पुस्तक : बानियाँको ‘देशको ऐना’

✍️ सुशीला घिमिरे   POSTED ON : मंसिर ४, २०७८ (१०:१० AM)

पुस्तक : बानियाँको ‘देशको ऐना’

जितेन्द्र बानियाँ एकजना प्रतिभाशाली स्रस्टा हुनुहुन्छ । उहाँका गजलहरू निकै चोटिला र अर्थपूर्ण हुने गर्छन् । रसिला र भावपूर्ण आफ्ना यस्ता गजलहरूलाई उहाँको प्रभावपूर्ण वाचनकलाले अझै रसिला बनाउने गर्नुहन्छ । हालै उहाँको गजल संग्रह ‘देशको ऐना’ प्रकाशित भएको छ । यो उहाँको पहिलो पुस्तकाकार गजल संग्रह हो । डिएमआई साइजमा प्रकाशित यस पुस्तकको प्रकाशक तथा वितरक एस.पी.प्रकाशन प्रालि बागबजार काठमाडौं रहेको छ । लेआउट तथा सेटिङको काम सिद्धराज जोशीले गर्नुभएको छ । 

प्रथम संस्करणका रूपमा २०७८ साल असोजमा प्रकाशित यस पुस्तकको सर्वाधिकार गजलकार बानियाँमै सुरक्षित छ । पुस्तक १००१ प्रति छापिएको छ । भूमिका खण्डसहित ८० पृष्ठको यस पुस्तकको मूल्य २०० रुपैयाँ रहेको छ । हलुका पहेंलो कागजमा छापिएको यस पुसतकको छपाइ स्तरीय छ । अशुद्धिहरू कमै भेटिन्छन् । पुस्तकको आवरण पुस्तकको शीर्षकसँग मिल्दोजुल्दो गरी तयार गरिएको छ ऐनामा केही चित्र देखिनुका साथै प्राकृतिक चित्र र मानव निर्मित केही संरचना तथा गैंडाको फोटो देखिन्छ ।

तलतिर नेपालको नक्शामा विभिन्न नेपाली जातजातिहरूलाई देखाइएको छ । पुस्तकको पछाडिको पानामा स्रष्टा जितेन्द्र बानियाँको फोटो र यसै पुस्तकको भूमिकाबाट साभार गरिएका ललिजन रावल, डा.धनप्रसाद सुवेदी र केदार बास्कोटाका भनाइ उद्र्धृत गरिएको छ । 

 

पुस्तकमा सुरुमा गजलकार जितेन्द्र बानियाँले आफ्ना माता भगवती बानियाँ र पिता दीपबहादु्र बानियाँमा यो पुस्तक समर्पण गर्नुभएको छ । त्यसपछि गजलकार ललिजन रावलको ‘भूमिका’ त्रिविअन्तर्गत पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा.धनप्रसाद सुवेदीको ‘यथार्थको प्रतिबिम्बन’, सुनकोशी प्रवाह साप्ताहिकका सम्पादक तथा प्रकाशक केदार बासकोटा थाक्लेको ‘चेतना माला’ ओखलढुंगा कला साहित्य समाजका अध्यक्ष गम्बु शेर्पाको ‘बधाई तथा शुभकामना’ ब्रिटिश फोर्सेस ब्रोडकास्टिङ सर्भिसका सहसम्पादक तथा ओखलढुंगा कला साहित्य समाजका महासचिव रामनाथ घिमिरेको ‘शुभकामना’ सन्तोस अम्गाईंको ‘सम्पादकीय’ र गजलकार बानियाँको ‘स्रष्टाको कलमबाट’ रहेका छन् ।

त्यसपछि गजलखण्ड सुरु हुन्छ । यस गजल संग्रहमा जम्मा ५९ वटा गजलहरू रहेका छन् । अन्तिममा स्रष्टा बानियाँको परिचय दिइएको छ जसअनुसार बानियाँ २०४५ साल वैशाख २५ गते हालको सिद्धिचरण नगरपालिका वडा-९, ज्यामिरेमा जन्मिनु भएको हो भन्ने देखिन्छ र यही पानामा उहाँका मातापिता, जीवनसंगिनी, छोराछोरीको नामसमेत उल्लेख भएको पाइन्छ ।

हाल सूर्यविनायक-४ भक्तपुरमा बस्तै आउनु भएका बानियाँले स्नातकसम्मको शिक्षा ग्रहण गर्नुभएको उल्लेख छ । सामाजिक कार्य तथा लेखनमा रुचि राख्ने बानियाँले दक्षिण कोरिया, भारत र चीनको भ्रमण गर्नुभएको उल्लेख छ । यसैगरी उहाँका सेतोसाडी (आधुनिक गीत), राख पाउ (आधुनिक गीत), कोरियाको लाहुरे (लोकदोहोरी) आँसु छल्किएर (आधुनिक गीत) उहाँका सिर्जना भएको उल्लेख गरिएको छ । 

बानियाँको रसिलो एग्रिकल्चर नेपाल प्रालि भक्तपुर, ग्लोबल स्टार एकेडेमी, बागबजार, काठमाडौं, गुडमोर्निङ मार्ट प्रालि भक्तपुर र ओखलढुंगा कला साहित्य समाजमा संलग्नताको उल्लेख यहाँ गरिएको छ । उहाँ ओखलढुंगा कला साहित्य समाजको सचिव हुनुहुन्छ । 

गजल उर्दू फारसी हिन्दी हुँदै नेपाली भाषामा प्रवेश गरेको साहित्यको कविता तथा गीतको समस्तरीय विधा हो । वास्तवमा यो साहित्यका अन्य विधाहरूका तुलनामा शालीन खालको विधा हो । नेपालीमा मोतीराम भट्टले सुरु गरेको नेपाली गजल लेखन बीचमा सुस्ताएको थियो र नकैपछि साहित्यकार भीमनिधि तिवारीले गजल लेखनलाई पुनर्जागृत गर्नुभएको थियो । फेरि त्यसको निकै लामो समय बितेपछि हालका गजलका अग्रणी लेखकहरू ज्ञानुवाकर पौडेल, वियोगी बुढाथोकी, ललिजन रावलहरूले गजल लेखनलाई गति दिने काम गर्नुभएको हो ।

हालका दिनहरूमा नेपाली गजल लेखन कार्यले व्यापकता पाएको छ र यसका स्रष्टाहरूको संख्या उल्लेख्य भएको छ । गजलमा विद्यावारिधि गर्नुभएका डा.घनश्याम न्यौपाने परिश्रमी हिन्दीमा बहर नभएको गजललाई गजल मानिँदैन तर नेपालीमा बहरविनाका गजललाई पनि नेपाली गजलका रूपमा मान्यता दिइएको छ भन्नुहुन्छ । यस आधारमा गजलमा बहर अनिवार्य तत्व रहेछ भन्ने थाहा हुन्छ । आजकाल बहरमा गजल लेख्ने विज्ञस्रष्टाहरू पनि धेरै छन् । 

वास्तवमा गजल स्त्रीहरूको प्रशंसामा लेखिने विधा हो जसमा माया, प्रेम र हल्का मदिराका कुराहरू रहन्छन् तर हालका गजलहरू कविताकै जसरी सर्वपक्षीय चित्रणका लागि प्रयोग हुनेगरेका छन् । जितेन्द्र बानियाँका गजलमा राष्ट्रियता, प्रकृति चित्रण, राजनीतिप्रतिको व्यंग्य, सामाजिक जनजीवन र समाजका विकृतिको चित्रण, समतामूलक समाजको वकालत, मानवीय व्यवहारका विकृति र विसंगतिको प्रकटीकरण, माया, प्रेम आदिको चित्रण भएको छ । उहाँको गजल लेखनको निरन्तरता आवश्यक छ किनकि उहाँको यस क्षेत्रको भविष्य उज्ज्वल देखिन्छ । उहाँका केही गजलका केही अंशहरूलाई नमुनाका रूपमा यसरी प्रस्तुत गर्न आवश्यक ठान्छु :

जो राहदानी व्यापार गरेकै भरमा देश चलाउँछ 

उही सरकार आश्वासन बेचेर सपना फलाउँछ । 

बोतल नयाँ तर भित्र पानी पुरानै 

नेपाल नयाँ नेपालीको बानी पुरानै ।

उसले भोट माग्यो लोकतन्त्रको नारा ठोकेर

गएछ आपूm भने भोट हाल्न खुकुरी बोकेर । 

गजलकार बानियाँलाई यस पुस्तकका लागि बधाई तथा यस्तै अन्य पुस्तकहरू सिर्जनाका लागि हार्दिक शुभकामना । 


Top