पोखरेलको ‘मार्बल-हाउसकी शालिनी’ सँग बस्दा

✍️ गीता अधिकारी   POSTED ON : कार्तिक ६, २०७८ (९:३३ AM)

पोखरेलको ‘मार्बल-हाउसकी शालिनी’ सँग बस्दा

स्रष्टा लेखनाथ पोखरेलको कथा संग्रह ‘मार्बल-हाउसकी शालिनी’ कृति पाठकमाझ आएको छ । केही समयअघि उहाँको नियात्रा संग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलले छोटो समयका अन्तरालमै दोस्रो कृति पाठकमाझ लिएर आउनु भएको हो । ‘फकलीको गाउँ’मार्फत नियात्राकारका रूपमा पाठकमाझ आउनुभएका पोखरेल ‘मार्बल-हाउसकी शाललिनी’मार्फत कथाकारका रूपमा आउनुभएको छ । सावित्री पोखरेल प्रकाश रहेको २४० पेजको यो कथासंग्र्रहमा विभिन्न परिवेशका कथा समेटिएका छन् । कृतिभित्रकै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ । 

पुस्तकमा ‘तृष्णा’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उन्नुभएको छ ।

‘कथासंग्रह तयार गर्ने क्रममा बचपनका केही जीवन्त प्रस्तुतिलाई याथास्थितिमा पस्किएको थिएँ । पखेटा फट्फटाउँदै उडेको समय कहाँबाट कहाँ पुगिसक्यो ¤ मौसम बदलिएझैँ बदलिँदो सामाजिक परिवेश, मानिसको रहनसहन र बानी व्यहोरामा कत्रो भिन्नता आइसक्यो भन्ने फरक प्रसंगले एकाएक मनमा प्रवेश पायो । योसँगै लेखनको विषयवस्तु परिवर्तित परिवेशका घटनाक्रमसँग जोडिनुपर्छ भन्ने सोचको उदय भयो । आफ्नो अतीतसँग सापटी लिएका केही विषयवस्तु बोकेर चुस्तदुरुस्त र मोजमस्तीतर्फ अग्रसर आधुनिक समाजको बदलिँदो परिवेशतिर लम्कियो मेरो कलम । त्यसकै परिणाम हो मार्बल–हाउसकी शालिनी नामको यो कथासंग्रह’, कथा संग्रहको दैलो उघार्दै स्रष्टा पोखरेल भन्नुहुन्छ । 

प्रायः सबै कथालाई नारीप्रधान कथाका रूपमा प्रस्तुत गर्नुभएको छ स्राष्टा पोखरेलले । यो कथा संग्रहभित्रका कथाहरू प्रायः सबै सरल, सहज सम्प्रेषणीय रहेका छन् । पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ । 

आफ्नो भूमिका लेखनमा स्रष्टा खेमनाथ दाहाल भन्नुहुन्छ- ‘प्रस्तुत कथाकृति मार्बल-हाउसकी शालिनीका लेखक पोखरेलले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध विस्तुलाई उनेर तयार पारेका छन् । सरल तर गहन र सजीव लेखन कथाकार पोखरलेको विषेशता हो । समाजमा रहेका रीति र विकृतिको अत्यन्तै सरल भाषा र पठनीय शैलीमा कथाकारले कृतिमा समेटेका छन् ।’ भूमिकामा उल्लेख भएजस्तै सबै कथाले पाठको मन छुन्छन्, रमाइलो अनुभूति गराउँछन् र कथा पढ्न सुरु गरेपछि छोड्न मन लाग्दैन । यो लेखकको पाठकलाई बाँधिराख्ने खुबी हो । समाजमा हामीले देखे, सुने, भोगेका विभिन्न विषयवस्तुलाई उहाँले बडो रोचक रूपमा प्रस्तुत गर्नुभएको छ यस संग्रहमा । सामाजिक यथार्थवादी कथाहरू रहेका छन् संग्रहमा ।

यसमा भएका कथामा कथाकारले सामाजिक यथार्थताभित्रका विभिन्न पाटालाई उजागर गर्नुभएको छ । संग्रहमा रहेका कथामा भेदभाव, विकृति, विसङ्गति, बाल मनोविज्ञानमा आधारित कथाहरू छन् । यस कथा संग्र्रहमा समाविष्ट कथाकहरूले नेपाली समाजमा देखिएका विभिन्न समस्याहरूको उठान गरेको छ । कथाहरू विविधताले भरिएका छन् र पढ्नका लागि रुचिकर छन् । कथाकारका कथाहरूले भन्छन् पोखरेल समाजमा रहेका विभिन्न विकृति, विसङ्गतिविरुद्ध सकारात्मक परिवर्तन देख्न खोज्ने स्रष्टा हुनुहुन्छ ।

ईं.प्रेस, प्रालि मुद्रक रहेको कृतिको मूल्य ४ सय रुपैयाँ राखिएको छ । पेसाले सिभिल इन्जिनियरका रूपमा लामो समय योगदान पुर्‍याउनुभएका पोखरलेका विभिन्न पत्रपत्रिकामा नियमित ब्यंग्यात्मक लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उहाँले पुस्तकमा उल्लेख गर्नुभए अनुसार उहाँको अर्को कृति ‘प्रेत लेखक’ (हास्य निबन्ध) पनि पाठकमाझ आउने तयारीमा रहेको छ । 

Top