धनविक्रम सिंह : प्रशासनदेखि लेखनसम्म

✍️ विनोद दाहाल   POSTED ON : मंसिर ७, २०७८ (८:२९ AM)

धनविक्रम सिंह : प्रशासनदेखि लेखनसम्म

संयोग नै भनौं हिमालय टाइम्समा प्रकाशनका लागि आएको एउटा लेख नयाँ नाममा थियो । त्यसपछि भने उक्त नाममा केही लेखहरू आए तर पातलै र ती सबै छापिए पनि । एउटा लेखको शीर्षक एक शब्दमा निबन्धको शैलीमा थियो नछाप्ने विचार गरेँ तर केही मिलाएर छाप्न पठाएँ । यसरी नै समय बित्यो । केही समयपछि उहाँको जीवनी केन्द्रित एउटा किताब घोस्टराइटिङको प्रकाशनको ‘अन्तर्निहित अन्तध्र्वनि’ शीर्षकमा मैले पढेपछि उहाँलाई भेट्न मन लागेर म उहाँको निवास ललितपुर झम्सिखेल पुगेँ । 

भेटमा केही विमर्श भयो, केही भलाकुसारी र केही योजनाहरू तयार भए । उहाँ नेपाल सरकारको राजपत्रांकित द्वितीय श्रेणीबाट सेवा निवृत्त हुनुभएको कर्मचारी हुनुहुँदो रहेछ । गंगाबहादुर सिंह र विश्वराजदेवी सिंहका सुपुत्र हुनुहुँदो रहेछ धनविक्रम सिंह । २०२५ साल वैशाख २५ गते मीना राणा र धनविक्रम सिंह दाम्पत्य जीवनमा बाँधिनु भएको रहेछ ।

उहाँहरूका चारवटी छोरीहरू भएछन् । तिनकै शिक्षादीक्षा र लालनपालनमा उहाँहरू सधैं समर्पित भइरहनुभयो । यसका लागि श्रीमती मीना राणाको विशेष योगदान रहेको बताउनुहुन्छ उहाँ । घरमै शिक्षक राखी केही वर्ष पढिसकेपछि धनविक्रम एकैपटक हाइस्कुलमा ७ कक्षामा अभिभावकले नाम लेखाइदिएअनुसार पढ्न थाल्नुभयो । सुरुमा अंग्रेजी र संस्कृत गाह्र्रो लागेको थियो उहाँलाई तर त्यस कक्षाको वार्षिक परीक्षासम्ममा उहाँले मेकअप गर्न भ्याउनुभयो । आठ कक्षा पास गरुन्जेलसम्म नेपालमै र त्यसपछि ९, १० र ११ कक्षा भारतको विहार परीक्षा बोर्डबाट पढी म्याट्रिक पास गर्नुभयो । उहाँले अध्ययन गरेको उक्त स्कुलको नाम थियो जनता उच्च माध्यमिक विद्यालय खाजेडिह । सिरहाको सम्पन्न परिवारको छोरो भएका नाताले उहाँले यसरी त्यहाँसम्म पुगेर अध्ययन गर्ने मौका पाउनुभएको थियो । 

त्यसपछि उहाँले त्रिविअन्तर्गत राजविराजमा कलेजको स्थापना भएर बिएसम्मको पढाइ भइरहेकाले आइए र बिए त्यही कलेज अर्थात् श्रीमहेन्द्र बिन्देश्वरी कलेज राजविराज सप्तरीबाटै चार वर्ष अध्ययन गरी उहाँले बिए उत्तीर्ण गर्नुभएको थियो । २०२१ सालतिर बिए पास गरेपछि उहाँ ग्य्राजुएट कहलाइनु भयो । त्यसबेला त्यतिसम्म पढ्ने व्यक्ति कमैमात्र हुन्थे । 

बिए पास गरेपछि उहाँलाई सरकारी सेवामा प्रवेश गर्न मन लाग्योे । त्यसका लागि उहाँले सर्वप्रथम प्रहरी सेवाको राजपत्रांकित तृतीय श्रेणीको पदको लागि लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तासमेत दिएर ढुक्क भएर बस्नुभयो तर त्यस समूहमा रहेका दश जनामध्ये उहाँ एकजना छाँटिनुभयो । यसबाट उहाँलाई निकै नमज्जा लाग्यो । 

यो प्रथम प्रयास विफल भएपछि उहाँले जागिरकै लागि धेरै चक्कर काट्नुपर्‍यो । दुई वर्षसम्म राजपत्रांकित पदका विभिन्न जाँचहरूमा राम्रोसँग लेख्दा पनि उहाँको नाम निस्किएन । उहाँले नासुमा जाँच दिनुभयो । उहाँको नाम निस्कियो र कृषि विभागमा सिफारिश हुनुभयो । यहीबाट उहाँले सरकारी सेवामा प्रवेश गर्नुभयो । 


२०२४ साल जेठ २९ गते यसरी नायव सुब्बामा प्रवेश गर्नुभएका धनविक्रम सिंह राजपत्रांकित द्वितीय श्रेणी अथवा उपसचिव पदबाट २०५४ साल जेठ २९ गते सेवा निवृत हुनुभयो । हाल उहाँ ललितपुरस्थित झम्सिखेलको आफ्नै निवासमा रहेर स्वध्यायनमा तल्लीन हुनुहुन्छ । आफ्नो सेवानिवृत्त जीवनलाई सक्रिय र उत्पादनमूलक बनाउनेहरूमध्ये धनविक्रम सिंह पनि पर्नुहुन्छ । 

उहाँले पहिलो पटक नाम निकालेर अन्तर्वार्तामा सफल नभएपछि पनि राजपत्रांकित पदप्रतिको लक्ष राख्न छोड्नु भएन । २०३२ सालमा लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन निकाल्यो । उहाँले पनि जाँच दिनुभयो र उत्तीर्ण गरेर शाखा अधिकृतमा सिँचाइ विभागमा बहाली हुनुभयो । शाखा अधिकृत पदमा रहेर करिब आठ वर्ष सेवा गरेपछि उपसचिव पदमा बढुवाका लागि अन्तरविभागीय प्रतियोगिताको लागि सञ्चालित परीक्षामा भाग लिनुभयो तर उक्त जाँच बिग्रियो तैपनि उहाँले माथि उक्लिने प्रयास गर्न छोड्नु भएन । 

एमए पास गरेर भए पनि त्यसबाट नम्बर ल्याई बढुवा भइछाड्छु भनेर त्रिविबाट मास्टर्स इन पब्लिक एड्मिनिष्ट्रेसनको डिग्री लिन सफल हुनुभयो उहाँ र यसै कारणाले बढुवाका लागि पनि सहयोग पुग्यो । उहाँ बढुवा त हुनुभयो तर साथीभाइभन्दा पछि पर्नाले कनिष्ठ बन्नुभयो । बिएल पढ्ने पहिलादेखिको इच्छा पनि उहाँले पूरा गर्नुभयो । सरकारी सेवा गर्दागर्दै उहाँ यी दुई डिग्री हात पार्न सफल हुनुभयो तर आफ्नो चाहनानुसार माथिल्लो पदमा भने पुग्न सकिँन भन्ने उहाँलाई लागेको छ । त्यसका प्रमुख दुई कारणहरू भएको उहाँलाई लाग्छ ः 

१) ३० वर्षे जागिर खान पाउने अवधिले गर्दा ५२ वर्षकै उमेरमा अनिवार्य अवकाश प्राप्त गर्नुपर्‍यो । 

२) उहाँका ठूला हाकिमहरूसँग वा नेतृत्व वर्गसँग घुलमिल गर्नसक्ने बानी नभएकाले पहुँच नै पुगेन भन्ने पनि उहाँलाई लागेको छ । 

मैले उहाँको पारिवारिक परिवेशको प्रसंग उठाएपछि उहाँ पारिवारिक परिवेशको मूल्यांकन गर्न कम्तीमा यी चारवटा परिवेशको सिंहाबलोकन गर्नु जरुरी हुन्छ भन्नुहुन्छ : ती हुन् १. आर्थिक, २. धार्मिक ३. शैक्षिक र ४. सामाजिक । ‘मेरो परिवार मध्यम स्तरीय किसान परिवार हो । त्यो एकमात्र आम्दानीको स्रोतबाट हामी छ दाजुभाइ र एउटी बहिनीलाई खानलाउन र शिक्षा दिलाउन पुर्‍याउनु हुन्थ्यो बुबामुमाले ।

शैक्षिक परिवेशको कुरा गर्दा बुबामुमा दुवै शिक्षित हुनाले हामीहरूलाई बहिनीसमेतलाई पढ्न पहिला घरैमा बस्ने गरी शिक्षक राखिदिनुभएर केही वर्ष पढाउँदै नजिकको विद्यालयमा नाम लेखाइदिने गर्नुभएको थियो । 

उहाँका बुबा त शिक्षित हुनुहुन्थ्यो नै मुमा पनि रामायण, महाभारत आदि धार्मिक ग्रन्थहरूबाट हामीलाई धेरै अर्तिउपदेश दिनुहुन्थ्यो । उहाँले संस्कृत श्लोक पढेर छोराछोरीहरूलाई सम्झाउनुहुन्थ्योः– 

शशिन् कुल कलंकम् कण्टकम् पद्म नाभम सुरेशम । उधदि जलपेयम् पण्डितो निर्धनस्त्वा । श्लोक भेनिसकेपछि उहाँले अर्थ लगाएर सम्झाउनुहुन्थ्यो चन्द्रमा कति सुन्दर छ तर त्यसमा दाग छ, श्रीहरि नायणको नाइटोबाट निस्केको कमलको फूलमा पनि काँडा छ, महासागरमा कति धरै पानी छ तर त्यो पिउन लायक छैन ।

त्यस्तै महापण्डितहरू १४ विद्यामा पारंगत हुन्छन् तर उनै गरिब हुन्छन् । त्यस कारण बुझिराख नानीहरू हो यस संसारमा सर्वगुण सम्पन्न कोही पनि हुँदो रहेनछ । तसर्थ जे जति पाइएको छ त्यसमा सन्तोष गरेर आफ्नो कर्तव्य पथमा अगाडि बढ्दै जाऊ । 

सामाजिकता : समाज सेवातर्फ पनि उहाँहरूको निकै अभिरुचि थियो । पहिला पहिला समाजमा घटित सानातिना घटना र मुद्दामामिलाहरू गाउँ स्तरमै भद्रभलाद्मी बसेर आपसी छलफल र समझदारीमा छिनोफानो गरिन्थ्यो । वरिपरिको १०/२० गाउँमा झैझगडा सानातिना मुद्दामामिला निप्टारा गर्न बुबा नभइनहुने, कुनै कारणबस बुबा त्यसमा उपस्थित हुननसकेको खण्डमा त्यो पञ्चायती बैठक स्थगित राखिन्थ्यो । दुवैथरि झगडियाहरू उहाँको अनुपस्थितिविनाको फैसलालाई मान्न तयार हुँदैनथे । कारण थियो उहाँको निष्पक्ष निर्णय । मुमा पनि घरेलु औषधिहरू प्रयोग गर्नमा सिपालु हुनुहुन्थ्यो । गाउँभरिका मान्छले बिरामी भएको बेला उहाँलाई बोलाएर लैजाने गरेका थिए र बिरामी निको पनि हुन्थे ।’

धनविक्रम सिंह नेपाली, हिन्दी, मैथिली, भोजपुरी अनि अंग्रेजी र संस्कृत भाषाको ज्ञान राख्नुहुन्छ । उहाँ नेपालका ३५ वटा जति जिल्ला पुग्नु भएको छ । कतै जागिरकै सिलसिलामा त कतै अन्य विभिन्न व्यावहारिक घरायसी तथा अध्ययनका सिलसिलामा पुग्नु भएको हो । यसैगरी उहाँले एक दर्जन जति देशको भ्रमण पनि गर्नुभएको छ । यसले गर्दा उहाँलाई हाल अवकाशप्राप्त जीवनमा घरमा बसेर लेख्नका लागि ऊर्जा प्राप्त भएको छ । 

उहाँ एकजना इमानदार कर्मचारी हुनुभएकाले जुन-जुन काम जे जति बेला सरकारले लगायो अह्रायो ती–ती कामहरू उहाँले सम्पन्न गर्नुभयो । शाखा-अधिकृत छँदा दुई/दुई पटक नागरिकता वितरण टोली प्रमुखमा सरकारले उहाँलाई खटायो, उहाँले आफ्नो जिम्मेवारी इमानदारीताका साथ पूरा गर्नुभयो । त्यस्तै ग्याचुङकाङ हिमाल आरोहण गर्न आएको जापानी टोलीसँग लाइजन अफिसरमा खटाउँदा पनि बेसक्याम्पमा बसेर सम्पूर्ण निगरानी गरेरमात्र उहाँ फर्किनु भएको थियो । यस्तो जिम्मेवारी पाएका धेरै अधिकृतहरू त्यहाँसम्म जाने गरेका छैनन् । 

त्यस्तै दक्षिण कोरियन टोली गुर्चा हिमाल आरोहण गर्न आएका बेला तीसँग लाइजन अफिसरमा खटाउँदा आफ्नो ड्युटी पूरा गरेर आउनुभयो उहाँ । पर्यटन विभागमै कार्यरत छँदा अन्तर्राष्ट्रिय स्तरमा आयोजित पर्यटन मेलामा नेपालको सहभागिताका लागि पहिलो वर्ष हङकङ र दोस्रो वर्ष स्विट्जरल्यान्ड मेलामा नेपालको स्टल राखी नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्धन गरेर उहाँ फर्किनु भएको थियो । 

उहाँ निजामती कर्मचारी । मैलेउहाँलाई नेपालको निजामती सेवा किन सम्मानित बन्न सकेन ? भनेर प्रश्न गरेँ । उहाँले यस्तो उत्तर दिनुभयो । नेपालमा २०१३ विसंमा निजामती सेवा ऐन बनेर सोही ऐनअन्तर्गत नियमावली तयार भयो र निजामती सेवा गठन भयो । यो सेवा गठन भइसकेपछि प्रजातान्त्रिक पद्धतिअनुसार पदपूर्तिका लागि सरकारभन्दा अलग एउटा स्वतन्त्र निकाय लोक सेवा आयोग गठन गरी योग्यताको विभिन्न कसीमा जाँची नियुक्तिका लागि सिफारिश गर्ने गरिएको छ ।

तर, यसअनुसार लोकसेवा आयोगबाट योग्य व्यक्ति सिफरिश गरिए तापनि सरुवा र काजमा आफ्नो वा मन परेको मान्छेलाई तान्ने प्रवृत्ति छ । यस्ता काखी च्याप्ने क्रियाकलापले कर्मचारीहरू आफ्नो दायित्वप्रति लापरबाह हुने मनोवृत्तिको विकास हुँदै गयो । काममा ढिलासुस्ती गर्नथाले अनि सेवाग्राहीले केही नजराना दिएर आफ्नो काम चाँडै गराउन थाले ।

अर्को कुरा हाल आएर भ्रष्टाचार यत्रतत्र सर्वत्र व्याप्त भइरहेको बेला निजामती सेवामा काममा ढिला गरिदिनाले सुको मोहर असुल्न सजिलो भइरहेको छ । साँच्चै भन्नु पर्दा २०४६ सालपछि भ्रष्टाचार माथिदेखि तलसम्म सेटिङ भएर संस्थागत भइसकेको छ । हाल असारे विकासको लहर यसैको प्रतिफल हो । अझ अर्को महत्वपूर्ण कुरा कर्मचारीको राजनीतिक आस्थाका आधारमा नेतृत्व वर्गले सरुवा, बढुवा र काज तान्न थालेपछि निजामती सेवाको गरिमा ध्वस्तप्राय भइरहेको छ । 

उपरोक्त विकृतिहरू पन्साउन सकेमा र असल गर्नेलाई सही मूल्यांकन गरी पुरस्कार र नराम्रो गर्नेलाई मोलाहिजा नगरी कडाभन्दा कडा सजाय दिनपछि नपर्ने भएमा निजामती सेवा पुनः मर्यादित बन्नेछ । उहाँ यसरी आफ्नो विचार व्यक्त गर्नुहन्छ । कुनै त्यस्तो अविस्मरणीय क्षण भए बताइदिनुस् न भनेर मैले आग्रह गर्दा उहाँ भन्नुहुन्छ ः विसं २०२९ सालमा तत्कालीन राजा श्री ५ वीरेन्द्र र श्री ५ बडामहारानी ऐश्वर्य देशदर्शनका लागि पश्चिमाञ्चलमा सवारी हुँदा पश्चिम जर्मनीको अनुदान सहयोगमा सञ्चालित गण्डकी अञ्चल कृषि विकास योजनाको निरीक्षणमा अकस्मात हेलिकोप्टरबाट सबारी होइबक्सियो । जेठको महिना टन्टलापुर घाम ल्यान्डिङस्थलबाट प्रोजेक्टको सभा हलमा सरकारहरूको सबारी चलाइयो । 

त्यहाँ हामी त किं कर्तव्य विमुढ भयौं यत्तिकैमा जर्मन टिम लिडरले आफ्नो आवासबाट राम्रो खाले बाक्लो सर्वत र बरफका ससाना टुक्राहरू मगाएर राम्रो किस्तीमा राखेर मलाई टक्र्याउन लगाए । मैले पनि स्मार्ट भएर सरकारहरूको अगाडि किस्ती देखाएर उभिराखेको थिएँ तर सरकारहरूबाट केही बेर नलिई बक्सेपछि मेरो हात चाहिँ काम्न थाल्यो । यतिकैमा एउटा सैनिक पोशाकधारी कुन्नि कतातिरबाट आएर एउटा सर्वतको ग्लास टप्प टिपेर खाइदिएपछि मात्र सरकारहरूले ग्लास उठाइबक्सियो । 

बल्ल मैले चाल पाएँ चखुवाले नचाखिकन सरकारहरू कहीँ कतै पनि केही ज्युनार गरिबक्सदो रहेनछ । त्यसबेला म त्यस प्रोजेक्टमा सिनियर एकाउन्टेन्ट पदमा कार्यरत थिएँ । लेखनमा कहिलेबाट कसरी लाग्नुभएको, किन र केका लागि लेख्नुहुन्छ अनि कस्तो खालको लेखनमा रुचि राख्नुहुन्छ त उहाँ ? ‘लेख्ने अभिरुचि ममा नभएको होइन, सरकारी सेवामै छँदा पनि कहिलेकाहीँ समसमयिक विषयहरूमा पनि काजज कलम लिएर लेख्थेँ तर पत्रपत्रिकामा प्रकाशित चाहिँ गर्न जानिएन वा भनौं मौका मिलेन । सरकारी सेवाबाट निवृत भएपछि चाहिँ धेरै समय अकर्मण्य भई बिताइयो । यसको कारण थियो वकालत गर्न पाउने लाइसेन्स लिन पाउने प्रयत्न विफल भएको पीर भने अर्कोतर्फ नर्सिङहोममा ठूलो नोक्सानी व्यहोर्नु परेको तर मनले हरदम धचधच्याइरहन्थ्यो एउटा उपन्यास लेख्न । 

यसरी साहित्य क्षेत्रमा हात हाल्न मन लागे पनि कसरी लेख्ने भनेर असमन्जसमा परिरहेँ । यतिकैमा मेरो एकजना नजिकको मित्र ईश्वर खरेलज्यूले तपाईंमा लेख्ने क्षमता छ केही लेख्नुस् भन्नुभएपछि मैले लेख्ने बानी त छैन के लेखूँ भनेर सोधेँ ? उहाँले पहिला आफ्नो जीवनकै बारेमा लेख्नुस् न त भन्नुभयो । 

मैले आफ्नो जीवनी लेख्न थालेँ । ‘अन्तर्निहित अन्तध्र्वनि’ नामको मेरो जीवनी २०७६ कात्तिक ९ गते पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष श्री खिलराज रेग्मीको करकमलबाट विमोचित भई पाठक माझ आएको छ ।

त्यसपछि मभित्र जुन कुण्ठा थियो कि मैले लेखेपछि कस्तो हुने हो मानिसहरूले छि छि त गर्ने होइनन् भन्ने जुन डर थियो क्रमशः हराउँदै गयो । त्यसैले विस्तारै समसामयिक विषयहरूमा लेख लेख्न थालेँ । सर्वप्रथम कुनै पत्रिकामा छाप्न लायकका लेखहरूमध्ये नेपालको सीमा र अतिक्रमित भूभाग शीर्षक दिएर लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी भारतले आफ्नो राजनीतिक नक्सा प्रकाशित गरेकोमा प्रतिक्रिया स्वरूप लेखिएको लेख हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा मिति २०७७ असार २१ गते प्रकाशित भयो । 

समय पाउनासाथ लेख्ने गरेको छु । अहिलेसम्म अझ धेरै लेखहरू लेखिसक्ने थिएँ, पहिलादेखिको उपन्यास लेख्ने इच्छालाई थाती राख्न सकिन र सुरु गरेँ उपन्यास लेखनको कार्य । लेख्दै जाँदा हाम्रो समाजमा रहेका केही रुढिबुढी, अन्धविश्वासलाई दुरुत्साहन गर्दै बालिका पढाऊँ अभियानमा लागेकी नायिकाको चरित्र प्रधान उपन्यास लेखेर तयार पारेको छु । यसले औपन्यासिक मान्यता पायो भने म मेरो प्रयास सफल भएको ठान्नेछु ।’ 

किन र केका लागि लेख्नुहुन्छ त ? मेरो प्रश्न थियो यो उहाँलाई । ‘लेख्ने क्षमता विकास भएकोमा आफैंले आफूलाई गौरवान्वित महसुस गर्दै लेख्ने काम सर्वप्रथम आत्म-संतुष्टि प्राप्तिकै लागि नै हो त्यसका अतिरिक्त सिर्जना राम्रो अनि पाठक वर्गले मन पराइदिएमा आफ्नो कृति रहिरहनेछ भन्ने अभिलासाले हो । लेखेर केही प्राप्त गरेको छैन भने गुमाएको पनि छैन’ उहाँ भन्नुहुन्छ । 

कुनै राजनीतिक वादको पक्षमा हुनुहुन्छ कि ? भन्दा उहाँ ‘म कुनै पनि राजनीतिक वाद प्रतिवादमा नलागेर नागरिकको आधारभूत हकअधिकारको रक्षा गर्दै गर्भदेखि कब्रसम्म नागरिकको सर्वांगीण हितचिन्तन गरी जीवन सहज तुल्याई आर्थिक उन्नतिको पथमा डोहोर्‍याउने राजनीतिक वादमा आस्था राख्छु’ भन्नुहुन्छ । तपाईंले कुनै मानसम्मान र पुरस्कारहरू पाउनुभएको छ ? भन्दा उहाँले ‘मैले कुनै पनि तक्मा पुरस्कार पाएको छैन’ भनेर उहाँले सोझो जवाफ दिनुभयो । 

वर्तमान राजनीतिका बारेमा उहाँ ‘नेपालको वर्तमान राजनीतिक बेथितिबारे मैले धेरैवटा लेखहरू लेखिसकेर पत्रिकामा प्रकाशित गरिसकेको छु । सर्वप्रथम त ७० वर्षभन्दा पनि अधिक समयको अनवरत संघर्षपश्चात बाहिरी रायसल्लाह समेत लिएर नेपाली जनताले बनाएका संविधानमा हाम्रा धर्म-संस्कृतिमा प्रहार गरी हाम्रा पहिचान मेटाउने दुस्साहस गरिएको छ । त्यस प्रावधानलाई हटाउन र संघीयताको स्वरूप र आकारलाई देशको आर्थिक अवस्थालाई मध्ये नजर राखी त्यसलाई दुई तहमा सीमित गरौं भन्ने मेरो सुझाव छ । 

यही अभिप्रायको लेख ‘संघीयता र धर्मनिरपेक्षता : नेपालको सन्दर्भमा’ शीर्षकको प्रकाशित भइसकेको छ । धेरै भनिरहनुपर्ने आवश्यकता छैन । छोटकरीमा भन्दा अहिलेका सबै राजनीतिक दलहरू प्रतिष्ठालाई कुनै वास्तै नराखी पद र पैसाका लागि जे पनि गर्न तयार छन् । 

साहित्यका बारेमा उहाँ ‘साहित्य भनेको समाजको, कुनै समुदाय विशेषको, कुनै कालखण्डको यथास्थिति दर्शाउने ऐना हो । यसले समाज र समुदायको वस्तुस्थिति, रहनसहन, चालचलन धर्मसंस्कृति यावत कुराहरूको चित्रण गरिराखेको हुन्छ भने साहित्यमा पात्रमार्फत वा घटनामार्फत समाजलाई दिशानिर्देश पनि गरिराखेको हुन्छ । साहित्यको समाजोत्थानमा राष्ट्रोत्थानमा अपूर्व योगदान रहेको कुरा इतिहासले बताइरहेको छ चाहे त्यो सामाजिक, धार्मिक र सांस्कृतिक किन नहोस्’ भन्ने धारणा राख्नुहुन्छ । 

गैरसाहित्यिक लेखहरू लेख्ने भएकाले उहाँलाई साहित्यिक र गैरसाहित्यिक लेखनमा कुन सहज जस्तो लाग्छ ? भनेर सोधियो । उहाँ गैरसाहित्यिक लेख सजिलो हुन्छ भनूँ भने यसमा पनि घटना र घटनाका तिथि मिति सन्दर्भ सामग्री आदि केलाइकन लेख्नुपर्दा गाह्र्रै हुन्छ । साहित्यिक सिर्जना त त्यसै पनि गाह्रै हुन्छ । साहित्यिक रचना मनोमस्तिष्कको उदगार हो र यो उदगार साहित्यको नौवटै रसमा उद्वेलित भएर पोखिन्छ । 

त्यसो भनिरहँदा सबै रसमा उदांग भएर बग्न थाल्ला भनेर हाम्रा पूर्वजहरूले केही सीमा पनि तोकिदिएका थिए जस्तै काव्यम् यसशेकृते, व्यवहार विदेशिवेत रक्षयेत भनेका छन् । यहाँ काव्य भन्नाले सम्पूर्ण साहित्यिक सिर्जनालाई जनाउँदछ । त्यसैले कुनै साहित्यिक रचनाको उद्देश्य यश प्राप्तिका लागि हो भने रीतिथितिदेखि लिएर समग्र देशको, क्षेत्रको र विश्वकै यथार्थ चित्रण गर्दै साहित्यमा सुन्दरताको रक्षा पनि हुन सकोस् भन्ने थियो । शंगार रसमा लेख्दा पनि विभत्स र अमर्यादित नहोस् भन्ने हेक्का राख्नु पर्दथ्यो ।

गैरसाहित्यिक रचना विश्वमा र वरिपरि जुनसुकै परिवेशका सामाजिक, राजनीतिक, आर्थिक तथा अन्य घटनाहरूको समीक्षात्मक टीकाटिप्पणी, भत्र्सना वा रायसुझाव दिएर सुधार ल्याउने प्रयत्नमा जुटेको देखिन्छ । त्यसकारण गैरसाहित्यिक लेखनको महत्व पनि कम आक्न नमिल्ला जस्तो लाग्छ ।’ 

आफ्ना भावी योजनाहरूका बारेमा उहाँ अब चाँहि त्यस्ता योजनाहरू केही छैनन् । करिब ८० वर्ष पुग्न लागिसकेको व्यक्तिको भावी योजना त हल्का व्यायाम, हल्का आहार, आराम अनि बचेको समयमा केही स्वाध्यायन र मनमा उम्रेका भावहरू विचारहरू लेखको आकारमा लिपिबद्ध गर्ने पत्रिकाको सौहार्द्रताले कहिले कहिले प्रकाशित गर्नपाएको छु । यसैमा मगनमस्त छु अरू केही इच्छा र योजना छैन भन्नुहुन्छ । उहाँलाई सफल साहित्यक जीवन र सुस्वास्थ्यको कामना ।

Top