ताराबहादुरको प्रेरणदायी पुस्तक ‘निरन्तर समाजसेवा’

✍️ गीता अधिकारी   POSTED ON : आश्विन १६, २०७८ (७:३७ AM)

ताराबहादुरको प्रेरणदायी पुस्तक ‘निरन्तर समाजसेवा’

समाजसेवामा निरन्तर लागिरहनुभएका सफल व्यवसायी/समाजसेवी ताराबहादुर कुँवरेको प्रेरणदायी पुस्तक ‘निरन्तर समाजसेवा’ पाठकमाझ आएको छ । सामान्य जीवनस्तरबाट सफल व्यवसायिक रूपमा स्थापित कुँबरको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘हजुरलाई नमस्ते’ कृति पाठकमाझ आएको थियो । समाजसेवा मानवीय स्वभाव पनि हो । यसका लागि हामी कति निःस्वार्थ रूपमा लागेका छौँ ? हामीले कति उदाहरणीय समाजसेवा गरेका छौँ ? फलको आशा गरी वा नगरी आफूलाई कस्तो ‘समाजसेवा’ मा समर्पण गरेका छौँ भन्ने कुराले महत्व राखेको हुन्छ । 

यस्तै उदाहरणीय समाजसेवामा अग्रणी रूपमा रहँदै आउनुभएका कुँबरले आफ्ना जीवनका विभिन्न आरोह र अवरोह यस पुस्तकमा समावेस गर्नुभएको छ । ‘मैले जीवनका साढे पाँच दशक यात्रा छिचोलिसकेँ । धेरै उबडखाबड बाटाहरू छिचोल्दै म अहिलेको बिन्दुसम्म आइपुगेको हुँ । व्यावसायिक क्षेत्रमा हात हालेपछि दुई-चार पैसा कमाएँ पनि । मैले चाहेको भए जीवनलाई रामरउस, मोजमस्तीमै बिताउन सक्थेँ हुँला । तर, मैले आफ्नो कतव्र्य र दायित्वबोधलाई बिर्सन चाहिन र जीवनलाई सार्थक तुल्याउन अरूका भलाइ, सेवामा पनि आफूलाई लगाउनुपर्छ भन्ने लाग्यो र मैले सामाजिक कार्यहरूमा आफूलाई क्रियाशील तुल्याउँदै आएको छु’, कुँबरेल पुस्तकका बारेमा आफ्नो भनाइ स्पष्ट पार्दै भन्नुभएको छ । 


 फल्गुणसमशेर कुँवर र फणितसमशेर कुँवर प्रकाशक रहनुभएको यस कृतिको सम्पादन विवश वस्तीले गर्नुभएको छ । मिलन कोइरालाको लेआउट रहेको १५० पृष्ठको यो पुस्तकको मूल्य २५० राखिएको छ । ताराबहादुर कुबँरको समाजसेवामा संलग्न रहेको तस्वीर नै पुस्तकको अवारणमा राखिएको छ । ‘व्यवसाय र समाजसेवामा देखिएको उहाँको कार्य र सक्रियता आज हिराजस्तै चम्किलो बन्दैछ । हामीले बुझ्नुपर्छ- हिरा घर्षणविना चम्किँदैन र समाजसेवी कुँवर पनि जीवन-घर्षणबाट नै आलोकित व्यक्तित्व हुन्’, पुस्तकका सम्पादक वस्तीले तारा कुबँरका बारेमा आफ्नो यस्तो धारणा राख्नुभएको छ । 

निर्माण क्षेत्रसँग अभिन्न रूपमा गाँसिनुभएका हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष ताराबहादुर कुँवरज्यूको यस पुस्तकले धेरैलाई प्रेरण प्रदान गर्दछ । पुस्तकमा समाजसेवासँग जीवन, संघर्ष, अभाव र सफलताका विभिन्न कथा पनि प्रस्तुत गरिएको छ । यसको अध्ययनबाट धेरैलाई म पनि केही गर्नुपर्छ भन्ने प्रेरण मिल्छ । यस पुस्तकलाई अध्ययन र मनन गर्ने हो भने जीवन परिवर्तन ल्याउन सक्नेछ । 

पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा उहाँले विभिन्न समयमा समाजमा पुर्‍याएका उल्लेखनीय कार्यको बारेमा वर्णन गरिएको छ दोस्रो खण्डमा हेराइ/मूल्यांकन, दोस्रो खण्डमा परिशिष्ट, चौथो खण्डमा पत्रपत्रिका र पाँचौ खण्डमा तस्वीर समावेश गरिएको छ । 

पहिलो खण्डमा ‘२०७२ को भूकम्पमा मेरो भूमिका’, मेरो भुम्लु-चौवास, मेरो परिवेश’, ‘चक्रपथ सफाइ अभियानमा क्रियाशील’, ‘रक्तदान : जीवनदान’, ‘वागमती सफाइ महाअभियानमा सधैँ क्रियाशील’, ‘दृष्टिविहीनलाई राहत प्रदान’, ‘हजारौंलाई राहत वितरण’, ‘विभिन्न व्यक्ति/संस्थालाई सहयोग’, ‘चेपाङलाई घर निर्माणमा सहयोग’, ‘गुर्जो वितरणमा सहभागिता’, ‘बेबी सेरामी वितरण’, ‘अक्सिजन सिलिन्डर सहयोग’, ‘वृक्षारोपणमा सक्रियता’, ‘मौलिक बाजाको संरक्षणमा सहयोग’, ‘लाइसेन्स खुलाउन मेरो अहम् भूमिका’, ‘करिडोर खुलाउन निःशुल्क हेभी उपकरण सहयोग’ र ‘उद्यमशील जिन्दगी’ जस्ता शीर्षकमा विभिन्न समयमा उहाँले समाजसेवामा पु¥याउनु भएका कार्यलाई बढो चाखलाग्दो, जानकारीमूलक, प्रेरणदायी ढंगले प्रस्तुत गर्नुभएको छ । 

यी शीर्षकमा रहेका अन्तरवस्तुभित्र पस्ता उहाँमा निक्कै ठूलो मानवीय संवेदना रहेको पाइन्छ । उहाँभित्र जहिले अरूलाई सहयोग गरौँ भन्ने भावना रहेको पाइन्छ । यस्तै हेराइ÷मूल्यांकन खण्डमा कुँवरलाई यस क्षेत्रमा नजिकबाट चिन्ने व्यक्तित्वहरू, उहाँको कार्यमा संलग्न हुनुभएका व्यक्तित्वहरू, उहाँसँग सहकार्य गरिरहनुभएका व्यक्तित्वहरू र उहाँका कार्यलाई नियालिरहनुभएका व्यक्तिहरूको दृष्टिकोण प्रस्तुत गरिएको छ ।

यस खण्डमा लोकबहादुर कुँवरको ‘सामाजिक काममा सक्रिय व्यक्ति’, अनिल पौडेलको ‘व्यवसायिकहरूका पथप्रदर्शक’, महेश कुँवरको ‘व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशील’, प्रकाश खत्रीको ‘मेरो मार्गदर्शक’, स्मृति कुँवरको ‘सदैव उदाहरणीय व्यक्ति, शेरबहादुर कुँवरको ‘अथाह ऊर्जावान व्यक्ति’, धर्म गोपालीको ‘असल व्यवहारले लामो समय टिकेँ’, नवीन आचार्यको ‘असल अभिभावक’, गीता बुढाथोकी खड्काको ‘फराकिलो छाती भएको व्यक्ति’, मकर कुँवरको ‘तारा दाइकै पदचिन्ह पछ्याएँ’, लक्षमण श्रेष्ठको ‘बाटो देखाउने व्यक्ति’, गोविन्दप्रसाद पौडेलको ‘भगवानजस्ता मान्छे’ र रामकाजी भण्डारीको ‘पारिवारिक माया पाइरहेछु’ जस्ता शीर्षकमा विभिन्न घटनाक्रम, उहाँसँगको भलाकुसारी, संगत, उहाँले समाजमा पुर्‍याउनुभएको योगदान र उहाँको व्यक्तित्वको मूल्यांकन गर्दै विषयवस्तु प्रस्तुत गरिएको छ । 

यसैगरी परिशिष्ट खण्डमा एमसी इण्डिया जरनल अफ इनरप्रेन्सिप र डा. राजेन्द्रप्रसाद अधिकारीको फर इस्ट्रगल टु एचिभमेन्ट : एन इन्टरप्रेनियुरियल जर्नी अफ तारा बहादुर कुँवर शीर्षकमा उहाँको भारतमा समेत जरनलमा प्रकाशित विषयवस्तु र डा.अधिकारीको विस्तृत विशलेषणत्मक लेख प्रस्तुत गरिएको छ । 

त्यस्तै पत्रपत्रिका खण्डमा उहाँका बारेमा विभिन्न राष्ट्रिय दैनिकका साथै अनलाइन संस्करणमा प्रकाशित लेख रचना, उहाँको सफलताको कथा, विभिन्न घटनाक्रम र समाजसेवामा उहाँले पुर्‍याएको योगदानका साथै विभिन्न समाचारमूलक सामग्री प्रस्तुत गरिएको छ भने तस्वीर खण्डमा ताराबहादुरका सामाजिक कार्यका विभिन्न परिवेश, कार्यक्रम र पुरस्कार तथा सम्मानका तस्वीरहरू समाविष्ट छन् । 

समग्रमा एउटा व्यक्तिले समाजसेवमा के कस्तो योगदान गर्न सक्छ भन्ने विषयवस्तु यस पुस्तकमा समावेश गरिएको छ । साथै समाजसेवमा लाग्न जो कोहीलाई पनि यो पुस्तक पढेपछि प्रेरित गर्दछ । गर्दा के हुँदैन, एउटा सामान्य मानिस कसरी सफल व्यवसायी बन्न सक्यो भन्ने कुरा पनि यस पुस्तकको अध्यननबाट उजागर हुने गर्दछ । समग्रमा पुस्तक पठनीय र संग्रहणीय रहेको छ । समाजसेवामा दिन रात नभनी अहोरात्र घोटिनुभएका ताराबहादुरलाई सलाम । उहाँका यस्ता कार्यका लागि नमन । यस्तै अन्य कृतिको रस्वादन गर्ने गीता अपेक्षासहित यस्तो कृतिका लागि ताराबहादुर कुँबरलाई हार्दिक बधाई तथा शुभकामना । 

Top