कविता : आँठा, फगटा र पाटाहरूको किसान

✍️ विनोद दाहाल वत्स   POSTED ON : आश्विन २३, २०७८ (७:३० AM)

कविता : आँठा, फगटा र पाटाहरूको किसान

समय घर्किन्याछ, छिटो गर्नु पन्र्याछ

नेपाल एकीकरण नगरी नहुन्या छ

हाहतियारहरू छैनन् 

लड्न्या सिपाहीहरू पर्याप्त छैनन् 

तिनलाई तालिम दिनु छ

खर्चबर्च छैन 

भन बिसे म क्या गरूँ ?

 बिसेले दिएको एक रुपैयाँ

गनीगनी गोर्खाका घरधुरीहरू 

ऊ शुभजात अर्थात् बिसे नगर्ची 

शुभ साइतथियो त्यो शुभ हातबाट 

घैला भरिएछ यसरी 

उघाउँदा उघाउँदै शीतका थोपाहरू 

जसरी घोप्ट्याएको डोकामा बसेर

सल्लाह दिएको थियो बिसेले ।

चन्द्रागिरिको पहाड र चार भञ्ज्याङहरू 

आँखा ओछ्याउँदा टाढा क्षितिजसम्म

फाँटैफाँट धान झुलेर झपक्क

भादगाउँले झिँगटी छाने घरहरू

उनले देखेका सपनाको पहिलो प्रहरमा

भन्दै थिइन् मनकामनामाई सपनामा

‘बढ अघि पृथ्वी, पूरा हुनेछन्सबै 

तिम्रा सङ्कल्पहरू, 

नबस आलस्यमा जिङ्ग्राएर’

ब्युँझदा झल्यास्स र आँखा खोल्दा

नेपाल देखे उनले अगाडि 

नबनेको नेपाल

बन्न बाँकी नेपालको नक्सा

आँखा मिचेर दुई हातले 

तिरमिर तिरमिर रेखाहरू 

सुनौला सुनौला किन्झल्क परेका

सम्झना आयो त्यसैबेला उनलाई

गोरखनाथको अर्ति 

बोलेको नपुग्ने, टेक्नै पर्ने 

खुट्टामा लागेको दही घिनले 

उठेर उध्याए खुँडा, खुखुरी र तरबारहरू 

धुलो पुछेर ढाल र कबचको 

खोजी गरेर कालु पाँडेहरूको 

भकुण्डो खेल्दै खेल्दै नुवाकोट र कीर्तिपुरतिर 

रोकिएनन् पाइलाहरू तर 

ठेस लाग्यो कतै-कतै 

कतै-कतै रगत बग्यो अलिअलि

प्रतिज्ञा र सङ्कल्प सामु 

राष्ट्रिय ध्वजा चन्द्रसूर्य अङ्कित

उभिएर त्यसअगाडि 

हार खाँदैथे कान्तिपुर र कीर्तिपुरहरू 

भाग्दै र शरण माग्दैथे 

ललितपुर र भक्तपुरहरूसँग 

के हुने रहेछ र नामले मात्र ?

हार खाए नि सहाय बन्दै रणजित 

बृद्ध मितबा र तन्नेरी मित

वीर बन्न नसकेका वीर नरसिंह

पाएनन् छाता जुता माग्नेले पनि उनीसित

कठोर प्रण थियो उनको 

गले सबै उसको सङ्कल्प सामु

भागाभाग भए फिरिङ्गीहरू 

गाँस-गाँस निल्न नपाएर नेपाल

गङ्गामा खुँडा पखाल्नेहरूसँग

मैदान फराकिलो बन्यो पारिसम्म

आँठा, फगटार खोरिया बिराइए

मलिला पाटा बने बिरौटाहरू

यसो भन्छन् दिव्योपदेश भित्रका दिव्य पृथ्वी,

‘सिपाही भन्याका राष्ट्रका खम्बा हुन्,

यिनलाई सधैं ‘तिषारी राख्नू ।’ 

जयदेश, जयपृथ्वी ।

Top