सञ्चेतना संवाद-७

✍️ डा. नारायण चालिसे   POSTED ON : कार्तिक ६, २०७८ (८:०४ AM)

सञ्चेतना संवाद-७

रहर त छन् निजी जीवनमा अनगिन्ती तिनैले त बाँचिएको छ । आत्मप्रकाशनको रहर अरूभन्दा गाढा बनेर आयो । जीवनमा धेरै कुराले साथ दिए, केही कुराले धोका दिए । तैपनि चुपचाप चुपचाप बाँचेर हेरियो धेरै वर्ष संवादहीन जीवन । यिनै सङ्लेका संवादको एकझोक्का पोखेर अलिकति बोझ घटाउने रहरमा यो पछिल्लो उपक्रम भएको छ । धेरै कुरा नमिलेर जसरी मनमनै असन्तोष बेहोरियो वर्षौंवर्ष त्यही अरू थप विचारको यो नमिलेको जस्तो उपस्थितिले जीवनको अर्को पक्षलाई पनि खोल्यो भन्ने लागेको छ । कि हृदयले कि बुद्धिले हिँड्नु पथ्र्यो तर यी दुईलाई छुट्याएर स्वतन्त्र हिँडाउन नजान्दा यो जीवन कसरमसरमात्रै भयो कि भन्ने लागिरहेको छ । 

हामीलाई निर्धक्क प्रेम गर्ने छुट पनि छैन जस्तो लाग्छ मलाई त यहाँ ! तिमी के भन्छौ ? तर होइन हामीले विवाह नामको विधान मानेर प्रेम गर्ने अधिकार प्रयोग गर्न थालेका छौँ । हामीमाथि देशद्रोही कानुन लाग्दैन । जहाँ अवैधानिकता छ त्यहाँमात्र माथिका बाध्यता आवश्यक छन् । यो ठाउँ-कुठाउँ देशको समस्या पसेर व्यक्तिको निजीजीवनलाई पनि वर्वाद गरिसक्यो । अब पतिपत्नीको जीवनको बीचमा देशको समस्या बाधक बन्ने परिस्थितिको समाधान छ कि छैन ?

हुन त बाध्यता सहनु परेपनि देशको सत्ता शिरमाथि चढेकै पनि राम्रो छ । 

कतिले आफ्नो देशलाई देश भन्न पाएका छैनन् । आफ्नो माटो पराया बनेको छ । देशको खोजी गर्दागर्दै देश नपाएरै मरेका छन् देश खोज्दा मारिएका छन् । देश भन्न नपाउनुको पीडा देश हुनेलाई त्यति थाहा हुँदैन रहेछ । त्यसैले पहिले देश होस् आफ्नो त्यसपछि सके हाँसेर बाँचौँला नसके रोएरै मरौँला, अनागरिक हुने पीडा व्यहोर्न नपरोस् ।

देश बुझ्ने कमै नागरिकमध्ये तिमी पछ्र्यौ सञ्चेतना । यो कुराले म धेरै खुशी छु तर देशप्रेम पनि अहङ्कार बन्नु हुँदैन । कथित देशप्रेमीहरूको अहङ्कार अहिले चुलिँदै गएको छ । यो अहङ्कारले देशलाई कुन बिन्दुमा पुर्‍याउने हो थाहा छैन । प्रिय सञ्चेतना देशको सुखद् सन्देश तिम्रा कानमा पुर्‍याउन पाउने दिन राम्रो दिन हुनेछ । 

अब कुन मुहूर्त पर्खेर बस्ने ? हामी उठ्ने बेला भएन ? मर्माहत देशको छातीमा हामी सन्ततिले मलमपट्टी गर्नुपर्छ । अझ पनि सञ्चेतना र संसारको बहसले निकास पाएकै छैन । झन् पछि झन् सञ्चेतनाका विचार तीव्र बनेर आएका छन् । कुनै पनि सर्तमा सञ्चेतना आफूलाई चित्त नबुझेको कुरा स्वीकार्न तयार छैन । संसारको विचार पनि खारिँदै जाँदो छ । ऊ पनि कुनै कुरा सहजै मान्न तयार छैन तर सञ्चेतनालाई कुनै दबाबमा पार्न पनि चाहन्न र उसका विचारको अपमान गर्न त झनै चाहन्न । ससम्मान बहसको यो निरन्तरताले नयाँ निष्कर्षको खोजी गरिरहेकै छ ।

तिमीद्वारा निर्माण गरिँदै छ भनेको भविष्य हाम्रो निम्ति पर्याप्त हो भन्ने मलाई लाग्दैन संसार ! तिमीलाई केले सञ्चालन गरिरहेछ सञ्चेतना ? तिमी नै मेरो आदि र अन्त्य पनि हौ तर मभन्दा भिन्न विचारको बीज कसरी जन्मियो ? मभित्र उठ्ने विचार तिम्रा पनि प्रतिनिधि हुन् तर मेरा अनुभूतिमा तिम्रा विचारको आभाससम्म नहुनुले हाम्रो एकात्मकता अनुभव गर्न सकिरहेको छैन । 

मलाई लाग्छ यहीँनेरबाट हाम्रो अन्तरको आरम्भ भएको छ । आरम्भको अन्त्य पनि छ भन्ने मेरो विश्वास हो तर निर्णायक परिणतिमा नपुगेसम्म आरम्भको अन्त्य भएको छ र ? आरम्भ कुनै अवस्थाको पनि निर्णायक नै कहाँ हुन्छ र ? महाभारतको आरम्भ द्रौपदी र रामायणको आरम्भ सीता, यी हाम्रा आदर्श निर्णायक उत्तरका साक्ष होइनन् र ? सीता र द्रौपदीहरूकै पुनरावृत्तिमा विश्वास गर्नु नै बुद्धिमत्ता हो र ? आदर्शमा अविश्वास विचार जन्मेकोलाई कुन अर्थमा लिऊँ ? आदर्श प्राक्कालिकमात्रै हो भन्ने परम्परित विचारमा पुनर्विचार आवश्यक छ । 

त्यसो भने यथार्थका अनगिन्ती रूपहरू जो तिम्रो मेरो जीवनसँग पनि सम्बन्धित छन् ती स्वीकार्य हुनु परेन र ? यथार्थ अस्वीकार्य भए पनि स्वीकार्नुपर्ने बाध्यता हाम्रो छ तर त्यसो भन्दैमा सहज स्वीकार्यता अनुमोदित हुँदैन ? त्यसको विकल्प चेष्टा सम्भव छ त ? सम्भव असम्भव पछि व्याख्या गरिन्छ, यथार्थले पहिल्यै डस्न थाल्छ र असहजको असहमति आत्माले बोलिसक्छ पहिल्यै । 

त्यसपछि हामी के गर्छौ ?

अनुकूलप्रतिकूलको मूल्यांकन पहिल्यै गरिनु आवश्यक छ । प्रतिकूल यथार्थमाथिको असहमति पनि निरर्थक अभ्यासमात्रै होइन र ? मौन बसिँदैन, अस्तित्वको परिचय आफूले दिइन्छ । अस्तित्वको आयाम नाप्नु परेन र ?

स्वानुभूतिले ग्राहृय र अग्राहृयका आधारमा आफ्नो साथमा हिँडाउनुपर्छ । अस्तित्वका निर्धारक तत्वहरू आ–आफ्नैमात्रै हुन् कि ? केही साझा शर्तमा पनि छन् ? आधारभूत सिद्धान्तमात्रै कहाँ लागू भए र ? अर्थात् व्यावहारिक सत्य जो आवश्यक छ ? तिमीले बुझेको जस्तो गरी व्यावहारिकता खुलान बस्न सक्छ । व्यवहार बनाइएको नभएर चलेको बढी भएको छ । मतलव ? जीवन चाहेको र भएको फरक छ कि ? हो जीवन चाहेको भन्दा धेरै फरक छ । हो त्यस्तै व्यवहार हाम्रै चाहनाको मात्रै अब छैन । त्यही सहज निकासमा व्यवहारलाई आधार मान्दा पनि व्यवहारले धेरैलाई झुक्याएको छ । 

तिम्रो कुरा बुझिएन ?

हाम्रो व्यवहार जीवन जस्तै नबुझिने भइसक्यो । तिमीले खोजेको निकास व्यवहारले दिन्न भनेको । केही समयदेखिको हाम्रो संवादले के बुझाइरहेको छ ? तिम्रो र मेरो अस्मिताको परिचय गराइरहेछ । के सबैले अस्मितालाई यसरी नै बहसमा उतार्छन् त ? सबैमा अस्मिताबोध छैन । जजसमा छ सबैको अस्मिता परिचय यसरी नै हुन्छ ? केहीमात्रामा हाम्रो बौद्धिकता बीचमा पसेको छ ।

तिम्रो ?

तिम्रो पनि । यसले त हामीलाई दुई ध्रुवमा लैजाँदै छैन र ? व्यक्तित्वको टक्कर प्रायः यसरी नै हुन्छ । के तिमीले टक्करको निम्ति मलाई नै रोजेको ? आफूआफू द्वन्द्वमा अभ्यास गरेको रूप हेर्न खोजेको । कतै जीतहारको अहम् त होइन ? तिम्रो व्यक्तित्वको आयाम छाम्दैछु । मेरो व्यक्तव पनि तिमीले उपलब्ध गराएको होइन र ? आफू अरूमा उपस्थित भएको रूप तिमीमा हेर्दै छु । 

मलाई साधन तुल्यायौ ?

पुनः द्वन्द्वको बीज अङ्कुराउँदै छ । बीज रहेसम्म अङ्कुरलाई असहज मानिँदैन । अब म मतलब नबुझ्ने भएँ । तिमीले ममा आफू हेरेजस्तै गर्न खोजे हुँदैन र ? स्वस्थ अभ्यासले निकास दिन्छ । मेरो मौलिकताको आग्रह अस्वस्थ र अन्यथा भयो र ? मेरै योगदानमा मलाई पछुतो पर्ने बाध्यता नपरोस् । 

यो मेरो भूमिकामा हस्तक्षेप होइन र ? म भएर हेर्दा पनि त्यस्तै देख्यौ र ? म तिमी र तिमी म बन्ने प्रक्रियामै हस्तक्षेप देख्छु । यसभन्दा आदर्श प्रेम अर्को छँदै छैन । तिमी प्रेमको नाउँमा ममाथि अधिकार बोल्दैछौँ । अबको निष्कर्ष मेरो अधीनबाहिर जाँदैछ भन्ने बुझौँ ?

संयम फेरि पनि आवश्यक छ । चिन्तनलाई अर्को ढङ्गबाट हेर न ? म मात्र त्यागको पक्षमा छु भन्ने म बुझ्दछु । त्यही तिम्रो भुल निकाल्न खोजेको हुँ । मेरो बुझाइको खोट जान्न चाहन्छु । आपूm र आफ्नो व्यवहारपछि प्रश्नमतर्फ नफर्काऊ । अव्यावहारिकता भनेको कि ? विचारमै गम्भीर त्रुटि बुझ्यौ ? पहिलो स्वीकार्छु तर दोस्रोमा तिम्रोभन्दा मेरो विचार शुद्ध छ भन्ने मेरो ठम्याइ छ । 

तिम्रो ठम्याइ पूर्ण हो भन्ने विश्वास दिलाऊ न त ? तिम्रो ठम्याइ पूर्ण छैन, दूरदर्शी छैन भन्ने उत्तर नै मेरो ठम्याइ वा विश्वास हो । समाजमा मलाई अस्वीकृत र तिरस्कृत पार्न चाहन्छौ ? तिम्रो तिरस्कारमा मेरो पनि तिरस्कार हुनेछ भन्ने कुराले मलाई कठोर निर्णय गर्न बाध्य पार्छ । राम्रो राख्ने कुरा जस्तो बनाबटी अर्थ झल्कियो । हाम्रो यो संवादलाई साझेदारी गर्नेले हाम्रो स्वस्थ प्रेममा शङ्का उठाउने भए ? सबैलाई विश्वास पार्न अब के गर्नु पर्ला ? यो कुनै कहानीको भाग हो बनाऊँ यसलाई । 

हामी अर्थात् जो यीमाथिको सम्बन्धमा सरिक छौँ हामी एक हौँ । कुरा र द्वन्द्व यत्तिमै कसरी टुङ्गिए ? लोकाचारलाई मान्दा यस्तो स्वीकारियो । लोकाचार हाम्रो समस्याभन्दा ठूलो हुने समय अब छैन कि ? सबै कुरा त्यागेर केमा अडिने ?

हामी र हाम्रो विचार, व्यवहार अनि कर्मले हामीलाई अड्याउँन सक्छन् भन्ने लाग्छ । सधैँको परनिर्भरताका बारेमा अबको पुस्ता बोल्नै पर्छ । अन्यथा परम्पराले थिचिइरहने डर हुन्छ । मौलिकता लोप हुने खतरा बढ्छ । क्रमशः..

Top