कविता : साँढे र स्याल

✍️ रामहरि कोइराला   POSTED ON : आश्विन ९, २०७८ (८:२२ AM)

कविता : साँढे र स्याल

साँढे स्याल समाजमा छ उपमा स्वच्छन्दता धुर्तता ।

छैनन् यी दुइटै समाज हितमा देखिन्छ स्वार्थान्धता ।।

हाम्रा नीति र धर्मशास्त्रहरूले चर्चा दुवैको गरे ।

साँढे पूज्य सधैं र स्याल पशुमा निकृष्ट प्राणी दरे ।। १ ।।


भोले शंकरको कृपा छ पिठमा साँढे सवारी बसी ।

सारा सृष्टि चलाउने प्रभु उनै उन्कै कृपा हो खुशी ।।

साँढे सोच छ हे प्रभो ! चउर यो कैल्यै खरानी नहोस् ।

बूढा गोरु अरू गरे रिस गरून् साँढे जवानी रहोस् ।। २ ।।


गौमाता कुलको छ बुद्धु बलको दृष्टान्त साँढे गुण ।

मान्छेमा पनि यो प्रवृत्ति मुखिया सामन्तका दुर्गुण ।।

जिन्दावाद सनातनी जन गुनी डामेर छाडी दिए ।

संसारी भव गोरुका दुःख व्यथा जोताइ कष्टै थिए ।। ३ ।।


साँढे जुध्छ सधैं मिचिन्छ बिचरा बाछाहरूको दल ।

डुक्री हिँड्छ तयार सिङखुरले खोस्रेर माटी खल ।।

उग्राएर चरी कि फुर्सद लडी निस्फिक्री आराम छ ।

धर्तीमात्र छ भोग घाँस हरियो संसार विर्ता रछ ।। ४ ।।


साँढेकै पछि लाग्छ स्याल दलको आशा छ खाँला झरी ।

यौटाले जब बोल्छ स्याल हुइँया मच्चिन्छ बस्तीभरि ।।

बाँचेको छ कि आश त्रास दुनियाँ हो जिन्दगीको कथा ।

आशैआश र त्रास कत्ति नभए के बाच्नु ? बोकी व्यथा ।। ५ ।।


मन्त्री जम्बु उपाधि शास्त्रहरूले व्यर्थै भिराए किन ?

आशे जीवन बाँच्नु पर्दछ सधैँ निर्वाह संकूचन ।।

यौटै जाति भएर श्वान घरको प्यारो बफादार भो ।

लुच्चो चोर र छट्टु स्याल वनको बद्नाम बेकार भो ।। ६ ।।


अत्याचार भयो जनावर अहो ! डाम्दा महापाप हो ।

साँढे वृत्ति छ हानिकारक भने संस्कार त्यागे भयो ।।

हाम्रा धर्म र संस्कृति अपच ती त्यागेर नोक्सान के ?

साँढे नै नरहे त स्याल दलको अस्तित्व नामेट रे !! ।। ७ ।।


Top