ताराबहादुर कुँवरको ‘हजुरलाई नमस्ते’

✍️ गीता अधिकारी   POSTED ON : आश्विन २, २०७८ (१०:३९ AM)

ताराबहादुर कुँवरको ‘हजुरलाई नमस्ते’

सफल व्यवसायी/समाजसेवी ताराबहादुर कुँवरेको ‘हजुरलाई नमस्ते’ पाठकमाझ आएको छ । निर्माण क्षेत्रसँग अभिन्न रूपमा गाँसिनुभएका हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष ताराबहादुर कुँवरज्यूको हजुरलाई नमस्ते शीर्षकको जीवनवृत्त पाठकमाझ आएको हो । पुस्तकमा उहाँका विषयमा मात्र नभएर हाम्रो परिवेश झल्किन्छ । यो एउटा सफल नागरिको अनुभव हो जसले धेरैलाई प्रेरण प्रदान गर्दछ । पुस्तकमा जीवन, संघर्ष, अभाव र सफलताका विभिन्न कथाबाट कलात्मक रूपमा बुनिएको छ ।  

यो एउटा विशिष्ट प्रकृतिको र फरक खालको पुस्तक रहेको छ । यो एउटा यस्तो दस्तावेज रहेको छ जसको अध्ययनबाट धेरैलाई म पनि केही गर्नुपर्छ भन्ने प्रेरण मिल्छ । यस पुस्तकलाई अध्ययन र मनन गर्ने हो भने जीवन परिवर्तन ल्याउन सक्नेछ । यसमा जीवनका अनेक उचारचढाव, सुख, दुःख र मीठा तथा नमिठा भोगाइका बारेमा सरल ढंगले प्रस्तुत गरिएको छ । उहाँले सरल भाषामा पस्किनुभएको यो आत्मवृत्तान्त खासगरी युवा पुस्तालाई प्रेरणादायी दस्तावेजको रूपमा छ । 

उहाँका आफ्ना यथार्थ कथा-व्यथालाई किञ्चित पनि ढाकछोप नगरी जस्ताको तस्तै ऐना जस्तै पाठकमाझ रहेको छ । धैर्य, साहस, नैतिकता, इमानदारी र लगनशीलताले नै व्यक्तिलाई सफलताको उचाइँमा पु¥याउन सक्छ भन्ने उहाँको यस पुस्तकबाट बोध हुन्छ । घोष्ट राइटिङ नेपालका कमल ढकालले भनेजस्तै पुस्तक साच्चिकै झिलमिल ताराको कथा रहेको छ । 

पुस्तकमा ‘हजुरलाई नमस्ते’, ‘कर्म यात्रा-वी बलभद्र : पुख्र्यौली गौरव’, ‘चौबासको रमाइलो बाल्यकाल’, ‘पढाइका लागि परिश्रम’, ‘टेकु जक्सन : ठेलादेखि रिक्सासम्म’, ‘मुग्लान नजाने अठोट’, ‘हजुरबुवाको मन’, ‘वैवाहिक सम्बन्धका उतारचढाव’, ‘दिनभरि टेम्पो, रातभरि पाले’, ‘ट्याम्पो एक, पेसेन्जर अनेक’, ‘कुँवर निवास : घरको कथा’, ‘ट्रक, बालुवा र ढुंगा : टेन्सनै टेन्सन’, ‘अन्तत हेभी इक्विपमेन्ट’, ‘हेभी इक्विपमेन्ट : संघदेखि महासंघसम्म’, ‘राजनीतिबाट टाढै’, ‘अन्तत म पनि आयातकर्ता’ र ‘हजुरलाई नमस्ते ट्रेड लिंक सफलतातिर’ शीर्षकमा पुस्तकको पहिलो खण्डमा विभिन्न कथाहरू बुनिएका छन् । 

यस्तै दोस्रो खण्डमा ‘ड्राभर, अपरेटर थरीथरीका’, ‘मेसिन बिक्री गर्दाका पश्चाताप’, ‘फापेन पार्टनरसिप र ठेक्कापट्टा’, ‘ठगको फन्दामा’, ‘घडी र क्यासेट चोरी’, ‘गुन लगाउने धुन’, ‘मान-सम्मान’, ‘विदेश भ्रमण : रोमाञ्चक अनुभव’, ‘विदेशमा सपिङ गर्दा’, ‘रहस्य र विश्वास : भूतसँग साक्षात्कार’, ‘स्वास्थ्य चेतना’, ‘गीत-संगीत र चलचित्र’, ‘परिवारको साथ र सहयोग’, ‘जहाँ गयो, त्यहीँ नाता’, ‘बालुवा कमसल भइदिँदा’, ‘आइजी साबको त्यो गुन’, ‘सामाजिक अभियानमा मेरो सहभागिता’ र ‘जसलाई भुल्न सक्दिनँ’ जस्ता विभिन्न शीर्षकमा आफ्ना जीवनका अनुभवहरू पस्किनुभएको छ ताराबाहादुरले । 

यस्तै शुभकामनाहरूको खण्डमा देशका विभिन्न व्यक्तित्वहरूको शुभकामना प्रस्तुत गरिएको छ । यस खण्डमा पूर्वमन्त्री विक्रम पाण्डे, पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल, अर्थविद दीपेन्द्रबहादुर क्षेत्री, न्यायाधीश टेकनारायण कुँबर, प्रथम गभर्नर तथा प्रथम अर्थसचिव हिमालयशमशेर राणा, प्राडा तीर्थराज खनिया, विशिष्ट कलाकार हरिवंश आचार्य, ई. किशोर थापा, वरिष्ठ पत्रकार युवराज घिमिरे, गुणराज लुइँटेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, विज्ञानराज शर्मा, वाचन प्रवीण पं.दीनबन्धु पोखरेल, नेपाल यातायात व्यवसायी माहासंघ, डा.राजेन्द्रप्रसाद अधिकारी जस्ता व्यक्तित्वहरूले उहाँलाई शुभकामना दिँदै उहाँका कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ भने उहाँ प्रेरणाका स्रोत भएको उल्लेख गरिएको छ । 

पुस्तकमा रंगीन पेजमा उहाँका विभिन्न समयका गतिविधिहरू समावेश गरिएको छ । सामाजिक सेवमा उहाँले पुर्‍याएको योगदानका विषयमा चर्चा गरिएको छ भने विभिन्न देशका भ्रमण र व्यक्तित्वसँगको भेटका तस्वीरले पुस्तकलाई सजीव बनाएको छ । 

इन्टरनेसनल कन्स्ट्रक्सन प्रालि प्रायोजक रहेको पुस्तक घोष्ट राइटिङ नेपाल प्रालिले प्रकाशन गरेको हो । नगेन्द्र लामा (स्याङ्बो)को डिजाइन÷लेआउट रहेको पुस्तकको आधिकारिक बिक्रेता डुसान इन्फाफोर कम्पनी लिमिटेड दक्षिण कोरिया रहेको छ भने ३२८ पेज रहेको यसको मूल्य ५ सय रुपैयाँ राखिएको छ । पुस्तकको बिक्रीबाट आएको रकम सामाजिक कार्यमा खर्च गरिने भनिएको छ । पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम काभ्रेपलाञ्चोक कोशीपारिका विद्यार्थीहरूका लागि खर्च गरिने भनिएको छ । 

‘हजुरलाई नमस्ते’ यो पुस्तक देशमै केही गरौँ भन्नेका लागि र कामको खोजिमा भौतिरिरहेका साथै सफलता हात प्राप्त गर्न नसकेको लागि निक्कै उपयोगी पुस्तक रहेको छ । यो पुस्तक पठनीय, अनुकरणीय र संग्रहणीय छ । आफ्नो सफलताका कथा सुनाउने क्रममा उहाँ विभिन्न ठाउँमा पुगेर पनि आफ्ना अनुभव बाढने गर्नुहुन्छ साथै सामाजिक कार्यका लागि दिलोज्यानले लाग्नुहुने कुँवर सबैका लागि प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँका यस्ता कार्यका लागि नमन । यस्तै अन्य कृतिको रस्वादन गर्ने गीता अपेक्षासहित यस्तो कृतिका लागि ताराबहादुर कुँवरलाई हार्दिक बधाई तथा शुभकामना । 


Top