कविता : धानगाथा

✍️ राजेश अधिकारी   POSTED ON : आश्विन २, २०७८ (८:५४ AM)

कविता : धानगाथा

असारे भाकातरंग छर्दै गुन्जिन्छ सरर 

सिम्सिमे झरी मुसुक्क हाँस्दै बर्सिन्छ झरर 

झुसिला आली कुना र भित्ता चिल्लिए टिलिक्क

हिलाम्मे गह्रा हरिया गाभा पहिरी चिटिक्क 

छुपुमा छुपु धानरोपेर गरियो रोपाइँ 

असारे चाढ हिले सुगन्ध यो हर्ष बढाइँ

मानो खाएर मुरी उब्जाऔं पाखुरी चलाई

हलो कोदालो पटा र दाँते मच्चिए उच्छट्ट 

काममा मस्त हली बाउसे हिलाम्मे बिछट्ट 

धानको बिउ हिलोमा रोप्दै रमाए रोपार

रोपाइँ जात्रा खुशीको यात्रा आनन्द अपार 

बकुल्ला रुप्पी भुरुरु उड्छन् आकाश ढाकेर 

किरा फट्यांगग्रा हिलोमा नाचे खुशीले मातेर 

हलको गोरु हिलोमा बस्छ फतक्कै थाकेर 

दही चिउरा रोपाइँ खाजा किशानी चलन 

मोहीको पेय गुन्द्रुके चट्नी स्वादको मिलन 

दर्कियो झरी दरर गर्दै गर्मिलो घाममा 

ओडेर घुम हली रोपार फर्किए काममा 

श्रमको बीज पसिना दाना खेतमा छरौंला 

नौमती बाजा घन्काई बेठी रोपाइँ गरौँला 

सुनको दाना टिपी बटुली भकारी भरौँला

भ्याई नभ्याई हदै चटारो यो कृषि कर्मको 

आपसी प्रेम छिमेकी बीच अर्म र पर्मको

कुलो र पैनी खोला र नाला सबै नै मस्तीमा 

रोपाइँ लय रन्किन थाल्छ गाउँ र बस्तीमा 

धानको बाला प्रेमको माला अतुल्य जुहार 

दुःखको बीच सबैको हुन्छ हँसिलो मुहार 

संस्कृति हाम्रो विश्वमा राम्रो धानको तिहार 

असार गयो मंसिर आयो लिएर उत्साह 

सुनका बाला झुलेर नाचे आनन्द अथाह

धानका बिटा कुन्यु बनेर चुलिए शैल झैँ

किशानी मन फुरुङ्ग भयो अपार खुशी भई

पसिना छरी स्वर्ण फलाऔँ स्वदेशी माटोमा

अनाज भरौँ ढुकुटी भरी श्रमको साटोमा 

हिडौँ दौडिऔँ लम्कौँ अगाडि सुखको बाटोमा

मंसिरे पर्व दाईंको हर्ष सुनौलो धानको

धनको थुप्रो खलोको बीच देखिन्छ शानको 

मियोका गोरु फनन घुमे पराल माडेर 

‘दाईं बरादो’ गीत गुञ्जियो गाउँ नै ढाकेर 

खुशीका दाना पाथी र माना भरिए डालामा 

भकारी भरी भरिन्थे धान बाजेको पालामा 

सुन र चाँदी छुपेको हुन्छ धानको बालामा

कृषि प्रधान देश हो हाम्रो कृषि मै निर्भर 

बन्जर जोतौँ सिंचाई गरौँ बनाऔँ उर्वर 

यो सर्वप्रिय अनाज मिठो स्रोत हो भातको

अन्नको राजा भोजन मीठो दिन र रातको 

सुनको बस्त्र चाँदीको तन उत्कृष्ट फसल 

बाल र वृद्ध धनी गरिब भोजन असल 

सवाई गाएँ यो धानगाथा खोली झैँ सलल ।


Top