कविता : रातो पर्खाल, कोरोना र संसार

✍️ पुरुषोत्तम दाहाल   POSTED ON : आश्विन २३, २०७८ (७:४२ AM)

कविता : रातो पर्खाल, कोरोना र संसार

समृद्धिलाई सगरमाथाको 

चुचुरो नाप्न सहज बनायो र

जहाजका जहाज मान्छेहरू भरिँदै ओर्लिए

तिनै प्वाँखमा अड्किएर

मेरो घरमा अवतरित सानो कोरोना

पसिना चुहाएर र पियाएर बाँच्न विवशहरूलाई

सडक सीमा परै

लाठी वर्षाउन सक्रिय छ ।

औषधि ओसार्न 

जहाज लिएर उडेको कोराना

कमिसनका पोकाहरू बोकेर फर्कियो

सगरमाथा थोरै साँघुरो भएपछि

कालीसम्म बूढी औंला पुगेको छ

दंग छ मेरो कोरोना

जनजनमा घरघरमा

छिर्ने उसले नयाँ बहाना पाएको छ ।

 घरघरमा गाँस बाँड्दै छ 

 घरघरमा आस बाँड्दै छ ।

पानी जहाजबाट वाग्द्वार पुगेको कोरोना,

मुक्तिनाथबाट रेल चढेर फिर्ता भएको छ ।

भाइरसले गृहबन्दी भएको 

म, जनतालाई 

पानी कै पाइपमा ग्यास पठाएको छ, कोरोनाले ।

क्या हाइ सञ्चो छ, 

माथि आकाश सफा छ, तर धर्ती स्वच्छ छ ।

कोही कराउँदैन, जुलुस जाँगर छैन ।

काम कुदाइ केही छैन

घर बसीबसी हुनेहरू खाइरहेछन्

नपाउनेहरू गाइरहेछन् र रोइरहेछन् ।

 कोरोना जस्तै कोरोनाहरूले बनाएका 

शहीदहरूका शरीरबाट चुहेका 

अर्बाैं अर्बका रगतका थोपाहरूले

मेरो आँगन रक्तकुण्डमा परिणत भएको छ ।

एकदिन कोरोना

केही किलो सुन भएर आएको थियो

अर्को दिन पित्तल भएर छुटेछ ।

कुनै एक दिन 

साइकल चढेर निस्किएको कोरोना

अर्को दिन 

निर्मला र निर्मलाहरूको अस्मिता लुटेर भागे छ ।

इतिहासमा

अपराध गर्दै जोगिने इतिहास बोकेको कोरोना 

यतिखेर 

न्यायमाथि अन्यायको डण्डा बार्साइ रहेछ ।

र, अन्यायका रक्तवीजहरू,

आतंकका अरिंगालहरू, 

कोरोनाका छौंडाछौंडीहरू

अट्टहास गरिरहेछन् । 

कुनै दिन सस्तैमा बिक्री हुन्छ,

कुनै दिन महँगो ठेक्कामा बिक्छ, कोरोना

उत्तरतिर टाउको, दक्षिणतिर हात

पश्चिमतिर पाउ, 

हरदिन, हर क्षण घुमिरहन्छ 

सूर्य परिक्रमामा व्यस्त ग्रहहरू जस्तै

गोल गोल भूगोल ।

कोरोना भाइरस हो कि सोम रस ?

छोए पनि लाग्छ, न छोए पनि लाग्छ

होलिवाइन हो कि ?

पिए पनि लाग्छ, नपिए पनि लाग्छ ।

के हो, के हो, यो कोरोना ?

बन्दीगृह जस्तै 

रातो पर्खालभित्रबाट 

संसार हाँकिरहेको छ र,

संसार रोइरहेको छ ।

Top