अमेरिकामा सुन्दरी फिलिपसँग

✍️ खेमनाथ दाहाल   POSTED ON : पुष २४, २०७८ (८:०६ AM)

अमेरिकामा सुन्दरी फिलिपसँग

गत अंकबाट क्रमशः

समय व्यतीतको क्रममा फिलिसले आफ्नो पेशाकै परिधिभित्र बसेर उसका अनुभव सुनाउँदै भनी मानिसले कस्तो अमानवीय व्यवहारसम्म गर्नसक्छ भनेर देखे भोगे पनि म खुलमखुला भन्न सक्तिन तर यतिमात्र भन्छु कि पशुभन्दा पनि निम्नस्तरको व्यवहारमा उत्रन सक्छ मानिस भनेर मैले धेरै पटक कटु अनुभव गरेकी छु । आज पनि त्यस्तै भयो मेरोमा आएको मानिसको हिंस्रक व्यवहारले आजित भएर पुलिस बोलाउने मनस्थितिसम्ममा पुगेकी थिएँ म तर उसलाई लिएर आउने मानिस सज्जन र पूर्वपरिचित भएकाले उसको मुख हेरेर म बियर किन्ने बाहनामा यता लागेर समय व्यतीत गर्दा राम्रो हुन्छ भन्ने सोचले बाहिरिए घरबाट । 

फिलिसले यसो भन्दै गर्दा कस्तो पीडा भनेर एक छिन उसलाई उल्याऊँ कि जस्तो सोच आए पनि अन्ततः आफ्नै मर्यादा स्खलित हुने डरले सोद्ने हिम्मत गरिन । उसले यति बिध्न मनका बह पोखे पनि ए हो होइन केही भनिन बरु म चुप लागेँ । मैले कुनै प्रतिक्रिया नजनाउँदा उसलाई अपमानित भएको महसुस भयो कि ? के भयो । केहीबेर पछि उसले आँखीभुई खुम्च्याउँदै तँ कति निष्ठुर छस् हो कि ? भनी । उसको यो भनाइ सुनेर म छक्क परेँ । केही बेरअघि पलाएको खुशी मेरा लागि एकाएक फिका भयो । 

मैले निष्ठुर भएका कारण खोज्दै किन ? म कसरी निष्ठुरी भएँ ? कतै तैँले पनि गाँजाको दुईचार सर्का त लिएको थिएन ? भन्दै जिस्क्याएको बाहनामा मेरो असन्तुष्टि प्रकट गरेँ । मैले मेरिजोनाको आक्षेप लाएको सुनेर ऊ एक छिन अल्मलिएको झैँ गरी र भनी तँ जहिले पनि मप्रति नकारात्मक धारणा राख्छस् हो कि ? गतहप्ता पनि तीन बजे र दुई मिनटमात्र हुँदा बियर नदिनुको कारण के थियो ? खालि मेरो साथीका अगाडि मेरो बेइज्जत मेरो अनादर नै त हो नि ! 

त्यसको अलावा अन्य कारण त खोइ म देख्तिन ? यो कुरा मलाई पहिले नै सोध्न मन थियो तर सधैं म आएको बेला एक न एक ग्राहक भएकाले तँलाई किन व्यवधान गरौं भनेर पर्खिए मैले । के तँ तेरो मन परेको अन्य ग्राहकलाई पनि त्यसरी नै फर्काउँछस् ? आँ गर्दा अलंकार बुझिन्छ भनेझँै मैले फिलिसले यसो भन्नासाथ उसले विगत देखिका गुनासाका पोका खोल्न थाली भन्ने कुराको प्रष्ट आभाष पाएँ र विवाद नबढाने विचारले भने के गर्ने म आउँदा कानुन सँगसँगै मेरो देशबाट लिएर आएको होइन तेरो देश र तैँले बनाएको कानुन हो मैले त केवल तिमीहरूको अर्थात् यो देशको आदेशलाई मानेको मात्र हो । 

यसमा मान अपमान आदर अनादरको कुरा कहाँबाट आयो र ? मैले भन्न नचाहँदा नचाहँदै यति भनेर टार्न खोजेँ । मेरो टर्रो जवाफ सुनेर उसले यसै चित्त बुझाइन बरु निधार केही खुम्च्याउँदै खिन्न भएझैँ गरी र आत्मीय लवजमा भनी कानुन मिच भनेर हामीले कहाँ कहिले भनेको छ तँलाई ! तँ कति निष्ठुर र निरस मानिस रहेछस् भन्ने यथार्थ अस्तिको तेरो दुव्र्यवहारले छर्लंग बनाएको महसुस गरेका छौं हामीले ? त्यतिमात्र भनेको हो । हुन त हामीप्रति तेरो दृष्टिकोण ठीक छैन र तैँले हामीलाई उपेक्षापूर्ण नजरले हेर्छस् भनेर हामीबीच चर्चा परिचर्चा हुँदा किन हो ! सदैव मैले तेरो पक्ष लिएँ र हामी यस्तो व्यवसाय गर्छौं र आफैँ ससंकित हुन्छौं भनेर साथीहरूलाई सम्झाएँ । 

तर, अस्ति तैँले जब घडी देखाउँदै दुई मिनटको अडान लिइस् मैले तँप्रति राखेको सद्भाव अर्थहीन लाग्यो मलाई । त्यस दिनको दुव्र्यवहारपछि मेरी साथीले कसरी यस्तो निरस मानिसले केही मिनट ढिलो गए पनि हामीलाई बियर दिन्छ भन्ने भरोसामा हामीलाई समेत यहाँसम्म लिएर आएको भनेर मलाई गाली र तेरो आलोचनाको वर्षा गर्दा गलित भएर मैले सोचँे सायद म गलत रहेछु ? जब मेरो आँखा खुले मैले तेरो र तैँले आजसम्म गरेका व्यवहारको मनन र मूल्यांकन गरेँ र निचोड निकालेँ हो ! तँ त साच्चै मेरीहरूले भने जस्तै निष्ठुर र निरस मानिस रहेछस् ! यति भनेर फिलिस सायद मेरो प्रतिवादको अपेक्षमा केही क्षण मौन भई तर म केही बोलिन । 

सायद मेरो मौनताले उसलाई झन् ऊर्जा दियो कि ? ऊ फेरि भन्न थाली अस्ति कमसेकम मेरो साथीको अगाडि तैँले एक बोटल बियर दिएको भए के तुरुन्त तँलाई पक्डन पुलिस आउने थियो कि ? तेरो पुलिसमा उजुरी गर्न चर्चबाट पादरी आउने थियो ? यो तीन बजेपछि बियर नबेच्ने भन्ने त संविधानमा कतै लेखेको छैन । यो केवल बिहान चर्चमा प्रार्थना गर्ने समयमा मानिस नसामा नभुलून्, चर्च जाने कर्ममा अवरोध नहोस् र मदिरा सेवन गरेर चर्चमा उपस्थित भएर कसैबाट कतै दुव्र्यवहार नहोस् भन्ने आशयमा चर्चहरूको दवाबमा बनाइएको नियममात्र हो ।

फिलिसले यसो भनेपछि मैले भने यो विषयमा म विवाद गर्न चाहन्न किनभने मलाई मेरो मालिकले यस राज्यमा यो दण्डनीय अपराध हो भनेको छ । मलाई त यहाँ काम गर्न आएको दिनदेखि केवल यति थाहा छ आइतबार बिहान तीन बजेदेखि दिउँसो बाह्र बजेसम्म यो राज्यमा बियर रक्सी आदि मादक पदार्थ बेच्न प्रतिबन्ध गरिएको छ । यदि बेच्दा कसैलाई पुलिस केस लाग्यो भने त्यसको जिम्मेवार स्वयं विक्रेता हुनु पर्नेछ । त्यसैले म यो समयमा तिमीहरूलाई सामान दिएर जोखिम किन ? र कसरी मोल्न सक्छु ! 

मैले यसो भनी सक्ता उसले अलिक झ्वाक्किएर भनी के त्यसदिन एक दुई बोटल बियर दिएको भए त एरेष्ट हुन्थिस् ? कि तँ सानु मानिस हुन्थिस् ? मानिस भएपछि व्यावहारिक पनि हुनुपर्छ । मैले नरम पारामा भने के हो व्यावहारिक भनेको ? के यो सलाइन पानी हो र ? यदि सलाइन पानी भएर यहाँ तिमीहरू छट्पटाएको भए र मैले देशको नियम र कानुन भन्दै उद्धारका लागि नदिएको भए मलाई पनि आत्मग्लानी हुने थियो । मैल अलिक टेडिएर यसो भने पनि उसले आफ्नो भनाइ छाडिन र भनी मैले कहाँदेखि यहाँ राम्रा सहयोगी मानिसहरू छन् र मैले राम्ररी चिनेको छु भनेर लिएर आएको त तैँले उल्टै अपमान नै गरिस् त्यसबेला । 

त्यसदिन तैँले बियर दिएको भए मेरा साथीहरूको बीचमा कमसे कम अपमानबाट बच्ने थिएँ र कति आभार हुने थिएँ तँप्रति । पहिले यहाँ काम गर्ने अरूहरूले म आधाघण्टा ढिलो आउँदासम्म पनि कहिल्यै त्यसरी रित्तोहात फर्काएका थिएनन् । बरु पुलिस आउँछ भनेर छिटोछिटो दिएर स्टोरको कम्पाउण्डबाट चाँडै निस्किन सहयोग गर्दथे । अहिले म सोच्छु वास्तवमा तेरो त्यो पहिलाको टर्किस म्यानेजर र तँ हामीप्रति कहिल्यै सकारात्मक भएनौँ । हुनसक्छ हाम्रो बाँच्ने तरिकालाई तिमीहरू संकुचित दृष्टिकोणले हेर्ने गर्दछौ । 

उसले यसो भनिरहँदा मैले मनमनै भने हामी तँप्रति सकारात्मक हुनु र नहुनुको के प्रयोजन छ र ? किनकि हामी तेरो मार्गमा सहयात्री हुन सक्तैनौं तर अनुहारमा त्यस्तो भाव देखाइन र भने त्यस्तो केही होइन त आफैँ सोच न ! तिमीहरू आउँदा तीन बजिसकेको थियो । मैले चिन्दै नचिनेको मानिस साथमा लिएर तँ बियर मागिरहेकी थिइस् त्यो अवस्थामा मैले कसरी दिने ? कानुन त कानुन नै हो जसको हामीले जहिले पनि पालन गर्नै पर्छ । मेरा ठाउँमा तँ उभिएर सोच त ? के तेरा साथीहरूलाई पुलिस, चर्च वा कुनै वेलफियर अर्गनाइजेसनसँग सम्बन्धित मान्छे ठानेर मैले मेरो बचाउ गर्नु अन्यथा हुन्छ र ? तँ एक्लै भएको भए सायद दिने थिएँ कि ? 

मैले यसो भन्ने बित्तिकै उसले भनी भयो धेरै कुरा नबना मेरा साथीको बहनामा उम्केर आदर्श बन्ने प्रयाश नगर । तेरो हाउभाउले नै प्रष्ट देखाउँदै थियो त्यस दिन तेरो अभिप्राय के थियो तेरा दृष्टि कहाँ थियो र तेरा आँखाले के भनिरहेका थिए ? भनेर । खासमा त्यसदिन मेरा नयाँ साथीहरूलाई आकर्षित गर्न शान देखाउने, पुरुषत्व देखाउने प्रपञ्चमात्र थियो तेरो अभिनय । के म त्यति पनि बुझ्दिन जस्तो लाग्छ तँलाई ? मलाई लाग्छ तेरो हातमा पेस्तोल दिएर कसैलाई हान भन्यो भने पहिला मलाई नै हान्छस् होला । 

उसले एकाएका बहकिएर यस्ता कुरा गर्दा मनमनै म चकित भएँ । त्यसपछि मैले अलिक नम्र भएर भने के तँ मलाई त्यति निष्ठुर र क्रुर ठान्दछेस् म त्यति क्रुर देखिन्छु र ! म त सुन्दरताको उपासक पो ठान्दछु आफूलाई कसरी मैले तँ जस्ती सुन्दरीमाथि गोली हान्छ भनेर कल्पना गरिस् ! यो त मबाट सपना वा कल्पनासम्ममा पनि हुन सक्तैन । बरु तेरी परी जस्ति सुन्दरी साथीलाई पनि मैले धेरै माया गरेको छ अस्ति यसरी मिस अन्डरस्टाङ्गिन भए छ भनिदिएस् । 

मैले यसो भनी सक्ता उसले अलिक झर्किएर भनी के म तेरो समाचार बोक्ने हो त्यस्तो विचार भए हिँड्न गएर चुम तेरी परीलाई । के मलाई ऊभन्दा नराम्री देखिस् खोइ तेरो र मेरो कैयांै पटक भेट भइसक्यो मलाई कहिल्यै परी भनिनस् ! उसले एकाएक यसो भनेको सुनेर मनमनै खुब हाँसो उठेता पनि जबरजस्ती पचाउँदै कल्पना गरँे ओ हो ! स्त्री इष्र्या भनेको यही रहेछ ? अहिलेसम्म बाह्र सत्तास अत्तो जोडेर मसँग रिसाएकी यो महिला एकाएक उसको सौन्दर्यको प्रशंसा सुन्न लालयित हुन पुगी ? फेरि झट्ट सम्झेँ वास्तवमा एउटी सुन्दर महिलाको अगाडि अर्की महिलालाई परीको सम्बोधन ! यो सर्ववर्जित विषयमा कसरी प्रवेश भयो मेरो ? 

यति सोचेपश्चात् समालिदै भने त स्वर्गकी अप्सरासित त्यो धर्तीकी परीको तुलना हुन्छ कतै ? यस्तो इक्वेसन नै बन्दैन । मैले यसो भनेकोमा मस्किँदै उसले भनी त चलाख छस् हो कि ? मैले हो वा होइन केही उत्तर दिइनमात्र फिस्स हासेँ । मेरो यो हँसाइलाई उसले सहमतिका रूपमा ग्रहण गरी कि उपहासका रूपमा मैले बुझ्ने प्रयत्न पनि गरिन ।

बरु यस बीचमा मेरा मनमा यति सुन्दर मान्छे कसरी यो कुमार्गमा प्रवेश गरी होला ? भन्ने जिज्ञाषा भने पटकपटक पानीका थोप्लाझैँ प्रकट भए र फिलिससम्म पुग्नुपूर्व नै विस्मृत भए । मैले मेरो यो जिज्ञाषालाई किन मूर्तरूप दिन सकिरहेको छैन मैले एक छिन सोचेँ र हिम्मतको कमी र मानवीय संवेदनशीलतालाई कारक मान्दै यस विषयबाट हात झिकेँ । 

करिब डेड वर्षका अन्तरालमा आजभन्दा पहिले मैले कहिल्यै यति खुलेर फिलिससँग कुरा गरेको थिएन । आजसम्म मैले जहिले पनि यसलाई यौन व्यवशायीका रूपमा मात्र हेर्ने गरेँ र ऊबाट टाडै बस्न खोजेँ । अद्यापि फिलिस जब मेरो अगाडि हुन्छे म पहिलो पटक यहाँ काम गर्न आउँदा उसले आफ्नो उन्मत्त छाती देखाएर कन्खी मार्दै आँखा र स्तन नचाएकी, म लाजले रातो पिरो भएको, सेवोले मेरो अनुहार र हाउभाउ हेरेर हाँसेको क्षणको स्मरण भने हुन थाल्दछ मलाई । 

म निकै लजाएछु क्यार त्यस दिन सेवोले बियर दिएर फिलिसलाई विदा गरेपछि मलाई भनेथ्यो यसका यस्ता क्रियाकलापमा केही आपत्ति मान्नु पर्दैन । उसले आफ्नो धन्दा गरिरहेकी हो जुन कुरा अमेरिका सामान्य मानिन्छ । उसका यस्ता हाउभाउ त उसका र हाम्रा बीचमा हुने नियमित प्रक्रिया हुन् । उसका यस्ता कर्मलाई महŒव दियौं भने हामी आफैंमा विचलन पैदा हुन्छ । यो तँलाई बुझ्न उसले फ्याकेको आकर्षण अस्त्र हो र यो सुरुवात मात्र हो यसलाई अलिकति प्रश्रय दियो भने चाँडै उधारो माग्ने सिलसिलाबाट सुरुवात भएको सम्बन्ध अन्ततः सर्वांग दर्शन नै गर्न पाउने अवसरमा पुगेर अन्त्य हुन्छ । क्रमशः

Top