मालिका केशरीको औपन्यासिक कृति ‘दुङाल’

✍️ सुशीला घिमिरे   POSTED ON : आश्विन १६, २०७८ (७:३२ AM)

मालिका केशरीको औपन्यासिक कृति ‘दुङाल’

मालिका केशरीको ‘दुङाल’ शीर्षकको पुस्तक अहिले मेरो हातमा छ । यो औपन्यासिक कृति हो । साङ्ग्रिला पुस्तक प्रा.लि.ले प्रकाशन गरेको यस पुस्तकको यो पहिलो संस्करण हो अर्थात् यो पुस्तक २०७८ साल साउनमा प्रकाशित भएको छ । सौगात प्रिन्टर्स प्रा.लि.मा मुद्रण भएको यस पुस्तकको आवरण संयोजन टायम्स क्रिएसनले गरेको छ भने आवरण तस्वीर सुन्दर बस्नेतको रहेको छ । आवरण नीलो पृष्ठभूमिमा सेता अक्षरमा पुस्तकको शीर्षक ‘दुङाल’ रहेको छ । नीलो पानीमा तल किनारामा ढुंगाहरू थुपारिएको छ र त्यसैमा सिङ भएको कुनै जनावरको टाउको जस्तो आकृति रहेको छ अनि त्यसैका बीचमा तिब्बती लिपिमा केही अक्षरहरू रहेका छन् । 

पुस्तक हेर्दै स्तरीय छ भन्ने थाहा हुन्छ । साङ्ग्रिला बुकको प्रकाशन नै नत्र सम्भव हुन थिएन । डिएमआई साइजमा पहँेलो हलुका कागज प्रयोग गरेर प्रकाशनमा आएको यस पुस्तकमा जम्मा २७३ पृष्ठ रहेका छन् । पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिका शब्दहरू कमै मात्र पाइन्छन् । यो पुस्तकको सुरुमै ‘ती लाखौं मानिसहरूमा जो राष्ट्रविहीन भएर बाँच्न अभिशप्त छन् ।’ भनिएको छ । शायद यो समर्पण हो । त्यसपछि पुस्तकमा प्राध्यापक तथा लुम्बिनी कलेज अफ बुद्धिजम एण्ड हिमालयन स्टडिजका कार्यकारी अध्यक्ष रमेशकुमार ढुङ्गेलको ‘मन्तव्य’ रहेको छ । त्यसपछि उपन्यास सुरु हुन्छ । 

यो औपन्यासिक कृतिमा उपन्यासकार मालिका केशरीको विस्तृत परिचय छैन । हालका दिनहरूमा पछाडिका पानामा फोटोसहित कृतिकारको चिनारी दिने गरिएको पाइन्छ भने लेखनमा प्रचारमुखी व्यवहार प्रतिध्वनित भएको हुन्छ । तर यस उपन्यासमा त्यस्तो गरेको पाइँदैन । यसैगरी भूमिका खण्डमा केही व्यक्तिहरूलाई भूमिकका लेख्न लगाउने र त्यहाँ आफ्नो मन्तव्यसमेत राख्ने आमप्रचलन भएकोमा यस पुस्तकमा यस्तोसमेत भएको पाइँदैन । पुस्तकको साजसज्जा र छपाइमात्र होइन पुस्तकको आख्यानसमेतका दृष्टिले कृति स्तरीय छ । 


उपन्यासमा विभिन्न २७ वटा खण्डहरू रहेका छन् । उपन्यासको परम्परागत शैली अध्याय, खण्ड, भाग वा अंक दिएर छुट्याउने गरिन्थ्यो तर केही वर्ष पहिलेदेखि उपन्यासका खण्ड छुट्याउँदा पनि विभिन्न शीर्षक दिने गरिन्छ । यस उपन्यासले पनि यही नवीनतम शैलीको अनुशरण गरेकको छ । उपन्यासको कथानकको समापनपछि अन्त्यमा उपन्यासकारको आभार राखिएको छ । 

उपन्यानसमा नेपाली केटा, पत्थर, वर्षा, जलक्रीडा, प्रेमाग्नी, छेकबार, यान्चेन, आगमन, वनदेवी, आक्रोश, परचक्री, दुश्मन, पलायन, मत्स्यगन्धा, योद्धा जस्ता शीर्षकहरू रहेका छन् । यसैगरी उपन्यासका अन्य शीर्षकहरूमा होली, मातृवियोग, आशा, अज्ञात, स्पर्श, ढोरबाराही, पत्र, दुर्घटना, ढोरपाटन, नशा, कौमार्य, दिव्यज्ञान, परित्याग जस्ता शीर्षकहरू रहेका छन् र एउटा शीर्षकअन्तर्गत प्रसंग बदल्दा त्यहाँ त्यसको संकेत गरिएको छ । ‘दुङाल’ एउटा स्तरीय कृति हो भन्ने कुरामा कुनै शंका छैन । यसले उठान गरेको विषय पनि एउटा गजबको ऐतिहासिक विषय छ । 

यस्ता विषयहरूमा लेखक साहित्यकारहरूको कलम कमै चलेको पाइन्छ । यस्तै विषय खोजेर लेखिएको उपन्यास हो यो । तर यो ऐतिहासिकभन्दा पनि सामाजिक गोरेटोमा अगाडि बढेको छ । पुस्तकमा उपन्यासकार मालिका केशरीको परिचय अलिक बढी नै खुलाइएको भए हुन्थ्यो भन्ने उहाँबारे थाहा नपाएका पाठकहरूलाई लाग्न सक्छ । यो एउटा यस्तो विषयमा लेखिएको उपन्यास हो जसको कथानक देश गुमाएका मानिसहरूको कथाले भरिएको छ । जसले देश गुमाउँछ वास्तवमा उसले आफ्नो सर्वस्व गुमाउँछ । मालिकाको ‘दुङाल’ ले यही विषयलाई खोतलेको छ । कसैको ध्यान नपुगेको संवेदनशील सामाजिक विषयमा कलम चलाएर पाठकलाई नौलो स्वाद दिन उपन्यासकार केशरीको दुङाल सफल भएको छ ।

यस पहिले पनि उपन्यासकारका पुनरुत्थान, सुवर्णलता उपन्यासहरू पाठकमाझ आइसकेका छन् र उहाँ लामो समय प्राध्यापन पेशामा संलग्न रहनुभएको र हाल नेपाल पत्रकार महासंघमा आबद्ध रहेको जानकारी पुस्तकबाट प्राप्त हुन्छ । नेपाल र भोट वा तिब्बतबीचको सम्बन्ध निकै पुरानो हो । नेपाली व्यापारीहरू तिब्तमा बसेर व्यापार गर्ने क्रममा अनेकौं अप्ठ्याराहरूको सामाना गर्नुपरेको कुरा हामीले इतिहासमा अध्ययन गर्दै आएका छौँ । उपन्यासमा शरणार्थीका कथा व्यथालाई शब्दका माध्यमबाट उजागर गर्न खोजिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेट्न खमेजिएको छ ।

नेपाली र तिब्बतीबाट जन्मिएका सन्तानको कानुनी, सामाजिक र व्यावहारिक हैसियत, टक वा मुद्रामा आएको खिया र ती खिइनाले उठेका विवाद र समाधानलगायत कुरा मल्ल कालदेखिकै हुन् । दैलतविक्रम बिस्ट जस्ता मूर्धन्य साहित्यकारबाट समेत नेपाल भोटको सम्बन्धका बारेमा कृति सिर्जना भएका छन् तर यो कम लेखिने र कम पढिने विषय हो । यस्तै विषय यहाँ मालिका केशरीको रोजाइमा परेको छ तर यसले उठान गरेको विषय भने नितान्त फरक छ । भोट वा तिब्बत चीनमा विलय भएपछि देश छोडेर जीवन खोज्दै आएका ती तिब्बतीहरूको मनोदशाकै विषय छ ‘दुङाल’ मा । 

यो उपन्यासमा प्रेम प्रसंग र वियोगका घटना, असफल जीवनयात्रा र त्यस्ता परिवेशबाट प्राप्त हुने मानवता एवं जीवनका आवश्यक सच्चा ज्ञानका चाखलाग्दा धेरै विषय छन् । ढोल्कारकी दिदीको प्रेम र असफता, लोप्साङको प्रेमीको प्रसंग, ग्याछो दोर्जे (डरलाग्दो अनुहार भएको शरणार्थी क्याम्पको क्रियाशील युवा)को कार्चुङप्रतिको एकतर्फी असफल प्रेम, शरणार्थी क्याम्पकी वृद्ध महिला अर्थात् डोल्मा र चिनियाँ कमाण्डर वाङ्–लीको तिब्बतमा युद्ध हुँदाका समयमा सैनिक क्याम्पभित्रै विकसित भएको प्रेम, विवाह र वियोग आदि दुङालको विषय छ ।

‘दुङाल’ तिब्बती भाषाको शब्द हो जसको अर्थ हुन्छ दुःख, पीडा वा पीर । तिनको यस्तै दुःख पीडा वा पीरको सग्लो चित्र हो यो उपन्यास । यो पंक्तिकारले आफ्नो बालक कालका गाउँगाउँमा माग्दै हिँडेका तिब्बतीहरू छ्यापछ्याप्ती देखेको थियो । गाउँमा तिनलाई बोलीचालीमा ‘खाम्बा’ भनिन्थ्यो तर त्यो ‘खम्पा’ शब्दको अपभ्रंश रूप रहेछ । तिनले केही सीमित नेपाली शब्द जानेका हुन्थे । ‘पिथो दे आमा झुसी दे’ भन्थे । तिनको संस्कारमा जत्रो भाँडाले लिए पनि निम्ठो लिने चलन रहेनछ । अग्रजहरूले तिनलाई खानेकुरा खान दिएको मलाई सम्झना छ । 

त्यसरी देश गुमाएर अरूको देशमा माग्दै हिँड्नुपर्ने नियतिमाथि लेखिएको कथा हो ‘दुङाल’ तर पछि तीमध्ये कति शरणार्थी शिविरमा बस्न पाए । त्यहाँ केही सुविधा त भयो तर अरूले खटाएर दिएको खाएर कित दिन बाँच्नु । त्यसमाथि सबैले गर्ने हेलाहोचो सहनुपर्ने बाध्यतामात्र होइन हेपिएको वर्गलाई अझै हेप्ने मानवीय स्वभावका कारण शिविरमा रहेका हुर्के बढेका छोरीचेलीहरूतर्फ युवकहरूले आँखा लगाएका सन्दर्भहरू समेत यस पुस्तकको लेखनको विषय हो । यतिमात्र होइन जसले देशै गुमाएको छ ऊ यथार्थमा सर्वहारा नै हो ऊसँग बाँकी केही हुँदैन । 

तर, मानवीय भावनाको मृत्यु कहिल्यै पनि हुँदैन भावना मानिस मर्दामात्र मर्ने हो । यस्तो अवस्था र स्थितिमा समेत माया, प्रेम र अनुराग मरेको हुँदैन मानिस सँगसँगै अगाडि बढिरहेको हुन्छ । यिनै कुराहरूको फेहरिस्त हो यो उपन्यानभन्दा अन्यथा हुनेछैन । छोटो लेखनमा यसको साङ्गोपाङ्ग समीक्षा सम्भव छैन । निष्कर्षमा भन्दा ‘दुङाल’ एउटा पठनीय, संग्रहणीय र स्तरीय औपन्यासिक कृति हो । यस स्तरको कृति सिर्जनाका लागि यसका स्रष्टा मालिका केशरीलाई धन्यवाद तथा बधाई । यस स्तरका अन्यान्य कृतिका लागि हार्दिक शुभकामना ।

Top