स्रष्टा सम्मानित, दुई कृति विमोचन

शुभाकर विश्वकर्मा   POSTED ON : आश्विन १८, २०७८ (६:१८ AM)

स्रष्टा सम्मानित, दुई कृति विमोचन

नेपालगञ्ज । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, बाँकेले वर्षेनी वितरण गर्दै आएको तुलसीराम स्मृति पुरस्कार नेपालगञ्जका उर्दु शायर अब्दुल लतिफ शौकलाई प्रदान गरिएको छ । एक विशेष समारोहबीच सात हजार ७७७ रुपैयाँ, दोसल्ला र सम्मान-पत्रसहित ८० वर्षीय स्रष्टा शौकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

पूर्णिमाले उहाँलाई उर्दु तथा नेपाली गजल साहित्यमा दिएको योगदानको कदर गर्दै तुलसीराम स्मृति पुरस्कार–२०७७ बाट सम्मानित गरेको हो । उर्दु साहित्यकार वरिष्ठ गजलकारसमेत रहनु भएका शौक अहिले पनि साहित्य सिर्जनामा क्रियाशील हुनुहुन्छ । मध्यपश्चिम साहित्य प्रतिष्ठानका संस्थापकसमेत रहनुभएको छ । यस्तै उहाँले भेरी साहित्य समाजको उपाध्यक्षको रूपमा काम गर्नुभएको छ । यसअघि पनि दर्जनौं साहित्यिक संघ संस्थामार्फत सम्मानित भइसक्नु भएका उहाँलाई पूर्णिमाले समेत सम्मान गरेको हो । 

साहित्यकार शौकका दर्जनौ गजल कृति प्रकाशित छन् । तुलसीराम स्मृति पुरस्कार अहिलेसम्म १२ जना स्रष्टाले पाइसकेका छन् । गत वर्ष सरिता तिवारीलाई यो पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारका संरक्षक तथा साहित्यकार महानन्द ढकालका अनुसार नेपालका विभिन्न क्षेत्रमा रहेर साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकारलाई प्रदान गर्दै आएको छ । 

यस्तै उक्त अवसरमा दुईवटा कृतिसमेत विमोचन गरिएको छ । छविलाल खड्काको हाइकुसंग्रह ‘बिरौटो’ र बद्री ढकाल (हिरामणि)द्वारा लिखित हाइकुसंग्रह ‘ठ्यौको’को साहित्यकार हरि तिमिल्सिना, लुम्बिनी प्रदेश सभासदस्य पार्वती पुन ‘उषा’लगायतले संयुक्तरूपमा विमोचन गर्नुभएको हो । 

खड्काको ‘बिरौटो’मा गरिबी, संस्कृति, राजनीतिक नेतृत्व, सिमानाका समस्यालगायत विषय समावेश छन् । कविताको सबैभन्दा कान्छो विधा साइनो संग्रहका रूपमा प्रकाशित बिरौटोलाई कृतिकारले बिम्बात्मक र प्रतिकात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । शिक्षकसमेत रहनुभएका ढकालको यो दोस्रो हाइकु कृति हो । 

उहाँको पहिलो हाइकु कृति ‘दामको पूजा’ २०७० मा प्रकाशित भएको थियो । उहाँको प्रतिनिधि हाइकुहरू-२०७७ मा (संंयुक्त) कृति प्रकाशित छ । ढकालको दोस्रो व्यक्तिगत हाइकुसंग्रह ‘ठ्यौको’ विमोचन गरिएको हो । नेपाली र अंग्रेजी भाषामा प्रकाशित कृतिको अंग्रेजी अनुवाद बीएल भारती र विजय न्यौपानेले गर्नुभएको छ । 

लामो समयको कोरोना भाइरस (कोभिड-१९)को कहरपछि कोहलपुरमा साहित्यिक माहोलको अवसर जुरेको हो । धादिङकी युवा कविता सुनिता खनालका बाँकेका उदयीमान युवा कवि वीरेन्द्र जैशी (बीपी अस्तु) कवितामय वातावरणमा कोहलपुरमा गुञ्जिनु भएको थियो । ‘ओ नायक’ कविता संग्रहकी लेखक÷कवि खनालले बाँकेका कविताप्रेमीलाई आफ्ना उत्कृष्ट कविता सुनाउनु भएको थियो । 

उक्त अवसरमा उहाँले विभिन्न चरणमा गरी जम्मा आठ कविता वाचन गरेर सुनानउनु भएको थियो । यस्तै पत्रकारसमेत रहनुभएका बाँकेका युवा कवि अस्तुले ‘हिँडाइ’, ‘युद्ध’, ‘मृत्युसँग’, ‘शान्ति’ र ‘नखस्नु’ शीर्षकका कविता तथा दोस्रो चरणमा ‘विवशहरू’, ‘रोइदिएको भए’, ‘प्रेमकल्प’ र ‘जेठको धुपमा मेरो गाउँ’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, बाँकेका अध्यक्ष तथा गजलकार अपिल अञ्जानले कोभिडका कारण लामो समयदेखि सुस्त बनेको बाँकेको साहित्यिक माहोल पुनः सुचारु भएको बताउनुभएको थियो । 


Top