राजेन्द्र पौडेलको कविता संग्रह ‘निर्माणका धुन’

✍️ सुशीला घिमिरे   POSTED ON : आश्विन २, २०७८ (९:१३ AM)

राजेन्द्र पौडेलको कविता संग्रह ‘निर्माणका धुन’

राजेन्द्र पौडेल पेशाले इन्जिनियर हुनुहुन्छ । पेशा फरक कुरा हो र भावना फरक । उहाँको कवित्वले यसै भनिरहेको छ किनकि उहाँ छन्दमा राम्रा कविताहरू सिर्जना गर्नुहुन्छ । यसको प्रमाण हो उहाँको छन्द कविता कृति ‘निर्माणका धुन’ । पहिलो संस्करणका रूपमा आएको यस कृतिको सर्वाधिकार स्वयं कवि पौडेलमै रहेको छ भने प्रकाशिका हंशपुर–४ कास्कीकी श्रीमती प्रभा पौडेल रहनुभएको छ । बिटी प्रिन्टिङ प्रेस शङ्खमूल, काठमाडौंमा मुद्रण भएको डिएमआई साइजको यस पुस्तकमा भूमिका खण्डमा ३४ र कविता खाण्ड वा पाठ्यखण्डमा ७४ गरी जम्मा १०८ पृष्ठ रहेका छन् र यस पुस्तकको मूल्य १५० रुपैयाँ रहेको छ । 

यस पुस्तकका सर्जक पेशाले इन्जिनियर हुनुभएका कारणले पनि हुनसक्ब्छ पुस्तकको आवरणमा पुल, सडक तथा भवनहरूको तस्वीर राखिएको छ । सम्भवतः यी संरचना उहाँद्वारा नै तयार भएका हुनसक्छन् । उहाँले विकास निर्माण र कविता कृतिको सिर्जना एकैपटक गरिरहेको पाइन्छ । पुस्तकको पृष्ठ आवरणमा फोटोसहित कविको चिनारी दिइएको छ । जसअनुसार उहाँ २०२९ साल मंसिर १५ गते हंसपुर गाविस–४ कास्कीमा जन्मिनु भएको जानकारी पाइन्छ । उहाँका पितामाता, श्रीमती, छोरी तथा छोराको नामसमेत यहाँ उल्लेख भएको पाइन्छ भने शैक्षिक योग्यता, पेशा, कार्यानुभव, संलग्नतासमेतको जानकारी यहाँ दिइएको छ । 

यसका साथै यही पृष्ठमा यही पुस्तकको भूमिकाबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे, साहित्यकार प्रा.डा.टीकाराम अधिकारी, साहित्यकार कलाधर काफ्ले तथा कवि रामबाबु सुवेदीका यस संग्रहका कवि राजेन्द्र पौडेलका बारेमा व्यक्त गरिएका विचारहरू राखिएका छन् । भूमिका खण्ड सुरु हुनुभन्दा पहिले कवि पौडेलले आफ्ना दिवंगत पितामालाई यो कृति समर्पण गर्दै उहाँहरूबाट आशीर्वाद माग्नु भएको छ । 

त्यसपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘सुन्नदर शैली र मधुर भावको संगम’, प्रा.डा. टीकाराम अधिकारीको ‘निर्माणका धुन’ कविता संग्रहभित्र डुबुल्की मार्दा शीर्षकको पुस्तकबारेको लामो विश्लेषण रहेको छ । त्यसपछि गण्डकी सामाजिक गुठीका अध्यक्ष कलाधर काफ्लेको ‘बधाई छ ‘निर्माणका धुन’ का स्रष्टालाई’, रामबाबु सुवेदीको ‘कविताको उदाउँदो बिहानी’ र अन्त्यमा कवि राजेन्द्र पौडेलको ‘मेरो भनाइ’ अनि पुस्तकको प्रकाशक श्रीमती प्रभा पौडेलको ‘प्रकाशकीय’ छन् । पुस्तकमा अशुद्धिहरू कमै भेटिन्छन् । 

यसपछि कविताको विषयसूची दइएको छ । जसअनुसार यस पुस्तकका कविताहरूलाई कविले तीन खण्ड गरेर दिनुभएको छ । पहिलो खण्डमा ‘राष्ट्रियताका धुन’अन्तर्गत ३० वटा कविता दिइएका छन् । दोस्रो खण्डमा ‘प्रकृतिका धुन’अन्तर्गत १० वटा कविता छन् भने तेस्रो खण्डमा ‘करुणाका धुन’अन्तर्गत १४ वटा कविता समेटिएका छन् । कविता संग्रहमा कवि पौडेलको यो पृथक प्रयोगका रूपमा देखिएको छ । प्रत्येक खण्डको मूल शीर्षकबाटै थाहा हुन्छ यसअन्तर्गत प्रस्तुत भएका कविताको विषयको परिधि वा क्षेत्र कुन हो भन्ने विषयमा ।

पुस्तकको मूल भाग पहिलो भाग ‘राष्ट्रियताको धुन’ नै हो भन्न किन पनि सकिन्छ भने पुस्तकमा रहेका जम्मा ५४ वटा कवितामध्ये ३० वटा कविता यही खण्डमा रहेका छन् । यसमा विषय विविधता पाइन्छ । राष्ट्र राष्ट्रियता, विकास निर्माण, राष्ट्रिय पर्वहरूको संस्मरण वा सम्झना, गाउँ र गाउँको परिवेश जुन उहाँले बाल्याकालमा भोग्नुभएको थियो, जीवन र जगत, कामना शुभकामना कर्तव्याकर्तव्य, मानवताको मूल्य र मान्यता, मानवीय आकांक्षा जस्ता कुराहरू यस खण्डका कविताहरूले प्रकट गरेका छन् । तीनवटै खण्डको प्रस्थानबिन्दुमा एक एकवटा कविताद्वारा ढोको उघारिएको छ । 

यसबाट कवि पौडेल परिपक्व कविका रूपमा देखिननु भएको छ भने कुनै प्राविधिक पेशाको मानिसले सिर्जना गरेका कविता हुन् यी कविता भन्ने कुनै छनक उहाँले दिनु भउको छैन । भाव, छन्द, रस, अलङ्कार जस्ता कुरामा समेत कवि पौडेको राम्रो दख्खल देखिएको छ । 

शीर्षकअनुसार दोस्रो खण्डको ‘प्रकृतिका धुन’मा कविले आफ्नो जनमस्थान, गाउँबेंसी, हिमाल, पहाड, चौतारी, मातृस्नेहका साथै आफ्नो सिंगो देशको पनि चित्रण गर्नुभएको छ । यसैगरी तेस्रो खण्डमा पनि ‘करुणाका धुन’शीर्षकअन्तर्गत आफ्नी आमा, आफ्ना बाबा, आफ्नो आस्थाका नेताहरू, आफ्ना पृय कविहरूलगायत मानिसहरूको अवसानबाट आहात हुँदाको भावाभिव्यक्ति दिनुभएको छ । कवि पौडेलले यस संग्रहमा रहेका ५४ वटा कविताका लागि विभिन्न १२ वटा छन्दलाई प्रस्तुतिको माध्यम बनाउनुभएको छ । 

उहाँले शार्दुलविक्रिडित छन्दमा १४, शिखरिणी छन्दमा १२, मन्दाक्रान्ता छन्दमा ५, भुजङ्गप्रयात छन्दमा ५, अनुष्टुप छन्दमा ३, झ्याउरे छन्दमा ३, गीति लयमा ३, इन्द्रबज्रा छन्दमा ३, विद्युन्माला छन्दमा २, उपजाति छन्दमा २, माणवक छन्दमा एक र मदलेखा छन्दमा एकवटा कविता सिर्जना गर्नुभएको छ । उहाँले प्रयोग गर्नुभएका केही छन्दहरू एकदमै कम प्रचलनमा छन् । त्यस्ता छन्दहरूमा समेत कविता रचना गर्नसक्ने उहाँको सामथ्र्य प्रशंसनीय छ ।

‘निर्माणका धुनहरू’मा समेटिएका ५४ वटा कवितामध्ये २१ वटा कविताको शीर्षक एक शब्दमा, २० वटा कविताको शीर्षक दुई शब्दमा, १० वटा कवताको शीर्षक तीन शब्दमा र तीनवटा कविताको शीर्षक चार शब्दमा राखिएको पाइन्छ । यसबाट कवि पौडेल आफ्ना कविताहरूमा छोटाछोटा शीर्षक राख्न चाहनुहुन्छ भन्ने देखिन्छ । समग्रमा उहाँका कवितामा पेशागत कर्म, मानवता, मानवीय कर्तव्य, कसैप्रतिको कामना तथा शुभकामना, गाउँघरहरू रित्तिँदैगएको प्रसंग, चाडपर्वहरूको संस्मरण, साथीसँगीहरूको सम्झना, राजनीति र राजनीतिक व्यक्तिहरूप्रतिको कटाक्ष, जन्मभूमिको सम्झना, मातापितालगायत आफन्तजन तथा राजनेता, आदरणीय कविहरू, गुरुजनलगायत अग्रजहरूप्रतिको सम्झना र समर्पण, गाउँबेंसी, खेतखलिहान, चौतारी, देउराली, खोला, पहाड, हिमाल आदिको सम्झनासमेत पुस्तकमा समेटिएका कविताहरूका माध्यमबाट गरिएको छ । 

उहाँको ‘आमा तिम्रो काख’ शीर्षकको कविताको यो एक श्लोकले कविको कवित्वको बारेमा जानकारी गरउँदछ : 

फुले होलान् पारि पाखा गुराँस र बुकी 

ऐंसेलु र काफल गेडी खान्थ्यौं लुकिलुकी 

बाघेडाँडा, आरुखर्क भिरगौंडीको नाक 

सधैँभरि प्यारो लाग्छ आमा तिम्रो काख । 

पुस्तक आकर्षक र स्तरीय छ । प्राविधिक क्षेत्रका व्यक्तिबाट यस प्रकारको पद्य कविता संग्रहको सिर्जना हुनुलाई उहाँको साहित्यप्रतिको समर्पण, झुकाव, लगावका रूपमा लिन बाध्य हुनै पर्छ । 

उहाँको ‘मेरो हंसपुर’ शीर्षकको यस श्लोकबाट कविको छन्द कौशलको परिचय पाउँन पर्याप्त हुन्छ । 

ठुलीबेंसी पिप्ले छ अति रसिलो स्यानचउरी 

आहा त्यो चौतारी छ सुख हटियाको वरिपरि 

छ प्यारो माझैमा अझ दमदमे गाउँ सबको 

सधैँ माया लाग्ने किन किन उही हंसपुरको । 

यस प्रकारको कृति सिर्जनाका लागि कवि राजेन्द्र पौडेललाई हार्दिक बधाई छ साथै यस प्रकारका अन्य कृतिहरूको सिर्जनाका लागि शुभकामना । 


Top