भुजेलको ठाडोभाकाको अनुसन्धानात्मक पुस्तक

✍️ सुशीला घिमिरे   POSTED ON : आश्विन २३, २०७८ (७:२७ AM)

भुजेलको ठाडोभाकाको अनुसन्धानात्मक पुस्तक

नेपाली साहित्यमा लालबहादुर भुजेल चिनाइरहनुपर्ने नाम होइन । साहित्यका विविध विधामा उहाँको कलम चल्दैआएको छ । तर, धेरैका लागि उहाँ अनुसन्धातासमेत भएको कुरा जानकारी नहुन सक्छ । उहाँको ‘ठाडोभाकाको लोकसांस्कृतिक इतिहास’ शीर्षकको पुस्तक पनि प्रकाशित भएको छ । यसले गर्दा उहाँलाई अनुसन्धाताको श्रेणीमा समेत दर्ज गरेको छ । अब उहाँको खोज वा अनुसन्धानको एउटा बलियो प्रमाणका रूपमा यो पुस्तक नेपाली साहित्य तथा खोजका भण्डारमा समावेश हुन पुगेको छ । 

अनुसन्धान निकै जटिल कार्य हो यो सजिलो काम होइन तर भुजेलले यही चुनौतीको सामना गरेर यस क्षेत्रमा हात हाल्नुभएको पाइन्छ र अहोरात्र खटेर भुजेलले अन्ततः एउटा निकै ठूलो प्राप्ति गर्नुभएको छ । पाठकका हातमा रहेको पुस्तकमात्र अनुसन्धाताको परिणाम हुन्छ तर त्यसको पृष्ठभूमिमा त्यसलाई प्राप्त गर्दाका हण्डर र ठक्कर अनगिन्ती हुन्छन् जो त्यो काम गर्नेलाई मात्र थाहा हुन्छ । वास्तवमा यस प्रकारका खोज र अनुसन्धानहरू प्रज्ञाप्रतिष्ठान लगायत संस्थाबाट हुनुपथ्र्यो किनकि त्यहाँ यस प्रकारका कामका लागि वृत्तिको समेत व्यवस्था हुन्छ । तर, विडम्बना व्यक्तिले आफ्नो व्यक्तिगत श्रम र लगानीमा यस्ता काम गर्नुपरिरहेको छ । तैपनि भुजेलले कुनै प्रकारको लालच कतैबाट गरेको जस्तो देखिँदैन । 

साहित्यभन्दा फरक हो खोज । साहित्य मनमा फुरेको भावलाई कोठामै बसेर पनि लेख्न सकिन्छ तर अनुसन्धानले अध्ययन खोज्छ जसका लागि अनेकौं व्यक्ति, विज्ञ, कलाकार, साहित्यकार, भोक्ता, वक्ता अनेकौंसँग भेट गर्नुपर्ने हुन्छ र अनेकौं स्थलगत भ्रमण पनि गर्नुपर्छ । पाठकले हातमा लिएको पुस्तक लेख्न र छाप्नभन्दा दोब्बर खर्च खोजका लागि हुने गर्छ । तर, आफ्नो गाउँ ठाउँ र क्षेत्रको एउटा मौलिक संस्कृति र लोकसाहित्यलाई खोजेर टिपेर ती थुँगाहरूलाई माला उनेर पाठकका गलामा लगाइदिन उत्साहित बनेर लाग्नुभयो लालबहादुर र आफ्नो संकल्पलाई साकारसमेत बनाउनुभयो । 

गण्डकीका तनहुँ, स्याङ्जा, कास्की लमजुङ साहित्य र संस्कृतिको संबद्र्धन प्रबद्र्धनमा धेरै अगाडि छन् । नेपाली लोकसाहित्यको केन्द्र नै हो यो क्षेत्र । अनुसन्धाता भुजेल यही क्षेत्रको व्यक्ति भएका कारण उहाँले आफ्नै क्षेत्रको एउटा लोकसाहित्य ठाडोभाकाको खोजमै धेरै वर्षदेखि लागेर अन्ततः एउटा ठूलो उपलब्धि हात पार्नुभएको छ । कुनै पनि अनुसन्धान भनेको समुद्र मन्थनबाट प्राप्त भएको अमृत जस्तै हो । 

ठाडोभाका त्यस क्षेत्रको एउटा प्रचलित भाका हो, यो गीत हो तर गीतसँगै यसमा नृत्य पनि समावेश हुन्छ । यो ‘ठाडोभाकाको लोकसांस्कृतिक इतिहास’ एउटा अनुसन्धानात्मक पुस्तक हो । चाँगुनारायण साहित्यक समाजले यसको प्रकाशन गरेको छ । सर्वाधिकार लेखककै रहेको यस पुस्तकमा जम्मा २४४ पृष्ठ छन् भने यसको मूल्य नेपालमा नेरु पाँच सय र भारतमा भारु पाँच सय रहेको छ । शब्दघर छापाखाना बागबजारद्वारा मुद्रित यस पुस्तकको लेआउट डिजाइन शब्दघरका लक्ष्मी भट्टराईले गर्नुभएको छ । 

आवरणमा क्यामराको रिलको फन्कोभित्र गायक कलाकारहरूका फोटाहरू रहेका छन् । माथि पुस्तकको नाम र तल लेखकको नाम रहेको छ । फिक्का पहेंलो रङको पृष्ठभूमि रहेको छ भने अन्तिम आवरणमा लेखक भुजेलका प्रकाशित पुस्तकहरूको सूची दिइएको छ । जसअनुसार उहाँका ‘साँघुटारमा केही रात (नियात्रासंग्रह २०५८), पराकाष्टा (हाइकुसंग्रह २०६३), अकर्मन्यता (ताङ्कासंग्रह २०६५), परिवेश (कवितासंग्रह २०६५), कर्मको फल (लघुकथासंग्रह २०७१), भुन्टे खरायो (बालकविता संग्रह २०७१), चटपटे र पानीपुरी (बालकविता संग्रह २०७२), कुहिरोको पहाड (सिजोसंग्रह २०७४), माउण्टेन अफ मिस्ट (सिजोसंग्रह अंग्रेजी भाषामा २०१८) प्रकाशित भएका देखिन्छन् । 

यो उहाँको दशौं पुस्तक भएका कारण उहाँको लेखकीय यात्रा निकै नै अगाडि पुगेको थाहा हुन्छ । उहाँको पुस्तकाकार लेखनले पनि २० वर्षको यात्रा पार गरिसकेको छ । आवरणकै यही पृष्ठमा राष्ट्रकवि माधव घिमिरे, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र डा.जगमान गुरुङका यसै पुस्तकमा लेखिएका भूमिकाबाट टिपिएका महत्वपूर्ण भनाइहरू राखिएको छ । 

पुस्तकको समर्पणमा उहाँले ‘श्रद्धेय मातापिता स्व. श्रीमाया भुजेल र स्व. पूर्णबहादुर भुजेल एवम् असङ्ख्य आदरणीय ठाडोभाका पारखीहरूमा’ भनिएको छ । यसपछि भूमिका खण्डमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘ठाडोभाकाको इतिहास’, वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमानेहन जोशीको ‘ठाडोभाकाको पुस्तक’ र डा.जगमान गुरुङको ‘ठाडो भाकाका गीतको लोकसांस्कृतिक महत्व’ तथा लेखक लालबहादुर भुजेलको ‘मनमा लागेका कुरा’ शीर्षकका विचारहरू प्रस्तुत गरिएका छन् । त्यसपछि गेयात्मक शैलीमा बङ्ग्याइएका शब्दहरू, शब्दार्थ र संकेत सूचीहरू दिइएको छ र त्यसपछि विषयसूची दिइएको छ । 

पुस्तकमा ६ वटा अध्याय छन् । पहिलो अध्यायमा पृष्ठभूमि, गण्डकी क्षेत्रको परिचय, सप्तगण्डकी क्षेत्रको व्युत्पत्ति र ऐतिहासिक पृष्ठभूमि समावेश गरिएको छ । त्यसैगरी यही अध्यायमा ठोडोभाकाको उत्पत्ति र विकासक्रमअन्तर्गत ठाडोभाकाका पहिलो पुस्ताका गायक बौद्धसिहं गुरुङ, मोतीलाल गुरुङ, बखतबहादुर गुरुङ, पञ्चसुब्बा गुरुङ, देउबहादुर दुरा, मनिराम दुरा र आफली घर्तिनी तथा दोस्रो पुस्ताका गायक भेडीखर्के साइँला (दीर्घराज अधिकारी) को चिनारी गराइएको छ । 

यसैगरी गायक गायिकाहरूको नामावलीलगायत लोकसांस्कृतिक इतिहासको उपदेयता समस्याहरूको अध्ययन अनुसन्धान, ठाडोभाकाको इतिहासको औचित्य, अध्ययनको सीमा र क्षेत्र, अध्ययनको तौरतरिका वा विधि, अध्ययनको व्यवस्थापन जस्ता कुराहरू यस अध्यायमा समेटिएका छन् । यी कुराको खोजमा लेखकको निकै पसिना पोखिएको छ भन्ने कुरा भनिरहनै पर्दैन । 

त्यसपछि विधातात्विक अध्ययनको शैलीमा दोस्रो अध्यायमा साहित्य समीक्षा, नेपाल अधिराज्यको संक्षिप्त परिचयका साथै गण्डकी क्षेत्रका विभिन्न स्थानहरूको परिचयका साथै लोकगीत, जनसाहित्यलगायत ठाडोभाकाको पृष्ठभूमि, परिभाषा नामकरणलगायतका सम्बन्धमा विस्तृतमा विवेचना गरिएको छ । यस अध्यायमा प्रस्तुत गरिएका यी विविध विषय हेर्दा अनुसन्धाता भूजेलको ज्ञानको गहिराइ र परिश्रमबारे थाहा पाउन सकिन्छ ।

पुस्तकको तेस्रो अध्यायमा ठाडोभाकाका केही गीतहरू संकलन गरेर प्रस्तुत गरिएको छ भने चौथो अध्यायमा ठाडोभाकाका स्रष्टाहरूको पारिवारिक नालीबेली दिइएको छ । पाँचौं अध्यायमा ठाडोभाका रचनाहरूको विश्लेषण दिइएको छ र छैटौं अध्यायमा निष्कर्ष र सुझावका साथै सन्दर्भ सामग्रीहरूको सूची दिइएको छ । यसपछि पुस्तकमा तीनवटा परिशिष्ट दिइएका छन् । पहिलो परिशिष्टमा ‘अन्तर्वार्ता –ठाडोभाकाको ‘रानो’ भेडीखर्के साइँलासित’ भनिएको छ भने दोस्रो परिशिष्टमा लमजुङ दुराडाँडाको विविध दृष्टिबाट परिचय गराइएको छ । 

तेस्रो परिशिष्टमा सत्यमानेहन जोशीले लेख्नुभएको शारदामा प्रकाशित पञ्चे सुब्बाबारेको आलेख प्रस्तुत गरिएको छ । अन्त्यमा ठाडोभाकाका सर्जक गायक उहाँहरूका निवास आदिका तस्वीर र ती ठाउँ र व्यक्तिसँग लेखक भुजेलका तस्वीरहरू संलग्न गरिएका छन् । यसरी समग्रमा भन्दा यो पुस्तक नेपाली लोकसाहित्य र विशेषगरी ठाडोभाकाको एउटा स्थापत्य हो । यसका लागि अनुसन्धाता लालबहादुर भुजेलले आफ्नो जीवनका झण्डै एक दशक खर्चिनु भएको छ । 

त्यही मिहिनेतका कारण यो पुस्तक नेपाली साहित्यमा कोसे ढुङ्गाका रूपमा रहिरहनेछ । अनुसन्धानको काम कहिल्यै पूर्ण हुँदैन, जहिल्यै अधुरै रहन्छ । त्यसलाई पछिल्लो पुस्ताले पूर्णता दिँदै जाने हो वा आफैँले अर्को अर्को संस्करणमा पहिले अधुरा छोडिएका काम पूरा गर्दै जाने हो । यस पुस्तकले भुजेलको अनुसन्धान सामथ्र्य प्रमाणित गरेको छ । उहाँबाट अन्यान्य अनुसन्धानको आशा गर्न सकिने बिहानी हो यो पुस्तक । यसका लागि उहाँलाई धेरै धेरै बधाई तथा धन्यवाद छ ।

यसैगरी अन्य विभिन्न भाकासमेत उहाँको लमजुङ क्षेत्रमै पनि प्रचलित छन् र नेपालभरि त्यस्ता अनगिन्ती भाका प्रचलनमा छन् । तीमध्ये कतिपय लोप भइसकेका छन् र कति लोपोन्मुख अवस्थामा पुगेको छन् । गीतहरू लोप हुनुभनेको तिनका गायकहरू हराउँदै जानु हो । त्यसैले त्यस्ता गीतको गायनमा नयाँनयाँ पुस्तालाई प्रोत्साहन गर्दै जाने हो भने त्यस्ता गीतहरू बँच्छन्, लोप हुन पाउँदैनन् । भुजेलको यस प्रयासले लोपोन्मुख ठाडोभाकालाई बचाउँन सघाउ पुर्‍याएको छ । उहाँबाट यस्तै अन्य कृतिहरूको खोज अनुसन्धानका लागि शुभकामना । 

Top