पुस्तक : दाहालको पद्यकविता सङ्ग्रह ‘आफैँ भए सुन्दर’

✍️ सुशीला घिमिरे   POSTED ON : मंसिर ११, २०७८ (९:१५ AM)

पुस्तक : दाहालको पद्यकविता सङ्ग्रह ‘आफैँ भए सुन्दर’

नेपाली साहित्यमा त्यसमा पनि कवितामा र अझै त्यसमा पनि पद्यकविता लेखनमा कलानिधि दाहाल चिनाइरहनुपर्ने नाम होइन । उहाँकै पछिल्लो पटक प्रकाशित भएको छ पद्य कविता सङ्ग्रह ‘आफैँ भए सुन्दर’ शीर्षकको पुस्तक । पुस्तक डिएमआई साइजमा अत्यन्त आकर्षक आवरणमा रहेको छ । नेपाली साहित्य विश्व सञ्जाल प्रकाशक रहेको यस पुस्तकको यो पहिलो संस्करण हो, यो हालैमात्र अर्थात् २०७८ सालमा प्रकाशित भएको छ । सर्वाधिकार कवि स्वयम्मै रहेको पुस्तकको मुद्रण सहारा प्रिन्ट कनेक्सनले गरेको छ भने लेआउट सुमन कार्कीको रहेको छ । 

आवरणमा माथि पुस्तकको शीर्षक रहेको छ र त्यसमुनि कवि कलानिधि दाहालको आधा मुखाकृति देखिएको छ बाँकी आधा कुनै जालीजस्तो कुराले छोपिएको चित्र राखिएको छ । रातो, पहेंलो र हल्का सेतोजस्तो रङको आवरणमा तल कविको नाम छ । कविको मुखाकृतिसँगै खुला पुस्तकमाथि चश्मा देखाइएको छ । आवरणको पछाडिका पानामा कवि दाहालको फोटोसहित उहाँको सामान्य चिनारी र उहाँका प्रकाशित पुस्तकहरूको सूची दिइएको छ । जसअनुसार उहाँको जन्म २०१६ साल फागुन ८ गते भएको र उहाँको शैक्षिक योग्यता एमए, बिएड रहेको भन्ने थाहा हुन्छ । 

उहाँका यसपूर्व सातवटा पुस्तकहरू प्रकाशन भएको देखिन्छ । जसमा गौरवमय नेपाल (कविता सङ्ग्रह, २०२८), केही कवि ः केही कविता (कविता सङ्ग्रह, सहलेखन, २०४३) सीमावासु ( खण्डकाव्य, २०६५), विभाजित विश्व (महाकाव्य, २०७१), अरस्तुदेखि बङ्करसम्म ( उपन्यास, २०७१), कलानिधिका चुनिएका कविता (गद्य कविता सङ्ग्रह, २०७३) र शिखरयात्रा (निबन्ध सङ्ग्रह, २०७६) । यस पृष्ठमा उहाँले पाएका सम्मानहरू ‘अनगिन्ती’ भन्नुभएको छ । पुस्तकमा भूमिका खण्डसहित १७० पृष्ठ छन् । पहेंलो हल्का रङको कागजमा स्तरीय छपाइ भएको पुस्तकको मूल्य २५० रुपैयाँ छ । पुस्तकमा अशुद्धिहरू थोरै भेटिन्छन् ।

पुस्तकको भूमिका खण्डमा डा.गोविन्दप्रसाद भट्टराईको ‘एक शक्तिशाली कविलाई जब सिर्जनाको कम्प छुट्न थाल्छ’, डा.घनश्याम न्यापाने ‘परिश्रमी’को ‘एउटै छन्दका कविताहरूको सागर’, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य डा.देवी नेपालको ‘शार्दुलसौन्दर्यको उच्चतम प्रयोग आफैँ भए सुन्दर’, नेपाली साहित्यकार विश्व सञ्जालका संयोजक तथा परिकल्पनाकार स्पन्द्यन विनोदको प्रकाशकीय र अन्त्यमा कवि दाहालको ‘मेरो भनाइ’ रहेका छन् । त्यसपछि विषयसूची छ । यस सङ्ग्रहमा ९१ वटा कविता समेटिएका छन् र यी सबै कविता एउटै छन्दमा छन् शार्दुलविक्रिडित छन्दमा । 

दाहालका यस सङ्ग्रहमा संगृहित कविताहरूमध्ये तीन शब्दका शीर्षक मा बढी कविताहरू छन् । तीन शब्दका ३५ वटा, चार शब्दका २८ वटा, एक शब्दका १३ वटा, दुई शब्दका आठवटा, पाँच शब्दका ६ वटा र छ शब्दका एकवटा कविता यस सङ्ग्रहमा समेटिएका छन् । यस सङ्ग्रहका सबै ९१ वटै कविता शार्दुलविक्रिडित छन्दमा रहेका हुनाले कवि दाहालको सर्वभन्दा प्रिय छन्द नै यही रहेछ भन्ने थाहा हुन्छ । नत्र एसटा सिंगो कृति नै यस छन्दामा तयार हुने सम्भावना हुँदैनथ्यो । 

यस पुस्तकको प्रकाशक नेपाली साहित्यकार विश्वसञ्जाल भनिएको छ तर पछाडिको पातोमा लोगोसहित अ‍ेरिएन्टल पब्लिकेसनको नाम उल्लेख भएको हुनाले एक प्रकारको द्विविधा भने पैदा भएको छ । यसैगरी पुस्तकको आवरणमा पुस्तकको शीर्षकमा ‘आफैं’ लेखिएको छ तर भित्री पानामा ‘आफैँ’ लेखिएको छ । यो चाहिँ शायद गल्ती भएको हुनसक्छ । 

यस सङ्ग्रहमा रहेका किविताहरू चार श्लोकदेखि नौ लोकसम्मका छन् । चार श्लोकका दुईवटा, पाँच श्लोकका नौवटा, ६ श्लोकका १९ वटा, सात श्लोकका ३१ वटा, आठ श्लोकका २२ वटा र नौ श्लोकका आठवटा कविताहरू सङ्ग्रहमा छन् । पुस्तकको १४औं क्रममा रहेको ‘आफैँ भए सुन्दर’ कविता यस सङ्ग्रहको शीर्ष कविता हो । दाहालका यस सङ्ग्रहका प्रायः कविताहरू कुनै न कुनै कविकवियित्रीद्वारा वाचन भइसकेका कविता हुन् । 

कविका यस सङ्ग्रहका कविताहरूमा सामाजिक विकृतिमाथि व्यङ्ग्य, राजनीतिप्रति कटाक्ष, प्रकृति चित्रण, शृंगारिकता, विकृति विसंगतिप्रति घोचपेच, बौद्धिकता, समाजसुधारको चेतना जस्ता विविध कुराहरू यहाँका कवितामा छन् । कवि दाहालको उचाइ यसैमाथि चुलिएकै छ । त्यसमाथि यस कृतिले अझै माथि पु¥याएको छ यसका लागि कवि दाहाललाई हार्दिक बधाई छ । साथै यस स्तरका अन्य कृतिका लागि कवि दाहालाई शुभकामना छ । 

Top