युगका पाइला उभिएर !

✍️ डा. नारायण चालिसे   POSTED ON : मंसिर ११, २०७८ (९:११ AM)

युगका पाइला उभिएर !

सबैका बारेमा लेख्ने कलमले आफ्नाका बारेमा यतिका वर्षसम्म पनि त्यति लेख्न सकेको छैन । आफ्ना बारेमा लेख्नु पनि अरूकै बारेमा लेख्नु अनि अरूका बारेमा भन्दा पनि आफैंलाई प्रकट गरिएको हुँदो रहेछ । आत्मप्रकाशनकै निम्ति लेखिँदो रहेछ । अहङ्कार लेख्ने यो भौतिक कलमले आफूलाई पनि लेख्न सक्दैन भनौँ भने अलि बढी दार्शनिक कुरा होला । खासमा आज मलाई मेरा पिताजीका बारेमा लेख्न मन छ । 

पिताजीलाई लेख्नु भनेको पनि अरूकै बारेमा लेख्नु रहेछ । पिताजी लेख्नको निम्ति पिताजीबाहेकका अरू धेरैको समयलाई लेख्नुपर्दो रहेछ । पिताजी त्यस्तो संस्थाको नाम हो जो धेरै तत्व मिलेर बनेको हुन्छ । एक युग लेखेपछि मात्र पिताजी लेखिने भएकाले म पिताजीका नाममा युग लेख्न बसेको लागिरहेको छु । 

पिताजीको बाल्यकाल औसत नेपाली नागरिकको सरह बितेको हुनुपर्छ तर केही अवस्थाहरू विशेष पनि रहेछन् । पिताजी हजुरआमाको गर्भमा रहँदै हजुरबुवा बित्नु, पाँच÷छ वर्षको हँुदा नब्बे सालको भुइँचालो आउनु, देशमा जनविरोधी राणा शासन चल्नु र त्यसविरुद्धको क्रान्ति हुनुजस्ता केही अप्राकृतिक अवस्थाका बीचबाट बाल्यकाल बिताई आएको पुस्ताको निम्ति जीवनको परिभाषा अलि फरक किसिमको हुने नै भयो तर गाउँघरमा जुनकुनै शासनले पनि त्यति फरक त पार्दैन । पिताजी पढ्न भनी रिडी पुग्नुभएको रहेछ । पाल्पाको रानीमहलमा श्री ३ सरकारको मुकाम परेको समयमा श्री ३ सरकार ऋषेश्वरको दर्शन गर्न रिडी झरेको बेला एक बिहान गुरुकुलमा विद्यार्थीहरूलाई श्री ३ सरकार आफूले पढिरहेको पाठशालामा आउने खबर भएछ र यो पनि खबर भएछ कि सरकारले केही न केही सोधिबक्सिनसक्छ ।

त्यस बेलाको निम्ति सबै विद्यार्थीहरू तयारी अवस्थामा रहने । नभन्दै सरकारबाट अचानक हाम्रै पिताजीलाई केही सोधनी भएछ । पिताजी पनि के कम निर्भीक भएर आफूले जानेको कुरा भन्नुभएछ । श्री ३ सरकार प्रसन्न भएर एउटा दाम (चाँदीको असर्फी) बक्स भएछ । आफू अब्बल भएर पाएको त्यो इनाम निश्चय पनि गुणात्मक थियो । पिताजीले आफ्नो जीवन कालमा यस घटनालाई केही पटक सगर्व हामीलाई सुनाउनुभयो । कुरा गर्वकै हो हामीले श्री ३ वा सोसरहका कोही कसैबाट यो प्रकारको कुनै बक्सिस पाएका छैनौँ । सायद यही कारणले हो कि पिताजी धेरै पछिसम्म सरकारविरोधी बन्नु भएन । 

२०१५ सालमा पनि पिताजी गोर्खा परिषद्को सक्रिय कार्यकर्ता हुनुभएको अरे । हाम्रा मान्य हजुरबा (कान्छा साहुबा) हरिदत्त शर्मा उपाध्याय पन्ध्र सालका गोर्खा परिषद्को तर्फबाट बाग्लुङबाट विजयी सांसद हुनुभएको अरे र हाम्रा पिताजीहरू उहाँका प्रियपात्र । अनि पिताजी पञ्चायतको बेला हामी केटाकेटी छँदा गाउँपञ्चायतका सदस्य पनि हुनुहुन्थ्यो । २०४६ सालमा हामी छोराहरू पञ्चायती व्यवस्थाविरोधी भएर जेलनेल भएको र यतनासमेत पाएको घटनापछि नै पिताजीको मन परिवर्तन भएको हो । त्यसपछि उहाँ कांगे्रस हुनुभयो । 

पिताजीको निश्छल र सरल स्वभावले गर्दा उहाँ कहिल्यै केही प्राप्त गर्ने किसिमको छलछामको काममा लाग्दैलाग्नु भएन । मेरा पिताजी सरल स्वभावका सदाचारी पण्डित हुनुहुन्थ्यो । उहाँले औपचारिक डिग्री लिनेगरी अध्ययन गर्न पाउनुभएन । त्यसको गुनासो उहाँको जीवनभरि नै रहृयो । आफ्ना समकालीन, सहपाठीहरूले औपचारिक डिग्री लिएर सरकारी सेवा गरेको कुरा सम्झेर उहाँले सधैँ थक्थक् मानिरहनुभयो । म पनि काशी पुगेको मान्छे परीक्षा नदिएर त्यसै नफर्किएको भए पढाइको औपचारिक प्रक्रिया सुरु हुन्थ्यो । जागिर खाइन्थ्यो । मेरा सहपाठीले परीक्षा दिएर आए म भने आमाको विशेष आग्रहमा परीक्षा नदिइकन फर्कें । जसको पछुतो जीवनभरि रहृयो भनिरहनुभयो उहाँले । 

अनौपचारिक गुरुकुलमा स्वाध्ययन गरेर पनि विशिष्टि विद्वान् बन्नुभयो । जीवनका धेरै वर्ष घरमै र केही गुरुकुलमा बसेर अध्यापन गराइरहनुभयो । समयानुकूल आफूलाई अद्यावधिक गराइरहन त पाउनुभएन तर लघुकौमुदी, सिद्धान्त कौमुदी, श्रीमद्भागवत, रुद्री, चण्डी, भगवद्गीता आदिको अध्यापन गर्नुभयो । सप्ताह, पुराण वाचन गर्नुभयो । कर्मकाण्ड गराउनुभयो । सारांशमा उहाँले पूर्वीय आध्यात्मिक जीवनदर्शनका परिधिमा रहेर नैष्ठिक जीवन व्यतीत गर्नुभयो । 

आपूmले औपचारिक अध्ययन गर्न नपाउनुभएका उहाँले हामीलाई औपचारिक अध्ययनको निम्ति पे्ररित गर्नुभयो । फलस्वरूप हाम्रो परिवार गाउँको शिक्षित परिवार बन्न पुग्यो । धेरै देशदेशावर घुम्नेअवसर पाउनुभएन । धेरै कुराहरू बुझ्ने मौका पनि त्यति पाउनुभएन । घरपरिवारको रोटीपिठोका जोहोमै उहाँको जिन्दगी बित्यो तर पश्चिममा महाकालीसम्म र पूर्वमा जनकपुरसम्म उहाँ पुग्नुभयो । विद्वान् व्यक्ति र साधु सन्त भनेपछि हुरुक्कै हुनुभयो । भिक्षा माग्दै घरघरमा आउने गेरु वस्त्रधारी सबैलाई श्रद्धा र सम्मान गर्नुभयो । सबैलाई सज्जन, ज्ञानी, ध्यानी र सिद्ध ठान्नुभयो । धर्मसिन्धु, निर्णयसिन्धु, आन्हिक, धर्मशास्त्रका पुराणका पुस्तकहरूको अध्ययन गरेर धर्माचार सम्बन्धमा आधिकारिक व्यक्ति बन्नुभयो । 

पिताजीका केही आदर्श व्यक्तिहरू र केही परिवारहरू थिए जसको अनुसरण गर्नाले असल भइन्छ भन्ने उहाँको मान्यता थियो । गाउँमा केही व्यक्तिहरूलाई उहाँले आफ्ना आदर्श मान्नुहुन्थ्यो र हामीलाई पनि सकभर उहाँहरूको सङ्गतमा सम्पर्कमा जान पे्ररित गर्नुहुन्थ्यो । पढेलेखेका मानिसको नजिक गएर सङ्कोच नामानेर बस्नुपर्छ, उनीहरूका कुरा सुन्नुपर्छ । आफूले पनि जिज्ञासा राख्नुपर्छ । केही कुरा सिकिन्छ । केही कुरा जानिन्छ भनेर कर गरिरहनुहुन्थ्यो । पिताजीकै प्रेरणा र करले हामी सानासाना भुराहरू पनि कहिले साहुबाहरूका घरतिर जान्थ्यौँ । कहिले पिताजीले लिएर जानुहुन्थ्यो र हामीलाई चिनाउनु हुन्थ्यो । ढोग गर्न लागाउनु हुन्थ्यो । हामी भाइहरू पनि पिताजीका आज्ञाअनुरूपका काम गर्नेगथ्र्यौं । 

बाहिर पढ्न वा जागिर खान गएका गाउँका पढेलेखेका व्यक्तिहरू गाउँ गएका बखत कसैगरी पिताजीले हाम्रो भेटघाट र चिनजान गराउनु हुन्थ्यो । साहुघर पछि गाउँमा हाम्रा पिताजीलाई मान्ने सम्मान गर्ने व्यक्तिहरू धेरै थिए । हामीलाई पनि यो गाउँका पहिला ठूला मान्छे साहुबाहरू हुन् । त्यसपछिका हाम्रा पिताजी भन्ने मनोवैज्ञानिक प्रभाव परेको थियो । पढाइलेखाइमा त साहुघरका बाहरूले पनि कति कुरामा हाम्रा पिताजीलाई मान्नुहुन्थ्यो । साथै आदर गर्ने गर्नुहुन्थ्यो । पिताजीले पारिदिएको प्रभावले गर्दा साहुबाहरूको घर हाम्रो पनि आदर्श घर थियो । उहाँहरूजस्तै बन्ने रहर भरिदिनु भएको थियो पिताजीले मनमा । साहुघर भनेपछि बाल्यकालमा अमीट छाप परेको परिवार हो हाम्रा निम्ति ।

पिताजीलाई लेख्नको निम्ति मेरी आँटिली हजुरआमालाई लेख्नै पर्ने हुन्छ । जसले भर्भराउँदो यौवनमा आफ्ना पतिलाई गुमाएर पनि स्वाभिमानपूर्वक हाम्रा पिताजीहरू (जेठाबा, माहिला बा र मेरा पिताजी)लाई हुर्काउनुभयो, बढाउनुभयो र इज्जतपूर्वक बाँच्ने वातावरण निर्माण गरिदिनुभयो । त्यस समयमा दुईचार अक्षर पढ्न काशीसम्म छोरालाई पठाउनुभयो । चिनापात्रो हेर्नसक्ने, तिथि श्राद्ध गर्न र गराउन सक्ने, रुद्रीचण्डी पाठ गर्नसक्ने र चिठी तमसुक लेख्न सक्ने र अझै धेरै भए पुराण वाचन गर्नसक्ने हुनु त्यतिखेरको ठूलो पढाइ मानिन्थ्यो । 

पिताजीलाई चक्रपाणि गुरु, खगराज गुरु, तीलकराम गुरुहरूकहाँसम्म पढ्न पठाएर आफूले अपेक्षा गरेनुरूपको शिक्षा छोराले आर्जन ग¥यो भन्ने लागेपछि अब भयो पुग्यो । यसभन्दा धेरै पढ्नु पर्दैन । पाँच महिनाको गर्भे टुहुरालाई जन्माएर, हुर्काएर यत्तिको गराउन सकेँ । जोरीपारीले अब हेप्न, ठग्न सक्दैनन् । 

अब मेरो छोराले चौका चढेर भागवत भन्न सक्छ । भन्ने लागेपछि काशी पढ्न गएकालाई समेत तारन्तार समाचार पठाएर झिकाउनुयो । आफ्नै आँखाका अगाडि राखेर जीवन व्यतीत गर्नुभयो । ती आँटिली, साहसी हजुरआमा जसले मेरा पिताजीलाई पढ्नुपर्छ भन्ने चेतना भरिदिनुभयो । ती हजुरआमाकै चेतनाका कारणले गर्दा नै हामीले पनि आजको समयलाई देख्न पाएका हौँ । सर्वप्रथम ती हुन् मेरा पिताजी जसको प्रतिछवि हो मेरा पिताजीको रूप । 

तत्कालीन समयमा मुखिया, साहुमहाजनका नजरबाट जोगिएर, तिनीहरूका प्रपञ्चबाट आफ्ना सन्तान र सम्पत्तिको संरक्षण गरेर समयानुकूल शिक्षादीक्षासमेत दिलाएर जीवनको बाटो तय गरिदिएकैले मेरा पिताजी बन्न सम्भव भएको हो । पिताजीले हजुरआमाको शेषपछि यदाकदा भन्ने गर्नुहुन्थ्यो म जिउँदो छउञ्जेल कतै नजा त्यसपछि जहाँ जान मन छ त्यही जानू भनेर आमाले आँखाभरि आँसु पारेपछि आमाका आँसुको नदी तरेर अघि बढ्न सकिन । 

मैले पढाएका धेरै शिष्यहरूले निःशुल्क जमिनको व्यवस्था गरिदिन्छौँ गुरु यतै आउनुहोस् भनेर धेरै ठाउँबाट खबर पठाए । कैलाली, कञ्चनपुर, बर्दिया, भैरहवा, चितवनजस्ता ठाउँमा नगण्य रुपैयाँमा जग्गाजमिन पाउँदा जान सकिन तर आमाको आशीर्वादले आजसम्म सबै राम्रै भएको छ । यत्रो ठूलो परिवार, पालेर सबै छोराछोरीको बिहादान गर्ने अलिअलि आँखा खोलिदिने काम गरेको छु । अबको बाटो आफ्नै खुबीले बनाउने हो । हुन पनि हजुरआमाको आशीष र पितामाताजीका त्याग र बलिदानले हामी सबै दिदीबहिनी दाजुभाइको आजसम्मको अवस्था सन्तोषजनक नै रहेको छ । 

पिताजीको विवाह तत्कालीन धुल्लु बाँस्कोटका मुख्तियार जसलाई हाँडीकोटका बिना टीकाका राजा नै भनिन्थ्यो उहाँकी काइँली छोरी उमादेवीसँग भएको हो । हाम्रो घरतिरको भन्दा मावलीतिरको आर्थिक अवस्था बलियो थियो । पढेलेखेका भएकैले मेरा पिताजीले मेरी आमालाई बिहे गर्न सम्भव भएको हो अरे । अन्यथा हाम्रो घर, मामा घरको स्तरमा बिहे गर्न जाने हैसियतको होइन अरे । त्यसको केही झलक हामीले पनि पायौँ । 

ती मेरी आमा जसले लगालग चारवटी छोरी जन्माउनुभयो । परिवार र आफन्त सबैले पिताजीलाई छोराको निम्ति अर्को बिहे गर्न कर गरे । यहाँसम्म कि मेरा मावलीतर्फका हजुरबाहरू र आमासमेतले पिताजीलाई अर्को बिहेको निम्ति कर गर्दा मेरो भाग्यमा छोरा रहेछन् भने यसैबाट पनि जमिन्छन् होइन भने दशवटा बिहे गरे पनि हुँदैन म अर्को बिहे गर्दिनँ भनेर अडान लिएर बसेका मेरा पिताजी । त्यसपछिमात्र हामी चार भाइ जन्मिएका हौँ । ती हुन् मेरा पिताजी । 

एकातिर त्यो सम्भ्रान्त परिवारमा बिहे गर्न गएका पिताजी पढेलेखेका पुराण भन्न, कर्मकाण्ड गर्नसक्ने भएकाले ससुरालीमा पनि अरू ज्वाइँहरूभन्दा बढी सम्मानित हुनुभयो अरे । हामीले पनि त्यसको प्रभावको केही झलक पायौँ । पिताजीमा पुराण वाचक, अध्यापक, गुरु अनि राम्रो कर्मकाण्डी भएको नजानिँदो रवाफ पनि थियो । यदाकदा त्यो कुरा प्रकट हुन्थ्यो ‘मैले सङ्कल्प भन्न थाले पनि धेरै मानिस मन्त्रमुग्ध भएर मलाई सुन्ने गर्थे । जस्तोतस्तो पण्डित मेरा अगाडि उभिन सक्दैनथ्यो ।’

म सानै आठ वर्षको छँदा मेरो व्रतबन्ध भयो । व्रतबन्ध भएकै भोलिपल्टदेखि पिताजीले बिहान नुहाएर एक अध्याय श्रीमद्भागवत पाठ गरेर हजुरआमालाई सुनाएरमात्र भात खान पाउने नियम लगाइदिनुभयो । मैले आँखा छल्नै नपाउने भएँ । हजुरआमाले मलाई पक्रिहाल्नुहुन्थ्यो । पिँढीमा एकातिर मैले भागवत पढिरहेको हुन्थेँ अर्कोतिरको पिताजीले नित्यकर्म गरिरहनुभएको हुन्थ्यो । मैले पढ्दा ठाउँठाउँमा अशुद्ध पढ्दोरहेछु पल्लो पिँढीबाट पिताजीले किताब नहेरी सच्याइदिनुहुन्थ्यो । अनि मलाई लाग्थ्यो मेरा पिताजीलाई त सबै भागवत नै कण्ठस्थ रहेछ । 

मेरा पिताजी त कति ठूला कति ठूला ¤ खासमा व्याकरणको राम्रो ज्ञान भएका कारणले पिताजी शब्दको अशुद्धि सजिलै पत्ता लगाउन सक्नुहुँदो रहेछ । त्यस्तै समयका उपहार हुन् मेरा पिता । हजुरबा र हजुरआमाका कान्छा त्यो पनि गर्भे सन्तानका रूपमा १९८५ सालमा जन्मिनुभएका पिताजीले देहलीला त्याग्नुभएको सोह्र वर्ष भइसकेको छ । ती प्रतिभावान् विद्वान् गुरुहरू जसले मेरा पिताजीलाई यसका लागि योग्य बनाउनुभयो उहाँहरूप्रति सादर श्रद्धा प्रकट गर्दछु । त्यो स्थान जहाँ खेलेर कुदेर गाली र ताली खाएर मेरा पिताजी ठूलो हुनुभयो त्यो धर्तीलाई नमन गर्दछु । अरू पनि धेरै आधारहरू छन् मेरा पिताजी बन्नुका ती क्रमशः लेखिँदै जानेछन् । 

Top