डा.केसीको गीत संग्रह ‘मनका धुनहरू’

✍️ सुशीला घिमिरे   POSTED ON : आश्विन ९, २०७८ (८:३२ AM)

डा.केसीको गीत संग्रह ‘मनका धुनहरू’

‘मनका धुनहरू’ गीतहरूको संग्रह हो । यस संग्रहका स्रष्टा हुनुहुन्छ डा.विष्णु केसी । डा.केसी प्राध्यापन क्षेत्रको व्यक्ति हुनुहुन्छ । यो पेशाले उहाँलाई सिर्जनामा रमाउन सजिलो बनाएको छ । त्यसो त प्राध्यापन क्षेत्रको मानिसले सिर्जना गर्नैपर्छ र यस इतर क्षेत्रका मानिसले सिर्जना गर्नै हुँदैन भन्ने छैन तर धेरैजसो सर्जकहरूका लागि प्राध्यापन क्षेत्रले सहयोगी भूमिका निर्वाह गरेको भने देखिएको छ । डा.केसी शिक्षासेवीसमेत हुनुहुन्छ । त्यसैले पेशासँग संबद्ध भएर पनि उहाँले धेरै पुस्तक लेख्नुभएको छ ।  

आफैं विद्यालय स्थापना गरेर सञ्चालन गरिरहनु भएका डा.केसीले पाठ्यक्रम केन्द्रित पुस्तक धेरै नै लेख्नुभएको छ भने बालबालिकासँगको सम्बन्धका कारण उहाँले बालमनोविज्ञान बुझेर बालबालिकाका लागि साहित्य सिर्जना गर्नुभएको छ अर्थात् उहाँले बालसाहित्यको समेत सिर्जना गर्नुभएको छ । बालसाहित्यमा कथा कविताहरू उहाँबाट सिर्जना भएका छन् । प्रौढ साहित्यमा गीत, कविता, तथा समालोचनामा उहाँको लेखनी चलेको छ । 

उहाँ मीठा, भावपूर्ण र सिद्धान्तबमोजिमका गीत रचना गर्नुहुन्छ । हाल बजारमा गीत के हो भन्ने नै नबुझी गीत रचना गर्ने प्रवृत्ति बढिरहेको छ तर योग्यताले परिपक्व र अनुभवले खारिएका डा.केसीबाट गीतको विषयमा राम्ररी बुझेरमात्र गीत लेखिएका छन् । यस्तै गीतहरूको संग्रहहो उहाँको यो ‘मनका धुनहरू’ । उहाँका साहित्यिक कृतिहरू डेढ दर्जन जतिको संख्यामा प्रकाशित छन् भने पाठ्यक्रमसंबद्ध पाठ्यपुस्तकको संख्या भने ५० भन्दा बढी पुगिसकको छ । 

उहाँको यो गीतसंग्रह शब्दार्थ प्रकाशन चावहिल, काठमाडौंले प्रकाशन गरेको छ । सर्वाधिकार कृतिकारमा रहेको यस पुस्तकको लेआउट भुवन अर्यालले गर्नुभएको छ भने मुद्रण टचटोन प्रिन्टिङ प्रेसबाट भएको छ । सानो स्ट्यान्डर साइजमा प्रकाशित भएको यस पुस्तकमा भूमिका खण्डसमेत गरी ९६ पृष्ठ रहेका छन् । पहेंलो हलुका कागज प्रयोग भएको यस पुस्तकको मूल्य २५० रुपैयाँ रहेको छ भने पहिलो संस्करणका रूपमा २०७८ साल अथवा यही वर्ष छापिएको यस पुस्तकको यस संस्करणमा १००० प्रति छापिएको पाइन्छ । 



आवरण आकर्षक छ । हलुका सेतो वा पहेंलो रंगको आवरणको तल्लो किनारामा रातो रंगमा गीतकार केसीको नाम दिइएको छ भने माथि पुस्तकको नाम ‘मनका धुनहरू’ र गीतको नोटेसनको संकेतार्थ चिहृन प्रयोग गरिएको छ । आवरणको पछाडिको पृष्ठमा गीतकारको तस्वीरसहितको एउटा गीत दिइएको छ । पछाडि पुस्तक लेखकहरूको लामो विवरणसहितको परिचय दिने प्रचलनलाई उहाँले यसरी चिरेको पाइन्छ । कविता, गीत वा कथासंग्रहमा त्यस पुस्तकमा भएका रचनामध्येबाट शीर्षरचना छनौट गरी त्यही शीर्षकमा पुस्तकको शीर्षक राख्ने परम्परालाई पनि यस पुस्तकले अपनाएको पाइँदैन । त्यसैले पुस्तकले आफ्नै खालको नवनीतम शैली अपनाएको पाइन्छ । 

पुस्तकको भूमिका खण्डमा डा. शैलेन्दुप्रकाश नेपालको ‘गीतमा जविनको अनुभूति’ शीर्षकमा लामो भूमिका रहेको छ भने त्यसपछि गीतकार डा.केसीको ‘गीतसँगै’ शीर्षको विचार रहेको पाइन्छ । त्यसपछि गीतक्रम रहेको छ । यस संग्रहमा जम्मा ७५ वटा गीत रहेका छन् । अगाडि दुई हरफको स्थायी र त्यसपछि चार-चार हरफका दुईवटा अन्तरा गरी गीत सिद्धान्ततः दश हरफमा लेखिन्छ । गायनमा स्थायी दुईपटक दोहोरिने भएका कारण गीत लेख्दा दश हरफमा लेखिन्छ भने गाउँदा यो चौध हरफ हुनजान्छ ।

गीतका विधान र पद्धति नबुझी लेख्नेहरूको जमात बढिरहेको बेला डा.केसी गीतको संरचना र मर्म बुझेरै लेख्ने स्रष्टा भएका कारण उहाँका यस पुस्तकका अधिकांश गीत गीति पद्धतिअनुसार लेखिएका छन् । उहाँको भूमिकामा प्रकट भएको विचार र डा. नेपालको गीतबारेको सिद्धान्तसहितको लामो धारणाबाट डा. केसीको गीतिशैलीका बारेमा जनकारी पाउँन सकिन्छ । उहाँका यस संग्रहमा रहेका ७५ वटामध्ये ६७ वटा गीतले पूर्णरूपमा गीतिसिद्धान्तको पालना गरेका छन् । अर्थात् झण्डै सबैजसो गीत एउटा स्थायी र दुईवटा अन्तरामा लेखिएका छन् । 

एउटा गीतमा दुईवटा अन्तरामात्र रहेका छन् र स्थायी राखिएको छैन । यो सम्भवतः भुलबस भएको हुनसक्छ । यसैगरी दुईवटा गीतमा गीतकार डा.केसीले तीनवटा अन्तरालाई पनि स्थान दिनुभएको पाइयो भने यीबाहेकका अन्य गीत सवाल जवाफको शैलीमा रचना भएका छन् । सवाल जवाफ भएर पनि एक-दुईवटा गीतमा दश हरफ नै पाइन्छ भने केहीमा यसभन्दा बढी हरफ रहेका छन् । यसरी हेर्दा डा.विष्णु केसीका ‘मनका धुनहरू’ शीर्षकको यस गीतसंग्रहमा समेसिटएका प्रायः सबैजसो गीत गीतकै रूपमा छन् । पुस्तकमा भाषिक अशुद्धि कमै भेटिन्छन् । 

डा.केसीका गीतहरू स्तरीय र बौद्धिक छन् । यसका साथै मानव मनलाई प्रभावित बनाउने गरी मधुर, तथा कोमल ढंगले सिर्जना भएका छन् । उहाँका गीतले विविधता समेटेका छन् । मानव जीवनका हर्ष, विष्मात, पीडा, दुःख, खुशी जस्ता संवेदनाका साथै समाजका विसंगति, विकृतिप्रति व्यंग्य, राजनीतिप्रतिका कटाक्ष, प्रकृति चित्रण, राष्ट्र र राष्ट्रियता, सकारात्मक सोच, प्रेम प्रणय जस्ता विविधतालाई यस संग्रहका गीतले समेटेका छन् । 

ग्रामीण जीवनको सजीव चित्र उहाँका गीतमा पाइन्छ । गीत गेय विधा हो यो लेख्ने र पढ्नेमात्र विधा होइन । उहाँका गीतमा भएको सरल भाव र सरल शब्दले गर्दा गायनका लागि यी गीत सहज छन् । यिनलाई गायनसम्म पु¥याउन सके निश्चिय यी गीतहरूले श्रोताहरूको मनलाई आल्हादित बनाउन सक्नेछन् । पुस्तकका लागि डा.केसीलाई बधाई छ साथै अन्यकृतिका लागि शुभकामना । 


Top