वसन्त चौधरीका ‘अनेक पल और मैं’ र ‘तिमीविनाको म’ लोकार्पण

हिमालय टाइम्स   POSTED ON : पुष २१, २०७८ (८:०२ AM)

वसन्त चौधरीका ‘अनेक पल और मैं’ र ‘तिमीविनाको म’ लोकार्पण

काठमाडौं । साहित्यकार तथा व्यवसायी वसन्त चौधरीका दुई कृति ‘अनेक पल और मैं’ काव्य संग्रह र ‘तिमीविनाको म’ कविता संग्रह सार्वजनिक भएका छन् । मंगलबार काठमाडौंको कमलादीमा आयोजित एक समारोहमा चौधरीका दुई काव्य संग्रह लोकार्पण गरिएको हो ।

स्रष्टा चौधरीका साथै कवि तुलसी दिवश, प्रा.भुवन ढुंगाना, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र प्रकाशक मेघा चौधरीले संयुक्त रूपमा दुवै कृतिको लोकार्पण गर्नुभएको थियो । 

भारतीय प्रकाशन गृह वाणी प्रकाशनद्वारा प्रकाशित ‘अनेक पल और मैं’लाई कलिंग लिटरेचर फेस्टिभल-२०२१ बाट सर्वश्रेष्ठ काव्य संग्र्रहको सम्मान प्राप्त भएको थियो । मंगलबारको कार्यक्रममा उक्त सम्मानको ट्रफी तथा प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो ।

काव्य संग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सिर्जनशीलता नरोकिने बताउनुभयो । उहाँले आफ्नो कविता संग्रह ‘तिमीविनाको म’मा समाजमा भएका घटनाहरूको बारेमा चित्रण गरिएको प्रष्ट्याउनुभयो । ‘मन नयाँ कुराहरू सोचेर कहिल्यै थाक्दैन । न त विश्राम नै लिन्छ । हामी वरिपरि जे परिघटना भइरहेका हुन्छन्, यिनै परिघटनालाई शब्दमा बोलेर अभिव्यक्त गरिरहेका हुन्छौं । काव्यकृति ‘तिमीविनाको म’मा केही गुमाएका र केही प्राप्त गरेका घटनाहरू रूपमा राखेको छु’, उहाँले सुनाउनुभयो । 

कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले नेपाली कविता हिन्दी भाषासम्म स्थापित हुने बाटोमा रहेकोमा खुशी व्यक्त गर्नुभयो । ‘नेपाली भाषाका कविता हिन्दीका पाठकसम्म पुग्ने बाटो बलियो बन्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘वसन्त चौधरीले बहुल भाषामा साहित्य सिर्जना गरेर भाषान्तरको मार्ग खुला गर्नुभएको छ । नेपालको नाम उँचो राख्नुभएको छ ।’

यस्तै वरिष्ठ कवि तुलसी दिवसले सन्त चौधरी सहृदयी कवि भएको बताउनुभयो । दिवसले भन्नुभयो, ‘कविताको विविधता र शैलीगत भिन्नता हुँदाहुँदै पनि कविहरूबीच समानता हुन्छ । चौधरी मूलतः हृदयका कवि भएकाले स्थापित कविहरूका गुणसँग उहाँको निकटता देखिन्छ ।’

त्यसैगरी मुम्बई विश्वविद्यालयका हिन्दी विभाग अध्यक्ष प्रा.डा.करुणाशंकर उपाध्यायले वसन्त कविता र गीत मानव-मन र प्रकृतिको गहिरो आत्मबोधबाट सिर्जित भएको बताउनुभयो । 

चौधरीको ‘तिमीविनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कविता संग्रह संग्रहित छन् भने हिन्दी भाषामा रहेको काव्य संग्रह ‘अनेक पल और मैं’मा आफ्ना जीवनका चिन्तनहरूलाई समेटनु भएको छ ।

‘तिमीविनाको म’की प्रकाशक मेघा चौधरीले नेपाली साहित्य, भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरणका लागि उक्त कृति प्रकाशन गरेको बताउनुभयो । ‘व्यवसायमा भन्दा मेरो बुबा वसन्त चौधरी साहित्य सिर्जनामा रमाएको पाउँछु’, उहाँले भन्नुभयो ।

प्रा.भुवन ढुंगानाले ‘तिमीविनाको म’ सरल भाषामा गहन अर्थ बोकेको कृति भएको बताउनुभयो । यी दुई वसन्त चौधरीका नवौं र दशौं कृति हुन् । चौधरीले समान रूपमा नेपाली, हिन्दी र अंग्र्रेजी भाषामा कलम चलाउँदै आउनुभएको छ । नेपाली साहित्यमा पु¥याएको योगदानबापत उहाँले ‘नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कार’, ‘नइ–ईश्वरवल्लभ साहित्य पुरस्कार’लगायत थुप्रै सम्मान प्राप्त गर्नुभएको छ ।

Top