ्नो होस् वा अरूका, कथा लेख्नेहरू कथाकारका रूपमा चिनिन्छन् । नचिनिएका कथाकार पनि प्रशस्त छन् समाजमा । कथा लेख्दैनन्, तर सुनाउँछन् । कथा लेख्नेले पनि सबैले आफ्नो कथा लेख्दैनन्, लेखेका छैनन् । 

धेरैले अरूकै कथा लेख्छन्, लेखेका छन् । थोरैलेमात्रै आफ्नै कथा लेख्छन्, लेखेका छन् । आफ्नो कथा सार्वजनिक गर्न नचाहनु स्वाभाविक हो । कथाभित्र पीडा र व्यथा हुन्छन् । ती पीडा र व्यथा अरूलाई सुनाउन नचाहनु पनि स्वाभाविक नै हो । सुनाउनुचाहिँ राम्रै हो । किनभने दुःख बाँडे घट्छ, सुख बाँडे बढ्छ । हामीले यो कुरा सुनिआएको हो । आफैँले अनुभव गरिआएको पनि हो । 

कथा लेख्नेले घरदेशमा बसेर लेखेका छन् । परदेशमा बसेर पनि कथा लेखेकै छन् । लेख्नेका लागि घरदेश र परदेश भन्ने कुरा स्थान विशेषमात्रै हो । जुनसुकै स्थानमा रहे पनि त्यहाँको समय, काल र परिस्थितिलाई आफैँले भोगेर र देखेर मनको भावलाई व्यक्त गर्नसक्छन् कथाको रूपमा । 

लेख्नेका लागि धेरै कथा छन् घरदेशमा र परदेशमा पनि । आफ्नै जिन्दगीका कथा, समाजका कथा र देशदुनियाँका कथा धेरै लेखेका छन् कथा लेख्नेहरूले । अझ विभिन्न कारणले परदेशमा पुगेका र त्यहीँ कर्म गरी बसेका कथाकारले पनि उतैको घटना, दुर्घटना, पात्र, चरित्र र परिवेशमा धेरै कथा लेखेका छन् । मन छुने कथा । मन हाँस्ने कथा र मन रुने कथा पनि । 

परदेशमा बसेर उतैका घटना, दुर्घटना, पात्र, चरित्र र परिवेशलाई कथावस्तु बनाएर लेखिएका केही मन छुने, मन हाँस्ने र मन रुने कथाहरूको एकमुष्ट सँगालो हो ‘परदेशका कथा’ । शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तकका सम्पादक कृष्ण कुसुम र गणेश घिमिरे रहेका छन् । विशेषगरी उत्तरी अमेरिकामा बसोबास गर्ने नेपाली कथाकारहरूले लेखेका दुई दर्जन कथाहरू यो सङ्ग्रहमा समेटिएका छन् । 

कथाकारमा वरिष्ठदेखि कनिष्ठसम्म छन् । फरक–फरक भावभूमिका मीठा कथानुभूतिले सङ्ग्रहलाई पठनीय र सङ्ग्रहणीय बनाएका छन् । सङ्ग्रहका लागि कथाहरूको सङ्कलन र सम्पादन चाहिँ कृष्ण कुसुम र गणेश घिमिरेले गरेका छन् । अनि यति महत्वपूर्ण कथासङ्ग्रहलाई प्रकाशन गरेर शिखा बुक्सले नेपाली साहित्य भण्डारमा उल्लेख्य योगदान गरेको छ ।


यन्त्रले चल्ने र यन्त्रझैँ चल्नुपर्ने देशमा रहेर काम गरिरहेका नेपाली कथाकारले कथा लेख्ने फुर्सद चाहिँ कतिखेर पाउँछन् ? कथासङ्ग्रह पढ्नुअघि पाठकको मनमा यस्तो प्रश्न उब्जिन सक्छ । मासिक तलबभन्दा पनि दैनिक अझ घण्टे ज्याला थाप्ने श्रमजीवीहरूले श्रम गर्ने समय उबारेर कथा लेख्नुलाई आफ्नो भाषा र साहित्यप्रतिको माया र लगावको रूपमा लिनुपर्छ हामीले । यसरी विदेशमा बसेर पनि नेपाली भाषा र साहित्यलाई माया गरेकैले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउन मद्धत पुगेको छ । यसमा हामीले गर्व गर्नुपर्छ ।

‘परदेशका कथा’ डायस्पोरामा बसेर लेखिएका डायस्पोरिक कथाहरूको सँगालो हो । कथाकार जुन स्थानमा बसेका छन् त्यही सेरोफेरोका कथा छन् सङ्ग्रहमा । अर्थात् फरक भावभूमिका फरक कथानुभूति छन् । जुन कथानुभूतिहरूले पाठकलाई फरक–फरक स्वादको रसास्वादन गराउने छन् । जुन स्थान र परिवेशमा बसेर कथा लेखे पनि कथाभित्रका सुख, दुख, आँसु, हाँसो, प्रेम र पीडाको अनुभूति त उस्तै नै हुँदारहेछन । ‘परदेशका कथा’ पढेपछि यस्तै महसुस हुन्छ ।

वर्षौं विदेशमा बसेर काम गर्दा पनि मर्दा आफ्नै देशमा लास पठाउने आर्थिक हैसियत पनि बनिनसकेका नेपालीको मर्मस्पर्शी कथाव्यथादेखि स्वदेशमा हाकिम भएर बसेका देशभक्तजस्ता पात्र विदेशमा डिसवास गर्ने कामबाट विरक्त भएर पुलबाट हाम्फालेर आत्महत्या गरेको दुखान्त कथासम्म सङ्ग्रहमा समेटिएका छन् । मृत्युपछि अस्तुमात्रै भए पनि देशको माटोमा सेलाउने चाहनाले विदेशमा जुनी बिताए पनि नेपाली संस्कार भुलिनसकेको प्रमाण ‘अस्तु’ कथाले प्रस्तुत गरेको छ ।

यसैगरी परिवार भएर पनि एकाकी जीवन जिउनुपर्ने र सहयोग गर्न चाहेर पनि कानुनी डरले पछि हट्नुपर्ने अवस्था (एक्लो अन्थोनी), कर्मका लागि विदेशमा रहे पनि नेपाललाई माया गर्ने नेपाली (त्यस्तो कहिले होला), कुकुरसँगको सहवासबाट मानिसजस्तै छाउरा जन्माएको अनौठो र अप्राकृतिक सम्बन्ध (रहस्यमयी अनुभव), प्रेम, विछोड र पुनर्मिलन (पिटरको प्रेमकथा), नेपाल र नेपाली नागरिकताप्रति माया र मोह भएर पनि परिस्थितिवश अमेरिकी नागरिकता लिन विवश पात्रको मनोदशा (अमेरिकन पासपोर्ट), शङ्काले लोग्ने–स्वास्नीको सम्बन्धमा आउने दरार र त्यसले जीवनमा ल्याउने उतारचढाव (श्रीमान् भर्सेस श्रीमती), वैध प्रेमको प्रतीक्षामा अवैध प्रेमको आगमनले दोधारको स्थिति र मीठा–मीठा कल्पना र अन्त्यमा जीवन स्वप्नदोषको स्खलन जस्तै भएको यथार्थवोध (स्वप्नदोष), सम्बन्ध विच्छेद भइसकेको पुरुषसँगको बदलाको भावनाले आफूलाई सङ्घर्षशील बनाएकी महिला (क्रिसिया) जस्ता विविध भावभूमिका कथानुभूतिले पाठकलाई डायस्पोराको जनजीवन, त्यहाँको दैनन्दिनको जीवनशैली, पीडा र व्यथालाई बुझ्न मद्दत गर्नेछन् ।

विगतको फ्ल्यासब्याक र आगतको यथार्थबोधको सम्मिलन (लडाकु), विदेशी भएर पनि नेपालको लालपुर गाउँको विकासमा सघाउने विलियम स्टुवार्टको गुणगान (विल काका), न्यूयोर्क सहरमा सारङ्गी रेटेर माग्न बसेको गैरनेपाली गाइनेको आगत र विगत दुवै समयका घटनाहरू समेटिएको निकै मर्मस्पर्शी कथा (न्युयोर्कको गन्धर्व), अङ्ग्रेजी साहित्यमा पिएचडी गरेकी आँखा नदेख्ने, कान त्यति नसुन्ने र बोल्न पनि गा¥हो हुने जोहरा र उनलाई स्याहार्ने सुसारेबीचका मिहिन संवाद (जोहरा), धेरै कुरा चाहन्न तर केही दिएन यो जिन्दगीले, पीडाले भरिएको एउटा कहालीलाग्दो असफल कथामात्रै दियो भन्दै जिन्दगीसँग गुनासो गरिएको (डिपोर्टेसन) र १४ वर्षसम्म अमेरिका बसेर पनि ग्रीनकार्ड पाउन नसक्ने बाबुको पीडा र व्यथा चित्रण भएको (अभागी पिता) कथाले पाठकलाई निकै संवेदित बनाउनेछन् ।

यसैगरी विदेशमा बस्ने सन्तान र स्वदेशमा सन्तान फर्कने आशाले पर्खेर बस्ने वृद्ध मातापिताको मार्मिक कथा समेटिएको ‘पर्खाइ’, सुन्दर तर गरिब देशको नागरिक भनेर आफ्नो परिचय दिन पनि हिनताबोध गर्नुपर्ने चिन्ताले झिँजो मान्नुपर्ने पात्रको पीडा बोकेको ‘फ्रम नेपाल सर’, श्रीमतीको डिभी परेर सपनाको देश अ‍ेमरिका छिरेको बिर्खे श्रीमती अर्कैसित हिँडेपछि पिज्जा डेलिभरी गरेर बाँच्न विवश बनेको र परिवार नै छिन्नभिन्न भएको मर्मस्पशी कथा ‘पिज्जा डेलिभरी’, बाबुआमाको माया, ममता र प्रेमबाट वञ्चित र बाबुबाटै बलात्कृत भएको पीडासँगसँगै सेनाको अत्याचार सहन नसकेर गुरिल्ला युद्धको सेना बन्दै अन्ततः आप्रवासी बन्न विवश भएकी रुक्साना उर्फ मारियाको मार्मिक र कारुणिक कथा ‘प्रवासिएको सिपाही’, यौनको मामिलामा स्वतन्त्र र स्वच्छन्द अमेरिकाको कथा ‘सेक्सफ्री अमेरिका’, दिलमायाको सङ्घर्ष र सफलताको कथा बोकेको मीठो तर कारुणिक नोस्टाल्जिया बोेकेको ‘दिलमाया’ कथाले पनि पाठकलाई फरक–फरक कथानुभूति गराउने छन् ।

कल्पनाका उडन्ते गफभन्दा कथाकारले देखेका र भोगेका यथार्थलाई कथाको विषयवस्तु बनाइएकाले कथाहरूमा काल्पनिकभन्दा यथार्थ झल्किन्छन् । कल्पनाको रोमाञ्चभन्दा यथार्थको युगबोध गराउने क्षमता हरेक कथाले बोकेका छन् । द्वन्द्वको पीडा सबैतिर छन् भन्ने यथार्थलाई धेरैवटा कथाले बोलेका छन्, चाहे त्यो नेपालको होस् वा साल्भाडोरको । सबै खालका पीडितहरूको सपनाको देशचाहिँ अमेरिका नै बनेको यथार्थ पनि धेरैवटा कथाहरूले बोलेका छन् । नेपालको पूर्वलडाकुदेखि साल्भाडोरकी लडाकुसमेत अन्ततः अमेरिका नै पुगेका छन् आशा र सपनाको उज्यालोको खोजीमा । 

डायस्पोरिक जीवनशैली बुझन मद्धत गर्छ यो कथासङ्ग्रहले । प्रारब्ध अथवा नियति र कर्मले डायस्पोरामा बस्न पुगेका नेपालीका कथा र व्यथा पनि छन् सङ्ग्रहभित्रका कथाहरूमा । प्रेम, पीडा, विछोड, बाध्यता, बन्धन, यौन, शोषण, एकाकीपन, पहिचानको खोजी, अर्थमोह र जिजीविषा कथाहरूका मुख्य विषयवस्तु हुन् । सङ्ग्रहका कथाहरूले पाठकलाई कहिले रोमाञ्चित बनाउँछन् । कहिले संवेदित बनाउँछन् । कहिले सुखी बनाउँछन् । कहिले दुःखी बनाउँछन् । 

अनि कतैकतै यौनको आवेगले उत्तेजित पनि बनाउँछन् । अनि धेरै पात्रहरूप्रति सहानुभूति पनि जगाउँछन् । पाठकलाई कथान्त्यसम्म तानिराख्न सफल छन् कथाहरू । पाठकको मनमा उत्सुकता जगाउँदै अन्त्यसम्म डो¥याउन सफल भएकैले पाठकीय अभिरुचिका दृष्टिकोणले कथाहरू सबल छन् र सफल छन् ।

एउटै कथासङ्ग्रहबाट भिन्नभिन्न स्वादका कथाहरूको रसास्वादन गर्न पाउनु र डायस्पोराका विविध जीवनका पाटा र जीवनशैली बुझ्न पाउनु यो कथासङ्ग्रहको विशेषता हो । सङ्ग्रहका कथाहरूमा अग्रज कथाकारसँगै अनुज कथाकाका कथा पनि समेटिएका छन् । तर अनुज कथाकारका कथा अग्रज कथाकारका कथाभन्दा कुनै कोणमा कम्तीका चाहिँ छैनन् है । बरु उम्दा पनि छन् कुनै–कुनै कथा । यो निकै सुखद् पक्ष हो । कथा पढ्दै गर्दा अनुज कथाकारले नै कथा लेखनमा बढी मिहिनेत गरेको महसुस हुन्छ ।

सङ्ग्रहका केही कथाहरूले ‘हामी त यहाँ आएर फस्यौँ-फस्यौँ, अब तिमीहरू चाहिँ यहाँ नआओ है’ भन्न खोजेजस्तो अनुभूति पनि पाठकहरूले गर्नेछन् । धेरैजसो कथामा विदेशमा बस्दाका पीडा र चुनौतीका कुरामात्रै आएका छन् । त्यहाँ उपलब्ध हुने सुविधा र अवसर अनि त्यहाँका सकारात्मक पक्षहरूको चित्रण कथामा त्यति भएको पाइँदैन । कथामा दुःखका कुरा मात्रै भनेर संवेदना र सहानुभूतिको अपेक्षा राख्ने होइन । सुखका कुरा पनि भन्नुपर्छ । पाठकलाई पठनको आनन्द दिनलाई सुखका र दुःखका दुवैथरी कथा चाहिन्छ । पाठकको यो अपेक्षालाई पूरा गर्ने क्षमता भने थोरै कथालेमात्रै बोकेका छन् ।

विशाल देशमा छरिएर रहेका नेपाली कथाकारका कथा सङ्ग्रह तयार पार्ने सम्पादकद्वय कृष्ण कुसुम र गणेश घिमिरेको प्रयत्न कदरयोग्य छ । यसैगरी नेपालमा पठनसंस्कृति कम छ र साहित्यिक पुस्तक बिक्दैन भन्ने गुनासोलाई पर राखेर पुस्तक प्रकाशनको जिम्मेवारी स्वीकार्ने शिखा बुक्सको आँट पनि प्रशंसनीय र सराहनीय छ । 


Top