पुस्तक : श्रीराम राईको ‘पोलेको मकै’

✍️ सुशीला घिमिरे   POSTED ON : कार्तिक ६, २०७८ (८:३४ AM)

पुस्तक : श्रीराम राईको ‘पोलेको मकै’

श्रीराम राई बाल साहित्यकार हुनुहुन्छ । उहाँको हालै प्रकाशित भएको बालकथा संग्रहको शीर्षक हो ‘पोलेको मकै’ । बुक्स हिमालय प्रकाशक रहेको यो पुस्तक यसै वर्ष वा २०७८ सालमै प्रकाशित भएको हो । पुस्तक बालबालिकाहरूका लागि चित्रसहितको आकर्षित छ । सर्वाधिकार कथाकार राईमै रहेको यस पुस्तकको सम्पादन गंगा कर्माचार्य पौडेलले गर्नुभएको छ भने चित्रहरू राजकुमार प्रजापतिका रहेका छन् । मुनु थुलुङको कम्प्युटर टाइप र पवन शाक्यको डिजाइन् रहेको यस पुस्तकको वितरक हिमालय म्याप हाउस प्रालि रहेको छ ।

कर्मा प्रेस प्रालिमा मुद्रण भएको यस पुस्तकमा आवरण भूमिका खण्ड र पाठ्य खण्डसमेत गरी जम्मा ३४ पृष्ठ रहेका छन् । पुस्तकको आकार ठूलो छ, पृष्ठ थोरै छन् । त्यसैले पुस्तक पातलो जस्तो लाग्छ । बालबालिकाहरूका लागि यस्तै पुस्तकहरू उपयुक्त हुन्छन् । त्यसैलाई ध्यानमा राखेर कथाकार राईले पुस्तकमा जम्माजम्मी सातवटा कथाहरूमात्र समावेश गर्नुभएको छ । पुस्तको मूल्य ९९ रुपैयाँ राखिएको छ । उहाँका यी सातैवटा कथा विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका हुन् । 

 यी कथाहरू त्यसरी पत्रपत्रिकामा प्रकाशित गर्न सहयोग पुर्‍याउने व्यक्तिहरूप्रति कथाकार राईले आभार व्यक्त गर्नुभएको छ जसमा अमृत भादगाउँले, किन्दर राई, यम बास्तोलो र वसन्तराज अज्ञात हुनुहुन्छ । पुस्तकको कागज र छपाइस्तरीय छ, अशुद्धिहरू कमै पाइन्छन् । आवरण आकर्षक छ । त्यहाँ एकजना महिला मकै पोलिरहेकी छन् र एउटी सानी स्कुले विद्यार्थी बालिकाले पोलेको मकै किन्न लागेको देखाइएको छ । यसले पुस्तकको शीर्षकलाई सार्थक बनाएको छ । 

पुस्तकको पछाडिको पृष्ठमा ‘विद्यालय तहका सबै बालबालिकाका लागि उपयोगी । बालमनोविज्ञानमा आधारित कथाहरू रमाइला र शिक्षमूलक छन्’ भनिएको छ । पुस्तकमा कसैबाट भूमिका लेख्न लगाइएको छैन र कथाकार राईको मन्तव्य पनि राखिएको छैन । विषयसूचीलाई ‘कथाक्रम’ भनिएको छ । त्यसपछि कथाहरू दिइएको छ । यस पुसतकमा समावेश गरिएका सातवटा कथामध्ये छवटा कथा दुई शब्दका र एउटा कथा चार शब्दको शीर्षकमा रहेका छन् । ‘मुनाको अभियान’, ‘बलजितको जुक्ति’, ‘सुम्निमाको भ्रमण’, ‘पोलेको मकै’, ‘पारुको पढाइ’ र बुबाको एसएमएस दुई शब्दको शीर्षक भएका कथाहरू हुन् । ‘पूmल फुलुन् चरी उडून्’ एउटा कथा भने चार शब्दको शीर्षकमा रहेको छ । 

यहाँ समावेश सबै सातैवटा कथाहरू तीन पृष्ठको फैलावटमा रहेका छन् र प्रत्येक कथामा एक पृष्ठको चित्र राखिएको छ जसले गर्दा कथा आकर्षक बन्न पुगेको पाइन्छ । यी कथाहरू दिइसकेपछि कथाकार राईको परिचय दिइएको छ । यहाँ दिइएको उहाँको परिचयबाट उहाँ चन्द्रकुमारी राई र बमबहादुर राईका छोराका रूपमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा–७ मा जन्मिनु भएको भन्ने थाहा हुन्छ । पत्नी मुनु राई तथा एक छोरा नाम्छिहाङ राई र एक छोरी निनुङ्मा राईसहितको उहाँको परिवार रहेको जानकारी यही पृष्ठबाट हुन आउँछ । 

यसैगरी कथा, कविता, हाइकुमा समेत कलम चलाउँदै आउनुभएका राईका यसपूर्व टोली नेता (बालकथा संग्रह, २०७४) र आजका लघुकथा (संयुक्त लघुकथा संग्रह, २०७४) प्रकाशित भएको पाइन्छ । उहाँले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान, २०७६ र संसाक भवानी-शंखर लघुकथा सम्मान, २०७७ प्राप्त गर्नु एको उल्लेख यही पृष्ठमा भएको छ । 

यस संग्रहको पहिलो कथा ‘मुनाको अभियान’ हो जुन २०७२ साल चैतको मुना मा प्रकाशित कथा हो भने दोस्रो कथा ‘बलजितको जुक्ति’ हो यो २०७३ साल माघको बाल कोसेलीमा प्रकाशित कथा हो । तेस्रो कथा ‘सुम्निमाको भ्रमण’ हो । यो कान्तिपुरको कोपिलामा २०७३ चैत ६ गते आइतबार प्रकाशित भएको कथा हो । पुस्तकको चौथो कथा ‘पोलेको मकै’ जुन यस पुस्तकको शीर्ष कथा पनि हो नागरिकको जुनकीरीमा २०७५ साल भदौ ७ गते शनिबार प्रकाशित भएको उल्लेख छ । 

संग्रहको पाँचौं कथा ‘फूल फुलुन्, चरी उडून्’ हो यो कथा पनि कातिन्पुरको कोपिलामा २०७२ साल जेठ ३१ गते आइतबार छापिएको हो । छैटौं कथा ‘पारुको पढाइ’ हो जुन अन्नपूर्ण पत्रिकाको अंकुरमा २०७३ साल भदौ १९ गते आइतबार छापिएको छ । यस संग्रहको अन्तिम वा सातौं कथा ‘बुबाको एसएमएस’ हो यो कथा २०७५ साल भदौको मुनामा प्रकाशित भएको हो । 

यी सबै कथा बालबालिकाको मनोविज्ञान, चाहना, व्यवहार र उनीहरूको मनोभावना अनुसार ठूलाहरूले उनीहरूप्रति गर्नुपर्ने व्यवहारलाई देखाएर लेखिएका छन् । समग्रमा भन्दा कथाकार श्रीराम राईको यो ‘पोलेको मकै’ शीर्षकको बालकथा संग्रह स्तरीय छ र कथाकार राईको बालकथाकारिता पनि राम्रो देखिन्छ । राईको भाषा र आशालाग्दो छ र सन्देश स्पष्ट छ । यसमा संगृहित कथाहरूले कतै नैतिक उपदेश दिएका छन् भने कतै नारी शिक्षाको वकालत गरेका छन् । कतै बालबालिकाको क्षमताको प्रशंसा छ भने कतै स्वस्थ्यकर खानेकुरा खानुपर्छ भन्न यी कथाले चाहेका छन् । कथाकार राईलाई पुस्तकका लागि बधाई तथा अन्यान्य नवीन पुस्तकहरूको सिर्जनाका लागि शुभकामना ।


Top