कविता: सस्तो बधाई

मुना दाहाल   POSTED ON : आश्विन १, २०७८ (५:४५ PM)

कविता: सस्तो बधाई

गहुँ भन्दा पिठो सस्तो ! 

शुभकामना भन्दा बधाई सस्तो !

सरुवा भएपनि बधाई 

बढुवा भएपनि बधाई


लिनेलाई भन्दा दिनेलाई सस्तो !

पद पाएपनि  बधाई 

पद गुमाएपनि बधाई

पाउनेलाई भन्दा पढ्नेलाई सस्तो! 


रेडियो टिभिमा बज्ने भन्दा 

सामाजिक सञ्जालको समाचार सस्तो !

पढ्नेलाई भन्दा लेख्नेलाई सस्तो! 

कुरै नबुझी बधाई दिनेलाई सस्तो !


बधाई दिन भन्दा स्वीकार्न सस्तो !

विकास भन्दा विनास सस्तो !

राष्ट्रियता भन्दा राष्ट्रवाद सस्तो! 

जिम्मेवारी भन्दा पद सस्तो! 


ईमान्दारिता भन्दा बैमानी सस्तो! 

नैतिकता भन्दा कुर्सी सस्तो !

जीवन दिन भन्दा लिन सस्तो!

समर्थन भन्दा बिरोध सस्तो! 


भ्रष्टलाई सजाय भन्दा उन्मुक्ति सस्तो! 

न्याय दिन भन्दा अन्याय सस्तो ! 

भ्रष्टाचार भन्दा जरिवाना सस्तो! 

सत्तास्वार्थमा लम्पसारवाद सस्तो! 


कार्यान्वयन भन्दा निर्णय सस्तो! 

दल बनाउन भन्दा भाँड्न सस्तो! 

निरंकुशता भन्दा गणतन्त्र सस्तो !

सौहार्दताका भन्दा असहिष्णुता सस्तो !


कानुन भन्दा सेटिङ्ग सस्तो !

शासन भन्दा शोषण सस्तो! 

विधि भन्दा दण्डहीनता सस्तो !

समाजमा अनियमितता झन् धेरै सस्तो !


एकता भन्दा बहिर्गमन सस्तो ।

सच्चाप्रेम भन्दा देखावटी सस्तो।

जुटेर बस्नु भन्दा फुट्नु सस्तो ।।

आफ्नोघरमा बस्नु भन्दा भाडाको घर सस्तो ।।


Top