व्यङ्ग्य : कोरोनाको कहरमा नेतृत्वको रहर

✍️ सुदर्शन अधिकारी   POSTED ON : आश्विन १६, २०७८ (७:२२ AM)

व्यङ्ग्य : कोरोनाको कहरमा नेतृत्वको रहर

अग्रेजी वर्ष २०२० को अन्त्यमा संसारलाई अत्याउने अनौठो भाइरसले ठूलो सन्त्रास सर्वत्र फैलाई मानवजीवनका ज्यादै अन्योलपूर्ण वातावरणभित्र भाइदेखि दाइ र नेता महोदयदेखि न्यायाधीशसम्मलाई डरमा पार्न सक्ने अचम्मको रोग कोरोनाले सबैको दैनिकी नै तहसनहस बनायो । आम नागरिकमा कोरोनाको कहरले पिरालेको बेलामा समेत त्यसैको औषधिमा भ्रष्टाचार भेन्टिलेटरमा गिद्देदृष्टि, अक्सिजनको सिलिन्डरमा कमिसन सर्वत्र घोटाला गर्न माहिर हाम्रा नेता गणको गुणको महिमा जति गरे पनि कम नै हुन्छ । नीतिहरूको माउ नीति भनेको राजनीति हो तर त्यही खराब भएपछि कसको के लाग्छ र ? एउटा विद्यार्थी संगठनको सदस्यको जीवन शैली त उच्चस्तरको हुन्छ भने अलिक ठूला नेताको त प्रश्न नै भएन नि !

नेता जो विद्यार्थी हो उसको आम्दानीको स्रोत के र कहाँबाट प्राप्ति हुन्छ ? एक पटक सांसद भएपछि उसको रबाफ र जीवनस्तर सबै कसरी बढ्छ ? उनीहरूमा अर्को उदेक लाग्ने गुण हुन्छ, त्यो भनेको सात पुस्तासम्म पुग्ने सम्पत्ति जोड्ने गर्छन् । भन्ने बेलामा समाजसेवा भनिन्छ तर व्यवहारमा भने कुस्त सम्पत्ति जोड्नमा दिलोज्यान दिन्छन् । उनीहरूको छोराछोरी नै विदेशका अध्ययन गर्न जाने छात्रवृत्ति पनि तिनका सन्तानले पाउने सबै अवसर उनीहरूलाई नै चाहिने अचम्मको छ स्वभाव र शैली । राजधानीमा सामान्य रूपले दिनचर्या चलाउन पनि कम्तीमा पचासवटा धु्रवे हात्तीको लस्कर नै लगाउनुपर्छ । नेताले कार्यकर्ता पाल्न, चिया खाजा भेटघाट आदि गर्न कम्ता खर्च लाग्छ त ? 

देशमा कोरोनाले त्रसित बनाएको बेलामा सत्तासीन दलका शीर्ष नेताहरूमा पद र प्रतिष्ठा बढाउने जे जस्ता कार्य गरिए त्यसले प्रष्ट बनाउँछ कि स्वार्थमा कसरी लिप्त हुने रहेछन् भन्ने । संसद छल्ने र अध्यादेश ल्याई राज्य चलाउने जुन दृष्टता गरे त्यसलाई न्यायालयले लगाम लगाइदियो र त आज अदालत सबैको हाई हाई भएको छ । नातेदार र आसेपासे सबैलाई कुनै न कुनै पदमा आसीन गराउने मिलेसम्म राजदूत, आयुक्त, जिएम जस्ता पदमा हरतरहले नियुक्ति दिने कार्य उदाहरणीय छन् । दल फुटोस् या जुटोस् मूल्य मान्यता सबैलाई तिलाञ्जलि दिएर अगाडि बढ्ने अनौठो शैलीको प्रदर्शन गरियो । 

कठिन र विषम अवस्थामा समेत पदलाई नै मुख्य प्राथमिकतामा राख्ने हाम्रा नेता महोदयको प्रशंसा जति गरे पनि कम नै हुन्छ । पाँच वर्षसम्म देशको सत्ता समाल भनेर दिएको जनादेशलाई थेग्न नसकेर अन्ततः प्रतीपक्ष दल कांग्रेसलाई सत्ता सुम्पन पुगेको अकल्पनीय घटना देखिएको छ । पाँच वर्षलाई ढुक्कका साथ प्रतिपक्षमा रहेर भूमिका खेल्ने भनेर आरामले बसेको कांग्रेसले आखिरमा सत्ता समाल्नै पर्ने अवस्था आयो । यसका कारण भनेको लगभग दुई तिहाइ मत भएर पनि सहजताका साथ राज्य सञ्चालन गर्न नसक्नु नै हो । आपसी कलह, पदको मोह, स्वार्थ जस्था कारणले गर्दा कांग्रेसले यो अवसर पाएको हो । भाइ फुटे गवाँर लुटे भन्ने नेपाली उखानलाई व्यवहारमा देखाउने काम एमालेले गरेर देखायो । 

मानवले घमण्ड र सत्ताको मात चढेपछि कहाँ पुगिँदो रहेछ भन्ने पनि स्पष्ट भएको छ । नागरिक कोरोनाको कहरमा त्रसित भएका बखतमा सरकारमा रहेकाको ध्यान भने काण्ड नै काण्डको लामो शृंखला निर्माण गर्ने कार्य भयो । ओम्नी, वाइडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद, बालुवाटारको जग्गालगायतका दर्जनांै काण्ड प्रदर्शन गर्न सफल पूर्वसरकारको महिमा जति गान गरे पनि कम नै हुन्छ । 

आफू निकटकालाई नियुक्ति दिनका लागि अध्यादेशको बाढी नै सिर्जना गरे आखिर त्यही बाढीले उनीहरूलाई बगायो । सत्ताको बलले अपराधीलाई जेलमुक्त गराउने कार्य गरे । सक्ताको चश्माले मनुवालाई अन्धो नै बनाउने रहेछ भन्ने उदाहरण देख्न पाइयो । पदको उन्माद निकै कडा हुने रहेछ । आम मतदातालाई निराश बनाउँदै जनतालाई करको भारी बोकाइ आपूm भने राज्यसत्ताको दुरुपयोगमा लागे । 

साम्यवादको चर्को नारा दिने नेताको व्यवहार भने ठीक उल्टो र उदेकलाग्दो देखियो । राजधानीका सडकको खाडल पुर्न नसक्ने सरकारले करोडौं खर्च गरेर भ्युटावर निर्माण गर्ने काम तमासा नभए के हो त ? आफू समानका नेतालाई अपमान र मानमर्दन गर्न माहिर मानवको कदमले सबैलाई तीन छक बनायो । घरझगडा र घमण्डकै कारणले पत्तासाफ भएको पूर्वपुगेका सत्ताधारी आन्तरिक कलहको गहिरो खाडलमा भासिन पुगेका छन् । वर्तमान सरकारको प्रमुख प्राथमिकता भनेको खोप खोप र खोप भनिएको छ । हेरौं भन्नेमात्र हो कि साँच्चै खोप पनि उपलब्ध गराउने हो त्यो भने प्रतीक्षाकै विषय भएको छ । 

पहिलेको सरकार एउटैमात्र दलको थियो, आन्तरिक समस्यामात्र मिलाए पुग्थ्यो भने अहिलेको सरकारले त पाँच दलसँग सहकार्य र मन मिलाएर अगाडि बढ्नुपर्ने हुनाले मार्ग सुगम भने अवश्यै छैन, जटिलताको शिखर नै खडा भएको विषम अवस्था छ । सबैलाई मिलाएर सरकार चलाउनुपर्ने हुँदा सहज भने पक्कै छैन । परिश्रमको फल मीठो हुन्छ भने झैं सजगताका साथ कार्यसम्पादन गर्दै जानुपर्ने बाध्यात्मक अवस्था रहेकोले निकै चनाखो हुनु जरुरी देखिन्छ । सत्ताको रसस्वादन सहज नभए पनि असम्भव भने छैन । आपसमा सहमती, सहकार्य र संवाद हुनु पर्छ । देउवा परिपक्व र अनुभवी त छन् तर उनलाई पनि आसेपासे र सल्लाहकारले बिगार्छन कि भन्ने डर भने छँदैछ । 

आमनागरिकका पीडालाई सम्बोधन गर्न सक्नुपर्छ । महँगीको नियन्त्रण, भ्रष्टाचारको नियन्त्रण, पारदर्शिता, असारे विकासलाई लगाम, कारोनाको सहजरूपमा खोपको व्यवस्था र नियन्त्रणमा ध्यान दिने हो भने निश्चय पनि यो सरकार जनमानसमा सही सावित भई सफलसमेत हुनेमा दुई मत नरहला । देउवा सरकारको मार्ग दुर्गम भएकाले हर कदममा होसियार हुनुपर्छ । पाइला पाइलामा काँडा रहेको हँुदा निकै चनाखो बनेर काँडालाई पन्छाएर अगाडि बढ्नु जरुरी छ । देउवाको अर्को समस्या भनेको पार्टीको महाअधिवेशन गरी नवीन नेतृत्वको चयन गराउनु पर्नेछ । त्यसमा पनि आफू निकटकालाई पद दिनै पर्ने बाध्यता रहेकाले र समयको सीमा ज्यादै कम भएकाले कठीन भएको छ । 

पदको मोह सबैलाई हुने रहेछ क्यारे पुनः आफैं सभापति बन्ने दाउमा पनि देखिन्छन् । निर्धारित समयमा अधिवेशन सम्पन्न गर्ने कार्य फलामको चिउरा चपाएझैँ हुन पुगेको छ । दर्जनौं कानुनहरू निर्माण गर्नु छ भने ठूला आयोजनाको निर्माण कार्य गर्दै जानु छ । बाढीपीडितका लागि राहत वितरण उनीहरूको आवासको व्यवस्था र मेलम्चीको आयोजनालाई निरन्तरता दिँदै जानुपर्ने छ । कारोनाको कहरमा नेतागणमा नेतृत्वको जुन मोह देखिएको छ त्यो हेर्दा लाग्छ हाम्रा लागि हर तरहले सक्रिय रहँदै देशको सेवा, जनताको सेवा अनि स्वार्थको पदमा टाँसिन माहिर छन् । 

यता नागरिक भने सबैजसोलाई राजधानी नै बस्ने रहर जाग्ने रहेछ । देशको मुख्य शहर त्यसमा प्रशासनका केन्द्र रहेको सिंहदरबारदेखि बाघदरबारसम्म रहकाले समस्त मनुजको ध्यान यसै शहरमा हुने नै भयो । राजधानीमा बसोबास गर्नेको कहालीलाग्दो पीडा जुन बताउँनै कठिन छ । महँगीले शिखर नै चुमेको छ । पाँचवटा रायोको पात राखेर परालको त्यान्द्रोले बाँधेर मुठा भन्दै तीस चालीस रुपैयाँ भन्छन् । एक प्याकेट दूधको चालीस रुपैयाँ तिरेर किन्नुपर्छ । 

कोठा भाडाको त झन् कुरो गरी साध्य छैन । एउटा सानो कोठाको पनि पाँचवटा हात्तीको लहर लाउनुपर्छ नै सुविधाको कुरो गर्ने हो भने न उज्यालो नै आउँछ न त घरमा पानी र बाथरुमको नै सहजता पाइन्छ । शहरमानै बस्नुपर्ने बाध्यता र रहर दुवै रहेको छ । बाध्यता यस अर्थमा कि महिला र बालबालिका मात्र घरमा हुँदा समस्याले शहर पसेका हुन्छन् । 

अर्का थरी यस्ता हुन्छन् जसको पति विदेशमा कामदार भएर बसेका छन् । विचरो छोराछोरीको उज्ज्वल भविष्यका खातिर रातदिन नभनी श्रम गर्न बाध्य हुन्छन् । पसिनाले पैसा साटेर अनेकौं समस्याको सामना गरेर बल्लबल्ल स्वदेश आउँदा त पत्नी अर्कैसँग बुकुर्सी मारिसकेकी हुने अनि उसले कस्तो अनुभूति गर्छ होला ? कल्पना गर्नै सकिँदैन । न त धन त न श्रीमती यता बालबच्चाको कन्तबिजोग हेर्नुपर्ने । कम्ता असहज अवस्था हो त पाठक वर्ग ? 

शहर र स्वर्थीपन एक अर्काका परिपूरक हुन् । शहरका एउटै घरमा बस्नेसँग पनि सहयोग र सरसापटी अनि ऐंचोपैँचो केही हुँदैन । शहरमा त वल्लो कोठामा मानवको मृत्यु हुँदा पल्लो कोठामा विवाह हुनेगर्छ । मानवताको घोर उलंघन हुन्छ । कोरोनाको कहरमा त सकेसम्म गाउँमा बस्नु उत्तम हुन्छ किनभने त्यहाँ स्वस्थ हावापानी र एक प्रकारको आइसोलेसन नै हुन्छ । भीड कम हुने हँुदा तुलनात्मक रूपमा कोरोनाको जोखिम पनि कम हुन्छ । सर्वत्र अत्याउन सक्ने क्षमता भएको यो कोरोनाले त्रसित बनाउँदासमेत हाम्रा नेताहरूलाई पद र नेतृत्वको जुन मोह देखिन्छ त्यो हेर्दा उदेक नै लाग्छ । कोरोनाले भने भ्रष्टाचारी र अपराधीलाई छानी छानी स्वर्गलोकमा लगे हुनेथियो । यसपालिको गाईजात्रे माग यही नै रहेको छ ।

Top